१५ जेठ, कैलाली । १६ दिन सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा बसेर कोरोना जितेर घर फर्किएका थिए लम्किचुहा-७ का २१ वर्षीय युवक ।
चैत्र २३ गते आइसोलेसनमा भर्ना भएका उनी वैशाख ७ गते डिस्चार्ज भए । निको भएको एक महिना बितिसक्दा पनि उनी अझै सामाजिक दुरी पालना गरेर बस्छन् । उनी अहिलेसम्म आफन्तको घरमा पुगेका छैनन् र उनको घरमा पनि प्रायः आफन्तहरु आउँदैनन् । उनलाई भेट्न आउँनेहरु परै बस्छन् ।
‘म निको भएर घर फर्किसकेपछि अहिलेसम्म पनि सबै सँगै बसेको छैनौं,’ उनी भन्छन्, ‘एउटा अर्काे घर छ त्यहाँ म एक्लै बस्छु । खाना खाँदा मात्रै सबैसँग भेट हुन्छ । त्यसपछि फेरि छुटिन्छौँ ।’
दरिलो आत्मविश्वासले कोरोना पराजित गरेको बताउने उनी अरुलाई पनि यस्तै सुझाव दिन्छन् । कोरोना संक्रमण, त्यसपछिको अवस्था र उनको भोगाइमा केन्द्रित भएर ती युवकसँग अनलाइनखबरका लागि भानुभक्त आचार्यले गरेको कुराकानी :
अहिले कस्तो छ तपाईंलाई ?
एकदम ठीक छु । स्वस्थ छु ।
आफन्त, छिमेकीहरु भेट्न आउँछन् ?
आउँदैनन् । उनीहरु पनि यता आउँदैनन् । हामी पनि कसैको घरमा जान्नौँ । घर नजिकै पसल छ । त्यहाँ पनि जान्न । जान खोज्दा पनि बुवा-आमाले जान दिनुहुन्न ।
उपचार गरेर फर्किएपछि कसैले फरक व्यवहार गरे ?
सुरु सुरुमा केही फरक व्यवहार भयो । तर, त्यो कुरा उनीहरुले बताएनन् । मलाई पनि नरमाइलो लाग्थ्यो ।
अनि अहिले ?
अहिले त्यस्तो केही छैन । सबै ठीक छ । बुझ्ने मान्छेहरु धेरैले बुझेका छन् । अहिले धेरैले तँलाई केही भएको छैन भन्छन् । मलाई सुरुदेखि नै लक्षण पनि देखिएन । त्यसैले पनि होला धेरैले अझै पनि संक्रमित हो भन्दा अचम्म मान्छन् ।
तपाईं चैत ११ गते हजार जनाको भिडमा हुनुहुन्थ्यो । त्यसपछि गाडि र रिक्सा हुँदै घर पुग्नु भयो । कहाँ, कसरी संक्रमण भयो जस्तो लाग्छ ?
मलाई त अझै पनि कहाँबाट संक्रमण भयो भन्नेबारे थाहा छैन । मलाई कसरी सर्यो म आफैं अचम्ममा परेको छु । त्यति सजिलै सर्ने भए मबाट पनि त अरुलाई सर्न सक्थ्यो होला । तर, मबाट कसैलाई सरेन । मसँगै बस्ने, खानेलाई पनि केही भएको छैन । उनीहरुलाई केही नभएको कुराले म धेरै खुसी छु, तर मलाई कसरी संक्रमण भयो भन्नेबारे आफैं अचम्ममा परेको छु ।
कैलालीको पहिलो संक्रमितले अस्पतालमा भर्ना हुँदा कसैले चासो नदिएको, पानी पनि नपाएको गुनासो गरेका थिए । तपाईंले कस्ता समस्या झेल्नु पर्यो ?
मैले त्यस्तो समस्या भोग्नु परेन । डाक्टरहरुले पनि राम्रोे व्यवहार गरे । कहिले आउँथे, कहिले आउँदैनथे । नआए पनि फोन सधैं गर्थे । बेलाबेलामा मनोबल बढाउन भन्थे ।
अस्पतालमा उपचाररत हुँदा संक्रमितहरुबीच कुराकानी हुन्थे ?
हुन्थ्यो ।
कस्ता कुरा हुन्थे ?
रमाइला कुराकानी पनि हुन्थे । हामी ३/४ जना थियौँ । टाढा-टाढा बसेर गफ गर्थ्यौं । सुरुमा मलाई धनगढी लैजाँदा सबैलाई एउटै कोठामा राखेको थियो । त्यो बेला सबै जनाबीच कोरोना कसरी सर्यो भन्नेबारे कुरा हुन्थ्यो ।
मलाई सुरुमा कोरोना लागेको छ भनेर त्यहाँ लगेको थिएन । शंकाको आधारमा मलाई लगेको थियो । पछि पुष्टि भयो । एक जोर कपडाले मैले १६ दिन बिताएँ । सबैको आ-आफ्नो समस्या र पीडा रहेछ । मैले त्यही बेला कुराकानी हुँदा थाहा पाएँ ।
विश्वमा कोरोना संक्रमणको दर बढिरहेका बेला तपाईं संक्रमित हुनु भएको थियो । मनमा कत्तिको डर थियो ?
मलाई त्यस्तो डर भएन । कोरोना हुँदा रुघा लाग्छ, खोकी लाग्छ भन्थे मलाई त केही पनि भएको थिएन । त्यसैले म ठीक छु जस्तो लागेको थियो । त्यसैले पनि होला मनमा डरभन्दा बढी विश्वास पलाएको थियो । सुरुदेखि नै म चाँडै ठीक हुन्छु । चाँडै घर फर्किन्छु भन्ने लागेको थियो ।
निको भएर घर फर्किंदा कस्तो लाग्यो ?
घर फर्किंदा निकै खुसी थिएँ । मभन्दा बढी आफन्त, घर परिवार खुसी भए ।
पछिल्लो समय निको भएर घर फर्किएका केहीमा पुनः संक्रमण देखिएको छ । यो विषयमा कति गम्भीर हुनुहुन्छ ?
म आएको एक महिना पूरा भइसकेको छ । अहिलेसम्म त्यस्तो केही समस्या छैन । घर आएको यति दिनसम्म पनि मलाई केही फरक परेको छैन । स्वस्थ छु । तन्दुरुस्त छु । अनि फुर्तिलो पनि छु ।
घरमा सामाजिक दूरी पालना गर्नुहुन्छ ?
कोरोना संक्रमण रोक्ने सबैभन्दा उत्तम उपाय यही हो भनेका थिए डाक्टरहरुले पनि । त्यसैले निको भएर फर्किसकेपछि अहिलेसम्म पनि घरमा सबै परिवार सँगै बसेका छैनौँ ।
हाम्रो एउटा अर्काे घर छ । त्यहाँ म एक्लै बस्छु । खाना खाँदामात्रै सबैसँग भेट हुन्छ । त्यसपछि म जान्छु । खाना खाँदा पनि अरु सबै सँगै बस्छन् म केही पर बस्छु ।
१६ दिनमा कोरोना जित्नु भएको थियो । कसरी निको हुँदो रहेछ कोरोना ?
पहिलो कुरा त आफूमा आत्मविश्वास चाहिने रहेछ । मलाई केही भएको छैन, म ठीक हुन्छु भन्ने कुरा सबैभन्दा ठूलो रहेछ । त्यसपछि खाना र सरसफाइमा पनि बढी ध्यान दिनुपर्ने रहेछ । व्यायाम, योगा र कसरत पनि महत्वपूर्ण हुँदो रहेछ । डाक्टरले भने अनुसार गरेपछि निको भइँदो रहेछ ।
घर फर्किएपछि कसरी बित्दै छ दिन ?
घरमा आइसकेपछि खेती किसानी त गर्नै पर्यो । खेत जोत्ने, धानको लागि बिउ राख्ने काममा व्यस्त छु अहिले ।
source https://www.onlinekhabar.com/2020/05/868218
0 Comments