६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत पाएका थिए ।
तत्कालीन सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, राप्रपासहित प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएका थिए ।
सत्ता समीकरण फेरिएसँगै एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएकाले प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन् ।
समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
विश्वासको मतका लागि प्रचण्डले कम्तिमा १३८ मत पाउनुपर्छ ।
नेकपा एमाले, राप्रपा, नेमकिपा र एक जना स्वतन्त्र सांसद योगेन्द्र मण्डल विश्वासको मतको विपक्षमा रहे पनि अहिलेको सत्ता समीकरणको अवस्था हेर्दा प्रचण्डले विश्वासको मत पाउने निश्चित जस्तै छ ।
प्रधानमन्त्री प्रचण्डले पाउनसक्ने मत
- नेपाली कांग्रेसका ८९ मध्ये ८६ मत (रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित, चन्द्र भण्डारी उपचारका लागि भारतमा रहेको र टेकबहादुर गुरुङमा निलम्बनमा परेको ।)
- माओवादी केन्द्रका ३२ मध्ये ३१ मत (वर्षमान पुन उपचारका लागि चीनमा रहेको ।)
- जनता समाजवादी पार्टी (जसपा)का १२ मध्ये १० मत (रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेको र शहनाज रहमानको निधन भएको ।)
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० मध्ये १९ मत (सभापति रवि लामिछाने सांसद पदबाट मुक्त भएको ।)
- एकीकृत समाजवादी- १०
- जनमत पार्टी- ६
- लोसपा- ४
- नागरिक उन्मुक्ति पार्टी (नाउपा)- ४
- राष्ट्रिय जनमोर्चा- १
- स्वतन्त्र सांसद प्रभु साह र अमरेश सिंह- २
source https://www.onlinekhabar.com/2023/03/1279729
0 Comments