दाङ । चार वर्षअघि नेपाल प्रहरीमा भर्ती हुँदै गर्दा उनले सोचेका थिए, सारा जीवन प्रहरी सेवामै बित्छ होला । त्यतिबेला उनीसँग ठूला सपनाहरू पनि त थिएनन् । मात्र उनी अनुभूत गरेका कुराहरू गजल, कविता र गीतमा पोख्थे । मनभित्र गीत-संगीतप्रतिको भोक त थियो नै तर सपनाहरूले उडान भरिसकेका थिएनन् ।
फलतः प्रहरी जागिरे जीवन सुरु गरेकै केही वर्षमा उनले सांगीतिक यात्रालाई पनि अघि बढाए । मस्तिष्कमा पेसागत कर्तव्य बोध गरे र मनमा संगीतको मीठो धुन भरे । प्रहरी जीवनकै दौरान सुरु भएको संगीतको यात्राले उनको जीवनको लय नै बदलियो । भनिन्छ नै पनि जिन्दगीले जब गति लिन्छ, एउटा मधुर धुन पैदा गर्छ ।
प्रहरी निरीक्षक भुपेन्द्र बुढाथोकीले पछिल्लो पाँच वर्षमा आफूलाई प्रहरीका रूपमा मात्र होइन, उदाउँदो गीतकार र सर्जकका रूपमा समेत आफूलाई चिनाएका छन् । अझ भनौं जागिर गर्दैमा सपनाहरू मर्दैनन्, बरु सार्थकता पाउँछन् भन्ने सन्देश दिएका छन् । पेसासँगै प्यासनलाई पनि पछ्याउन सकिन्छ भन्ने युवाहरूका लागि उदाहरण पनि हुन् उनी ।
पेसा र प्यासन
सल्यानबाट बसाइँ सरेपछि उनी दाङको तुलसीपुरमा हुर्के, बढे । स्कुल पढ्दाका दिनदेखि नै उनमा गजल, कविता र गीतमा औधी रुचि थियो । लेख्थे पनि । कहिलेकाहीं आफैंले लेखेका गीतहरू गुन्गुनाई बस्थे ।
एसएलसीपछि उनलाई लाहुरे सपनाले तान्यो । तीन वर्ष उनी लाहुरे बन्न भनेर हिंडे । तर दुुर्भाग्य लाहुरे हुन पाएनन् । त्यहीबीच प्रहरीमा भर्ना खुल्यो र २०७३ सालमा उनी भर्ती हुन पुगे । त्यसपछि सुरु भयो प्रहरी जीवन । प्रहरी नायव निरीक्षकका रूपमा उनको सुरुको पोस्टिङ बाँकेमा र त्यसपछि दाङको पुलिस स्कुलमा भयो ।
त्यतिञ्जेल पनि भुपेन्द्रले कविता, गजलहरू लेख्न छोडेका थिएनन् । तालिमको होस् कि ड्युटीमा फुर्सद हुँदा उनी केही न केही लेखिहाल्थे ।
२०७४ सालमा उनी प्रहरीको तालिमको दौरान नेपालगञ्जमा थिए । तालिम तीन महिनाको थियो । तालिममा उनले प्रहरी जीवनलाई नजिकबाट निकाल्ने मौका पाए । तालिमकै बसाइमा उनले गीत नै तयार पारे । गीत प्रहरी जीवनबारे थियो । आफूले लेखेको गीत साथीहरूलाई सुनाए । प्रहरी साथीहरूले उनलाई गीत नै रेकर्ड गर्न र निकाल्न हौस्याए ।
अनि राजेशपायल राईको स्वरमा तयार पारे, ‘हामी नेपाल प्रहरी ।’ प्रहरी साथीहरूसँग आर्थिक स्रोत जुटाएर उनले गीति भिडियो पनि निकाले । २०७४ सालमा म्युजिक नेपालको युट्युब च्यानलबाट गीत सार्वजनिक भयो ।
उनको पहिलो गीत थियो, त्यो । तर उत्साह भन्दा डर धेरै । ‘यो गीत सिंगो प्रहरी संगठनसँग जोडिएकाले उत्साह भन्दा मनमा डर थियो,’ कारण आफैं खुलाउँछन् उनी, ‘कुनै शब्द गलत पो लेखें कि भनेर केही दिन त निदाइनँ ।’ तर त्यस्तो भएन । बरु प्रहरीका उच्च अधिकारीहरूले राम्रो प्रतिक्रिया दिए । भने, ‘राम्रो लेख्यौ, अझै लेख्दै जानु ।’ दर्शक र प्रहरीले पनि उनको गीत रुचाए । प्रहरीका हरेक कार्यक्रमहरूमा उनको गीत बजाउन थालियो । अनि त के थियो, गीत लेख्ने हुटहुटी झन् बढेर आयो । ‘त्यसपछि मलाई गीतहरू लेख्नुपर्छ भन्ने लाग्यो’, उनी भन्छन् ।
त्यसैमा हौसिएर उनले ६ महिनामै दोस्रो गीत निकाले ‘फूल भनौं जिन्दगीलाई’ । त्यो गीतमा गायिका पूर्णिमा लामाले स्वर दिइन् । त्यतिबेला पूर्णिमा करिअरको सुरुवाती चरणमा थिइन् । भुपेन्द्रले आफ्नै युट्युब च्यानलबाट उक्त गीत अपलोड गरे ।
सुरुका तीन महिना गीतमा बल्लतल्ल एक लाख भ्युज पुग्यो । तर त्यसपछि जे भयो, भुपेन्द्र स्वयं अचम्मित छन् । तीन महिनापछि गीतमा भ्युज ह्वात्तै बढ्दै गयो । ‘एक दिनमै ६० हजारसम्म भ्युज जान थाल्यो,’ त्यो क्षण सम्झँदा उत्साहित हुन्छन् उनी, ‘त्यसरी बढ्न सुरु गरेको भ्युज वर्षदिनसम्म रोकिएन ।’ अनि त के थियो, हेर्दा हेर्दै गीतले १० लाख, ५० लाख हुँदै १ करोड १० लाख भ्युज पायो । उनको दोस्रो गीत नै हिट भइदियो ।
भुपेन्द्रका लागि एकदमै अनपेक्षित थियो त्यो । ‘दर्शकको यति धेरै माया पाउँला भनेर सोचेकै थिइनँ, त्यो एउटा मीठो सपना जस्तै थियो,’ उनले अनलाइनखबरसँग खुसी साटे । त्यो गीत आफ्ना मान्छेहरूबाट हुने धोका, बेइमानीबारे थियो । भन्छन्, ‘आफ्नाबाट हुने धोका र घात हरेक मान्छेको साझा कथा हो । सायद यही कारण दर्शकले आफ्नै कथा सम्झेर गीत रुचाइदिनुभयो ।’
त्यसपछि उनले एकपछि अर्काे आधुनिक गीतहरू निकाल्दै गए । ‘अब खुसी’, ‘डाँडापारि मेरो माया, ‘परदेशीको दशैं’ ‘मुटु टु्ट्दा’ र अहिले ‘धोकामाथि धोका’सम्म आइपुग्दा आठवटा आधुनिक गीति-संग्रह निकालिसके । गत वर्ष प्रमोद खरेलको स्वरमा निकालेको ‘धोकामाथि धोका’ त ट्रेन्डिङ टुसम्मै आयो । जसको युट्युबमा भ्युज ५० लाख छ ।
चार वर्षअघि सुरु गरेको सांगीतिक यात्रामा भुपेन्द्र धेरै अघि आइसकेका छन् । गीत-संगीतको भीडमा आफ्नो अलग्गै स्थान बनाएका छन् ।
फौजी जीवनमा संगीतको धुन भर्दा
शान्त स्वभावका उनी धेरै बोल्दैनन् । यसो हुनुमा उनको पेसाको प्रकृति पनि कारण हुन सक्छ । हुन पनि फौजी जीवन कहाँ सजिलो हुनु ? प्रहरी अनुशासनभित्र आफूलाई बाँध्नुपर्ने । जागिर नै त्यस्तै । दिनरात अपराध, अनुसन्धानमै खटिनुपर्ने । शान्ति सुरक्षाका लागि जहिले तम्तयार हुनुपर्ने । तर प्रहरी जीवनको यस्तै व्यस्तताका बीच पनि उनले सिर्जनालाई जारी राखेका छन् ।
एकातिर उनी प्रहरीको कर्तव्य जिम्मेवारीपूर्वक निभाउँछन् भने बाँकी समय गीत-संगीतलाई दिन्छन् । ‘मेरा लागि पेसा र प्यासन एकअर्कालाई बाधक छैनन्,’ उनी भन्छन्, ‘ड्युटीमा हुँदा आफ्नो जिम्मेवारी सम्झन्छु र फुर्सदमा सिर्जना गर्न बस्छु ।’
फेरि उनको गीत-संगीत सिर्जना गर्ने शैली पनि त फरक छ । उनी गीत लेख्छु भनेर लेख्न बस्दैनन् । कतिबेला के कुराले छुन्छ, भावनाहरूको तरंग पैदा हुन्छ, मस्तिष्कमा जे फुर्छ, डायरीमा टिपिहाल्छन् । ‘लेख्नलाई भनेर साधना गरेर बस्दिनँ,’ उनी भन्छन्, ‘कहिलेकाहीं हिंड्दा-हिंड्दै फुर्छ । कहिलेकाहीं टहलिंदा टहलिंदै । जे फुर्छ मोबाइलमा नोट गर्छु ।’ पछि उनी त्यही शब्द-शब्द जोडेर पूरा गीत तयार गर्छन् । र, त्यसैमा संगीत भर्छन् ।
त्यसैले पनि प्रहरी जागिरको जीवन उनको गीत-संगीत सिर्जनामा कहिल्लै बाधक बनेन । बरु झन् गीत-संगीत सिर्जनामा सघाइदिएको छ । हुन पनि उनले तयार पारेका अधिकांश गीतहरू प्रहरीका तालिम वा पोस्टिङकै दौरान तयार पारेका थिए ।
भुपेन्द्रले अधिकांश गीत माया-प्रेममाथि लेखे । दुःख, प्रेम र धोकालाई प्रमुख विषय बनाए । तर अब उनलाई यतिमै सीमित हुनु छैन । बरु उनलाई लेख्नुछ जीवन, समाज र देशको गीत । ‘धेरै गीतमा मैले प्रेम लेखें । त्यो अहिलेको समयको माग पनि हो’ उनी भन्छन्, ‘अब चाहिं अलि फरक गीत लेख्न चाहन्छु ।’ उनी अब राष्ट्रियता र युवाहरूमा ऊर्जा भर्ने खालका गीतहरू लेख्न चाहन्छन् । उनलाई गरिबी, बेरोजगारी र असफलताको भय र चिन्ताले थिचिएका युवाहरूमा गीतहरूबाट ऊर्जा थप्नुछ । ‘अहिले म जताकतै युवाहरूमा निराशा मात्र देख्छु’ उनी भन्छन्, ‘त्यो नैराश्यतालाई आफ्ना गीतहरूबाट चिर्न र केही गर्न प्रेरित गर्न चाहन्छु ।’
‘भ्युज पाउँदैमा गीत सफल हुँदैनन्’
‘फूल भनौं जिन्दगीलाई’, ‘धोका माथि धोका’, ‘मुटु टुट्दा’ भुपेन्द्रका बढी रुचाइएका गीतहरू हुन् । यी गीतले युट्युबमा राम्रै भ्युज पाएका छन् । तर भुपेन्द्र भने भ्युज धेरै हुनुलाई मात्र गीत सफल भएको ठान्दैनन् । भन्छन्, ‘भ्युजका आधारमा गीत सफल हुन्छ भन्ने म ठान्दिनँ । गीतले दर्शकलाई कति छोयो, कति रुचाए भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’ अहिले जताकतै भाइरल हुने लहड छ । तर भुपेन्द्र योदेखि धेरै टाढा छन् । उनले बुझेका छन्, ‘भाइरले गीतहरूको आयु हुँदैन । भ्युज त जाला तर दर्शकको मन र मस्तिष्क छुन सक्दैन ।’ त्यसैले उनी हतारमा गीत निकाल्ने होडमा छैनन् । ‘बरु ढिलो होस् तर जीवन्त गीतहरू दिन सकुँ ।’
भुपेन्द्र अहिले आफ्नै युट्युब च्यानलबाट गीतहरू राख्छन् । आफ्नै नाममा खोलेको युट्युबमा अहिले एक लाख सब्स्क्राइबर पुगेका छन् । गत महिना मात्र युट्युब सिल्भर प्ले बटन पाए । उनी युट्युबबाट सिल्भर प्ले बटन पाउने सम्भवतः पहिलो र एक्ला प्रहरी हुन् ।
भुपेन्द्र अहिले मुगुको गमगढीमा प्रहरी निरीक्षकका रूपमा कार्यरत छन् । प्रहरीमा जागिरका दौरान उनले समाजलाई बुझ्ने र चिन्ने मौका पाएका छन् । ग्रामीण जीवनको अभाव र दुःखहरूलाई अझ नजिकबाट नियाल्न पाएका छन् । उनको शब्दमा भन्दा प्रहरी जीवन समाज चियाउने आँखीझ्याल हो । जहाँ नेपाली समाजको वास्तविक चित्र देख्न पाइन्छ । यही कारण पनि उनको गीत-संगीत यात्रालाई प्रहरीको जागिरे जीवनले झन् निखार्न सघाएको छ । उनी समाजमा आफूले देखे, भोगेका कुराहरू गीतमा उतार्न चाहन्छन् । ‘समाज र जीवनलाई टाढा राखेर लेखिएको गीत गीत हुन सक्दैन,’ उनले भने, ‘सर्जकले लेख्ने गीतमा समाजकै चित्रण आउनुपर्छ, कथा बोल्नुपर्छ । मेरो प्रयत्न हरदम यही रहन्छ ।’
source https://www.onlinekhabar.com/2023/03/1280938
0 Comments