अहिले हामी शौचालय जानुअघि खल्तीमा मोबाइल छ वा छैन भनेर छामछुम गर्छौं । यस्तो लाग्छ कि शौचालय जाँदा मोबाइल अनिवार्य बोक्नुपर्छ । मोबाइल बोकेर शौचालय पसेका हामी लामो समय त्यही बिताइदिन्छौं ।
यसरी शौचालयमा लामो समय बस्दा मलद्वारमा चाप अर्थात् दबाब परेर रगतको नसा र ‘कनेक्टिभ टिस्यु प्रोल्याप्स’ हुन्छ । यसैको कारण पायल्स हुने सम्भावना हुन्छ । पायल्स भएको व्यक्ति शौचालयमा धेरै समय बस्यो भने रगत आउने र समस्या झन् बढ्ने हुन सक्छ ।
खासमा शौचालयमा कति समय बस्ने
शौचालयमा यति नै समय बस्ने भनेर तोक्न त मिल्दैन । किनकि कब्जियत हुने वा दिसा राम्ररी नहुनेहरूलाई धेरै समय शौचालयमा बस्नुपर्ने हुन्छ । यस्ता समस्या नभएको व्यक्तिलाई कम समय लाग्न सक्छ । त्यसैले दिसा भइसकेपछि पनि लामो समय शौचालयमा बस्नु भने हुँदैन । दिसा भइसकेपछि शौचालयबाट निस्कनुपर्छ ।
कसैको शौचालयमा लामो समय बिताउने बानी हुन्छ भने कसैलाई बाध्यता पनि हुन्छ । कब्जियत र दिसा राम्रो नहुनेहरूले शौचालयमा लामो समय बिताउँछन् । तर शौच हतारमा गर्ने बानी भने खासै धेरै व्यक्तिको हुँदैन । किनकि दिसा लागेपछि नै शौचालय जाने हो र पेट सफा नभएसम्म उठिंदैन ।
शौच कुन समयमा गर्नु राम्रो ?
शौचको लागि उपयुक्त समय भनेको बिहान हो । बिहान ५ देखि ७ बजेसम्मको समय शौचको लागि उपयुक्त हुन्छ । एउटै समयमा शौचको बानी बसाउनुपर्छ । शौचको समय पछि सार्ने बानी गर्नु हुँदैन । शौचको समय पछि सार्ने बानीले कब्जियतको समस्या ल्याउन सक्छ ।
दैनिक एकदेखि दुईपटक शौच हुनु सामान्य हो । तीनपटकभन्दा बढी भएको अवस्थामा झाडापखाला, आउँ जस्ता समस्या भएको हुन सक्छ ।
शौच गर्दा गर्न नहुने गल्ती
-लामो समय शौचालयमा बस्दा मलद्वारमा चाप परेर पायल्सको समस्या हुन सक्छ । त्यसैले लामो समय शौचालयमा नबस्ने ।
-शौच रोक्नु हुँदैन । शौच रोक्दा कब्जियतको समस्या हुन सक्छ ।
-शौचालयमा मोबाइल बोकेर जानु हुँदैन । मोबाइल बोकेर जाँदा मोबाइल चलाएर लामो समय शौचालयमा बिताइन्छ ।
-शौच कहिले कुन समयमा कहिले कुन समयमा गर्ने बानी बनाउनु हुँदैन । सकेसम्म दैनिक एउटै समयमा दिसा गर्ने बानी बसाल्नु उपयुक्त हुन्छ ।
शौचालयमा लामो समय बस्नबाट बच्ने उपाय
-फाइबरयुक्त खानेकुरा, हरियो सागपात र फलफूल प्रशस्त मात्रामा खाने गर्नुपर्छ । जसले गर्दा कब्जियतको समस्या हुँदैन र शैचालयमा धेरै समय बस्नु पर्दैन ।
-दिनमा दुईदेखि तीन लिटर पानी पिउने
-नियमित व्यायाम गर्ने
-प्यानवाला शौचालयमा भन्दा कोमोडवाला शौचालयमा लामो समय बसेको पाइन्छ । प्यान सिटमा बस्दा हाम्रो शरीरमा कोलोनबाट मल पूर्ण रूपमा हटाउन मद्दत गर्छ । तर कोमोडमा दिसा निस्कन अलि गाह्रो हुन्छ, त्यसैले कोमोडमा बस्दा खुट्टामा टुल राखेर बस्नुपर्छ जसले गर्दा शरीर सिधा हुन्छ र दिसा अलि छिटो र पूर्ण रुपमा निस्कन्छ ।
(ग्यास्ट्रोइनटेस्टिनल एण्ड ल्याप्रोस्कोपिक सर्जन डा. शाह पाटन र वयोधा अस्पतालमा कार्यरत छन् । उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट जेनेरल सर्जरीमा एमएस र चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट ग्यास्ट्रोइनटेस्टिनल तथा एचपीबीमा एमसीएच गरेका छन् । साथै टाटामेमोरियल अस्पताल, मुम्बईबाट ग्यास्ट्रोइनटेस्टिनल र एचबीपी क्यान्सर सर्जरीमा तालिम समेत लिएका छन् । डा. शाहसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)
source https://www.onlinekhabar.com/2023/03/1283419
0 Comments