१६ चैत, काठमाडौं । ५ चैतमा भएको चुनावबाट त्रिवि केन्द्रीय क्याम्पसको अध्यक्षमा नेविसंघका श्यामराज ओझा निर्वाचित भए । तर स्ववियु कार्यसमितिमा नेविसंघसँगै अरु संगठनको पनि उल्लेख्य प्रतिनिधित्व छ ।
२०६५ सालदेखि स्ववियु चुनाव नभएको सन्दर्भमा अब केन्द्रीय क्याम्पसमा स्ववियु चुनावले कसरी काम गर्छ, त्रिवि सुधारका लागि के के योजना छन् जस्ता विषयमा ओझासँग अनलाइनखबरकी नुनुता राईले गरेको कुराकानी :
नेविसंघभित्रको विवादका बाबजुद चुनाव जित्नुभयो, आफ्नो जितलाई कसरी लिनुभएको छ ?
स्ववियु सभापति पद होइन यो एउटा मिसन हो । विद्यार्थी साथीहरुले आजसम्म विश्वविद्यालय सुधारका लागि कसले कति बुझ्यो, बोल्यो, आन्दोलनमा कसको योगदान के छ भन्ने बुझ्नुभएको छ । त्यसको आधारमा विश्वास, भरोसा गरेको देखियो । आजसम्म गरेका प्रयासहरुका कारण हाम्रो टिमलाई मतदान गर्नुभयो भन्ने लाग्छ ।
त्रिवि सुधारका ५० वटा बुँदा उल्लेख गर्नुभएको छ । यी बुँदा कार्यान्वयन गर्न कस्तो योजना बनाउनुभएको छ ?
हामीले राखेका ५० वटा बुँदाका धेरै विषय कतिपय प्रणाली सुधार गर्नासाथ आफै समाधान हुन्छन् । जस्तो परीक्षा प्रणाली सुधार गर्नासाथ परीक्षा सम्बन्धी समस्याहरु समाधान हुनेछन् । त्यस्तै अरु पनि नीतिगत प्रणालीमा, कार्यशैलीमा सुधार हुनेबित्तिकै धेरै समस्या समाधान हुन्छ । नयाँ वर्षदेखि लागू हुनेगरी स्ववियु क्यालेन्डर निकाल्छौं ।
क्यालेन्डरमा हामीले गर्नुपर्ने सबै काम राख्छौं र त्यही अनुसार हामीले पहल गर्नुपर्ने, दबाब दिनुपर्ने काम गर्छौं । त्रिविको कुनै पनि निकायमा जाँदा तोकिएको समयमा विद्यार्थीले सेवा पाउनुपर्छ । प्रशासनिक कामको लागि जाँदा कर्मचारी नभेट्ने समस्या हुनुहुँदैन । यति सुधार गर्ने हो भने त्रिविबाट विद्यार्थीले ठूलो राहत पाउँछन् ।
१४ वर्षसम्म स्ववियु निर्वाचन नहुँदा विभिन्न विद्यार्थी संगठन, शिक्षक र प्रशासनका विभिन्न मनोमानी, अनियमितताका स्वरुपहरु मौलाए । ती स्वरुपहरु परिवर्तन गर्न थिति र नीति भन्दा बाहिर गएको, प्रशासन र प्रणालीभन्दा बाहिर गएको त्रिविलाई अब बाटोमा ल्याउनुछ । त्यो काम सबैभन्दा ठूलो चुनौती छ ।
सिद्धान्त र प्रयोगात्मक रुपमा मिल्ने गरी पाठ्यक्रम परिमार्जन गर्नु अर्को चुनौती हो । त्रिविमा अहिलेसम्म केही गलत अभ्यास भइरहेका छन् । विश्वविद्यालयमा राजनीतिक आस्थाको आधारमा पदीय जिम्मेवारी दिनु गलत हो । अब विश्वविद्यालयको कुनै पनि निकायमा राजनीतिक आस्थाका आधारमा नभएर क्षमताको आधारमा, योग्यताको आधारमा हुनुपर्छ, कार्ययोजना अथवा मेरिट लिस्टको आधारमा हुनुपर्छ ।
विद्यार्थी संगठन नै आफू निकटकालाई नियुक्ति गराउन दौडधुप गर्ने दोहोरो चरित्र देखिन्छ, तपाईको कुरामा कसरी विश्वास गर्ने ?
मैले योभन्दा अगाडि गरेको अभ्यास, परिवर्तनका लागि गरेको प्रयासलाई विश्वास गरेर यसपटक मलाई मतदान गरेका हुन् । अहिलेको स्ववियु नेतृत्वलाई नेविसंघ र उसको माउपार्टीसँग जोडिरहँदा म के भन्छु भने आजभन्दा चार वर्षअघि त्रिवि केन्द्रीय क्याम्पसमा पढ्ने करिब पाँच हजार विद्यार्थीहरुको हस्ताक्षर संकलन गरेर विश्वविद्यालयमा राजनीतिक नियुक्ति हुनुहुँदैन भनी तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोख्रेल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका थियौं । भलै त्यो कार्यान्वयन भएन । हामीले विगतमा योग्यता, क्षमताको आधारमा नियुक्ति हुनुपर्छ भनेर आन्दोलन र हस्ताक्षर संकलन गर्यौ, त्यो प्रयासलाई कार्यान्वयन गर्न चाहन्छौं ।
केन्द्रीय क्याम्पसमा हुने तालाबन्दी, समयमा परीक्षा नहुने, गुणस्तरीय अध्यापन नहुने, विश्वविद्यालयमा बौद्धिक छलफल नहुने र अनुसन्धान केन्द्रहरुको अवस्था निराशाजनक छ । तपाईंले यी सबैमा सुधार गर्छौं भनेर प्रतिवद्धता गर्नुभएको छ । त्यो सम्भव छ ?
केन्द्रीय क्याम्पसको सुधारका लागि केन्द्रीय क्याम्पसका स्ववियु अध्यक्षले देशभरका स्ववियु अध्यक्ष अथवा पदाधिकारीहरुसँग समन्वय गरेर अभिभावकत्वको भूमिका खेल्दै सबैलाई एकतावद्ध गर्दै संयुक्त पहल गर्नेछ । मैले देशैभरका स्ववियुुसँग समन्वय गरेर सामूहिक शक्ति निर्माण गर्छु । त्यो सामूहिक शक्तिले विश्वविद्यालय परिवर्तनको लागि, सुधारको लागि पहल गर्छ ।
विश्वविद्यालयका कारण निराशा आउने कुरा, विद्यार्थीले खाली प्रमाणपत्र मात्रै पाउने, परीक्षा प्रणालीको जुन अवस्था छ यसको सुधारका लागि हाम्रो शक्ति प्रयोग हुनेछ । त्रिविको अहिलेको अवस्थाले एउटा पुस्ता नै घाटामा परिरहेको छ । त्यसले देशलाई नै घाटा गर्छ । देशको आय आर्जनमा असर गर्छ । देशको एक जना व्यक्तिको करियर एक दिन ढिला हुनु भनेको देशको करियर ढिला हुनु हो । परीक्षा प्रणाली, प्रश्नपत्रमा भइरहेको लापरबाहीको विरोधमा त नेविसंघले पछिल्लो छ महिना लगातार आन्दोलन गरेको थियो । अब म नेविसंघको आन्दोलनलाई मात्रै क्रेडिट दिएर काम गर्दिन । अब देशभरका स्ववियुको अभिभावकत्व लिएर काम गर्न चाहन्छु ।
अब विश्वविद्यालयबाट प्रमाणपत्र मात्रै लिएर आउनुपर्ने अथवा निराशा लिएर फर्कनुपर्ने अवस्था अन्त्यका लागि पाठ्यक्रम परिमार्जन गर्न आवश्यक छ । उदाहरणको लागि माइक्रो बायोलोजीमा स्नातकोत्तर गर्ने साथीहरुलाई मेडिकल काउन्सिलले लाइसेन्स दिँदैन । किन दिँदैन त्यसको उत्तर दिनुपर्छ यदि पाठ्यक्रममा केही कमी छ भने परिमार्जन हुनुपर्छ । यदि पाठ्यक्रम ठीक छ भने किन लाइसेन्स नदिइएको हो त्यसको जवाफ दिनुपर्छ । हामीले विश्वविद्यालयका विद्यार्थीलाई बजारसँग जोड्नको लागि उसको क्षमता अभिवृद्धि गर्ने र पाठ्यक्रम परिमार्जन गर्ने कुरामा पहल गर्छौं । अब विद्यार्थीले प्रमाण पत्र मात्रै लिएर जाने होइन स्किल पनि लिएर जाने बनाउछौं र यो सम्भव छ ।
केन्द्रीय क्याम्पसको स्ववियु नेतृत्व र विश्वविद्यालयका पदाधिकारीको राजनीतिक आस्था फरक हुँदा द्वन्द्वको अवस्था पनि आउन सक्ला नि ?
विगतमा म एउटा विद्यार्थी संगठनमा थिएँ । तर चैत ५ गतेदेखि म एउटा संगठनको व्यक्ति मात्र नभएर विश्वविद्यालयका सबै विद्यार्थीको प्रतिनिधि भएँ । त्यहीँबाटै मैले मेरो राजनीतिक व्यवहार परिवर्तन गर्न विद्यार्थी साथीहरुले दबाव दिनुभएको छ । विगतमा पनि कुनै पनि प्रशासनिक व्यक्तिले मैले राजनीतिक पूर्वाग्रह राखेर व्यवहार गरेको सायद पाउनुभएको छैन । राजनीतिक रुपमा उपकुलपति, रजिष्टार, डीन, विभाग प्रमुख लगायत जहाँ नियुक्ति हुन्छ अब त्यहाँ राजनीतिक नियुक्ति यसैपटक अन्त्य हुन्छ । त्यसको अन्त्य हुनबित्तिकै उहाँहरुमा पनि राजनीतिक विचार हावी हुँदैन, काम हाबी हुन्छ । अबको दुई वर्ष स्ववियुले राजनीतिक आस्था, विचारको कारण फरक व्यवहार गर्दैन ।
लामो समय भागबन्डा नमिलेकै कारण त्रिवि सेवा आयोगमा अध्यक्ष नियुक्त हुन सकेको छैन । त्यसो भए अब त्यहाँ राजनीतिक नियुक्ति हुँदैन ?
त्रिवि सेवा आयोगमा भागबन्डा नमिलेको कारण रिक्त रहेको म स्वीकार गर्छु । तर यो भन्दा अगाडि त्रिवि सेवा आयोगमा त्यहाँका चल्ताफुर्ता मान्छेहरुले आफ्ना मामा, भान्जी, भतिजी लगायतको नातेदारको नाम निकालेर स्थायी जागिरमा राख्न खोज्नुभएको थियो । तर त्यसको विरुद्धमा हामीले आन्दोलन गरेर, अदालतमा रिट हालेर खारेज गराएर नयाँ विज्ञापन गर्न लगाएका थियौं । भनेको राजनीतिक रुपमा पूर्वाग्रह राखेर गरिने व्यवहार विरुद्ध हामीले त्यत्तिबेला पनि आन्दोलन गरेको हो । त्यसको विरुद्ध हामीले हस्ताक्षर संकलन पनि गरेको हो । यो बीचमा फेरि राजनीतिक नियुक्तिका लागि केही समय छोडिएको छ ।
सेवा आयोगमा अध्यक्ष नियुक्त गरिहाल्नुपर्ने अवस्था छ तर राजनीतिक नियुक्तिका आधारमा होइन । जस्तो परीक्षा नियन्त्रणको काम ढिलासुस्ती हुनुको मुख्य कारण हो त्यहाँ आईटी (सूचना प्रविधि) को मान्छे नै छैन । सेवा आयोगले नयाँ कर्मचारीको लागि विज्ञापन नै गर्दैन त्यस्तै अन्य विभागमा पनि विज्ञापन गर्दैन विज्ञापन नगर्दा जनशक्तिको अभाव छ सेवा ढिला सुस्ती भइरहेको र प्रशासन झन् फितलो हुँदै गइरहेको छ ।
अहिलेको आवश्यकता के हो भन्दा सेवा आयोगको अध्यक्ष छिटो दिने तर त्यसलाई राजनीतिक आस्थाको आधारमा नभएर कार्ययोजनाको आधारमा । कुनै पनि पदमा राजनीतिक नियुक्तिको आधारमा नभएर क्षमताको आधारमा हुनुपर्छ । विश्वविद्यालय राजनीतिक आधारमा नियुक्त गर्ने, आफ्ना मान्छे जागिर खुवाउने ठाउँ होइन । विश्वविद्यालय देशको भविष्य कोर्ने ठाउँ हो । यदि उहाँहरुले हाम्रो कुरा मान्नुभएन भने हामी विद्यार्थीको शक्ति प्रयोग गर्छौं ।
त्रिविभित्र हुने अनियमिता, विसंगतिको विरुद्धमा बोल्न शिक्षक विद्यार्थीसँग र विद्यार्थी शिक्षकसँग डराउनुपर्ने अवस्था छ । त्यो अवस्था अब अन्त्य हुन्छ ?
अहिले यो समेष्टर प्रणाली लागू भएपछि विद्यार्थीहरुमा के डर छ भने प्रशासनका, शिक्षकको कमजोरीबारे बोल्दा मलाई फेल गराउँछ कि भन्ने छ । त्रिविका केही शिक्षकहरुमा पञ्चायती व्यवहार छ । ती केही शिक्षकहरुको व्यवहारले साथीहरुमा त्यो डर परेको छ । तर अब सबैभन्दा पहिला विद्यार्थीले पाएको अंक ट्रान्सपरेन्ट हुन्छ ।
विद्यार्थीले पाएको अंक कहाँबाट र के का आधारमा हो भन्ने कारण सहित हुन्छ । ४० प्रतिशत आन्तरिक मुल्यांकन प्रणाली सबै ट्रान्सपरेन्ट हुन्छ । त्यो हुनासाथ विद्यार्थीको डर घट्छ ।
अर्को शिक्षक विद्यार्थीसँग डराउनुपर्ने कारण एउटा छ । यो कारण विश्वविद्यालय पछिल्लो समय आफ्नो थिति भन्दा बाहिर गयो, यसले आफ्नो नीति सम्हालेन, विश्वविद्यालयले आफ्नो प्रणाली बिर्सियो ।
प्रत्येक दुई वर्षमा आधिकारिक निकाय स्ववियु निर्वाचन गराइदिएर विद्यार्थीको संयुक्त आवाज राख्ने संस्था बनाइदिएर त्यसले विद्यार्थी आवाज बुलन्द गराउनुपथ्र्यो । तर विश्वविद्यालय आफ्नो थिति बिर्सदा प्रशासनमा, व्यक्तिमा मनोमानी बढ्यो । विश्वविद्यालयमा हुनुपर्ने सुधारका काम भएन, नीतिहरु आफैले पालना गरेन त्यसले व्यक्तिमाथि व्यक्ति, प्रशासनमाथि प्रशासन हाबी भयो ।
त्यसले असमझदारी बढ्दै गयो, व्यक्ति हाबी हुँदा के भयो भन्दा मेरो व्यक्तिगत रुची के छ त्यहि अनुसार विश्वविद्यालय चलाउन चाहान्छु भन्ने कुराले त्यस्ता घटना भए । शिक्षक नै विद्यार्थीसँग डराउनुपर्ने स्थिति आयो । विश्वविद्यालयले सबैलाई प्रणालीभित्र राख्न नसकेको कारण यस्तो भएको हो । विश्वविद्यालयमा थिति कायम हुनेबित्तिकै सबै कुरा घटेर जान्छन् ।
अबको दुई वर्षभित्र सबैले महसुस गर्ने गरी के परिवर्तन हुन्छ ?
अब कुनै पनि विद्यार्थीले त्रिविमा पढ्नको लागि प्रवेश परीक्षा आवेदन दिएको दिनदेखि शैक्षिक प्रमाणपत्र लिएको दिनसम्म पूरा गर्नुपर्ने सबै प्रकृयामा सुधार भएको हुनेछ । समयमा परीक्षा फारम, परीक्षा, नतिजा, प्रमाणपत्र लिने सबै समयमा हुनेछ । यो सबै प्रक्रिया अनलाइनमार्फत पाउनुहुनेछ । अर्को पढाई हुने र प्रयोगात्मक ग्राउन्ड रियालिटीसँग मेल खाएको हुनेछ । विश्वविद्यालयको परिसर, सफा, शान्त र सुरक्षित हुनेछ ।
विश्वविद्यालयमा अध्ययरत जम्मा विद्यार्थीको ६० प्रतिशत होस्टलमा बस्न पाउने गरी व्यवस्था गर्छौं भनेका छौं त्यो विद्यार्थीले देख्नेगरी, महशुस हुने गरी काम गरेका हुनेछौं । विश्वविद्यालयमा राम्रो, व्यवस्थित चमेना गृह बनाउँछौं । विभिन्न विभागहरुमा भएको पुस्तकालयका पुस्तकहरु जीर्ण छन्, दिने, लिने प्रणाली पुरानै ढर्राका छन् । अब त्यसलाई ईलाइब्रेरी बनाउनका लागि पहल गर्नेछौंं ।
विश्वविद्यालयका विद्यार्थीले सामान्य स्वास्थ्य जाँच गर्न विश्वविद्यालयभित्रै पाउने गरी र त्यो भन्दा थप जाँचका लागि शिक्षण अस्पतालमा ९० प्रतिशत छुटमा स्वास्थ्य जाँच गर्न पाउने सुविधाको व्यवस्था भएको हुनेछ । विश्वविद्यालयका विद्यार्थीहरुले अनुसन्धानका लागि ग्रान्ट पाएका हुनेछन् ।
विश्वविद्यालयका अनुसन्धान केन्द्रहरु अहिले एउटा जर्नल निकाल्ने काममा सीमित भएका छन् । ती केन्द्रहरुलाई व्यवस्थित गराई त्यहाँका अनुसन्धानहरु देशलाई नै काम लाग्ने गरी हुनेछन् । आर्थिक स्रोत जुटाउनका लागि स्ववियु सहयोग गर्नेछ । त्रिविका चारवटै अनुसन्धान केन्द्रहरु सम्बन्धित निकाय अथवा सरकारलाई सुझाव दिन सक्ने बनाउन पहल गर्छौं । प्रणाली एक पटक सुधार गर्यो भने सयौं वर्षसम्म काम गर्छ ।
फोटो/भिडियो : विकास श्रेष्ठ
भिडियो सम्पादन : नवराज महरा
source https://www.onlinekhabar.com/2023/03/1284615
0 Comments