युएई । ६ महिनाअघि युएई आएका एक नेपालीले ४५ दिनपछि कोरोना संक्रमणलाई जितेका छन् । इलाम घर भई आबुधाबीको एक सेक्युरिटी कम्पनीमा कार्यरत उनी अहिले काममा फर्किएका छन् ।
आफ्नो परिचयलाई गोप्य राख्दै युएईमा रहेका अनलाइनखबरकर्मी रुपेश अधिकारीसँगको कुराकानीमा उनले साटेको अनुभव यस्तो छ –
अप्रिल ११ सन् २०१९, विहानपख ज्वरो आयो । नेपालबाट साइनेक्स औषधि ल्याएको थिएँ । खाजा खाएर साइनेक्स खाएँ । सधैं जस्तो काममा गएँ । त्यहि दिन साँझ फेरि ज्वरो आयो । खाना खाएर फेरि साइनेक्स खाएँ अनि सुतें । तीन दिनसम्म यो क्रम चल्यो ।
अप्रिल १४ मा म काममा गएँ । ज्वरो थिएन । तर मलाई असाध्यै कमजोरी महसुस भयो । आरामका लागि मैले सुपरभाइजरसँग विदा मागें । सुपरभाइजरले विदा दिए । तर, फेरि काम गर्नका लागि कोरोना छैन भन्ने प्रमाण पेश गर्न भने । म त्यसपछि विदामा बसें ।
१५ तारिख अस्पताल गएँ । साह्रै भिड थियो । ढिलो गएकाले मेरो पालो नै आएन । फेरि १६ तारिख विहानै अस्पताल गएँ । पहिलो नम्बरमै पालो आयो । तर, कोरोना टेष्ट गर्नेबाहेक अस्पतालले अरु केही सोधेन । न त औषधि नै दियो । मेरो प्रश्नमा अस्पतालका कर्मचारीले भने– यहाँ कोरोना जाँच मात्र हुन्छ त्यो पनि सशुल्क ।
अस्पतालबाट फर्किएँ । आफ्नै कोठामा बस्न थालें । मौसम परिवर्तन भएको युएईमा म जस्ता धेरै बिरामी अस्पतालमा थिए । ज्वरो ठीक भैसकेको र शरीरमा कुनै समस्या नभएकाले रिपोर्ट नेगेटिभ आउनेमा म ढुक्क थिएँ । तर, १८ अप्रिलको राति १२ बजे निन्द्राबाट बिउँझिए । भोक लागिरहेको थियो । रातमा यसरी भोक कहिले पनि लाग्दैनथ्यो । कोठामा रोटी थियो । त्यही खाएँ, अनि सुतें । तर अब निद्रा लागेन ।
सधैं यस्तै हुँदै गयो, राति निद्राले छोड्ने, भोक लाग्ने । खाए अस्पट हुने, नखाए पेट बटारेर वाकवाकी लाग्ने । २३ अप्रिलको रात ९ बजे सुतें । ११ बजे राति एउटा फोन आयो । मेरोबारे धेरै कुरा सोधेर फोनमा भनियो– तपाईंलाई कोरोना पोजेटिभ छ । त्यस रात निद्रा सबै हरायो ।
अस्पतालले मलाई लिन मान्छे पठाउने भन्यो । मैले सुपरभाइजरलाई जानकारी गराएँ । त्यसपछि कुरा के भयो कुन्नी अस्पतालका मान्छे मलाई लिन आएनन् । विहान कम्पनीका तर्फबाट क्याम्पबोस आए । उनले भने– अब तिमी आइसोलेसनमा बस । मलाई नजिकैको अर्को बिल्डिङमा सारियो । ७ जना कोरोना संक्रमित एउटै कोठामा बस्न पर्ने भयो ।
मलाई लागेको थियो, विकसित देश छ बिरामी परे अस्पताल लगेर उपचार गर्छ । तर, मलाई लगिएको आइसोलेसन भनिएको ठाउँ जेलभन्दा पनि कठिन । न त डाक्टर, न त औषधि, न त समय समयमा परीक्षण ।
हाम्रो कम्पनीका मात्र होइन, त्यहाँ थुप्रै कम्पनीका मानिस ल्याइए । थुनेर राखिए । तातो पानी पिएर कोरोना जित्नुको विकल्प भएन । कोरोना जित्न पौस्टिक खाना र सकारात्मक सोच चाहिने रहेछ । त्यहाँ हामीलाई कम्पनीले उपलब्ध गराएको खाना गाईवस्तुले दिने खोलेभन्दा उत्तम थिएन । फलपूmल कस्तो हुन्छ देख्न पाइएन । बाहिर निस्कीन बन्द छ । बिमार परे कम्पनीको सिफारिसमा मात्र हस्पिटल जान पाइने । यो सबै देख्दा, सुन्दा र भोग्दा मैले मृत्यु नै नजिक देख्न थालेँ ।
मलाई साह्रै धेरै पीडा बोध भयो । तनाव भयो । अब मर्ने रहेछु भन्ने मात्र दिमागमा आयो । यहाँबाट कसरी उम्किने भन्ने सोच बनाउन लागेँ । त्यहाँ बसेको १८ दिन भयो । न त कोरोना जाँच भयो । न त आफ्नो स्वास्थ्यमा सुधार । म त झन झन कमजोर हुँदै गएँ । रातमा निद्रा नलाग्ने र भोक लाग्ने समस्याले झन् झन् सताइरह्यो ।
मे महिनाको १२ तारिख बिहान मैले पुलिसलाई फोन गरेँ । मैले आफ्नो अवस्थाबारे सबै बताएपछि पुलिसले एम्बुलेन्स पठायो । एम्बुलेन्सले मलाई खलिफा हस्पिटल अबुधाबी लिएर गयो । त्यहाँ स्वास्थ्यको सबै जाँच भयो । रिपोर्ट नर्मल आयो । तर, कोरोना पोजेटिभ थियो ।
अस्पतालले मलाई उसैको क्वारेन्टाइनमा राख्यो, केही औषधि दियो । त्यहाँ बस्न पाउँदा अब बाँचिने भइयो भनेर ढुक्क भएँ । अब मलाई केही भयो भने डाक्टर छन् भन्ने सोचले मलाई बलियो बनायो ।
अस्पतालमा जाने कोरोना संक्रमितको उपचार युएई सरकारले निःशुल्क गरेको रहेछ । अनि खाना पनि शरीरलाई आवश्यक भिटामिनसहित उपलब्ध गराउँदो रहेछ । मे को १४ तारिख कोरोना पुनः परीक्षण भयो । १७ तारिख रिपोर्ट नेगेटिभ आयो । मैले युएई सरकारलाई धन्यवाद दिएँ । सरकारले निःशुल्क उपचार गरिरहँदा पनि कम्पनीहरुले किन यति लापरबाही गरेर बिरामीलाई राखेको होला भन्ने लाग्यो ।
सायद अस्पताल जान पुलिसले सहयोग नगरेको भए आज म यो अनुभव सुनाउन पाउने थिएन होला । अस्पतालमा दिएको सेवाका लागि युएई सरकारलाई धेरैधेरै धन्यवाद ।
यदि तपाई पनि युएईमा हुनुहुन्छ भने कोरोना परीक्षण र उपचारका लागि कम्पनीको मात्र भर नपरी सकेसम्म अस्पताल जाने कोसिस गर्नुहोला ।
source https://www.onlinekhabar.com/2020/05/868590
0 Comments