Looking For Anything Specific?

Header Ads

‘हटारु’ र ‘अग्नि’ माथि असाहित्यिक मीमांसा

आफ्नो कामको सन्दर्भ सामग्री बाहेक गएको साल दुईवटा साहित्यिक कृतिले मेरो ध्यान ताने । पिरती, सहवास, अविश्वास र आशंकाजन्य नारी-पुरुष सम्बन्धमा लेखिएका खातका-खात साहित्य र आफ्नो मनोविनोदका लागि लेखिएका केही कृतिहरूले साहित्यमार्फत उत्सर्जन हुने सामाजिक चेत भुत्ते पार्दै लगेको समयमा मैले पढेका दुई कृतिहरूमाथिको असाहित्यिक विवेचना गर्न मन लाग्यो ।

मलाइ डर छ, कतै यो मीमांसा पनि मनोविनोदी हुने त होइन ? तर म ती कृतिहरूमा प्रयुक्त साहित्यिक सिद्धान्त, मान्यता वा तिनीहरूका साहित्यिक वैधानिकता माथि विवेचना गर्न चाहन्न । तथापि तिनीहरूमा प्रस्तुत समाजको चरित्र, दृष्टिकोण, जिजीविषाका लागि मान्छेले गर्ने संघर्ष (तर वर्ग संघर्ष होइन) मा म केन्दि्रत हुनेछु ।

यस बाहेक समाजका विषम मान्यताले मानवीयता चिथोरेका प्रसंगहरूमाथि मेरा टिप्पणीहरू केन्दि्रत हुनेछन् । आजको समाजशास्त्रीय बजारका जल्दाबल्दा विषयहरू नारी, दलित र उनीहरूको सामाजिक मूल्य र मनोभावना माथि गरिएका सामाजिक, राजनीतिक मीमांसाहरूमा मेरो दृष्टि गएको छ ।

माथि दुई कृतिको प्रसंग उल्लेख गरेको छु । ती कृति हुन्, साहित्यकार नवराज लम्सालको ‘अग्नि’ र ओम रिजालको ‘हटारु’ । म पृथक् कृतिको पृथक् परिच्छेदमा टिप्पणी लेखिरहेको छैन । दुवै कृतिमाथि सप्रसंग चर्चा गर्ने प्रयास गरेको छु, दुवैका अन्तर्यहरू खोतल्ने मेरो प्रयत्न हुनेछ ।

यसमा म ती कृतिहरूले यस समाजलाई के दिएका छन् र ती कुरा सामाजिक मानवीय स्वत्वका दृष्टिले के कति उपयुक्त छन् त्यसमा हेर्ने प्रयत्न गर्दछु । मेरो काम र प्रसंगले तिनमा प्रयुक्त वातावरणीय सचेतना पनि नियाल्ने प्रयत्न हुने नै छ ।

‘अग्नि’ले आधुनिक राज्य र समाजको एक कलंक, त्यो समाजले देश निर्माणमा गरेको योगदानको उपेक्षा मात्र नभएर सिंगो समाज लाञ्छित, उपेक्षित छ त्यसलाई उजागर गरेको छ । अनि अमानवीय संस्कृतिले मानवीय स्वत्वलाई कसरी किनारीकृत गर्‍यो भन्ने कुरालाई काव्यिक शैलीमा बताएको छ । यस काव्यको नायक कतै निरास तर कतै लेेनिनको ‘अब के गर्ने’ पुस्तकको अनुयायी जस्तै देखिन्छ ।

एलिक्स केट्सले ‘जब स्कर्टस माथि सरे, पाखण्ड उत्रियो’ भने झैं, ‘हटारु’ले नेपाली फेमिनिज्मले पहिल्याउनुपर्ने विभेदका जरा खोतलिदिएको छ । कथाकी नायिका सुनकेशा पण्डितको द्रव्यमोहप्रति मौन तिरस्कार गर्दछिन् र उनको ठम्याइ छ, समाज बिगार्न यिनको पनि हात छ ।

सुप्रसिद्ध ओशोले भनेका छन्- समाज पण्डित, पादरी र समाजवादीहरूले भाँडिरहेका छन्, ‘हटारु’को यो सैद्धान्तिक प्रस्तावना समाजका शोषणका वास्तविक ‘रुटकज’ मा आधारित रहेको छ ।

मैले यहाँ भन्नै पर्ने हुन्छ, म साहित्यको अनुरागी मात्र हुँ, साधक होइन । साधक नभएकाले साहित्यका सैद्धान्तिक प्रस्थापना वा अवधारणामाथि मेरो विवेचना होइन यी दुवै कृतिमाथि । मेरो प्रयत्न दुवै कृतिले खोतलेको समाजको ऐतिहासिक जीवन पद्धतिले निर्माण गरेका चञ्चल र अचञ्चल व्यवहारमाथि मात्र हो र यसका समाजशास्त्रीय, मानवशास्त्रीय र राजनीतिक संचेतनाका काव्यिक र औपन्यासिक आयाम खोतल्नु मात्र हो ।

धर्म दर्शनमा अग्नि स्वयं देवता हुन् र संसार उनैको प्रतापले बनेको मानिन्छ, हिन्दू, ॐकार र सनातन परिवारमा । वेदमा, ‘हे अग्नि हामीलाई गाई देऊ, एक दश सय हजार हुँदै लाख दश लाख करोड अर्ब, खर्ब गर्दै परार्द र दश परार्दसम्म हाम्रा गाई होउन् यसबाट हाम्रा कामना र मनोकामना पूर्ण होउन्’ भनिएको छ ।

महाकाव्य ‘अग्नि’को नायक पनि यसरी नै बोल्छ र भन्छ, हामीसँग आगो छ र यही आगो नै जीवनको ताप, तपस्या र आगत हो । जिजीविषाका लागि मान्छेहरू कर्म गर्न थालेका थिए सायद हजारौं वर्ष अगाडिदेखि नै, यो कर्म शनैशनै व्यवसाय भयो, एक व्यावसायिक जमात तयार भयो ।

सायद कठोर श्रम र परिश्रमका पुरस्कृत पुजारीहरूका आदिदेव भनेर विश्वकर्मालाई मानियो, र भनियो ‘विश्वकर्माका धेरै नेत्र, हात-मुख छन् उनै एक मात्र बलशाली परमात्मा देवले स्वर्ग र पृथ्वीलाई आफ्नै हात र चरणबाट ठीक-ठीक पारुन् ।’

दुवै कृतिमा पाठकहरूको आँखा छलेर राजनीति पनि घुसाइएको छ । हटारुले सो कालखण्डको राजप्रतिनिधि मुखियाको अन्याय र शोषणको शैली र आक्रमण उजागर गरेको छ भने अग्निले आफैं पराधीनहरू कसरी संघर्ष गर्छन् भनेर स्वतन्त्रताको वकालत गर्दछ

ती विश्वकर्मा र यी (आजका विश्वकर्माहरूमा) के फरक छ ? तर मानव सभ्यताको कालक्रममा नवनिर्माणको जग यिनैले बसाएका थिए, बसाइरहेछन् । भान्सादेखि सेनाको हतियार भण्डारसम्म एकरूपमा उनकै उत्पादनहरू चलिरहेका छन् यस सभ्यतामा ।

त्यसैले ‘अग्नि’ भन्छ ‘गोल बाल्ने आगो के हो ? गोल आफैं त बल्दैन बाल्ने आगो को हो र के हो ? यस दार्शनिकीले गोल बाल्न अग्निको काम गरिरहेको समाजको एक सत्यचिन्तन माथि समाजले गरेको तिरस्कार अग्नि महाकाव्यको वैचारिकी बनेको पाउँछु म ।

नेपालको सनातनी र हिन्दु सभ्यताको माता हो कर्णाली क्षेत्र । वैदिक परम्परा, धर्म दर्शनका आधारभूत भौतिक संरचना मठ-मन्दिर र धर्म र सभ्यताको मनोवैज्ञानिक पाठशाला हो कर्णाली । जसले आजसम्म पनि ती वैदिक आदर्शहरूलाई समाजका हिस्सा बनाइरहेको छ ।

त्यसै भएर नै हुन सक्छ, विगतको हिंसात्मक विद्रोहले कर्णालीलाई नै केन्द्रित गरेको थियो । यसो भनिरहँदा के कुरा बिर्सनुहुँदैन भने, सभ्यताको शाश्वत पक्षलाई पण्डित, पुरेत ज्योतिषीहरूले मान्छे ठग्ने मेलो बनाए, हटारुको नायिका सुनकेशाले भने झैं ।

नेपाली सनातन परम्परा धनी छ । म पटक-पटक पश्चिम नेपालका प्रायः सबै जिल्लामा पुगिसकेको छु । त्यहाँको समाजसँग धेरै अन्तरक्रिया गरेको छु र देउडाको पारखी पनि हुँ । तर कणर्ाली सभ्यताको भित्री आयामहरू हामी पूर्वेलीहरूको अनुमानभन्दा निकै फरक, विस्तारित छन् र घरव्यवहारमा पनि काव्यिक शैलीको कुराकानी हुने गर्छन् ।

हटारुले त्यहाँको साहित्यिक चेत प्रमाणित गर्न घर-व्यवहारमा बोलिने संवाद शैलीका धेरै प्रसंग ल्याएको छ, जुन साहित्यिक छन् । लामो कालखण्डमा प्राप्त अनुभवका आधारमा बनेका लोकोक्तिहरूलाई बिम्वको रूपमा यथेष्ट प्रयोग गरेको छ जसले पठन आकषिर्त गर्दछ । खस दैलेखी भाषामा नारी अवचेतना, चेतना, अन्याय, इज्जत, जिम्मेवारी र बोध क्षमताको ऐतिहासिक परिवेशलाई क्रियात्मक (प्रतिक्रियात्मक मात्र होइन) तरिकाबाट प्रस्तुत गरिएको छ ।

उदाहरणका लागि जतिसुकै मन दुखे पनि नबगेको रगत आफूभन्दा बीस वर्ष जेठो लोग्नेसँगको जबर्जस्त सहवासमा बगेको कुराको नायिकाको प्रस्तुति एउटा सिंगो समाजको वास्तविक तर दर्दनाक कहानीको सप्रमाण पेश गरिएको छ, हटारुमा ।

सुनकेशा प्रकृतिकी अनन्य भक्त थिइन् । हँसिया, डोको, नाम्लो र गाई उनका पि्रय थिए । छेलांगी, फलाम, आगो र घनलाई जीवनको मार्ग र वैचारिकी मान्छन् । कवि होमरले भनेका छन्, ‘तिमी धेरै मालिकको सेवा गर्छौ भने छिट्टै प्रताडित हुँदैछौ ।’

छोरो सन्तानप्रतिको मोह मानिसको विश्वास हो कि मूर्खतापूर्ण विश्वास वा अज्ञानताको उपज ? काकाको छोरो भाइ र आफूमा गरिएको विभेदको शिक्षालयबाट प्रशिक्षित सुनकेशाको अन्तरहृदयमा उत्पादित नवचेतना आजको ‘फेमिनिज्म’ को प्रारूप हो अवश्य । विस्मय त के छ भने एक पुरुष लेखकले नारी चञ्चलता, शरीर विज्ञानका लक्षणा, व्यञ्जना र नारी मनोविज्ञानको सही अर्थमा मापन गर्न सक्नु लेखकीय क्षमता मान्नै पर्दछ ।

त्यसैगरी अग्निमा एक संस्कृत भाषी ब्राहृमण जो वेदका ऋचा र संस्कृतका श्लोकहरूमा मानव चेत र यथार्थको खोजी गर्दछ, उसले छेलांगी विश्वकर्माका अन्तरमनका आल्हादित र नीरस मनोवैज्ञानिक अवस्थालाई खोतलेर संप्रेषणीय बनाउन सक्यो । यी दुई कृतिको अर्को विशेषता यो पनि हो ।

दुवै कृतिमा पाठकहरूको आँखा छलेर राजनीति पनि घुसाइएको छ । हटारुले सो कालखण्डको राजप्रतिनिधि मुखियाको अन्याय र शोषणको शैली र आक्रमण उजागर गरेको छ भने अग्निले आफैं पराधीनहरू कसरी संघर्ष गर्छन् भनेर स्वतन्त्रताको वकालत गर्दछ ।

भनिएको छ, अहंकारी उच्च जातिकाहरू हो घोडाका सन्तान अश्विनीकुमार र अरू कैयौं जसलाई पुजिरहेका छौं, तर मान्छेका सन्तानलाई हेला किन गर्छौ ? जीवन र संघर्ष भोग्नेले बुझ्छ संघर्ष र जीवन दुवैको महत्ता र मूल्य पनि ।

जीवन त सबैको आरोह-अवरोहपूर्ण नै हुन्छ । लम्सालले भने झैं करप्प कर खाने हाकिम वा १४ वर्षकी किशोरीमाथि घ्वाप्प चढ्ने मनोरोगी लोग्नेले पनि जीवनका आरोह-अवरोह नापेकै हुँदा हुन् । ‘कसैका जीउ नारी बासी कसैका पेट भोका, किन जन्माइ पर्मेश्वर भस्मै लेखाजोखा ।’

त्यसैले त नायिका भन्छिन्, ‘साइका जति भोज आँशुले भात मिची खाया ।’ सन्तानको लिंग हेरेर दुःखी र खुसी हुने समाजको प्रतिबिम्व हटारुमा सूक्ष्म ढंगले विस्तारपूर्वक औपन्यासिक शैलीमा प्रस्तुत गरिएको छ । सायद २०७२ सालको संविधानले ठीकै गरेछ कि के हो लिंगको समानता नभएर लिंगका आधारमा भागबण्डा ।

ओम रिजालले सामाजिक इतिहासलाई औपन्यासिक भाषामा अनूदित गरेका छन् । दैलेख नेपालभरि छरिएका धेरै ब्राहृमण, क्षत्रीहरूको आदिम बसोबास थियो, यो लेखक ८०० वर्ष पूर्व जुम्ली भए जस्तै । एकै सभ्यताको वैचारिकीबाट विकसित भएका मानिसहरू पनि भूगोलसँग र अन्य जातिहरूसँगको सान्निध्यताले कति फरक संस्कृतिहरू अवलम्बन गर्न पुग्छन् भन्ने दृष्टान्त हटारु पढ्ने पूर्वीयाहरूले बुझ्न सक्नेछन् । उपन्यास हो भनेर पढ्नुस् इतिहास भनेर पढ्नुभयो भने तपाइँ रुनुहुनेछ । म त एक्लै धेरैपटक आँशु बगाएको छु यो पुस्तक पढ्दा ।

वीररस युक्त छ, अग्नि । इतिहासका गल्तीहरूलाई वर्तमानमा सच्याउन अभिप्रेरित गर्छ यसले । मानवीय स्वत्व, रक्तको समानताको कुरा गरे पनि रक्तसम्बन्धको राज्यको कुरा गर्दैन । इतिहासको प्रकाशमा वर्तमानमा द्वन्द्व खोज्दैन लेखकको मूल पात्र, एकता र सहअस्तित्व पहिल्याउन चेष्टा गर्छ अग्नि ।

सम्पूर्ण सामाजिक इतिहास र लिंगका आधारमा गरिने विभेदका आधारभूत संरचनात्मक संस्थाहरूको जन्म, परिवार विवाह, मृत्युकर्महरूको दस्तावेज हो, हटारु । त्यस्तै, राज्य राजनीति, समाज र विकासका उत्तोलकहरूको आपूर्ति गरिदिने समाजको आˆनै इतिहास भएको छ, अग्नि ।

अग्नि जातका स्थानमा मानवतालाई महत्व दिन्छ, र उसको मूल पात्र मानवीयताको उत्तोलकले खारिएको र उत्तेजित भएको छ । सुनकेशा नारी र दलितमाथिका पीडाका विडम्बनापूर्ण मान्यताहरूका स्थानमा नयाँ अवधारणाहरू पहिल्याउन उत्प्रेरित छ । मैले बुझेको दुवै कृतिको प्रसंग हुन् यी हरफहरू ।

सुनकेशा प्रकृतिकी अनन्य भक्त थिइन् । हँसिया, डोको, नाम्लो र गाई उनका पि्रय थिए । छेलांगी, फलाम, आगो र घनलाई जीवनको मार्ग र वैचारिकी मान्छन् । कवि होमरले भनेका छन्, ‘तिमी धेरै मालिकको सेवा गर्छौ भने छिट्टै प्रताडित हुँदैछौ ।’

फेमिनिष्टहरू पनि सही छन्, सोध्छन्, के केटीहरूले संसार हाँकेका छन् र ? हो, लोग्नेमान्छेले हाँकेको संसारमा सुनकेशा पीडित थिइन्, धेरै मालिकलाई सेवा दिएकाले छेलांगी दुःखी भए । हामी नेपाली जोसेफिन बुट्लर त पढ्छौं, योगमाया र हटारु पनि पढौं । हटारु, अग्नि र योगमायामाथि तात्विक मीमांसा सुरु गरौं । समाजलाई यसरी पनि योगदान गर्न सकिन्छ ।



source https://www.onlinekhabar.com/2023/03/1278873

Post a Comment

0 Comments