स्नातक अध्ययनका क्रममा ०५५ सालमा सप्तगण्डकी कलेजमा सहपाठीका रुपमा भेटेकी थिएँ मैले शिवहरी तिमल्सेनालाई । चितवनको मंगलपुर घर रहेका उनी पढाइमा अब्बल थिए ।
नेपालमा सञ्चालित सशस्त्र द्वन्द्वबाट हामी दुबै अछुतो रहन सकेनौं । म त्यतिबेला नवलपरासीमा वारेन्टेड थिएँ । पटक–पटक हिरासतको बसाइले मलाई वर्ग दुश्मनप्रति घृणा पैदा गराएको थियो । त्यसैले सहकार्यको ६÷७ महिनापछि साझा लक्ष्यसहितको उद्देश्यमा पुग्नका लागि हामीले एक ठाउँमा उभिने निर्णय गर्यौं ।
तर, परिस्थिति अत्यन्तै प्रतिकुल थियो । प्रतिकुलताको वीचबाट अनुकुलता खोज्ने सहमतिसहितको निर्णयले उत्साहित हुँदै फरक–फरक कार्यक्षेत्रबाट आ–आफ्नो जिम्मेवारी पूरा गर्यौं ।
०६० बैशाख २० गते हामीसहितको चार जोडीले चितवनका पहाडि गाउँमा पश्चिम र मध्य कमाण्ड अन्तगर्तको जनमुक्ति सेनाको केन्द्रीकरणमा हामीवीचको प्रेम सम्बन्धलाई बाँकी जीवन सर्वहारा वर्गको मुक्ति अभियानमा समर्पित हुने प्रतिवद्धतासहित विवाहमा परिणत गर्यौं । जीवनका सबै सुख–दुःख बाँड्ने हाम्रो प्रतिवद्धता लामो समयसम्म टिक्न सकेन । कामकै सन्दर्भमा २०६० फागुन १७ गते रुपन्देहीको पर्रोहा ९ सेरुवामा घरभित्र बसिरहेको अवस्थामा रणशार्दुल गणका तत्कालीन मेजरको नेतृत्वमा गएको सेनाको फोर्सले घर घेरा हाली मेरा श्रीमान शिवहरि तिमल्सेना लगायतका ४ जनालाई अत्यन्तै निर्ममतापूर्वक हत्या गर्यो ।
नुवाकोटको तामेमा २०३५ साल असार २७ गते आमा विष्णुमाया र बुवा वीरबहादुर तिमल्सेनाको कान्छा छोराको रुपमा जन्मिएका थिए । उनका दुई दाजु एक दिदी र एक बहिनीमध्ये माइला दाजु ०५९ असोजमा स्याङ्जाको पक्वादीमा सेनाको गोली लागी शहादत भैसकेको थियो ।
शिवहरि सानैदेखि अत्यन्तै तीक्ष्ण बुद्धिका थिए । सबैसँग समान ब्यवहार गर्ने उनी कसैको चित्त दुखाउनुहुँदैन भन्ने गर्थे । पार्टी सङ्गठनमा अत्यन्तै तिखो वैचारिक बहस चलाउने हैसियत राख्थे । पार्टीभित्र देखिने सबैखाले गलत प्रवृत्तिको विरुद्ध खरो उत्रनु उनको विशेषता थियो । नेतृत्वप्रतिको सम्मान योजना कार्यान्वयन र बैचारिक दृढतामा रहने विश्वास गर्ने उनी आफूभन्दा तलका कार्यकर्तालाई रक्षा र माया गर्ने स्वभावका थिए । जनताका मुद्दामा अत्यन्तै संवेदनशील रहने उनी सधैं जनताको स्तरमा रहनु उनको आदर्श थियो । सबै उमेर समुहका ब्यक्तिसँग सरल र सहज तरिकाबाट छिट्टै घुलमिल हुन सक्ने उनको स्वभाव थियो । नरम र मिजासिलो स्वभावका उनी वर्ग दुश्मनप्रति अजङ्गका थिए । त्यसैले त दुश्मनको किल्लाभित्र निशस्त्र छिरेर उनले दुश्मनको हतियार सजिलै कब्जा गरी पार्टीलाई बुझाउने गर्थे । वर्ग दुश्मनसँग उनले कहिल्यै सम्झौता गर्दैनथे ।
२०५५ सालमा जनयुद्धको आधिबेहरीबाट उनी अछुतो रहेनन् । उनले आफूलाई एक कर्मठ योद्धाका रुपमा उभ्याउन सदैव कोसिस गरिरहे । उनको रुचि सेनामा थियो । विशेषतः उनका सहोदर दाजु रामकृष्ण तिमल्सेनाको शहादतले विक्षिप्त बनेका उनमा दाजुको हत्याको बदला ब्याटलमा गरिने फौजी प्रतिकारबाट हुने बुझाइ थियो । त्यसैले उनको रुचि र आवश्यकता दुवैलाई मध्यनजर गर्दै नेतृत्वले उनको जिम्मा जनमुक्ति सेनमा दियो ।
गण्डकका विभिन्न फौजी आक्रमणमा उनले सधै फस्ट एसल्टको भुमिका निर्वाह गरे । निसस्त्र अवस्थामा गएर चितवनको सौराहा चोकमा रहेका सशस्त्रको एसएमजी कब्जा, चितवनको हाकिम चोकमा डिउटीमा रहेका हवल्दारमाथिको फौजी आक्रमण पश्चात हतियार कब्जा र सबै टिमसहित आफू पनि सकुशल रहन सक्नु युद्धमोर्चावाट प्राप्त युद्धकौशल थियो उनको ।
यसो भनिरहँदा उनी पुरै फौजीमात्रै थिए भन्दा अलिकति अन्याय हुन्छ । उनी बहुप्रतिभाशाली ब्यक्तित्वका धनी थिए । संगठनमा पनि उनी त्यत्तिकै अब्बल थिए । तर, नियमित सेनाको फर्मेसनमा नै उनले आफ्नो क्षमता प्रयोग गर्ने सोच बनाए ।
विभिन्न फौजी आक्रमण, पार्टीका विभिन्न योजना हुँदै शहर घेर्ने रणनीतिअनुसार २०६० सालबाट अर्वान गुरिल्ला बनेर आफ्नो जिम्मेवारी सम्हाल्न थाले । पार्टीको निर्णयअनुसार आफ्नो कर्मथलोको रुपमा नवलपरासी र रुपन्देहीको भुमिमा आफूलाई समर्पित गर्न पुगे । स्पेसल टास्कको कम्पनीको भाइस कमाण्डरको जिम्मेवारीमा रहेर यी भुगोलमा थुप्रै फौजी आक्रमणको नेतृत्व गरे । २०६० फाल्गुणमा उनले ठुलै विद्युतीय धरापको योजना सफल बनाउनको निम्ति जिम्मेवारी लिएका थिए । खास गरी मुख्य धक्कालाई सफल बनाउन र दुश्मनलाई शहरमा नै अल्मलाउन शहरमा पनि ठूला-ठूला फौजी धक्का दिने योजना बन्थ्यो । त्यही योजना असफल बनाउन रणसार्दुल गणले निकै धेरै योद्धाहरुको चरम यातना पश्चात हत्या गर्ने गरेकाले त्यसैलाई लक्षित गरेर विद्युतीय धराप राख्ने योजना बन्यो ।
पार्टीले बनाएको योजना कार्यान्वयनकै शिलशिलामा एक क्वायल मात्रै चार बिछ्याउन बाँकी रहेको र सोही रात सकाउने तयारीमा रहे पनि स्थानीय सुराकीका आधारमा शिवहरिसहित चारजना साथीहरु दुश्मनको घेरामा परे । र, अत्यन्तै क्रुरतापूर्वक हत्या गरियो ।
चारैजनाले नजिकैको गाउँमा थुप्रै हतियार लुकाउनेदेखि विभिन्न किसिमका पार्टी योजनालाई कत्ति पनि गद्दारी नगरी मृत्युको बाटो रोजे । र, यस धर्तिका निम्ति आफ्नो अमूल्य जीवनको आहुती दिए ।
एक कुशल तथा निर्भिक स्वाभिमानी योद्धा आफ्नो बलिदान स्वीकार्दै गर्दा आम सर्वहारा जनता र मुक्तिको प्रश्नमा प्रतिवद्धता जाहेर गरेका थिए । आफूलाई यो महासमरमा पनि अब्बल घोषित गरेका थिए । पार्टीले उनको बलिदानीले पुगेको क्षति र जनतामा छाएको निराशा हटाउन २ दिनको नवलपरासी र रुपन्देही बन्दको आयोजना गर्योे ।
तिमल्सेना परिवारमा एक वर्षको अन्तरालमा माइला र कान्छा गरी दुबै छोराहरुको सहादत हुन पुग्यो । उनको शहादतले सिङ्गो मुलुक तथा परिवार विक्षिप्त बन्न पुग्यो ।
अब चित्त बुझाउने एउटै बाटो हामीसँग पार्टी छ, उनका अधुरा सपना पुरा हुनेछन् भन्ने थियो । तर, मुलुकमा अहिले शान्ति प्रक्रियाको एक दशक बितिसकेको छ । शान्ति प्रक्रियाको एक दशकमा पक्कै पनि मुलुकमा केही परिवर्तन त भएकै छ । नयाँ संविधान निर्माण, धर्म निरपेक्षता, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र कार्यान्वयन आदि । तर, विगतका विद्रोही शक्तिहरुले पटक–पटक सत्ताको बागडोर सम्हालिरहेको अवस्था रहे पनि अहिले शहीदको परिभाषा फेरिएको छ ।
हिजो टाउकाको मूल्य तोक्ने र तोकिनेहरु पनि एकै ठाउँमा उभिएका छन् । नेतृत्व विचारमा स्खलित बनेको प्रष्टसँग सबैले महसुस गरेका छन् । पटक–पटक हजारौंको बलिदानीबाट आएका विद्रोहीहरुले सत्ताको बागडोर सम्हाले पनि स्पष्ट शहिदको खाका कोर्न नसक्नु विडम्वना मात्रै होइन, दुःखद पक्ष बनेको छ ।
अहिले पाटी पनि विशाल बनेको छ । कम्युनिस्टको दुई तिहाइको सरकार बनेको छ । अहिलेको अवस्थासम्म आइपुग्दा हिजो जनताका छोराछोरीलाई गोलीले भुट्नेहरु शहिद बनेका छन् । त्यही कम्युनिस्टको दुईतिहाइको सरकारले सहिद घोषणा गरिरहँदा हिजो श्रमिक जनताका निम्ति रगत बगाउने ती तमाम योद्धाहरु युद्धमा मारिएका व्यक्तिका रुपमा गनिएका छन् र तिनका परिवार द्वन्द्वपीडित बनेका छन् ।
यसो भनिरहँदा जनमुक्ति सेनाको विघटन, हजारौंको रगतले लत्पतिएको हतियार विगतमा भनिएको प्रतिक्रियावादी सेनालाई बुझाइनु तथा छाती नापेर युद्धका ठूला ठूला ब्याटल सम्हालेका ती तमाम योद्धाहरुलाई अयोग्य भनेर बिल्ला भिराइनु वैचारिक स्खलनका केही उदाहरण मात्रै हुन् ।
राम्रो होइन, हाम्रो, अनि सक्षम होइन, पैसावालको सहभागिता अहिलेका खाटी कम्युनिस्टको मूल नारा देखिन्छ । यस्तो अवस्थामा ती तमाम योद्धाको स्मरण कसरी गर्ने भन्ने नै दुविधा रहेको वर्तमान विशाल पार्टीभित्र वैचारिक सम्मान त बालुवाटारमा रक्सी र मासुसँग साटिएको छ ।
घाइते अपाङ्गको मल्हमपट्टी चिल्ला कारसँग विनिमय भएको छ । काख रित्तिएका र सिन्दुर पुछिएका तमाम व्यक्तिहरु आज समस्याका पोका बनेका छन् । जिउँदै आगोमा पोलिएका तथा आफ्नो अस्मिता युद्धमा वलिदान गरेका तमाम योद्धाहरुको मन र भावना कुँडिएको छ ।
यस्तो अवस्थामा मेरो जीवनसाथी शिवहरिको १७ औं वार्षिकीमा स्मरण गर्नु पर्दा उनी र उनीजस्ता तमाम शहिदहरुको बलिदानीको मूल्य खै भनेर सिंहदरबार र बालुवाटारमा धाउनुको के तूक र ?
तर, पनि उनको सपना समृद्ध नेपाल निर्माण गर्ने थियो । उनको सपना पूरा हुन्छ÷हुँदैन, तर उनको बलिदानी अर्थपूर्ण थियो भनेर मात्रै गर्व गरौं । बाँकी त भविश्यको गर्भमा छोडौं ।
फेरि पनि शिवहरि तिमल्सेना मेरा जीवनसाथी लगायत तमाम शहीदहरुप्रति श्रद्धासुमन ।
(रिजाल शहीपत्नी हुन्)
source https://www.onlinekhabar.com/2020/02/840400
0 Comments