१९ जेठ, काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।
भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अनलाइनखबरसँग भने, ‘भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी दुर्घटना परेको हो । ११ जनाको मृत्यु भयो । चार–पाँच जनाको अवस्था गम्भीर छ ।’
नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न नेपालगञ्ज ल्याइएको छ । शवहरु भेरी अस्पतालमा राखिएको छ । मृतक सनाखत नभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
source https://www.onlinekhabar.com/2020/06/869304
0 Comments