साहित्यकार कविताराम श्रेष्ठले आफ्नो जीवनकालमा एउटा यस्तो एकल संसारको निर्माण गरे, त्यो आफैंमा अद्भूत थियो र हम्मेसी कसैले अनुकरण गर्ने हिम्मत गर्दैनथ्यो । उनले जीवन पनि यस्तो बाँचे, त्यो पनि एकप्रकारले अद्भूत नै थियो । आफ्नो जीवनको अन्तिम क्षणमा उनले जीवनलाई बिश्राम दिनुअघि जसरी आफ्ना कुराहरु रेकर्ड गराए, त्यो कल्पनातीत थियो । कविताराम साँच्चै अद्भूत प्रतिभा थिए ।
पूर्वी नेपालको ओखलढुङ्गामा वि.सं.२००४ मा जन्मेका र स्कूले जीवनमा राम बहादुर श्रेष्ठका नामले बोलाइने त्यो बालक नै भविष्यको साहित्यकार कविताराम श्रेष्ठ हुन पुग्यो ।
उनी पढ्ने स्कूलमा रामबहादुर श्रेष्ठ नाम गरेका तीन विद्यार्थीहरु थिए । यी तीन विद्यार्थीको नाम जुधेर शिक्षकलाई सधैं हैरानी हुन्थ्यो । यी राम बहादुर श्रेष्ठचाहीं सानै उमेरदेखि कविता लेख्थे, त्यसैले स्कूलका शिक्षकले उनलाई बोलाउनु परे कविता लेख्ने राम भन्थे । त्यसरी कविता लेख्ने राम भन्दाभन्दै उनी कविताराम हुन पुगे । तर, संयोग कस्तो पर्यो भने कविताबाट लेखन शुरु गरेका उनी अलि गम्भीर भएर लेखनमा लागेपछि कविता लेखन छुट्यो । उनी बढी कथाकार भए । कति उनका समकालीनहरुले उनलाई कविता लेखेर कविताराम भयौ, अब कविता छाडेर कथा लेख्न थालेपछि कथाराम भन्नुपर्ला भनेर ठट्टा गर्न थालेका थिए ।
उनी प्रेम विवाह गरेर काठमाडौं आएका थिए । काठमाडौं आएपछि उनी साहित्यिक आन्दोलनहरुसँग जोडिए ।
उनी नेपाली साहित्यको यौटा प्रतिकात्मक विद्रोहात्मक बुट पालिस आन्दोलनमा सहभागी भए । यो आन्दोलन सरकारको साहित्यिक पत्रपत्रिकालाई दर्ता कसिकसाउ गर्ने र सामयिक साहित्य सङ्कलन प्रकाशनमा वन्देज लगाइएको र साहित्यिक रचना तथा पुस्तक प्रकाशनमा कडिकडाउप्रति लक्षित थियो । त्यतिबेलाका काठमाडौंका बिद्रोही तरुण साहित्यकारहरु शैलेन्द्र साकार, ध्रुव सापकोटा, नारायण ढकाल आदिका साथमा उनी पनि सामेल भएका थिए ।
अर्को साहित्यिक आन्दोलन “अस्वीकृत जमात” सँग पनि उनी संलग्न भए । सरकारले स्वीकार नगरेको भन्दै उनीहरुले आफूलाई अस्वीकृत जमातको रुपमा घोषणा गरेका थिए । यो आन्दोलनले वास्तवमा कवितारामको साहित्यिक जीवन नै कायापलट गरिदियो । शुरुमा यो आन्दोलन सामूहिक रुपमा भएको थियो ।
अस्वीकृत जमातको रचनाहरुको पुस्तक वा दस्तावेज पनि प्रकाशित भयो । तर यो आन्दोलनको आयु लामो रहेन । सामुहिक रुपमा यो आन्दोलन टिकिरहन सकेन । यसमा संलग्न साहित्यकारहरु नेपालभूषण न्यौपाने, शैलेन्द्र साकार, पुष्कर लोहनी, भाउपन्थी, साकेत विहारी ठाकुर, प्रकाश प्रेमी, अन्जिर प्रधान, कनकद्वीप ब.आ., जगतरञ्जन, मोहन सिं थापा, प्रेम नारायण प्रेमी, ईन्द्र राजभण्डारी, नविनप्रकाशजङ्ग शाह, विष्णुलाल श्रेष्ठ, काशिनाथ तमोट विविध कारणले छिन्न भिन्न भए ।
तर, कवितारामले भने अस्वीकृत जमात छाडेनन् । साथीहरु छिन्नभिन्न भए पनि उनी एक्लैले यो अभियानलाई निरन्तरता दिन कम्मर कसे ।
उनको देब्रेपन्थमा झुकाव थियो । उनले अस्वीकृत मान्यताको विषयमा मष्तिष्क मन्थन गरे । अनि लामो बौध्दिक कसरतपछि तयार गरे “मेरा अस्वीकृत मान्यताहरु “ । यो उनको अस्वीकृत मान्यताहरुको सैध्दान्तिक धारणा थियो । यसलाई उनले अभिब्यक्ति द्वैमासिकमा पूरै पाठ प्रकाशित गरे र त्यसको बेग्लै पुस्तकसमेत निकाले । साहित्यिक बजारमा यसले सानो सानो तरङ्ग पैदा गर्यो ।
त्यतिखेर फविती अर्थात् फणीन्द्र नेपाल, विनय रावल र तीर्थ श्रेष्ठको सामूहिक नेतृत्वमा शुरुमा तरलवादी भनिए पनि पछि तरलतावादी भनिएको साहित्यिक आन्दोलन उत्कर्षमा थियो । उनीहरुले त्यस आन्दोलनलाई सकेसम्म ब्यापक र चर्चित बनाउन हरेक किसिमले गतिविधिहरु गरिरहेका थिए । लेखहरु लेख्ने, अन्तरवार्ताहरु दिने, अरुलाई लेख्न लगाउने, विवादहरु सिर्जना गर्ने समेत गरिरहेका थिए । यस आन्दोलनका मूल नायक फणीन्द्र नेपालले पाल्पामा सम्पन्न लेखनाथ पौड्यालको शतवार्षिकि समारोहमा मदनमणि दीक्षितले बोलेका सबै कुरा तरलवादी आन्दोलनको सिध्दान्तबाट चोरेर बोलेको भनी बितण्डा मच्चाएका थिए ।
त्यस्तै अस्वीकृत आन्दोलनका कुरा पनि तरलवादी आन्दोलनसँग मिल्छ भनेर फणीन्द्र नेपालले चर्चा गरेको कुरा मैले पनि सुनें । मैले त्यतिखेर राइटर्स क्लव नामक संस्था खोलेर त्यसबाट बिबिध साहित्यिक कार्यक्रमहरु गरिरहेको थिएँ । मलाई लाग्यो, बजारमा तातो तातो विषयको रुपमा चर्चामा रहेको कवितारामको “मेरा अस्वीकृत मान्यताहरु” माथि नै किन एउटा छलफल कार्यक्रम नगर्ने ? मैले कवितारामलाई यो प्रस्ताव नगेन्द्रराज शर्मामार्फत पठाएँ । उनी बहुत खुशी भएछन् मेरो प्रस्तावले र त्यस कार्यक्रमको जलपान उनकै तर्फबाट गर्ने समेत खबर पाएँ । म पनि दङ्ग । जागिरको तलवको पैसाले चिया बिस्कुट जलपान गराएर मैले राइटर्स क्लवको कार्यक्रमहरु गर्ने गरेको थिएँ ।
राइटर्स क्लवको आयोजनामा प्रदर्शनी मार्गस्थित विश्वभाषा क्याम्पसमा कवितारामको “मेरो अस्वीकृत मान्यताहरु” विषयक अन्तरकृया कार्यक्रम भयो । सो कार्यक्रममा उनले अस्वीकृत मान्यताको विषयमा उनले नवनिर्माण गरेका अवधारणाहरुलाई खुलस्त रुपमा राख्न र छलफल गर्न पाए ।
काठमाडौंका वुध्दिजीवी एवं साहित्यकारहरुको सुन्दर उपस्थितिमा त्यो कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको शुरुमा मैले राइटर्स क्लवको तर्फबाट स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेको थिएँ । कवितारामले आफ्ना धारणाहरु राखिसकेपछि प्रश्नोत्तरको कार्यक्रम राखिएको थियो । प्रश्न सोध्नेहरुमा अरुसहित फणीन्द्र नेपाल पनि थिए ।
यो कार्यक्रमको आयोजनापछि कवितारामको यो एकल अस्वीकृत मान्यताले गति लियो । चर्चा परिचर्चा बढ्यो र यसले ब्याप्ति पायो । त्यस उप्रान्त उनले लेखेका सबै रचनामा “अस्वीकृत” विल्ला लाग्न शुरु भयो । उपन्यास लेखे अस्वीकृत उपन्यास, नाटक लेखे अस्वीकृत नाटक । यसरी उनले पूरै अस्वीकृत रचनाको संसार निर्माण गरे ।
कवितारामले एउटा फिलिम बनाए-“रहस्यमय गुफा” । यो फिल्मका लेखक, निर्देशक, क्यामेरा म्यान, नायक, गीतकार सबै उनै थिए । यो फिलिमलाई उनले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पुर्याए । कोरियामा यो फिलिम पुरस्कृतसमेत भयो ।

कविताराम आइएनजीओमा सम्बन्धित थिए । त्यो संस्थाको हेडक्वार्टर अमेरिकामा भएकाले उनी अमेरिका त्यस संस्थामार्फत आउने अवसरहरु पाइरहे । उनले अमेरिका आउँदा स्थानीय लेखिका साराह लाम्स्टेनसँगको सहकार्यमा एउटा पुस्तक अङ्ग्रेजीमा प्रकाशित गरे । त्यो पुस्तक “ फ्रम त म्याङ्गो ट्री एण्ड अदर फोक टेल्स फ्रम नेपाल” थियो । यो सन् १९९७ मा प्रकाशित भएको थियो । यसलाई “ग्रीनउड पब्लिकेसन्स ग्रुप” ले प्रकाशनमा ल्याएको थियो ।
यसबेलासम्म अमेरिकामा व्यावसायिक अमेरिकी प्रकाशकबाट पहिलोपल्ट प्रकाशित हुने सम्राट उपाध्यायको आगमन भैसकेको थिएन ।
कवितारामले वाल साहित्यमा पनि कलम चलाए ।
कविताराम साहित्यको साथसाथै राजनीतिमा पनि सकृय हुन थाले । उनी देब्रे राजनीतिमा थिए । त्यो त ज्ञात यथार्थ थियो । तर, उनले देब्रेमा पनि उग्र देब्रेमा बढी विश्वास गर्न थाले र त्यही राजनीतिको आडमा सरकारी नियुक्ति पनि लिन सफल भए । उनी २०५२ सालमा नेपाल टेलिभिजको अध्यक्ष हुन पुगे । उनी २०५४ सालमा तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतमको सल्लाहकार पनि बने । २०५८ सालमा जनजाती विकास समितिको उपध्यक्ष हुन पुगे ।
उनी लागेपछि मरेरै लाग्ने स्वभावका थिए । चाहे साहित्यमा होस्, चाहे राजनीतिमा, उपलब्धि हासिल गरेरै छोड्ने पनि । साहित्यमा सामूहिक रुपमा शुरु भएको आन्दोलनलाई पछि उनले एक्लै हाँके । त्यो उनको साहस र उपलब्धी दुवै थियो ।
राजनीतिमा पनि उनी जेजति पद पाउन सफल भए, त्यो पनि उनका लागि महत्वपूर्ण उपलब्धि नै थियो । यो समय उनी सिर्जनशील लेखनमा अलिक टाढिए जस्तो भए पनि अस्वीकृत पुरस्कार गुठीका कार्यक्रमलाई उनले निरन्तरता दिए । गुठीमा कृष्णचन्द्र सिंह प्रधान एवम् नगेन्द्रराज शर्माजस्ता व्यक्तित्व अध्यक्ष र सदस्यसचिव थिए ।
कवितारामले जीवनको उत्तरकालमा एउटा यस्तो निर्णय लिए, जुन धेरैका लागि आश्चर्यजनक थियो । उनले कैयन् दशक साथ बिताएकी पत्नीसँग पारपाचुके गरे । त्यसपछि उनी लण्डन गएर आफ्नो नयाँ जीवन, नयाँ दाम्पत्यलाई निरन्तरता दिए सन् २००८ पछि ।
उनी बेलायतमा आवर्डिन विश्वविद्यालयको मेडिकल स्कूलमा आगन्तुक प्राध्यापक पनि भए । बेलायत आएपछि पनि उनको सिर्जशीलतामा निरन्तरता रह्यो । उनी साहित्यका विविध गतिविधिमा निरन्तर संलग्न हुनुका साथै सिर्जनक्रममा जुटि नै रहे ।
अमेरिकाको वाशिंटन डिसीमा अनेसासको डिसी मेट्रो च्याप्टरको आयोजनामा वर्षेनी हुने भानु जयन्तीमा उनको सम्मान गर्ने अवसर मैले पाएको थिएँ । वाशिंटन डिसीमै अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न आधुनिक साहित्यकार वासु शशीको जन्म जयन्तीका अवसरमा पनि उनलाई सम्मानित गरिएको थियो ।
उनले अस्वीकृत पुरस्कार अमेरिकासम्म पनि विस्तार गर्ने कुरा राखेपछि मैले त्यसका लागि सक्दो सहयोग गरेको थिएँ । भर्जिनियाको आर्लिङ्टन केन्द्रीय पुस्तकालयमा आयोजित पुरस्कार वितरण समारोहमा वाशिंटन डिसीलाई कर्म क्षेत्र बनाएर लेखिरहेका कवि वसन्त श्रेष्ठलाई अस्वीकृत पुरस्कार वितरणका लागि उनी अमेरिका पुगेका थिए ।
त्यसै समारोहका लागि निम्ता गरिएका कृष्णचन्द्र सिंह प्रधान र गोवर्धन पूजाचाहिँ भिसाका कारण उपस्थित हुन सकेका थिएनन् । उनी कृष्णचन्द्र सिंहले अस्वीकृत पुरस्कार गुठीको अध्यक्ष भएर लगाएको गुन अमेरिका घुमाएर तिर्न चाहन्थे । तर, त्यो पूरा भएन । त्यसको क्षतिपूर्ति उनले कृष्णचन्द्र सिंहलाई बेलायतमा घुमाएर, सम्मान गरेर पूरा गरे ।
उनको स्वास्थ्यमा गम्भीर समस्या आएको छनक आएको मैले उनी अमेरिका भ्रमणमा जाँदा नै पत्तो पाएको थिएँ । उनी अस्वाभाविक रुपले मोटाएका वा सुन्निएका देखिएका थिए । त्यो उनलाई औषधिको कारणले भएको थियो ।
बेला-बेलामा उनीसँग फोन बार्ता भइनै रहन्थ्यो । उनी सामाजिक सञ्जालमा निकै सकृय थिए । उनी आफ्नो आस्थाको राजनीति मात्र होइन, गुटको पक्षमा कमेन्ट शेयर गरिरहन्थे । तर, मलाई भने उनले यी सबै छाडिदिए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । तर, मैले प्रतिकृया भने कहिल्यै दिइनँ ।
तर, ५ मे २०१७ का दिन उनको एउटा सन्देश आयो । त्यो एकदमै आश्चर्यलाग्दो नभए पनि दु:खलाग्दो अवश्य थियो । उनले लेखेका थिए-
“मैले अति नजिक मानेका मेरा प्रिय मित्र गण ! मलाई सन २०१२ मा बोसेआन्द्रामा क्यान्सर भएको थाहा भयो र त्यस्लाई तत्काल अपरेशन गरी फालियो । तर, फेरि त्यो फोक्सोमा संक्रमित हुन पुग्यो र आजसम्म किमो लिँदै गरेको स्थिति छ। गत वर्ष जुलाईमा मलाई साढ़े ३ देखि ६ महिनाभित्र मेरो मृत्यु हुने आकलन डाक्टरले सुनाको थियो। तर, त्यसै बेलामा नयाँ खाले किमो आएको र त्यसको ऊपचारले मेरो आयु लम्बियो। अझै केही भइहाल्ने म देख्दिनँ। शरीरमा कुनै कतै पीड़ा छैन। कड़ा साइड इफेक्ट पनि छैन। ओछ्यान कहिल्यै परेको छैन र अहिले त्यस्तो सम्भावना पनि छैन। यो निको हुने भन्ने त होइन । तर, आयु त लम्बियो नै। डाक्टरले मिति तोकिदिएको घटनापछि मैले बाँकी रहेका पुराना काम र दायित्व सलट्याउने र नयाँ काम बन्द गर्ने काम गरें। त्यसैले हिजो आज मलाई तपाइँहरूले नयाँ केही गरेको देख्नुहुन्न । पब्लिकमा पनि अति छोटो समयमात्र देख्दै हुनुहुन्छ। कुनै काम अधुरो नरहोस् भन्ने एकमात्र मेरो चाहना छ। यसैमा तपाई साथीहरूको समेत सहयोगको अपेक्षा छ। सम्झाइ दिनुहोला, कहीँ कतै मैले गर्न केही बाँकी देखिन्छ कि ?
मलाई मर्नुसँग किञ्चित डर छैन। मर्न त जीवधारी सबैले पर्छ नै। ७० वर्षमा छु। मान्छेको आयु त्यस्तै त्यस्तै नै हो। यद्यपि बढी बाँच्ने छन् नै। बाँचुञ्जेल आफूले जानेसम्म सही ढंगमा बाँच्ने प्रयाश थ्यो र सफल छु भन्ने लाग्छ। केही कतै त्रुटि कमी कमजोरी छ भने ती नियतवश भएका गरेका होइनन् । मेरो क्षमताकै कमी कमजोरी हो। त्यता पनि पश्चात्ताप छैन।
मैले अहिलेसम्म मेरो यो रोगको अवस्था सार्वजानिक गरिनँ। यस्तो थाहा हुने बित्तिकै स्वजन रुने कराउने, हत्तासिने, अनि सहानुभूति दिने गर्न लागि हाल्छन्। म त्यस्तो हंगामा चाहन्न। ५ वर्ष बित्यो । बडो सरल र उस्तै ढंगमा बित्यो। डाक्टरले मिति तोकिदिँदा भने मैले सम्बन्धित नातागोतामा थाहा दिन आवश्यक सम्झें र तत्काल थाहा दिएँ। अहिले भरखर अब चाहिँ तपाई नजीकका अन्तरंगी साथीलाई पनि भन्न आवश्यक ठानें। केही त्यस्तो कुनै समस्या वा गाह्रो साह्रो भएर होइन । तर, मेरो आफ्नै गतिविधिमा कमी भइरहेको अवस्थामा यसको कारकतत्व यो थियो भन्ने थाहा दिने अवस्था आइसकेको मैले सोचें।
मैले यो पत्र सार्वजनिक कतै गरेको छैन। तपाई जस्तै मेरा अन्य सीमित अंतरंगी मित्रको बक्समा मात्र छोड़ेको छु। यति थाहा दिए पछि मैले आफूलाई हल्का भएको महसूश गरेको छु। म यसरी सामान्य ढंगमा जीवितै रहेको अवस्थामा कुनै पनि समाजिक सञ्जालमा यो मेरो स्वास्थ्यको अवस्थाको हल्लीखÞल्ली नहोस् त्यति भने मैले तपाइँबाट अपेक्षा राखेको छु। धन्यवाद।
–कविताराम श्रेष्ठ
यो सन्देश पाउनेवित्तिकै मैले फोन गरें । हामीवीच ३ मिनेट कुराकानी भो ।
त्यसपछि उनले आफनो बुध्द जीवनीमा आधारित उपन्यासको अङ्ग्रेजी अनुवाद अमेरिकाबाट “लाइट अफ द हिमालयाज” नाममा प्रकाशित भएपछि सन्देश पठाए । अनि मैले मेरो अखवारमा त्यसको समाचार बनाएर प्रकाशित गरें, “वुध्द जीवनमाथि कवितारामको उपन्यास अमेरिकाबाट प्रकाशित” शीर्षकमा ।
उनी अमेरिकामा त्यस किताबका बारेमा सानो भए पनि कार्यक्रम होस् भन्ने चाहन्थे । तर, कार्यक्रम गर्ने अनुकूलता भएन । बरु उनले बेलायतमै अस्पतालको बेडबाट पुस्तक विमोचन गरेको खबर देखें । जीवन निभ्न लागेको बत्तीजस्तो हुँदा पनि उनको त्यस किसिमको साहित्यिक सकृयता आश्चर्यजनक थियो।
अगस्त २१ मा उनले २ पटक गरेको फोन मिस भएछ । अनि उनले सन्देश पठाए, “भाइ मौका परे फोन पाउँ।”
मैले साँझ फोन गरें । तर ३ मिनेट मात्र कुरा भयो । फेरि अगस्त २७ मा उनको २ वटा मिस्ड कलपछि उही सन्देश आयो, “भाइ मौका परे फोन पाउँ । “तर, मैले गर्न भ्याएको थिइँन । फेरि उनको अर्को कल र अर्को सन्देश आयो, “प्लज कल मी ।”
मैले राति आठ बजेर १० मिनेटमा फोन गरें । हामीले २२ मिनेट लामो कुराकानी गरेछौं । उनले मृत्युका लागि पूरै तयार भएको बताए र साहित्यमा भए गरेका कुराहरु गरे । उनी बेलायतमा थिए । नजिक वा अमेरिकामा भए पनि भेट्न जान हुन्थ्यो भन्ने लागिरह्यो । त्यो फोन बार्ता नै उनीसँगको अन्तिम कुराकानी बन्यो ।
११ नोभेम्वरमा उनले सामाजिक सञ्जालमा लेखे, ‘पूर्ण सरसता छायो। अरु केही चाहिएन । अब पूर्ण भयो एउटा सुन्दर समय । म घोषणा गर्दछु, मलाई सिध्दि प्राप्त भो । यसैक्षणदेखि म सिध्द भएँ । अब केही पूरा गर्नु छैन । सब शून्य । म सिध्द भएँ । हो, पूरै नै । पूरै नै । साधु । (बिहान ३:४५ aजे, ओकिङ, बेलायत)
त्यसपछि उनले अन्तिम पटक सामाजिक सञ्जालमा १७ नोभेम्वरका दिन लेखे, ‘अहं ब्रम्हास्मी !’
तर, उनी यत्तिमा रोकिएनन् । मृत्यु नजिकिँदै जाँदा पनि उनको सकृयता निरन्तर थियो । आफ्नी श्रीमतीमार्फत साहित्यकार मुलीबीर राईलाई बोलाएर उनले आफ्नो अन्तिम सन्देश पनि रेकर्ड गराए १८ नोभेम्वरमा । जुन, उनको देहान्तपश्चात् सार्वजनिक गरिएको थियो । यद्यपि डाक्टरहरुलाई उनले अरु दुई महिना बाँच्न चाहेको बताएका थिए र नआत्तिन भनेका थिए ।
उनले आफ्नो त्यस अन्तिम रेकर्डमा भनेका थिए-
‘आन्तरिक मित्र, छोरा, नाति, दाजु, भाइ, भतिजा, नातेदार, कुटुम्ब, चेलीबेटी, पारिवारिक सदस्य र गुठीयारहरु ! मलाई मरेपछि स्वर्ग, नर्क वा कहीं पुगिन्छ भन्ने कुरामा किञ्चित विश्वास छैन । जिउँदो हुँदा नदेखेको, नभोगेको कुनै पनि कुरामा मेरो विश्वास छैन । त्यसकारण अर्कै लोकमा मेरो सुख सयल र खान्कीको बन्दोबस्त मिलाउन मेरो मृत्युउपरान्त कुनै पनि पुरोहितलाई खाट, खान्की, सामान, लुगाफाटो, गाई, पैसा आदिको दान दक्षिणा दिने काम नगर्नु होला ।
मेरा नाममा कृयाकर्म गर्ने, जूठो बार्ने, सराध्दे गर्ने जस्ता कुनै कर्मकाण्ड नगर्नु होला । तपाईंहरुलाई ढुक्क पार्न चाहन्छु, यस्तो नगर्दा म मृत्युपछि प्रेत बन्ने छुइनँ । पक्का हुनोस् म कुनै छद्म रुपमा तपाईंहरुलाई दु:ख दिन आउने छैन । मृत्यु मेरो लागि मोक्षको स्थिति हो, पूर्णतया दैहिक अन्त्यको स्थिति ।‘
र, उनले १९ नोभेम्वर २०१७ का दिन देहत्याग गरे ७० वर्षे दैहिक जीवनलाई सधैंका लागि विश्राम दिँदै ।
– बृन्दावन, भारत ।
source https://www.onlinekhabar.com/2020/05/860688
0 Comments