Looking For Anything Specific?

Header Ads

थारो गाई पालेर के फाइदा !

कृषि भन्नेवित्तिकै सबैले निकै सजिलो काम मान्छन् । जसलाई पनि म पनि गर्न सकिहाल्छु नि जस्तो लाग्छ । तर यो सोचेजस्तो सजिलो र छुट्टै ‘मुभमेन्ट’ ल्याउन सहज विषय हैन । विगतको दिनबाट घट्दै घट्दै हाम्रो कुल गार्हस्थ्य उत्पादनमा करिब २५/२६ प्रतिशत योगदान दिने क्षेत्र बनेको छ, कृषि ।

यो ‘लाइभ’ क्षेत्र हो, योसँग खेल्न रकमा गर्न सजिलो हुन्न । उत्पादन गर्नु आफैंमा कठिन काम हो भने उत्पादित उपजलाई बेलैमा बजारमा पुर्‍याउनु अर्को चुनौती हो । त्यसका कारण यो सहज क्षेत्र र काम हुँदै हैन ।

अहिले त हाम्रो उत्पादनले हामीलाई नै पुगेको छैन । हामी प्रशस्तै कृषि उपज आयात गर्दैछौं । हुन त केही वर्ष अघिसम्म हामी अन्न बाली नै निर्यात गथ्र्यौं । अब हामी धेरै कृषि वस्तुमा आयातको निर्भरतातिर जाँदैछौं ।

हाम्रो उत्पादकत्वलाई नियालेर हेरौं, एक हेक्टर खेतमा ३.१ मेटि्रक टन धान उत्पादन गर्छौं ।  प्रतिशत हेक्टर २.५ मेटि्रक टन मकै र २.३ मेटि्रकटन गहुँ फलाउँछौं । यो अन्य दशेको तुलनामा निकै न्युन उत्पादकत्व हो ।

हामी कृषिमा आधारभूत तवरबाट कमजोर छौं । कृषिमा उत्पादनबारे कुरा गर्दा सुरुमा बीउको कुरा आउँछ । हामीले सबै राम्रो गरेर बीउमा राम्रो गरेनौं भने त्यसको उत्पादकत्व वृद्धि हुन सक्दैन । त्योसँगै सिँचाई अत्यन्तै महत्वपूर्ण हो । त्यसपछि अर्को महत्वपूर्ण पक्षमा भनेको बालीको उत्पादनका विभिन्न चरणमा गरिने व्यवस्थापन हो ।

हाम्रो मुख्य बाली धानमा अहिले बीउको विस्थापन आवश्यक छ । बाली ‘सेल्फ कोलिनेटेड’ छ भने त्यसमा थोरै मात्रै बीउ विस्थापन गर्दा हुन्छ । तर, हाईबि्रड जातको धान लगाउँदा शतप्रतिशत विस्थापन जरुरी हुन्छ । हााइबि्रडका लागि नयाँ बीउ उत्पादन गर्नुपर्छ । त्यसका लागि हामीले आफैं काम गर्न सके सम्भावना छन् ।

३० अर्बको निर्यात, २ खर्बको आयात

तथ्यांकमा हेरौं, हामीले वर्षमा ३० अर्ब ५० करोडको कृषि वस्तु निर्यात गर्छौं । तर, २ खर्ब ७ अर्ब ९ करोडको कृषि वस्तु आयात गरेर ल्याउँछौं । कृषिवस्तुको आयात र निर्यातबीच ठूलो खाडल छ । हामी कृषिवस्तु निर्यातमा धेरै नै कमजोर छौं ।

हामी पोल्ट्री क्षेत्रमा आत्मनिर्भर छौं । हामी कुखुरा र अण्डा त चाहिने जति नै उत्पादन गर्न सक्ने बनेका छौं । तर रोचक के छ भने त्यही पोल्ट्री क्षेत्रलाई चाहिने दाना बनाउन २० अर्बको भटमास आयात गर्छौं । त्यसकै लागि १६ अर्बको मकै आयात गर्छौं । हाम्रो देशमा उत्पादन भएको ४ अर्ब बराबरको मकै मात्र पोल्ट्री क्षेत्रमा उपयोग हुन्छ ।

बीउविजनको पक्ष पनि रोचक छ, गोलभेँडाको बीउ एक केजीको डेढ लाख रुपैयाँ पर्छ । गाँजरको बीउ एक केजीको १७ हजार पर्छ । यो सबै हामीले आयात गर्नुपर्छ । हामीले एक वर्षमा करिब २ अर्ब ८५ करोडको बीउ मात्रै आयात गर्छौं ।

धानको बीउको कुरा गर्दा हाइबि्रडको त विदेशबाटै आयत हुन्छ । ननहाइबि्रडको त यहीँको खाद्यन्नमा प्रयोग हुने अन्नलाई छानेर कृषकले बीउका रुपमा उपयोग गर्छन् ।

हामीले गत वर्षमात्रै २ हजार मेट्रिकटन धानको बीउ आयात गर्‍यौं । यो वर्ष २५ सय मेटि्रकटनको लागि सिफरिस भइसकेको छ । त्यसको मूलय मात्रै ८७ करोड हुन जान्छ ।

यसैगरी मकैको ७३ करोड, तरकारीलगायतका अन्य कृषि बालीको लागि करिब ९९ करोड रुपैयाँ बीउबिजन आयातमा खर्च गरिन्छ । यो बीउबिजन बाहिरबाट आएन भने हाम्रो उत्पादकत्व अझै तल झर्ने खतरा हुन्छ ।

बीउबिजनका हकमा हामीले काम नै गरेका छैनौं भन्दा हुन्छ । सम्भावना भएका बालीमा पनि हामी आयातमै टिकेर बसेका छौ ।

माथि चर्चा गरिएकाबाहेक धान, चामल, गहुँ, तरकारी, फलफूल तथा अन्य कृषि उपज १ खर्ब ६८ अर्ब २४ करोडको आयात हुन्छ । हामीले यही चैतसम्म नै २४ अर्बको धान र चामल आयात गरिसकेका छौं ।

अन्नबालीको उत्पादनलाई औसत रुपमा पनि हेर्नुपर्छ । इजिप्टमा एक हेक्टरमा १०.४ मेटि्रकटन धान उत्पादन हुन्छ । अमेरिकामा प्रतिहेक्टर ७.९४, जापानमा ६.५४, चीनमा ६.४९, भारतमा ३.३८ मेटि्रकटन धान फल्छ । तर, नेपालमा एक हेक्टरमा ३.१५ मेटि्रक टन मात्रै धान उत्पादन हुन्छ । यति हुँदाहुँदै पनि विश्वको ९० प्रतिशत धान उत्पादन एसियन देशमा हुन्छ । विश्वको ठूलो धान उत्पादक भारत र चीन नै हुन् । हामी भारबाट धेरै धान चामल आयात गरिरहेका छौं ।

तर, हामीले भारतको जति पनि उत्पादकत्व पुर्‍याउन सकेका छैनौं । मकैबालीतर्फ न्युजील्याण्डले एक हेक्टरमा ९ मेटि्रकटन फलाउँछ, चीनले ६, जापानले ५, भारतले ३ मेटि्रकटन मकै फलाउँदा नेपालमा २.४ मेटि्रकटन मात्रै मक उत्पादन हुन्छ ।

गहुँबालीमा अमेरिकामा अघि छ, उसले प्रतिहेक्टर १०.७ बेटि्रक टन फलाउँछ, तर भारतमा ३ मेटि्रकटन फल्दा नेपालमा २.५ मेटि्रकटन मात्रै फल्छ ।

अन्नबाली बढाउन के गर्ने ?

यो अवस्था किन छ त ? किनकि हामीसँगको बीउबीजन, सिँचाइ र अरु व्यवस्थापकीय पक्ष कमजोर छ । कृषिलाई आधुनिकीरकण गर्न नसक्दा पनि यो अवस्था आएको हो ।

हिजो प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना लागू गरिएको थियो । त्यसलाई परिस्कृत गरेर त्यसको प्रभाव वास्तविक किसानसम्म पुर्‍याउने वातावरण बनाउनुपर्छ ।

खाद्यान्नमा आत्मनिर्भर हुनका लागि मकै, धान र गहुँमा आत्मनिर्भर हुनुपर्छ । अब साना उत्पादन फार्मलाई थोरै उत्पादन भएपनि धेरै मूल्य भएका वस्तुको उत्पादनमा केन्दि्रत गर्नुपर्छ ।

हामीले बुझ्नुपर्छ कि टुक्रेखेती प्रणालीले उत्पादन बढाउन सक्दैन । अब खेतीयोग्य जमिनलाई चक्लाबन्दी गर्ने नीति लिनुपर्छ । अब भूबैंकको माध्यमबाट जमिनको उपभोगलाई वैज्ञानिक बनाउनुपर्छ ।

त्यसका लागि स्थानीय स्तरमा कुन वडाको कुन क्षमता र सम्भावना छ, र कुन जमिन केमा उपयोग गर्ने भन्ने योजना बन्यो भने वडाले नै कार्यान्वयन गर्न सक्छ । त्यसका लागि क्षेत्रगत योजना बनाउन सकिन्छ ।

त्यसकै आधारमा अनुदान दिन सकिन्छ, त्यसको उपभोग पनि ठीक ठाउँमा ठीक शैलीले हुन्छ । प्रत्येक वडामा किसानका लागि किसान पाठशाला चाहिन्छ ।

त्यसैगरी ‘कन्ट्रयाक्ट फार्मिङ’मा जग्गाको हदबन्दीको समस्या छ । त्यसलाई सहज गर्दै मेसिनीकरण गर्नुपर्छ । मेसिनीकरण पनि एउटै किसानले ठूलो मेसिन किन्न सक्दैन । त्यसमा स्थानीय सरकारलाई प्रवर्द्धनात्मक रुपमा काम गराउनुपर्छ ।

त्यसैगरी अहिले केही व्यवसायिक किसानलाई स्थानीय तह, प्रदेश सरकार संक सरकारको कार्यक्रमले पनि अनुदान दिइरहेको छ । यस्तो अनुदान एकद्वार गर्नुपर्छ । त्यो पनि स्थानीय सरकारबाट नियमन गरेर कुन वडालाई केको उत्पादन हुने हो, त्यसका लागि मात्रै दिने गरी प्रवन्ध गर्नुपर्छ ।

कृषि बीमालाई अनिवार्य गर्दै लैजानुपर्छ । उत्पादन र त्यसको मूल्य श्रृंखलामा लगानीको व्यवस्था पनि सुनिश्चित गर्नुपर्छ । प्रारम्भिक प्रशोधनदेखि प्रशोधन उद्योगसम्म लगानीको वातावरण बनाउनुपर्छ ।

जमिन बाँझो राख्न नपाइने व्यवस्था गर्नुपर्छ । जसले राख्छ उसलाई सिजनअनुसार उत्पादनको सम्भावनालाई हेरेर जरिवाना गराउने प्रवन्ध गर्नुपर्छ ।

आत्मनिर्भर पोल्ट्री क्षेत्र समस्यामा

कृषिकै महत्वपूर्ण क्षेत्र पोल्ट्रीको कुरा गरौं । यो उद्योगले कुल गार्हस्थ्य उत्पादनको ४ प्रतिशत योगदान गर्छ । यो नेपालमा आत्मनिर्भर उद्योग हो ।

नेपालमा करिब १ करोड लेयर्स कुखुरा पालिएको छ । अहिले कोभिड-१९ले गर्दा यसमा उतारचढाव आईरहेकै छ । करिब ३.५ करोड ब्रोइलर कुखुरा पालिएको छ । यो कहिलेकाँही ४ करोड पनि पुग्छ ।

करिब ५० लाख वटा प्यारेन्ट कुखुरा पालिएको छ । यो भनेको चल्ला उत्पादन गर्न सक्ने कुखुरा हुन् । यो उद्योगबाट ३ लाखे प्रत्यक्ष रोजगारी पाएका छन् ।

यस्तो उद्येाग अहिले घाटामा छ, यो उद्योगमा अहिले दैनिक घटा २२ करोड छ भन्ने पोल्ट्री महासंघको तथ्यांक छ । अहिले पोल्ट्री उद्योग पनि समस्या छ, यो उद्योग अब पुरानै अवस्थामा फर्किन २-३ वर्ष लाग्छ भन्ने विज्ञहरुकै भनाइ छ । अब उद्योगको ऋणको पुर्नतालिकीकरण गर्नुपर्ने भएको छ ।

बन्दाबन्दीको अवधिको ब्याज अनुदान दिनुपर्ने देखिन्छ । अब वर्तमान कर्जाको आधारमा ५० प्रतिशत चालु पुँजी थप्नुपर्ने देखिएको छ ।

पोल्ट्री उपजको अब न्युनत्म मूल्य तोक्नुपर्ने पनि देखिएको छ । त्यस्तो मूल्यभन्दा कमका बेच्नुपर्ने अवस्था भएर बीमाबाट पूर्ति गर्ने व्यवस्था जरुरी देखिएको छ । त्यो गरियो भने मात्रै यो क्षेत्र दिगो लाभ दिनसक्ने हुन सक्छ ।

थारो गाई पालेर के फाइदा !

पशुपालनतर्फ कुरा गर्दा यसमा डेरी उद्योगको कुरा महत्वपूर्ण हुन्छ । यो क्षेत्रले कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशत योगदान गर्छ । योतर्फको तथ्यांक हेर्ने हो भन रोचक छ । नेपालका ७४ लाख गाई छन्, कुल दूध उत्पादनमा यिनको योगदान २९ प्रतिशत छ । कारण धेरै दूध नदिने गाईहरु छन् । यहाँ अनुत्पादनक गाई धेरै पालिन्छन् । तिनले मान्छे अलमलाएका छन्, तर मल बाहेक अरु उत्पादन गर्न सकेका छैनन् । थारो गाई पालेर के फाइदा Û

भैँसीको संख्या ४६ लाख छ, तर कुल दूध उत्पादनमा ७१ प्रतिशत योगदान भैँसीको योगदान छ ।

बजारको सम्भावनाको कुरा गर्दा एक व्यक्तिले वर्षका ९१ लिटर दूध उपयोग गर्नुपर्छ । तर, अहिलेसम्म नेपालमा औसत एक व्यक्तिले ७१ लिटर मात्रै उपयोग गर्न पाएका छन् । यसले के देखाउँछ भने हामीसँग अझै धेरै दूधको बजार छ । र त्यसको उपयोगलाई बढाउन सक्ने स्पेस छ ।

तथ्यांकअनुसार ५ वटासम्म मात्रै गाई पाल्ने कृषि ५० प्रतिशत छन् । १०० भन्दा बढी गाई पाल्ने कृषि देशभरि खोज्दा १५ देखि २० जना छन् । यसबाट यो व्यवसायमा मान्छे आकषिर्त भएको देखिँदैन ।

दैनिक १० देखि १५ लिटर दूध उत्पादनको एक जना कामदार आवश्यक हुन्छ । यसले रोजगारीको सम्भावनालाई पनि दर्शाउँछ । अहिले करिब ३ लाखले यो क्षेत्रमा प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्ष रुपमा ढुवानी र प्रशोधनमा थप करिब ३ लाखले रोजगारी पाएका छन् । तर, उत्पादन बढाउने हो भने रोजगारी पनि त्यसैअनुसार बढाउन सकिन्छ ।

पशुपालनलाई व्यसायिक बनाउने हो भने नश्ल सुधार आवश्यक छ । हामीले उच्च उत्पादन दिन सक्ने जनावर नै ल्याउनुपर्छ ।

यसैगरी गुणस्तरीय चोक्कर, दाना र घाँसको उत्पादन बढाउनुपर्‍यो । पशुपालनमा घाँस नपाइने सिजनलाई सुख्खा सिजन भनिन्छ । त्यतिबेला दूधको उत्पादन ४० प्रतिशतले घट्छ । त्यो समयमा करिब दाना र घाँस लगायतका कुरालाई व्यवस्थापन गर्न सक्यौं भने उत्पादन बढ्छ ।

अर्को समस्या भनेको स्वदेशमै पर्याप्त दूधको पाउडर उत्पादन नहुनु हो । अहिले विदेशबाट पाउडर दूध आयात भइरहेको छ । त्यसलाई रोक लगाएर देशभित्रै उपभोग हुन नसक्ने दूध प्रशोधनको वातावरण बनाउनुपर्छ । जस्तो समयममा पनि कृषकको दूध किन्ने वातावरण बनाउनुपर्छ ।

समग्रमा थारो र थोरै गाईभैंसी पालेर, टुक्रे खेती गरेर, जमिन बाँझो छाडेर, मनलाग्दी अनुदान बाँडेर र पोल्ट्रीका समस्या त्यतिकै छाडेर कृष्मिा आत्मनिर्भरताको बहस जति गरेपनि गफ मात्रै हुने हो । कृषकलाई पहिला बाली लगाउने, बालीलाई जोगाउने, क्षति भए त्यसको पूर्ति गरिदिने, बजारसम्म सहज पहुँच बनाइदिने र उत्पादनमा प्रतिस्पर्धात्मक क्षमता विकासको काम गरेपछि मात्रै हामीले अहिले गरिरहेको बहस सार्थक हुने हो ।

(पौडेल चितवन उद्योग संघका अध्यक्ष हुन्)



source https://www.onlinekhabar.com/2020/05/868184

Post a Comment

0 Comments