संशोधित नक्सा सार्वजनिक गरेको सरकारले चेठ १४ गते संसदमा संविधान संशोधनको प्रस्ताव पेश गर्ने कार्यसूचीमा थियो । एकाएक उक्त प्रस्ताव हटाइएपछि एकपटक देशभित्र र बाहिर रहेका सबै नेपालीहरू विस्मित भए र सामाजिक सञ्जालहरूमा खैलाबैला मच्चियो । अपजसको भारी कसलाई बोकाउने, नागरिकस्तरमै प्रतिस्पर्धा चल्यो ।
प्रमुख प्रतिपक्षी काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) तिर सरकार समर्थकहरूले औँला तेर्स्याए । प्रत्यूत्तरमा सरकारमाथि नै संशयको प्रतिक्रिया पनि उत्तिकै मुखर रूपमा सुनिए । त्यही आसपास भारतीय पूर्वराजदूत श्यामशरण नेपालमा छन् र उनले संविधान संशोधनलाई थाती राख्न नेपालका नेताहरूलाई अह्राइरहेका छन् भन्ने कुरा गाउँ-शहरमा गुल्जार भयो ।
हिलो छ्यापाछ्याप
सरकार समर्थकहरूको प्रमुख प्रतिपक्ष काँग्रेसलाई आरोप थियो,‘काँग्रेसले निर्णय गर्न समय माग गरेकाले कार्यसूचीबाट हटाइएको हो । काँग्रेसको भारतपरस्त चरित्र फेरि उदाङ्गो भयो । राष्ट्रियताको मामलामा पनि समय माग गर्ने,विलम्ब गर्न खोज्ने काँग्रेसी प्रवृत्ति राष्ट्रघाती प्रवृत्ति हो ।’ यससँगै काँग्रेसको इतिहासदेखिको ज्ञात-अज्ञात,भए-नभएका कुकर्महरूको फेहरिस्त बाहिर ल्याइयो ।
त्यस्तै प्रतिपक्ष जनता समाजवादी पार्टीलाई संशोधनमा ‘शर्त’ तेर्स्याएको आरोप लगाइयो । संविधान संशोधनमा आफूहरूले उठाउँदै आएका मुद्दाहरूको पनि सँगसँगै संशोधन हुनुपर्ने नत्र अमान्य हुने जनता समाजवादीका नेतृत्वहरूको धारणा रहेको भनेर प्रचार-प्रसार गरियो । जनता समाजवादीका सबै नेताहरू भारतकै इसारामा चल्ने गरेको भन्दै राजनीतिक कम, गैरराजनीतिक बढी अभिव्यक्तिहरू बाढीझैं आए । त्यस अवसरमा बोल्न हुने-नहुने, मिल्ने-नमिल्ने सबै सीमा भत्काएर गालीगलौजमार्फत् राष्ट्रघातीको बिल्ला भिराउन सरकार समर्थितहरूको लहर नै चल्यो ।
प्रतिपक्ष कित्ताले भन्यो,’सरकार जबजब संकटमा पर्छ,तब राष्ट्रवाद उर्लेर आउँछ । जब संकट टर्छ,अनि लम्पसारवाद शुरू हुन्छ । महाकाली सन्धीदेखि भारतीय तरकारी तथा फलफूलको विषादी परीक्षणसम्म आइपुग्दा मौसमी राष्ट्रवाद पटक-पटक उदाङ्गो भइसकेको र संशोधन प्रस्ताव गायव हुनु पनि त्यसकै निरन्तरता हो ।’
भएको के थियो ?
जेठ १३ गते प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बसेको थियो । बैठक सरकारले जारी गरेको देशको नयाँ नक्सा निशान छापमा समावेश गर्नको लागि संविधान संशोधन गर्ने विषयमै केन्द्रित थियो । संसदमा १४ गतेकै लागि पेश गर्ने कार्यसूची थियो । प्रतिपक्ष काँग्रेसले पार्टीमा यो विषय एक मत नै रहेको र केन्द्रीय समितिको बैठकबाट सहमतिको संस्थागत निर्णय दिने कुरा बतायो ।
साथै संशोधन प्रस्ताव प्रक्रियाकै दौरान केन्द्रीय समितिको बैठक बसिसक्ने पनि जानकारी गरायो ।त्यस्तै जनता समाजवादी पार्टीका शीर्ष नेतृत्वहरूले सार्वभौमिकता र राष्ट्रिय स्वाधीनताको विषयमा फरक धारणा हुन नसक्ने भन्दै संविधान संशोधनकै सन्दर्भमा आफ्नो मुद्दाको विषय पनि स्मरण गराए ।
सरकार र सत्तारूढ नेकपाको पनि यस विषयलाई बहुमतीय प्रक्रियाबाट नभई सर्वसम्मतिबाट निर्णय गरौँ भन्ने आशयका साथ काँग्रेसको छिट्टै बस्ने केन्द्रीय समितिको बैठकको निर्णयपछि पेश गर्ने सोच रह्यो । र सरकारले संविधान संशोधन प्रस्ताव तत्कालको लागि कार्यसूचीबाट हटायो ।
बाहिर हङ्गामा भयो । नेतृत्वहरूलाई श्यामशरणको काल्पनिक चलखेलको शिकार बनाइयो । मान्छे छानीछानी राष्ट्रघाती करार गर्ने होड नै चल्यो । काँग्रेसले खण्डनमा विज्ञप्ति नै जारी गर्नुपर्यो । न श्यामशरण नेपाल आएका थिए, न उनले नेपालका नेतृत्वहरूलाई निर्देश गर्ने हैसियत नै राख्थे । वास्तवमा यो संशोधन प्रस्ताव पेश नहुनुमा कसैको वदनियत चाहिँ थिएन ।बरू त्यो राष्ट्रिय एकता सहितको बलियो अभिमत प्रकट गर्ने सबै पार्टी र नेतृत्वहरूको साझा संकल्प थियो ।
के जसपाले ‘शर्त’ तेर्स्याएको थियो ?
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको एकता प्रकियाबाट हालसालै जनता समाजवादी पार्टी (जसपा) गठन भएको हो । संविधान निर्माण भएकै दिनदेखि ‘यो संविधान अपुरो छ । यसमा उपलब्धीहरू पनि लिपिबद्ध छन्, तर पर्याप्त छैन । यो आधा गिलास भरी, आधा गिलास खाली छ । त्यसकारण संविधान संशोधनमार्फत् यसलाई सच्याइनुपर्छ ।’ भन्ने पूर्ववत् दुवै पार्टीको अविच्छिन्न धारणा हो ।
राज्य पुनर्संरचना लगायतका विषयमा संविधान संशोधनमार्फत् संबोधन गर्ने सहमतिका साथ सरकारलाई समर्थन गरेको राजपाले समर्थन फिर्ता लिइसकेको छ भने समाजवादी पार्टी सरकारबाट बाहिरिइसकेको छ । सरकारले संविधान संशोधनको विषयमा सहमति जनाएको सत्य हो कि होइन ? र पछि सहमति लत्याइएकोले समर्थन फिर्ता लिनुपर्ने र सरकारबाट बाहिरिनुपर्ने अवस्था सरकार आफैले सिर्जना गरेको होइन र ? नेकपाको वर्तमान अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छँदा नै राजपा र समाजवादी पार्टीले उठाएका केही मुद्दा समावेश गरी संशोधन प्रस्ताव संसदमा पेश भएको थियो ।
त्यो प्रस्ताव कसको कारणले पास भएन,हामी सबैलाई थाहा भएकै कुरा हो । एउटा राजनीतिक पार्टीले निरन्तर उठाउनु उसको राजनीतिक धर्म हो । अनि एउटा पार्टीले सन्दर्भ चलेको बेला अाफ्ना एजेण्डा मुखरित गर्नु चाहिं नाजायज हुने, अर्को पार्टीले आफ्नो अनुकूल संशोधन गर्ने सहमतिमा सही पनि ठोक्ने,पछि ‘केको संशोधन ?’ भन्दै द्वैध चरित्र देखाउनु चाहिं जायज हुन्छ ?
संविधान संशोधनको सन्दर्भमा ‘नक्साको विषयमा राष्ट्रिय सहमति छँदैछ, साथसाथै मधेसी/थारू, जनजाति, महिला,दलितका विषयलाई पनि संबोधन गरौँ र संविधानप्रति सबैको अपनत्व बढाऔँ’ भन्दा कसरी ‘शर्त’तेर्स्याएको हुन्छ ?
भौगोलिक सीमाको विषयमा मात्र कुर्लंदाचाहिँ खुंखार राष्ट्रवादी हुने अनि ‘भूगोलका साथै नागरिकहरूको आवाजलाई पनि सुनौँ’ भन्दा राष्ट्रघाती हुने हुन्छ ? सीमाको विषय आएपछि एकाएक अरू विषय उठान गरेझैं होहल्ला गर्नेहरूले बुझ्नुपर्छ,एजेण्डाविहीन पार्टी मृतप्राय: हुन्छ । त्यस्तो पार्टीलाई देश र जनताको होइन,आफ्नो शासनको आयुसँग मात्र चासो हुन्छ ।
हामी कता जाँदैछौँ ?
हामी यति धेरै सर्वज्ञाता छौँ कि,कुनै विषय पाउनासाथ क्षणभरमै त्यसको जन्मकुण्डली उतार्दिन सक्छौँ । हामी यति निर्मम हुँदै गएका छौँ कि,कसैको सार्वजनिक छविलाई ध्वस्त पार्न जस्तोसुकै झूटको सहारा लिन हिचकिचाउँदैनौँ । हामी यति सतही र छिपछिपे भएका छौँ कि,कसैको रूमानी कल्पनालाई स्थापित गर्न हजारबार आफू गलत सावित हुन हानथाप गर्छौँ ।
हामी एक रातमै कसैलाई महान् राष्ट्रवादी बनाइदिन सक्छौँ । एक छिनमै कसैलाई घोर राष्ट्रघाती र दलाल बनाइदिन सक्छौँ । दुई घण्टा अघि राष्ट्रघातीको पगरी गुथाइएका मिनेन्द्र रिजाललाई दुई घण्टापछि भव्य देशभक्त छोरो बनाइदिन सक्छौँ । ‘आफ्नो देशको लागि के गरिन् र ?’ भनेर जिन्दगीभर प्रश्न खेपिरहने मनिषा कोइरालालाई ’त्रिदेशीय वार्ताबाट समाधान खोज्नुपर्छ’ भन्नेबित्तिकै ‘नेपालकी वास्तविक छोरी’को ताज पहिर्याइहाल्छौँ । फेरि हिजोसम्म लोकप्रिय नै रहेकी कलाकार वर्षा राउतले ‘दुई देशका जनताहरू आपसी शत्रु होइनन्,साथीहरूको बीचमा फाटो ल्याउने खतरा भयो । वार्ताबाटै समाधान खोजियोस्’ मात्र भन्दा देशद्रोहीको ट्याग भिराइहाल्छौँ । सुन्नै नसकिने गालीको वर्षातपछि उनलाई टिभी कार्यक्रममै रुँदै माफी माग्नुपर्ने बनाइदिन सक्छौँ ।
हामी यसरी देशप्रेमी र देशद्रोहीको इजाजत बाँडिरहेका छौँ कि,मानौँ त्यो बाँड्ने ठेक्का नै हामीलाई प्राप्त छ । हामी राष्ट्रवादी र राष्ट्रघातीको प्रमाण पत्र यति सस्तो बनाइरहेका छौँ कि,हामीलाई तथ्यप्रमाणहरू केही चाहिन्नन् । हामी यति हतारमा आफ्ना विरोधीहरूलाई देशकै विरोधी किटान गर्दैछौँ कि,मानौँ यति नगरे जिन्दगीको रथ नै अगाडि बढ्दैन । हामी विरोधी कित्ताप्रति यति असहिष्णु बन्दै गएका छौँ कि,जतिसुकै राम्रो व्यक्तिगत सम्बन्धलाई पनि तत्क्षण खरानी बनाउन तम्तयार छौँ । प्रेम र सद्भावलाई त हामीले धेरै पछाडि छाडिसक्यौँ । प्रेमले प्रतिप्रेम प्राप्त गर्दछ,घृणाबाट प्रतिप्रेम सम्भव छैन भन्ने त हामीले बिर्सिसक्यौँ ।
हामीले सूचना प्राप्त गर्ने हजारौँ स्रोतहरू हुन्छन् । कुनैमा हेडलाइन हुन्छ,विषयवस्तु नै राखिएको हुँदैन । कुनैमा हेडलाइन एउटा हुन्छ,विषयवस्तु अर्कै राखिएको हुन्छ । कुनैमा हेडलाइन र विषयवस्तुको तालमेल मिलाइएको हुन्छ तर स्वैरकल्पनाले भरिएको हुन्छ । हामी त्यस्तै प्रायोजित स्रोतलाई सबूतको रूपमा अगाडि राख्छौँ, भ्यूज बढाउन राखिएको कुनै मसालेदार शीर्षकलाई प्रमाणको रूपमा पेश गर्छौँ र भव्य बहस गर्छौँ । यसले हामीलाई निरन्तर तिक्ततातर्फ धकेलिरहेको छ । थाहै नपाई हामीमा ध्वंसात्मक मानसिकता भर्दै लगेको छ । हाम्रो ज्ञान, सीप, अध्ययनलाई भुत्ते पार्दै तथ्यबाट आफूलाई अलग बनाउँदै लगेको छ ।
यसरी आफ्ना आक्रोशहरू, आरोपहरूलाई तथ्यबाट कोशौँ टाढा राखेर समाजलाई सही दिशा दिन सकिएला त ?
(श्रेष्ठ समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन् ।)
source https://www.onlinekhabar.com/2020/05/868847
0 Comments