१७ फागुन, काठमाडौं । शुक्लाफाँटा अर्थात वन्यजन्तुको सुरक्षित आश्रयस्थल । बाघदेखि बँदेलसम्म, मृगदेखि मयुरसम्मले विचरण गर्ने साझ थलो । यी सम्पूर्ण वन्यजन्तुलाई अवलोकन गर्न होस् वा तिनीहरुलाई नजिकबाट अध्ययन गर्न नै, शुक्लाफाँट एक खुला संग्राहलय हो ।
म पनि त्यहाँको वन्यजन्तुको आकर्षणले तानिएर पटकपटक शुक्लाफाँट पुगेको छु । यसपटकसम्म म पाँचौ यात्रा तय गरिएछ । डोटीमा जन्मे हुर्के पनि शुक्लाफाँटा पुग्ने अवसर भने धेरैपछि मात्र जुरेको थियो । यद्यपि त्यसपछि भने पटकपटक पुगेको छु ।
सन् २०११ तिर शुक्लाफाँटा पुग्दा त्यसलाई वन्यजन्तु आरक्षण भनिन्थ्यो । त्यसबेला मैले आँखै अगाडि बाह्रसिंगे देखेपछि चकित भएको थिएँ । पछि शुक्लाफाँटा सम्झनसाथ मेरो आँखामा बाह्रसिंगे नै नाच्ने गथ्र्यो ।
समय र परिस्थिती मिलाएर म बेलामौकामा पश्चिम नेपालको यात्रा गर्ने गर्छु । यात्रा मात्र नभएर पश्चिम मेपालको पर्यटन प्रवर्द्धन गर्ने हेतुले वाइल्ड वेष्ट नेपाल परिकल्पना समेत गरेको हो । पर्यटकीय सम्भावना भएर पनि पश्चिम नेपालले अपेक्षाकृत सफलता पाएको छैन ।
शुक्लाफाँटाकै कुरा गरौं न । यो हामीले विदेशी टेलिभिजन च्यालनमा हेरिने वन्यजन्तुको संसार भन्दा कम छैन । भनिन्छ, एशियकै ठूलो फाँट हो यो । यहाँ बह्रसिंगेदेखि जरायोसम्मको ठूलो झुन्ड साक्षतकार गर्न सकिन्छ ।
त्यसबाहेक सरिसृप, चराचुरुंगीको पनि बासस्थान हो यो । यहाँ हरेक विहान र साँझ जीप एवं हात्ती सफारी गर्ने व्यवस्था छ ।
राजा-महाराजाको मनोरञ्जनका लागि विसं २०२६ सालमा शिकार आरक्षका रुपमा स्थापना गरिएको शुक्लाफाँटालाई सरकारलेे निकुञ्जमा परिणत गरेको हो ।
शुक्लाफाँटा क्षेत्रमा परमानन्द भण्डारीको शुक्लाफाँटा जंगल कटेज, चराविद् हेमसागर बरालको शुक्लाजंगल टेन्टेड क्याम्प र राना थारु समुदायको सामुदायिक होमस्टे सञ्चालनमा छन् । फाँटाबाट ७ किमि दुरीको महेन्द्रनगरमा डेढ दर्जन हाराहारीमा पर्यटकीय सुविधाका होटल छन् ।
कसरी पुग्ने ?
काडमाडौंदेखि धनगढीसम्म हवाई यात्रा । त्यसपछि जीपमा दुई घण्टामा आरामले पुग्न सकिन्छ । सार्वजनिक बसमा २४ घण्टाको यात्राबाट पुग्न सकिन्छ ।
source https://www.onlinekhabar.com/2020/02/840445
0 Comments