Looking For Anything Specific?

Header Ads

मनै लोभ्याउने माईपोखरी

१७ फागुन, इलाम । प्रदेश नं. १ मा अवस्थित पहाडी जिल्ला इलामको सुलुबुङ गाउँपालिकामा अवस्थित माईपोखरी सुन्दर जल क्षेत्रमात्र होइन धार्मिक आस्थाको केन्द्र पनि हो । हिन्दू, बौद्ध र मुन्धुमको धार्मिक र साँस्कृतिक आस्थाको धरोहर हो माईपोखरी ।

इलाम सदरमुकामबाट माईपोखरी १८ किलोमिटरको दुरीमा पर्ने माईपोखरी सन् २००८ देखि विश्व रामसार सूचीमा सूचिकृत छ । समुद्री सतहबाट १२०० मिटर उचाइ रहेको माईपोखरीको कुल जलाशय क्षेत्र २ हेक्टर रहेको छ । कुनै बेला निलो पानी देखिने माईपोखरी आजभोलि भने हरियो देखिन्छ ।

माईपोखरीसम्म पुग्ने सडकमार्ग सहज भएपछि आन्तरिक र बाह्य पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । माईपोखरी हर्न र पूजाआजा गर्न देश विदेशबाट पर्यटकहरु पुग्ने गर्दछन् । सिक्किमबाट माईपोखरी घुम्न आएका एके श्रेष्ठले यहाँको मनोरम दृश्यले मन लोभ्याएको बताए । ‘माईखोपरीको बारेमा धेरै सुनेको थिएँ,आज प्रत्यक्ष देख्ने मौका मिल्यो,’ श्रेष्ठले भने, ‘माईपोखरीको दृश्य हरेर मन नै प्रफुल्ल भयो ।’

मूल र वर्षा मात्र माईपोखरीको पानीको स्रोत हो । यसबाहेक खोला वा नदीबाट माई पोखरीमा पानी आउँदैन । अधिकतम तापक्रम १८ डिग्री र वार्षिक तीन हजार मिलिमिटरभन्दा बढी वर्षा हुने माईपोखरी वरिपरि सुन्दर सल्लेरी छ ।

यस क्षेत्रमा १४ प्रकारका स्तनधारी जनावर, १२ प्रकारका सर्प, दुई सय प्रजातीका फूल फूल्ने बिरुवा, चार प्रकारका गुराँस, १६ थरि सुनाखरी, ३ प्रजातीका चाँप, ६२ प्रकारका जडिबुटी, ३ माछा जातिका र ३०० जातका पंक्षीहरु पाइन्छन् । यही जैविक विविधता नै माईपोखरीको मुख्य विशेषता हो भन्छन् स्थानीय जीवन नेपाल । उनले भने, ‘यति हाइटमा यति ठूलो पोखरी हुनु आफैंमा अचम्म हो, माईपोखरीका धेरै विशेषताले पर्यटकको मन लोभ्याउने गरेको छ ।’

माईपोखरीको अर्को विषेशता भनेको नौकुना हो । नवरात्रको दिन नौवटै कुनामा दुर्गाको नौ स्वरुपको पूजा गरिन्छ । हरिबोधनी र हरिशयनी एकादशीमा यहाँ भव्य मेला लाग्दछ । स्कन्ध पुराणमा शिव–पार्वती जलक्रिडा गर्ने गरेको भनेर उल्लेखित ठाउँ माईपोखरी नै हो भन्ने भनाइ स्थानीयको छ ।

पोखरीमा छाल आए अनिष्ट हुने विश्वासका साथ छाल आएको बेला मन्दिरमा पूजा गरी पोखरीमा दूध चढाउने परम्परा छ ।

धेरैजसो धार्मिक आस्थाका कारण र प्राकृतिक सुन्दरताका कारण माईपोखरी घुम्न जान्छन् । कतिपय भने यहाँको सामाजिक, आर्थिक, साँस्कृतिक तथा वातावरणीय पक्षको अध्ययन, अनुसन्धानका लागि जाने गर्दछन् ।



source https://www.onlinekhabar.com/2020/02/840402

Post a Comment

0 Comments