Looking For Anything Specific?

Header Ads

आर्थिक मन्दीको चुनौती र नेपाली सामर्थ्य

आर्थिक मन्दीको असरले गर्दा बजार सुनसान छ, मानिसको क्रयशक्ति घटेको छ, आम्दानी घटेको छ, खर्च बढेको छ । लौ मार्‍यो ! कहिलेसम्म यस्तो हुने हो भन्ने व्यापक गुनासो जताततै सुन्ने गरिन्छ । यो जनचासोको विषय बनेको छ । यस पटक यस विषयमा केही चर्चा गरौं ।

विश्वमा कुनै उल्लेख्य घटना नहुँदा पनि समय-समयमा यस्ता आर्थिक मन्दी र यसका असर देखिन्छन् । यो पटक त कोभिड-१९ को विश्वव्यापी महामारीले पटक-पटक विश्वलाई थला पार्‍यो । लाखौं मानिसको ज्यान गयो । महिनौंसम्म मानिस घर-घरमै थुनिएर बस्न बाध्य भएका कारण सबै आर्थिक गतिविधि ठप्प भए ।

त्यति मात्रै होइन, भएको साधन-स्रोत पनि उपचार र नयाँ-नयाँ स्वास्थ्य अनुसन्धान, खोप र उपकरणमा खर्चनु पर्‍यो । लगत्तै रूस-युक्रेनको वर्षदिन लामो युद्धले विश्वमा त्रास, महँगी र असन्तुलन पैदा गरेको छ । धेरै वस्तुको आपूर्ति शृंखला भताभुंग भएको छ । अझैसम्म पनि युद्ध रोकिने छनक छैन । यसले विश्वको अर्थतन्त्र नै विकराल बनेको छ । यसका लागि ठूला र शक्ति राष्ट्रहरू जिम्मेवार छन् ।

आजको दुनियाँमा कुनै पनि देश जतिसुकै सम्पन्न र शक्तिशाली भए पनि सम्पूर्ण कुरामा आफूमा आत्मनिर्भर छैनन् । अमेरिका र चीनका बीचमा शक्तिको जतिसुकै ठूलो होडबाजी भए पनि अमेरिकी बजारमा आम मानिसले उपभोग गर्ने सबैभन्दा धेरै चिनियाँ समान बिक्छन् ।

भारत र चीनको बोर्डरमा सेनाका बीचमा गोली हानाहान सामान्य कुरा हो तर भारतीय बजारमा चिनियाँ सामानको आपूर्ति कहिल्यै रोकिंदैन । किनकि चीनका धेरै ठूला कम्पनीमा अमेरिकन, भारतीय कम्पनीको लगानी छ ।

अमेरिका र भारतमा स्थापित कतिपय उद्योगमा चाहिने कच्चा पदार्थको मुख्य आपूर्तिकर्ता चीन हुन पुगेको छ । विश्वमा नाम चलेका धेरै बहुराष्ट्रिय कम्पनीका उत्पादन, तिनमा प्रयोग हुने सामग्री र पार्टस्हरू कुनै एक देशमा मात्रै निर्माण हुँदैनन् । तिनको खपत र उपभोग त झन् एक भूगोल एक देशमा मात्रै खपत हुने कुरै भएन ।

नेपाली किसानले उत्पादन गरेको हरियो चियापत्ती नेपालका कारखानामा प्रशोधन भएर भारतको बाटो हुँदै भारतीय चियासँग मिसिएर विश्व बजारमा पुग्छ । विश्व बजारमा आएको मन्दीको कारण अब यसको माग कम भयो । त्यसैले नेपालको चियाको माग पनि कम भयो । रूस-युक्रेनको युद्धको कारण रूसलाई युरोप र एशियाबाट जाने समानको आपूर्ति गर्दै आएका युरोपियन कम्पनीहरूले आपूर्ति ठप्प पार्दा नेपाली चियाको माग हृवात्तै घट्यो ।

यो एउटा सानो उदाहरण हो । यसै पनि नेपालको निर्यात व्यापारको हिस्सा एकदमै सानो छ । त्यसले विश्व बजारमा त के नेपाली अर्थतन्त्रमा पनि खासै फरक पार्दैन तर नेपालका चिया किसान र नेपाली चिया उद्योगलाई त फरक पर्‍यो नि !

विश्वको पर्यटन बजारमा दैनिक घुम्न निस्कने करोडौं करोड मानिस महिनौं घरमै थन्किनु पर्दा यस प्रकारका मानिसलाई सेवा दिन र वस्तु सप्लाई गर्न बनेका कम्पनी र तिनमा आश्रति व्यवसाय र जनशक्ति पुनः लयमा र्फकन सजिलो थिएन, छैन । यसै बीचमा धेरैले ज्यान गुमाए, आफन्त गुमाए, रोजगारी गुमाए, व्यवसाय बन्द भए ।

महामारीमा वा युद्धमा परेर मानिस मरेको हिसाब तत्काल देखियो । तर, अर्थतन्त्रमा यसको असर, प्रभाव क्रमशः थपिंदै गयो । सुरुमा व्यक्तिले रोजगारी गुमाउँदा व्यक्ति संकटमा परे, परिवार संकटमा परे । उनीहरू दैनिक खर्चमा कटौती गर्न बाध्य भए ।

नेपाली समाज र नेपालको अर्थतन्त्रमा यो आर्थिक मन्दीको प्रभाव कस्तो पर्ला भनेर हेर्दा आयातमा भएको आंशिक प्रतिबन्ध र देशभित्र व्यापार एवम् उद्योगमा भएको शिथिलताका कारण सरकारी राजस्व लक्ष्य अनुरूप नउठ्ने पक्का छ । यसले सरकारको आम्दानी घटेको छ । सरकारले गर्ने विकास खर्च र अनुदानमा भारी कटौती गर्नु बाध्यता बन्नेछ

यसरी बजारले ग्राहकको क्रयशक्ति गुमायो । व्यापारीको बिक्री घट्यो । व्यापारी पनि उपभोक्ता नै हुन् उनीहरूले पनि आˆनो आम्दानी घटेसँगै खर्च घटाए । बजारले झनै क्रयशक्ति भएका ग्राहक भेट्टाउन छाड्यो । यसको असर उत्पादनसँग पर्‍यो । उत्पादनमूलक उद्योग र सेवाप्रदायक उद्योगहरू आफ्नो वस्तु र सेवाको उत्पादनमा कटौती गर्न बाध्य भए । यसबाट अझै धेरैले रोजगारी गुमाउन पुगे । बजारमा क्रयशक्ति भएका उपभोक्ता पाउनै मुश्किल भयो ।

यसरी दुनियाँभरमा उत्पादन, वितरण र उपभोगको शृंखलाको चेन ब्रेक हुँदा वा यसको सन्तुलनमा अवरोध आउँदा विश्व आर्थिक मन्दीको चपेटामा लपेटिने अवस्था आउँछ र अहिले भएको त्यही हो ।

अर्थतन्त्रको नेटवर्कलाई नियमित चलायमान गराउन र यसलाई सुरक्षित बनाउन केन्द्रीय बैंक, बीमा कम्पनी, बैंकहरू, सहकारी, निजी कम्पनी, साना व्यवसाय सबै आ-आफ्ना भूमिकामा क्रियाशील हुन्छन् नै । कानुनले सबैको भूमिका तोकिदिएको हुन्छ । सरकारले यसको नियमन र अनुगमन गर्छ ।

तर असहज अवस्थामा सरकारको भूमिका सबैभन्दा बढ्ता हुन्छ । संकटमा पनि यस्तो शृंखला भत्किन नदिन र जनताको सम्पत्तिको सुरक्षा कसरी गर्न सकिन्छ भनेर नीति बनाउने र नीतिलाई कडाइका साथ लागू गर्ने जिम्मा सरकारको हुन्छ । यस्तो मन्दीको समयमा सरकारको ढुकुटीमा जम्मा हुनुपर्ने राजस्वमा भारी गिरावट आउँछ ।

यतिसम्म कि कमजोर अर्थतन्त्र भएका मुलुक टाट पल्टने र धान्नै नसक्ने अवस्था आउन सक्छ । धनी मुलुकले सञ्चित धन प्रयोग गरेर देश र नागरिकलाई संकटबाट बचाउँछन् । अहिले देखिएको संकटको अवधि लम्बिन गयो भने यसले अब वित्तीय केन्द्रहरूमा ‘हिट’ गर्न सुरु गर्नेछ ।

वित्तीय केन्द्रहरू भनेको बैंक, बीमा कम्पनी, सहकारी आदि हुन् । यिनीहरूको लगानी व्यक्ति, साना-ठूला व्यवसायी, कम्पनी, ठूला-ठूला कम्पनी सबैतिर हुन्छ । ठूलो सङ्ख्यामा व्यक्तिले रोजगारी गुमाउने, व्यवसायीको आम्दानी घट्ने र खर्च धान्न नसक्ने, कम्पनीहरूले उत्पादन कटौती गर्नुपर्ने भएपछि बैंकबाट लिएको कर्जाको सावाँ-ब्याज बुझाउन नसक्ने हुन्छन् र टाट पल्टेको घोषणा गर्छन् ।

यसरी टाट पल्टने र बन्द हुने कम्पनी धेरै हुँदै गएपछि बीमा कम्पनीहरूले पनि हात उठाउँछन् । संकटमा सबैले सञ्चित धन प्रयोग गरेर, कम खर्च गरेर, कम उपभोग गरेर संकटको अवधि छोटो पार्ने र सहज अवस्थामा फर्किन प्रयास गर्ने हो ।

नेपाली समाज र नेपालको अर्थतन्त्रमा यो आर्थिक मन्दीको प्रभाव कस्तो पर्ला भनेर हेर्दा आयातमा भएको आंशिक प्रतिबन्ध र देशभित्र व्यापार एवम् उद्योगमा भएको शिथिलताका कारण सरकारी राजस्व लक्ष्य अनुरूप नउठ्ने पक्का छ । यसले सरकारको आम्दानी घटेको छ । सरकारले गर्ने विकास खर्च र अनुदानमा भारी कटौती गर्नु बाध्यता बन्नेछ । यसको सुरुवात भइसकेको छ ।

कुनै व्यवसाय गरिरहेको परिवार आर्थिक मन्दीको चपेटामा परेर व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुग्यो र अर्को कुनै आम्दानीको स्रोत छैन भने यस्ता मानिस पनि सडकमा आउने अवस्था बन्छ

तर गर्नुपर्ने विकास खर्च पनि बेलामा गर्न नसक्ने पुरानो मानसिकता र भ्रष्टाचारमा लिप्त संरचनागत ढाँचामा कुनै सुधार देखिएको छैन । यो सितिमिति हुनेवाला पनि छैन । किनकि जसले सुधार गर्नुपर्ने हो उनीहरूले आˆनो फाइदा गुमाउन चाहँदैनन् । यही शैली र संरचनाबाट नै यस्ता मानिसलाई फाइदा हुन्छ र भइरहेको छ । यद्यपि सामाजिक खपतका लागि उनीहरू सुधारका कुरा गर्न छाड्ने छैनन् ।

यी निराश पार्ने खालका केही पक्ष भए पनि नेपाली समाजले वर्तमान आर्थिक मन्दी झेल्न सक्ने सकारात्मक पक्ष पनि धेरै र सशक्त छन् । जस्तै हाम्रो वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य स्रोत बनेको विपे्रषण (रेमिट) कोरोनापछि पनि आशलाग्दो गरी बढेको छ । त्यसैले देश दश महिनाको आयात धान्न सक्ने क्षमता राख्छ ।

देशमा पर्यटकहरू आउने क्रम बढेको छ । यसले पनि विदेशी मुद्रा भित्रिनमा सहयोग पुगेको छ, पर्यटन व्यवसाय तङ्गि्रन सुरु भएको छ । देशमा खाद्यान्न आयातमा कमी भएको छ र उत्पादनमा वृद्धि भएको छ । यसले केही आशा जगाएको छ । देश विद्युत्मा आत्मनिर्भरको एकदमै नजिक पुगेर सिजनल नै भए पनि निर्यात गर्न सुरु गरेको छ ।

देशमा केही सहकारीहरूमा वित्तीय संकट देखिएको भए पनि तीमध्ये धेरै सम्हालिने छन् र ढिलो-चाँडो तिनले आˆना सदस्यको बचत रकम फिर्ताको मेलो मिलाउने छन् । अरू धेरै सहकारी संस्थाहरू यो संकट झेल्न सक्ने क्षमता राख्छन् । यो संकटपछि उनीहरूको विश्वसनीयता अझै बढ्ने छ भने यो अवस्थामा धर्मराएकाहरूले सबक सिक्ने र सुधि्रने अवसर प्राप्त गर्नेछन् ।

यसमध्ये केहीले सधैंका लागि ढोका बन्द गर्नेछन् । नेपालका बैंकहरूको खराब कर्जाको प्रतिशत केही बढे पनि कुनै पनि बैंक असफल हुने र टाट पल्टने अवस्थामा पुग्ने छैनन् । वर्तमानमा देखिएको दबाव झेल्न सक्ने अवस्थामा बैंकहरू छन् ।

नेपाली अर्थतन्त्र बलियो नहुँदानहुँदै पनि त्यति धेरै जोखिममा नपर्नु नेपाली समाजको चरित्र मुख्य कारण हो । हाम्रो समाज कृषिको युगबाट पूरै व्यापार र जागिरको युगमा पदार्पण गरिसकेको छैन । धेरै परिवार एकल व्यवसायमा मात्रै निर्भर छैनन् । कृषि, व्यापार, जागिर र वैदेशिक रोजगारी अहिलेका धेरै नेपालीको आयआर्जन र जीवन निर्वाहको आधार हो ।

यसरी हेर्दा कुनै एउटा व्यवसाय वा पेशामा समस्या आउँदा पनि परिवार चलाउन नसकेर हात फैलाउँदै सडकमा आउनुपर्ने अवस्था हँुदैन । संयुक्त परिवारको धारणाले पनि यसमा सहयोग पुगेको छ । परिवारमै कसैलाई एकदमै ठूलो संकट आएछ र जीवन र परिवार धान्न नसक्ने भएमा धेरै जसो आफन्त र छिमेकीले मद्दत गर्ने परम्परा छ ।

कल्पना गरौं कुनै एउटा परिवार कुनै राम्रै कम्पनीको जागिरमा छ । जागिरको आम्दानीले मात्रै उसको परिवार धानिंदै आएको छ । घरभाडा, खाना, बच्चाको स्कुल खर्च, उपचार लगायत सम्पूर्ण खर्चको स्रोत जागिर मात्रै हो । त्यस्तो कम्पनी फेल भयो वा कमजोर भएर कामदारलाई कटौती गर्ने अवस्थामा आयो र रोजगार गुम्यो । आर्थिक मन्दीको अवस्थामा अर्को रोजगारी प्राप्त भएन । यो परिवार आफ्नो भएको बचत सकिने बित्तिकै सडकमा हात फैलाउन आउनुपर्छ ।

कुनै व्यवसाय गरिरहेको परिवार आर्थिक मन्दीको चपेटामा परेर व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुग्यो र अर्को कुनै आम्दानीको स्रोत छैन भने यस्ता मानिस पनि सडकमा आउने अवस्था बन्छ । काठमाडौं महानगरले सडकबाट र अतिक्रमित भएका स्थानबाट दशौं हजार मानिसलाई हटायो र तिनीहरूको व्यवसाय र रोजगारी खोसियो । यस्तो आपतमा पनि उनीहरू परिवारको सहयोग र वैकल्पिक व्यवसायका कारण जीवन धान्न सक्ने अवस्थामा उभिन पुगे ।

एकल पेशा व्यवसायमा मात्रै निर्भर हुने परिवारको सङ्ख्या कम हुनु र एकदमै असजिलोमा परेका आफन्तलाई सकेको भरथेग गर्ने संस्कार भएकाले गर्दा अप्ठ्यारो अवस्थामा पनि समाजमा भोकमरी र आवासविहीनको अवस्था हाम्रो समाजमा देखिंदैन ।

सुविधाका लागि शहर पसेकाहरू अप्ठ्यारोमा गाउँ फर्केको उदाहरण कोभिड महामारी र महाभूकम्पको समयमा राम्रै देखियो । शहरमा भएका धेरै मानिसको जीवन निर्वाहको ग्रामीण आधार पूर्ण रूपमा भत्किसकेको छैन ।

तर, तत्काललाई अहिलेको आर्थिक मन्दीको ठूलै जोखिम नदेखिए पनि नेपाली समाजको आन्तरिक चरित्र जसरी तीव्र गतिमा परिवर्तन भइरहेको छ त्यही गतिमा वित्तीय व्यवस्थापन गर्ने क्षमता नराख्ने हो भने भविष्यमा आर्थिक अराजकता नआउला भन्न सकिंदैन । सरकारले सामान्य खर्च धान्न पनि आन्तरिक वा वैदेशिक ऋण लिनुपर्ने वर्तमान अवस्था केही वर्ष लम्बियो भने देशमा आर्थिक अराजकता चाँडै निम्तिनेछ भनेर अनुमान लगाउन सकिन्छ । यसमा सरकारको ध्यान बेलैमा जान सके राम्रो हुनेथियो ।

(उप्रेती सहकारी अभियन्ता हुन् ।)



source https://www.onlinekhabar.com/2023/03/1280750

Post a Comment

0 Comments