सामान्यतयाः मोदनाथ प्रश्रितलाई चिन्नेमान्छेमध्ये अधिकांशले उनको मार्क्सवादी चिन्तन र साहित्यमा समेत कम्युनिष्ट विचारधाराको माध्यमबाट चिन्ने गर्छन् । आयुर्वेद विज्ञानका जानकार एवं विचारमा मार्क्सवादी विचार धारा बोक्ने उनी उनी यो दुई पक्षलाई जोड्नको लागि कठिन हुने गरेको सुनाउँछन् । दैनिक योगा र प्राणायामबाट मात्रै आफ्नो जीवनको सुरुवात गर्ने प्रश्रित आफू भगवानलाई अन्धोरुपमा भक्ति गर्ने र सधैं जयजयकारमा नै आफ्नो जीवन बिताउने कामको विरोधी रहेको बताउँछन् । तर, उनले एक्कासी श्रीकृष्णको सुधारका कामहरुको भने प्रशंसा गरे ।
जीवनभरी अन्धभक्तीको विरोध र मूर्तिपूजाको विपक्षमा आफ्नो साहित्य लेखेका महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो जीवनको अन्तिम समयमा भनेका थिए ‘आखिर श्रीकृष्ण रहेछ एक, नभक्ति भो ज्ञान नभो विवेक ।’ यो श्रीकृष्णको दर्शनबाट प्रभावित भएपछि देवकोटाले यस्तो मत राखेका थिए । तर, प्रश्रितले भने श्रीकृष्णको सुधारका कार्यहरुलाई देखाएर उनको प्रशंसा गरेका छन् ।
उनले श्रीकृष्णको प्रशंसा गर्नुपूर्व आफू उनको धार्मिक रुपले नभई समाज सुधारक र उनको दर्शनको कारण प्रशंसक बनेको स्पष्ट पारे । तर, आखिर के काम हो त एक बुझक्कड कम्युनिष्ट नेता एवं साहित्यकारले समेत धेरैले धार्मिक हिसाबले पुज्ने श्रीकृष्णलाई मन पराउनुको कारण ? उनकै भनाईमा यस्तो छ श्रीकृष्णको सकारात्मक पक्ष ।
‘श्रीकृष्णलाई धेरैले भगवानको रुपमा मान्ने गर्छन् । तर, म भने उनलाई एउटा समाजसुधारक, कृषि क्रान्तिका योजनाकार एवं वैज्ञानिकको रुपमा मान्ने गर्छु । उनको समय अघिसम्म त्यो समाजमा गाईको मासु खाने चलन थियो । उनी आफैं ग्वाला बने, आफैं गोठाला बने । त्यतिबेलासम्म दुध खान कसैले पनि जानेका थिएनन् । तर, उनले नै कुनैपनि जनावरको मासुभन्दा पनि दुध खाँदा हामीहरुलाई धेरै पक्षबाट फाइदा हुन्छ भनेर त्यो चलन बसाए ।
गाई पाल्दा गोबरले बाली उब्जाउमा फाइदा हुन्छ । त्यसैबाट घिउ मोही, दही जस्ता पौष्टिकतायुक्त, खानेकुराहरु खान सकिन्छ भन्ने हिसाबले पनि उनले गाईलाई महत्वपूर्ण प्राणीको रुपमा मानेको पाइन्छ । त्यतिबेला नै रन्तीदेवले दुईहजार गाईको मासु खुवाएको प्रसंग पाइन्छ । त्योभन्दा अघि वेदमा समेत गाईको बलि दिने चलन देख्न सकिन्छ । तर, श्रीकृष्णको समयदेखि नै एकाएक हिन्दुहरुले गाईलाई पुज्न थाले । गाईलाई पालेर मासुको साँटो दुध खान थाले । उनले त्यो चलनलाई धर्मसँग जोडेर समाज सुधारमा लागे । उनका दाजु बलरामले हलो जोतेर कृषि क्रान्तिको बिउ रोपे यसरी दश अवतारहरुमध्ये श्रीकृष्णका दाजुभाइको काम उल्लेखनीय लाग्छ मलाई ।
अर्को त उनको महाभारत युद्धमा देखाएको पराक्रम वा कूटनीति पनि प्रशंसनीय छ । सुरुमा त उनले महाभारत युद्धलाई नहोस् नै भनेका हुन् । तर, पछि युद्धको लागि दुबै पक्ष उत्साहित भएपछि श्रीकृष्णले दुर्योधनकै इच्छा अनुसार अर्जुनको सारथिको रुपमा महाभारत युद्धमा सहभागी भए । यदि श्रीकृष्ण थिएनन् भने महाभारत युद्धले यस्तो रुप लिने थिएन होला । गीता जन्मिने थिएन । तर, उनले दार्शनिक रुपले अर्जुनलाई सिकाएर जति सक्छौं सखाप पार भने । त्यो त्यतिबेला आवश्यक थियो । दुबै पक्षमा बलको घमण्ड थियो । विज्ञानका कुरामा दुबै पछि थिए । त्यसैले ती दुबैपक्षलाई कमजोर बनाएपछि कृष्णले कृषिक्रान्तिको सुरुवात गरे ।
यसरी ध्वस्त भएपछि त्यतिबेलाको समाजमा कृष्णको वर्चश्व बढ्यो । त्यसैसमयदेखि नाट्यसंगीतको विकास भयो । उनले कृषि युगमा ल्याएपछि हाम्रो समाज व्यवस्थित तरिकाले कुसुण्डाहरु बाहेक अरुले खेती गर्न थाले । त्यसैले हामी अहिले यो अवस्थासम्म आइपुगेका छौं । त्यसैले पनि म श्रीकृष्णको यो वैज्ञानिक विचारको समर्थक हुँ ।’
source https://www.onlinekhabar.com/2020/02/839907
0 Comments