संसारमा केही आधारभूत सत्य छन् । आकाशको रङ नीलो हुन्छ । घाँसको रङ हरियो हुन्छ र ओस्कार गलैंचाको रङ रातो हुन्छ । तर तेस्रो सत्य भने बदलिएको छ । सोमबार बिहान हलिउड सहर लस एन्जलसमा ९५ औं ओस्कार अवार्ड भइरहँदा स्टारहरु रेडकार्पेट होइन स्याम्पेन रङको कार्पेटमा हिंड्दै थिए । ६२ वर्षपछि एकेडेमी अवार्डको कार्पेटको रङ बदलिएसँगै ओस्कारको परम्परागत शैली र मूल्यमा पनि परिवर्तनका बाछिटा महसुस गरिएको छ ।
विल स्मिथ थप्पड प्रकरणको पुनरावृत्ति हुन नदिन गठन गरिएको क्राइसिस टिम होस् या रेडकार्पेट हटाएर हिंसालाई अस्वीकार गर्ने निर्णयले केही आधारभूत बदलावको छनक दिन्छ । यसबाहेक अमेरिकी सीमा नाघेर ओस्कार एटलान्टा र प्रशान्त महासागर पार गरेको स्पष्ट चित्रसमेत देखियो ।
वर्षेनि एउटा फिल्मलाई सिफारिस गर्ने कर्मकाण्डीबाहेक ओस्कारको चर्चा नेपालमा उतिसाह्रो छैन । केही वर्षयता भुटान, पाकिस्तान र भारतीय फिल्मको मनोनयनलाई लिएर खुसी मनाउनुपर्ने स्थिति छ । सिफारिस भएको फिल्म ‘ऐना झ्यालको पुतली’लाई प्रवर्द्धन गर्न लस एन्जलस पुगेका निर्माता रित्तै हात घर फर्किएको विडम्बना हामीसँग छ । ओस्कारका मतदातालाई प्रभावित तुल्याउन गरिने मिलियन डलरको प्रचार, स्क्रिनिङ नेपालजस्ता तेस्रो मुलुकका फिल्म निर्माताका लागि कति महंगो छ भन्ने दृष्टान्त छ । कन्टेन्ट राम्रै भएपनि प्रवर्द्धनको असफलताले हामीलाई ओस्कार विजयमा अवरोध खडा गरिरहेको छ ।
तर ओस्कारको ९५ औं संस्करणमा देखिएका केही दृश्यले कथा र विषयवस्तुमा विश्वास गर्ने नेपालजस्ता मुलुकका फिल्म उद्योगलाई राहत दिएको हुनुपर्छ । बोङ-जुन-हो निर्देशित दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले उघारेको दैलोलाई पछ्याउँदै पछिल्ला संस्करणमा एसियाली फिल्मको दबदबा पक्कै देखिएको हो । फिल्म सिफारिस, मनोनयनदेखि स्टेजसम्म देखिएको भारतीय फिल्मको अभूतपूर्व उपस्थितिले यसपटकको ओस्कार अमेरिका केन्द्रित कम र एसिया केन्द्रित बढी देखियो । अमेरिकी परराष्ट्र नीतिको सफ्टपावर मानिने हलिउड र त्यसको अर्थपूर्ण अवार्ड मानिने ओस्कारलाई लिएर हुने गसिप, चर्चा र आलोचना यसपटक पनि निरन्तर रहे । यहाँ ९५ औं संस्करणको ओस्कारले दिन खोजेका सन्देश र प्रवृत्तिबारे केही चर्चा गरिन्छ ।
‘एभ्रिथिङ एभ्रिह्वेयर’को जितको अर्थ
सर्वश्रेष्ठ फिल्म र निर्देशकसहितका सात विधामा अवार्ड जितेको ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एन्ट वन्स’ आर्टहाउस फिल्म हो । विश्व फिल्ममा ब्लकबस्टरको दबदबा कायम रहँदा आर्टहाउस फिल्मको विजयको गम्भीर अर्थ छ । ११ विधामा मनोनयन भएको मिसेल योह स्टारर यो फिल्म गोल्डेन ग्लोब्स जितेलगत्तै फिल्म पण्डितको नजरमा परेको थियो । स्टुडियो संरचना र पुँजीवादको इको-सिस्टममा चल्ने हलिउड र त्यसको मानक मानिने ओस्कारमा इन्डी र आर्टहाउस फिल्मको विजय आफैंमा एउटा सन्देश हो । ठीक ५० वर्षअघि मार्लन ब्राण्डोले जुन दाबी र तथ्य पेस गरेर ओस्कारलाई बहिष्कार गरे, पाँच दशकपछि ओस्कार उनै ब्राण्डोको पदचाप पछ्याउँदैछ । इण्डी र आदिवासी फिल्मलाई विभेद गरेको आरोप खेपेको ओस्कार यतिबेला समावेशीको गायनमा व्यस्त छ ।
हुन सक्छ, यही कारण ओस्कार यतिबेला गल्तीहरुलाई राफसाफ गर्दैछ । ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’को जितपछि केही हलिउड क्रिटिक्स त्यसतर्फ संकेत गर्दैछन् । वासिङ्टन पोस्टमा एनी एनलिन चेङ लेख्छन्, ‘यो मात्र होइन कि मल्टिभर्सले आप्रवासी एसियाली अमेरिकी अनुभवको लागि रूपकको रूपमा काम गर्दछ ।’ एसियाली-अमेरिकी नागरिकले भोगेको विस्थापन र व्यक्तित्व विभाजनबारेको एक उदाहरणको रुपमा उनले यो फिल्मलाई पेस गरेका छन् । अमेरिकामा एसियाली मूलका बासिन्दाको निराशावादको सामना र वार्ताको लागि फिल्म दर्शनीय रहेको उनको टिप्पणी छ ।
खासगरी, बाइडेनले सत्ता सम्हालेयता अमेरिकामा एसियाली मूलका व्यक्तिलक्षित आक्रमण भए । यसविरुद्ध नेपालीमूलका फेसन डिजाइनर प्रबल गुरुङसहितका सेलिब्रिटी विरोधमा उत्रिए । आन्दोलन चर्किंदै जाँदा ह्वाइट हाउसले एसियाली लक्षित आक्रमण सह्य नहुने प्रतिक्रिया दियो । खासगरी डोनाल्ड ट्रम्पको कार्यकालमा फैलाइएको श्वेत सर्वोच्चताको नाराको असर एसियाली लक्षित आक्रमणमा जिम्मेवार देखिएको तर्क कतिपय विश्लेषकको छ । उक्त मनोविज्ञानलाई ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एन्ट वन्स’ले दर्शाएको र आवाज उठाएको तर्क समीक्षक चेङ लगायतको तर्क छ ।
‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’को कथावस्तु पनि अमेरिकामा संघर्ष गरिरहेका चिनियाँ आप्रवासी मध्यमवर्गको छ । आयकरको नाममा कसरी अमेरिकी कर व्यवस्थाले चिनियाँसहितका एसियाली मूलका व्यवसायीलाई दुःख दिइरहेको छ भन्ने कथावस्तु यसमा छ । निर्देशकले यो केन्द्रीय द्वन्द्वमार्फत दुई महाशक्ति राष्ट्र चीन र अमेरिकाबीचको तनावको एउटा पाटोलाई चित्रण गर्ने प्रयत्न गरेका छन् ।
आर्ट हाउसको उदय हुँदा ब्लकबस्टर फिल्म छायामा परे । जेम्स क्यामरुन निर्देशित ‘अवतार : द वे अफ वाटर’ र टम क्रुज स्टारर ‘टपगन : माभेरिक’ केही प्राविधिक विधामा मात्र मनोनित भए । सम्भवतः यही असन्तुष्टिको कारण हुनुपर्छ टम क्रुज र जेम्स क्यामरुन ओस्कार समारोहमा उपस्थित भएनन् । हलिउडका यी दुई हस्तीको ओस्कार अनुपस्थितिको आफ्नैखाले अर्थ छन् । हलिउड स्टुडियो र बक्स अफिस प्रणाली भन्ने बित्तिकै अगाडि आउने यी दुई नाम असन्तुष्ट हुनुको कारण पछिल्लो समय ओस्कार ब्लकबस्टरभन्दा आर्टहाउसतर्फ प्रेरित हुनु हो । पछिल्लो समय ओस्कारको प्रमुख विधामा आर्टहाउस फिल्मको दबदबा छ भने प्राविधिक विधामा मात्र ब्लकबस्टर अटाउने गरेका छन् ।
भूराजनीतिक तनाव : ओस्कारको निर्णयबाट चिढियो मस्को
सर्वश्रेष्ठ डकुमेन्ट्री फिचर विधामा सीएनएन फिल्म ‘नाभाल्नी’लाई पुरस्कृत गरिएलगत्तै यसले केही हदसम्म भूराजनीतिक तनाव निम्ताएको छ । मस्कोले यसलाई ओस्कारले राजनीति गरेको टिप्पणी गरेको छ । रुसी जेलमा रहेका कानुन व्यवसायी तथा राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीमाथि बनाइएको यो वृत्तचित्रलाई पुरस्कृत गर्ने ओस्कारको कदमप्रति क्रेमलिनले निन्दा गरेको हो । कथावस्तुमा केही तत्वलाई राजनीतिकरण गरिएको आरोप क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले लगाएका छन् । सुरुवातदेखि नै ओस्कार अमेरिकी परराष्ट्र नीति र अमेरिकी मूल्यको वकालत गर्ने प्लेटफर्म मानिन्छ । नाभाल्नी प्रकरणमा पनि अमेरिकाले रुसलाई तीव्र दबाब दिंदै आएको छ ।
ओस्कारले यसपटकको संस्करणमा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले सम्बोधन गर्ने कार्यक्रम तय गरेको थियो । भौतिक रुपमै उपस्थित भएर जेलेन्स्कीले ओस्कारलाई सम्बोधन गर्ने र रुस-युक्रेन युद्धमा किभलाई समर्थन जाहेर गर्ने योजना थियो । तर अन्तिम समयमा यो कार्यक्रम स्थगित भयो । युक्रेन युद्ध सुरु भएपछि त हलिउडले रुसलाई प्रतिबन्ध लगाएकै अवस्था छ । यस्तोमा नाभाल्नीको डकुमेन्ट्रीलाई पुरस्कृत गर्ने ओस्कारको कदमबाट मस्को चिढिएको छ । सुरुदेखि नै हलिउडले रुससँगको विदेश नीतिमा अमेरिकाको पक्ष लिंदै रुसलाई दुश्मनको रुपमा चित्रण गर्दै आएको छ ।
भारतमा हलिउड स्वार्थ : ठूलो जनसंख्या, ठूलै बजार
दुई भारतीय फिल्म यसपटक ओस्कारका मौलिक गीत र डकुमेन्ट्री सर्ट विधातर्फ सर्वोत्कृष्ट भए । एसएस राजामौली निर्देशित ‘आरआरआर’को गीत ‘नाटु नाटु’ सर्वश्रेष्ठ गीत बन्यो भने तमिल डकुमेन्ट्री ‘द एलिफेन्ट ह्विस्पर्स’ सर्वोत्कृष्ट छोटो वृत्तचित्र बन्यो । यसपटक भारतको अभूतपूर्व उपस्थिति किन पनि देखियो भने मनोनयनदेखि स्टेजसम्म भारतीय कलाकार केन्द्रबिन्दुमा रहे । ओस्कारको स्टेजमा बलिउड कलाकारले दक्षिण भारतीय कलाकारलाई पुरस्कार दिएको देखियो जुन बलिउडका लागि सुखद पक्कै होइन । ओस्कारले मौलिक गीत विधाको प्रेजेन्टरको रुपमा दीपिका पादुकोणलाई स्टेजमा उतारेको थियो । रिहाना र लेडी गागासँगै कलाकारले मञ्चमा ‘नाटु नाटु’ गीत प्रस्तुत गरे ।
यो सबथोक देख्दा यसपटक विगतभन्दा भारतीय फिल्म उद्योगको उपस्थिति ओस्कारमा प्रभावशाली भएको देख्न सकिन्छ । भारत हलिउडका लागि ठूलो बजार समेत हो । सन् २०२१ को तथ्यांकअनुसार दक्षिण भारतीय फिल्मको बजार २.६ हजार करोड हुँदा बलिउडको ८०० करोड भारु र हलिउडको ६०० करोड भारु छ । विशाल जनसंख्या र सम्भाव्य बजारलाई दृष्टिगत गर्दै हलिउडले पछिल्लो समय भारतीय बजारमा लगानी खन्याइरहेको छ । अंग्रेजी फिल्महरु भारतका क्षेत्रीय भाषामा रिलिज हुन थालेका छन् । अवतारसहित मार्वलका सुपरहिरो फिल्मको कमाइ भारतमा पछिल्लो समय आक्रामक देखिएको छ ।
दोस्रो ठूलो फिल्म बजार चीनमा फिल्म रिलिजका लागि कोटा प्रणालीको व्यवस्था रहेकाले पनि हलिउड चीनको विकल्पमा भारतलाई पेस गर्न चाहन्छ । सम्भवतः यही कारण हुन सक्छ भारतमा हलिउडका सबैजसो फिल्म स्टुडियोले सेवा विस्तार गरेका छन् । हलिउड-बलिउड, हलिउड-साउथ संयुक्त लगानीको प्रयत्न भइरहेको छ । विदेश नीतिमा अमेरिकासँग भारतको इन्डो-प्यासिफिक र क्वाड गठबन्धन भएजस्तै फिल्ममा पनि कतै न कतै त्यो सहकार्यको छनक पछिल्लो समय बढिरहेको छ । नेटफ्लिक्सले त भारतीय संस्करण समेत ल्याइसकेको छ । विश्वको ठूलो जनसंख्या र भविष्यको बजारको स्वार्थमा पनि भारत हलिउड र विश्व फिल्मका लागि ठूलै बजार बन्ने देखिन्छ । पछिल्लो ओस्कार अवार्ड र भारतमा हलिउडको बजार हेर्दा त्यो स्पष्ट भइसकेको छ ।
नेपालको चर्चा गर्दा २०५६ सालको ओस्कारमा एरिक भ्याली निर्देशित ‘हिमालय’ विदेशीभाषी फिल्मको विधातर्फ मनोनित भएको भयो । तरपनि यो फिल्म नेपालको होइन । अहिलेसम्म नेपालले निर्माण गरेका कुनैपनि फिल्म ओस्कारमा मनोनित हुन सकेका छैनन् । त्यसयता ११ फिल्म सिफारिस त भए तर छानिन सकेका छैनन् । छिमेकी मुलुक भुटान, पाकिस्तान र भारतका फिल्म मनोनित भएपनि नेपालले अहिलेसम्म उपलब्धि हासिल गर्न सकेको छैन । जित्नु उद्देश्य भएपनि नेपालका लागि मनोनित हुनु नै चुनौतीपूर्ण देखिएको छ ।
यस्तोमा धेरैपटक मौलिक दृश्यभाषाको बहस भएपनि यसले मूर्तरुप लिन सकेन । कान्स, भेनिस, सनडान्स, बुसानजस्ता फेस्टिभलमा पछिल्लो समय नेपाली फिल्मले उपस्थिति जनाइरहेपनि यो पर्याप्त छैन । चलचित्र विकास बोर्डले विदेशमा बजार खोज्न भन्दै विदेशमा फेस्टिभल गरेर बजार विस्तारको लागि पहल गरेपनि गुणस्तरीय ‘क्राफ्ट’ निर्माणमा जोड दिनु जरुरी छ ।
source https://www.onlinekhabar.com/2023/03/1277186
0 Comments