सायद तपाईंमध्ये धेरैले ‘फेन्सिङ’ खेलको नामै नसुन्नुभएको होला । नाम सुने पनि यसबारे केही थाहा नहोला । केही वर्ष अगाडिसम्म मलाई पनि केही थाहा थिएन । तर, अहिले नेपालको लागि फेन्सिङबाट पहिलो अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीको गर्विलो पहिचान बनाएकी छु ।
म सशस्त्र प्रहरीमा जागिर खान्छु । प्रहरी भएकाले बन्दुक बोक्छु/चलाउँछु । तर, तरबार चलाउन पनि खप्पिस छु । फेन्सिङ भनेकै तरबारको खेल त हो । यो कसरी खेलिन्छ भन्ने जिज्ञासा लागेमा गुगल र यूट्यूवबाट जानकारी लिन सकिहाल्नु हुन्छ । अहिलेचाहिँ फेन्सिङ खेलाडीका रुपमा मेरो अहिलेसम्मको अनुभूतिहरु तपाईंसँग बाँड्ने छु ।
रहर थियो आर्मी बन्ने । तर, प्रहरी बन्दा पनि खुसी छु । आखिर जिम्मेवारी उस्तै–उस्तै नै हो । जसरी हुन्छ, देश र जनताको लागि आफूलाई समर्पित गर्ने नै हो । मैले त अझै, खेलको माध्यमबाट पनि देशका लागि थोरै योगदान दिन पाएको छु । अझै धेरै योगदान दिन त बाँकी नै छ ।
000
आर्मी बन्ने सपना पूरा गर्न म एसएलसी दिएपछि काठमाडौं आएँ । त्यतिबेला आर्मीमा जागिर खुलेको भए पनि मेरो उमेर पुगेन । अनि म काठमाडौं घुमघाम गरेर फर्किएँ ।
त्यतिखेर मलाई ‘एपीएफ’ को बारेमा थाहा थिएन । दिदी र बाबाले एपीएफमा जागिर खुलेको छ, आवेदन देउ भन्नुभयो । बाबा हुम्लामा हुनुहुन्थ्यो । मम्मीसँग पैसा मागेर म दिदीसँग काठमाडौं आएँ । फर्म भरेँ । परिक्षा दिएँ । पहिलो प्रयासमै छनोट भएँ ।
एपीएफमा तालिम सकाएपछि मेरो दरबन्दी भक्तपुरमा थियो । त्यतिबेलासम्म म खेलाडी थिइनँ । ०७२ को ‘एपीएफ डे’ प्रोग्रामको लागि साउनमा तयारी थियो । म त्यहाँ नजाने भनेर बसेकी थिएँ । तर त्यहाँ नगए कारबाही हुन सक्ने भनिएपछि गएँ ।
त्यही कार्यक्रममा पहिलोपटक फेन्सिङ खेलबारे सुनेको हुँ । दाइहरुले फेन्सिङ, आइटिएफ तेक्वान्दो, कबड्डीलगायत नयाँ खेलहरु आइराछन् । खाली नै छ । तिमी खेल्ने हो ? भनेर सोध्नुभयो । मैले पनि केही नसोची खेल्छु भनिदिएँ ।
फेन्सिङ नयाँ खेल । दाइहरुले लगाएको ड्रेस हेर्दा पनि राम्रो लाग्यो । अरु खेलहरु त सबैले खेलेकै थिए । नयाँ खेल आफूले शुरुवात गर्दा राम्रो होलाजस्तो लाग्यो ।
मैले त्यसअघि कहिल्यै पनि फेन्सिङ खेलेको देखेकोसम्म थिइँन । एउटा खेल हेरेको थिएँ, तर त्यो फेन्सिङ हो भन्ने थाहा नभइकन । तरबार नचाएको रमाइलो लागेर हेरेको थिएँ । मुख्य कुरा चाहिँ मलाई ड्रेसले नै आकर्षित गरेको हो । फेन्सिङमा तीनवटा विधा हुन्छ । तीनवटै विधाको फरक–फरक ड्रेस हुन्छ । लगाउँदा ‘एक्ट्रा’ देखिने ।
शुरुमा हेर्दा यो खेल सजिलै होला जस्तो लागेको थियो । तर खेल्दा गाह्रो हुने रैछ । मास्क, ड्रेसको तौल हुँदोरहेछ । ड्रेस नै भारी हुने, अनि तरबार समाउँदा हात फत्रक्क गल्ने । ड्रेस कम्तीमा २–३ केजी हुन्छ । तरबार पनि गह्रुंगो नै हुन्छ ।
लडाइँको मैदानमा जस्तो अन्धाधुन्द तरबार हानाहान गर्ने खेल होइन यो । प्रतिस्पर्धीको शरीरमा ‘टच’ मात्र गर्ने हो । यस खेलमा तीन इभेन्ट हुन्छन्– इपी, फोइल र सेभर । इपीमा शरीरका जुन अंगमा छोए पनि अंक आउँछ । फोइलमा चाहिँ चेस्टमा टच भयो भने अंक आउँछ । सेभरमा कम्मरदेखि माथिको भागमा टच गर्नुपर्छ ।
मैले पहिलेदेखि नै इपी खेल्न थालेको । बाहिरबाट हेर्दा सजिलोजस्तो, तर बुझ्नेहरुलाई गाह्रो खेल हो यो । फेन्सिङ खेल्ने भइसकेपछि मैले अन्तर्राष्ट्रिय खेलहरु युट्यूवमा सर्च गरेर हेर्न थालेँ । भिडियोहरुमा हेर्दा दामी लाग्यो । झन् हौसिएँ ।
000
खेल्न त सुरु गरेँ । तर पहिलो राष्ट्रिय च्याम्पियनसिपमा भाग लिन पाइनँ । ०७३ पुषमा सातौं राष्ट्रिय खेलकुद हुँदै थियो । त्यसमा एपीएफले पनि खेल्ने कुरा भयो ।
पहिलोपटक ड्रेस सिलाउँदाको उत्साह छुट्टै थियो । त्यसपछि हामीले ड्रेस सिलाउन दियौँ, ४–५ हजार पर्ने । सेतो ड्रेस सिलाएर ल्यायौं । त्यो अहिलेको जस्तो थिएन । सिलाइ पनि राम्रो भएन । कसैको साना, कसैको ठूलो साइज । हेर्दा राम्रो देखिए पनि कतै टाइट, कतै खुकुलो । जे होस् त्यही लगाएर खेलियो । अन्तर्राष्ट्रिय खेलाडीहरुको ड्रेसमा उनीहरुको देशको राष्ट्रिय झण्डा प्रिन्ट गरिएको हुन्छ । हाम्रोमा त्यस्तो थिएन । सादा थियो ।
राष्ट्रिय खेलकुदभन्दा अगाडि असारमा फेन्सिङको प्रथम राष्ट्रिय च्याम्पियनसिप भयो । त्यसमा मैले सहभागिता जनाउन पाइनँ । दुख पनि लाग्छ र खुशी पनि । आफ्नै कारणले खेल्न नपाएको हो । म घरतिर गएको थिएँ । मलाई सम्पर्क गर्न खोज्नुभएको रहेछ, तर फोन लागेन ।
त्यसमा इपी र फोइलको प्रतिसपर्धा भएको थियो । हामी १२ जना थियौँ एपीएफमा खेलाडी । सबैले सेलेक्सन खेल्न पाउँथे । तर, म चाहिँ छुटेँ । छनोट सकिएपछि मात्र थाहा पाएँ ।
जे भयो, भयो । जसले खेले पनि मेरै साथी हो । उनीहरुले खेल्नु मैले खेलेसरह नै हो भनेर मन बुझाएँ । तर खेल सकिएपछि साथीभाईको व्यवहार परिवर्तन भयो । च्याम्पियनसीप नखेलेको भनेर मलाई हेला गरियो । अलि ननिको महसुस भयो ।
म सँगैसँगै ट्रेनिङ गरेको साथीहरुले खेलिरहँदा म चाहिँ भोलिन्टियर भएर बसेँ । त्यसपछि म पनि इख लिएर अगाडि बढेँ । मलाई अरु खेलबाट पनि अफर नआएको पनि होइन । तर मैले फेन्सिङलाई छाडिनँ । पछि राम्रो हुन्छ भन्ने आशा र विश्वास थियो मलाई ।सरले पनि मलाई अरु खेलमा पठाउनुभएन ।
त्यसबेला खेलेका केही खेलाडी अझै सँगै छौँ । केही नयाँ बहिनीहरु पनि आइसके । पुरुष टिममा जंग, शेर, महेश, राजेन्द्र दाईहरु हुनुहुन्थ्यो ।
पहिलो च्याम्पियनसिप खेल्न नपाएकोले सातौं राष्ट्रिय खेलकुद नै मेरो पहिलो टुर्नामेन्ट भयो । त्यसमा राम्रो गर्ने लक्ष्य थियो । तर, त्यो पनि सोचजस्तो भएन । मेरो तरबार भाँच्चिएको थियो, त्यो जोडेर खेल्नुपर्ने । अहिले जस्तो भए आफैँ पनि किन्न सक्थेँ । तर भाँच्चेको जोडेर खेल्दा प्रदर्शनमा असर पर्यो।
पहिलोपटक प्रतियोगिता खेल्दा छुट्टै अनुभव भएको थियो । इपीएफबाट १२ जना थियौँ । ४–४ जना तीन विधामा खेल्दा ठिक्क भयो । म शुरुमै इपीमा खेलेँ । म तेस्रोमै सिमित भएँ ।
शुरुमा ३ अंक र त्यसपछि ५ अंकको खेल हुन्छ । राउण्ड रोविनबाटै विजेता छनोट हुन्छ । म शुरुकै राउण्डमा आउट भएँ । तैपनि दाईहरुले धेरै सहयोग गर्नुभएको थियो । त्यसपछि राखेप च्यम्पियनसीप खेलेँ ।
उत्कृष्ट नतिजा नआए पनि राष्ट्रिय खेलकुदले फेन्सिङ कसरी खेल्ने भनेर सिकाएको थियो । त्यसपछि राखेप च्याम्पियनसीपमा राम्रो खेल्दै स्वर्ण जितेँ । टिममा दोस्रो भयौँ । सातौं खेलकुदभन्दा राखेप च्याम्पियनसिपमा राम्रो भयो । स्वर्ण जितेपछि म औधि खुशी भएँ ।
०००
पछिल्लो एक वर्ष मेरो लागि विशेष बनिरहेको छ । यसबीचमा मैले फेन्सिङमा धेरै सफलताको स्वाद चाखेँ । आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जित्न नसकेप नि अन्तर्राष्ट्रिय पदक जित्न सफल भएँ । तपाईंलाई थाहै होला, आठौं राष्ट्रिय खेलकुद २०७५/७६ मा नेपालगन्जमा भएको थियो ।
काठमाडौंमा ठिक्कको मौसम । तर नेपालगन्जको गर्मीमा खेल्दा गाह्रो भयो । हामीसँग राम्रो सामान पनि थिएन । भाँच्चिएको तरवारहरुले तयारी गर्नुपर्ने वाध्यता थियो ।
अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएपछि मात्र नभाच्चिएको तरबारले खेल्नुपर्ने भयो । त्यसरी खेल्दा राम्रो हुने रहेछ भन्ने थाहा भयो । हामी भाँच्चिएर तरबार जोडेर खेल्छौँ फरक पर्ने । भाच्चिएको जोडेर खेल्दा भार बढी पर्ने । नेपालगन्जको गर्मी अनी त्यो ड्रेस । लगाएर जसोतसो खेलियो । आठौं राष्ट्रिय ठिकै रह्यो । भाच्चिएकै जोडेर खेल्ने गर्दै आएको थियो ।
आठौं सकियो । त्यतिबेला १३ औं साग नेपालमा हुने–नहुने अन्योल थियो । तैपनि एउटा अन्तर्राष्ट्रिय टुर्नामेन्ट खेल्ने धोको अझै मरेको थिएन । पाए हुन्थ्यो भन्ने मनमा थियो । साग हुन्छ, हुँदैन अझै एकिन थिएन ।
हाम्रो पहिलो काम ड्युटी हो, त्यसपछि मात्र खेलतिर ध्यान हुन्छ । अन्तर्राष्ट्रिय खेल खेल्न पत्र आएपछि ट्रेनिङ शुरु गराइन्छ । खेल नजिकिएपछि मात्र ट्रेनिङ गर्न पाउँछौं ।
आठौं खेलकुदमा स्वर्ण जितेकोलाई मात्र सागको लागि क्याम्पमा राख्ने भनिएको थियो । तर पछि दोस्रो र तेस्रो भएकोलाई पनि राखिने भएपछि म पनि परेँ । त्यसअघि मैले इटलीमा युनिभर्सियाडमा खेल्ने मौका पाएँ, आफ्नै प्रयासमा ।
शुरुमा युनिभर्सियडमा जाने थाहा थिएन । संघबाट पनि जानकारी भएन । मलाई एकजना रामेछापकै दाईले जाने हो ? भनेर सोध्नुभयो । जाने भए आफैले खर्च गर्नुपर्ने शर्त थियो । मैले आफैं पैसा हालेर भए पनि जान तयार भएँ ।
संघबाट दुई जनाको नाम पठाइसकिएको रहेछ । मैले संघसँग कुरा गरेको थिइँन । संघबाट ओमकार र एलिसाको नाम पठाएको रहेछ । म चाहिँ आफ्नै खर्चमा गएँ ।
मेरो लागि सबै नयाँ थियो । पहिलो विदेश यात्रा मात्र होइन, प्लेन चढेकै पहिलो अनुभव । सबै नयाँ । तर सरहरु पनि सँगै जानुभएकोले निर्धक्क थिएँ ।
इटलीमा पनि अघिल्लो दिन बेलुका पुगेर भोलिपल्ट खेल्नुपर्ने थियो । आठौं खेलकुदपछि मैले यहाँ तरवार समातेको थिइनँ । विदेशको त अनुभव नै थिएन ।
इटलीमा खेलेँ । ओमकारहरु अगाडि नै गएका थिए । उनीहरुले नआत्तिदिनु केही हुँदैन भनेर हौसला दिए । ड्रेसहरु सबै तयार थिए । एक जना बराबर तीनवटा तरवार चाहिने । तिनवटा ब्लेड र मास्क चाहिने । सबै रेडी थिए ।
म अघिल्लो दिन बेलुका पुगेँ । जब गेम खेल्न गएँ, अनि पो देखेँ, अरु देशका खेलाडीहरु क्या स्मार्ट ! ड्रेस कति राम्रो ! म छक्कै परेँ ।
पहिलोपटक भए पनि मैले ठीकै खेलेँ । २–४ अंक ल्यएको थिएँ । मैले फ्रान्स लगायत देशका खेलाडीसँग खेलेँ । विश्व र्याङ्किङमा अलराउण्डरमा दोस्रो र चौथोमा रहेकोसँग खेलेँ ।
अरु देशका खेलाडीहरुसँग कुराकानी भने खासै भएन । गेम खेल्ने बेला मात्र भेट हुन्थ्यो । एक जना इटलीको केटीले तिम्रो खेल राम्रो छ भनेकी थिइन् । उनले त्यति भन्दा दंग परेँ । त्यो अनुभवपछि मलाई लाग्यो कि हामीले पनि मज्जाले अभ्यास गर्याैं भने नसक्ने होइन रहेछ ।
यता सागको क्लोज क्याम्प शुरु भइसकेको थियो । शुरुमा पहिलोलाई मात्र राखिएको थियो । पछि दोस्रो र तेस्रोलाई पनि समावेश गरियो । अनि दुई हप्तापछि म क्याम्प गएँ । छनोट भएँ । त्यसपछि हामी थाइल्याण्डमा प्रशिक्षण र खेल्नका लागि गएका हौँ ।
000
मैले अहिलेसम्म खेलेकोमध्ये सबैभन्दा राम्रो अनुभव भएको थाइल्याण्डमै हो । त्यहाँ भएको सियू ओपन फेन्सिङ च्याम्पियनसीपमा धेरै जनासँग खेल्न पाइयो । तेस्रो मेडल पाउन पनि मैले ३ वटा खेल्नुपर्यो ।
मैले तीनवटा १५–१५ अंकको खेल्न पाएँ । ५०–५५ जना सहभागी थिए । धेरै जनासँग खेल्दा कसरी खेल्ने थाहा भयो । आफ्नो शक्ति कति चाहिने रहेछ थाहा भयो । यहाँ पहिला ५ अंक त्यसपछि १० अंक र १५ अंकको खेलिन्थ्यो । त्यहाँ ५ अंकको खेलेपछि सिधै १५ अंकको खेलेर नकआउट चरणमा जाने रहेछ । त्यो पनि नयाँ अनुभव भयो ।
म व्यक्तिगत तेस्रो भएँ । त्यो मेरो मात्र नभएर नेपालकै पहिलो अन्तर्राष्ट्रिय मेडल थियो । त्यतिबेला त ओहो ! भन्ने लाग्यो । धेरै खुशी भएँ । मेरो जीवनमा सबैभन्दा खुशीको क्षण नै त्यही त हो ।
मैले नेपालमा पनि खेलेर स्वर्ण जितेको छु । तर यहाँ धेरै प्रतिस्पर्धी नै हुँदैनन् । त्यहाँ धेरै हुँदा पनि जितेको हुनाले विशेष लाग्यो । थाइल्याण्डको खेलाडीसँग मेरो भिडन्त भएको थियो । दोस्रो हुन्छु होला भन्ने लागेको थियो । तर, के भएर चुकेँ ।
जे भए पनि पहिलो अन्तर्राष्ट्रिय पदकको खुशीसँगै गौरव थियो । सबै जना खुशी भए । जंग दाईहरुले फेसबुकमा फोटो हाल्नुभएछ, अनि बधाईको ओइरो लाग्यो । दाईहरुले पनि राम्रै गर्नुभयो । १०० जनामा १६–१७ र्याङ्कमा आउनुभएको थियो ।
त्यसपछि टिम इभेन्ट थियो । मलाई अलि सन्चो थिएन । तर हामी ३ जना मात्र थियौँ । जानुका स्याङ्तान, सीता पाठक र म । इन्दिरा चीनमा खेल्न गएकी थिइन् । चारजना भएको भए म खेल्थिनँ होला । तर मलाई बाध्यता पर्यो खेल्ने ।
म त्यहाँको पुरानो खेलाडीसँग परेको थिएँ । खेल राम्रै भएको थियो । तर फाइनल अलि हतारमा खेलियो । हामीले हारे पनि रजत जित्यौँ । त्यो झन् ठूलो पदक थियो । सन्चो नहुँदा पनि खेलेर पदक पाइयो ।
नेपालमा सागको तयारी पनि भइरहेको थियो । पदक जितेपछि चुनौती भयो । त्यहाँ त गरियो भने यहा झन् गर्नैपर्छ भन्ने थियो । सरहरुले पनि हामीबाट आशा राख्नुभएको थियो । सिंगलमा नसके पनि टिममा स्वर्ण नै जितिन्छ भनेर आशा थियो । तर सागमा पनि फाइनल अलि बिग्रियो । भारतलाई जित्न सकेनौँ । उनीहरुको तुलनामा हामी अझै कमजोरै छौँ जस्तो छ ।
साग सकियो । अब के त ? त्यसयता अहिलेसम्म ट्रेनिङ नै भा’छैन । पदक विजेताहरुलाई राखेर ट्रेनिङ गर्नुपर्ने हो नि । तर, चालचुल केही छैन । खै किन हो ।
यो खेल बलले मात्रै खेल्छु भनेर हुँदैन । दिमाग पनि लगाउनुपर्छ । नयाँ बहिनीहरुले पनि खेलिरहेका छन् । टुर्नामेन्टहरु गरेर पदक विजेता खेलाडीहरुलाई राम्रोसँग ट्रेनिङ गराउने हो भने अझ राम्रो हुन्छ ।
एकै पटक राष्ट्रिय प्रतियोगिता कहिले आउँछ भने पर्खेर बस्नुपर्ने अवस्था कायम छ । गेम आउने एक महिनाअघि मात्र थाहा हुन्छ । अनि तयारीमा लाग्नुपर्छ । फुटबल, भलिबल, क्रिकेटमा प्रतियोगिताहरु भइरहन्छन् । हाम्रो त कोही बेलामा २ वर्ष पनि टुर्नामेन्ट हुँदैन । ट्रेनिङ गर्यो तर टुर्नामेन्ट हुने टुंगो हुन्न ।
अब मेरो लक्ष्य भनेको अन्तर्राष्ट्रिय स्वर्ण नै हो । सानै प्रतियोगितामा भए पनि अन्तर्राष्ट्रिय स्वर्ण जित्न मन छ । शुरुमा फेन्सिङ के होला, कसरी खेल्ने जस्तो लाग्थ्यो । अहिले यसैले मलाई नाम दिएको छ । साग खेल्नुअघि थाइल्याण्डमा पदक जित्दा पहिलो इन्टरनेसनल मेडिलस्ट भनेर चर्चा भएको थियो । सागमा राम्रो भएन । अब आउने टुर्नामेन्टहरुमा राम्रो गर्नुपर्ने अठोट छ ।
०००
मलाई त घर–परिवारबाट पहिलेदेखि नै सपोर्ट थियो । मेरो भाईले तेक्वान्दो खेल्छ । बहिनीले भलिबल खेल्छे । दुवै जना स्कुल पढिरहेका छन् । बाबाको चाहना मलाई डाक्टर बनाउने थियो । तर, अहिले सबै जना खेलाडी भएकोमा खुशी हुनुहुन्छ । मुखले भन्नुहुन्न, तर छोराछोरीलाई खेलकुदमा लगाउन जति पनि लगानी गर्छु भन्ने खालको अव्यक्त भाव उहाँमा छ ।
मैले थाइल्याण्डमा गेम जित्दा बाबा एकदमै खुशी हुनुभाथ्यो । उहाँ बाहिर कहिल्यै माया देखाउनुहुन्न । त्यसबेला चाहिँ पहिलोपटक माया गरेर भन्नुभयो कि ‘ल छोरीले राम्रो गरिछ ।’
थाइल्याण्डमा खेल्दा मोबाइल चलाउन पाइन्थेन । शनिवार मात्र गुरुहरुले चलाउन दिनुहुन्थ्यो । गेम सकिएपछि मोबाइन अन गरेँ । शुरुमै बाबाको फोन आयो ।
‘ल बधाई छ है तँलाई’ भन्नुभयो । मैले बुझ पचाउँदै किन ? भनेँ ।
‘तैँले पदक जितिछेस । अब त्यो भन्दा राम्रो गर्र्नु’ उहाँले भन्नुभयो । बाबाका यी शब्दहरु मेरालागि बहुमूल्य यस अर्थमा पनि थिए कि त्योभन्दा अघि कहिल्यै मलाई मुख खोलेर बधाई भन्नुभएको थिएन । भित्र जति खुशी भए पनि बाहिर नदेखाउने स्वभाव क्या । तर, त्यसबेला चाहिँ फेसबुकमा फोटो समेत राख्नुभएछ ।
पछि सबैले मलाई ग्लोभ्स, तरवार लगायत गिफ्ट दिनुभयो । अनि बाबालाई मैले भने, ‘सबैबाट गिफ्ट पाएँ, तपाई के दिने ?’ उहाँले चलाखीपूर्वक भन्नुभयो, ‘हामी आशिर्वाद दिन्छौं । अझै राम्रो गर्नु ।’
त्यो भन्दा अगाडिको प्रसंग अझ रोचक छ ।
शुरुमा बाबाले फेन्सिङ बुझ्नुभएकै थिएन । मैले फेन्सिङ खेल्छु भन्दा ‘के हो यो फेन्सिङ–सेन्सिङ’ भन्नुभएको थियो ।
फेन्सिङ खेल्न थालेपछि म घरमा तरवार ल्याउँथे । पहिलोपटक ल्याउँदा बाबाले के हो यो भनेर सोध्नुभयो । मैले जवाफ दिएँ, ‘यही हो फेन्सिङ ।’ उहाँले ओठ लेब्राउँदै भन्नुभयो, ‘के हो यस्तो फेन्सिङ र सेन्सिङ ।’ मैले यसरी समाउने र चलाउने भनेर बाबालाई देखाएँ । बाबा हाँस्नुभयो मात्र । केही भन्नुभएन । त्यसपछि मैले तरवार थन्क्याएँ ।
मैले राष्ट्रिय च्याम्पियनसिपमा गोल्ड मेडल जितेपछि पत्रिकामा नाम आयो, ‘अनिता र जंगलाई स्वर्ण’ भनेर । अनि एक जनाले दाईले बाबालाई देखाउनुभएछ । त्यसपछि चाहिँ उहाँले ‘फेन्सिङ सेन्सिङ’ भन्न छोड्नुभयो । अहिले ‘तरवार जुधाई’ भन्नुहुन्छ ।
कसैले छोरी के गर्छे भनेर कसैले सोध्दा बाबा गर्वसाथ सशस्त्र प्रहरी र खेलाडी हो भन्नुहुन्छ । के खेलाडी भन्दा ‘तरबार जुधाउने हो’ भन्नुहुन्छ ।
म बुवाआमाको दोस्रो सन्तान । हामी सात छोराछोरीमध्ये कम्तिमा एकजनालाई डाक्टर बनाउने सपना थियो बुवाको । तर म खेलमा लागेँ । दिदीको विवाह भइसक्यो । अरु भाई बहिनी पनि डाक्टरी पढाईतिर लागेनन् । तर, बाबालाई अहिले कुनै गुनासो छैन । आफ्ना सन्तानहरुमा गर्व गर्नुहुन्छ ।
अहिले त दुर्गमतिर पनि यो खेलको बारेमा चासो बढेको छ । कसरी खेल्ने सिकाइदिनुपर्यो भन्छन् । कति खर्च लाग्छ भनेर सोध्छन् । ट्रेनिङ गर्ने ठाउँ देखाइदिनुस् भन्ने धेरै छन् । यहाँ आर्मी, एपीएफको आफ्नै ट्रेनिङ गर्ने ठाउँ छ । त्यसबाहेक अर्को शिवपुरी क्लबमा ट्रेनिङ भइरहेको हुन्छ । उनीहरुलाई त्यहाँको सम्पर्क नम्बर दिन्छौँ । ड्रेस लगायत सामग्रीमा ३० हजारदेखि ५० हजार खर्च गर्नुपर्छ ।
तर कोही बच्चाहरुले म पनि खेल्छु भन्यो भने ट्रेनिङ गर्ने ठाउँ छैन । संघबाट एउटा एउटा हल ब्यवस्था भयो भने राम्रो हुन्छ । हाम्रो खेललाई पिस्ट चाहिन्छ । तारहरु जोड्नुपर्छ । बत्ति चाहियो एक निश्चित ठाउँ चाहिन्छ । राख्ने निकाल्ने गर्दा राम्रो हुँदैन । एउटा हल र निश्चित खेल्ने ठाउँ भयो भने सबैले खेल्न पाउँथे ।
source https://www.onlinekhabar.com/2020/02/840159
0 Comments