कोरोना भाइरस (कोभिड– १९) ले बिश्वव्यापी सन्त्रास दिइरहेको छ । मानव जीवन एक्कासी भयावह वातावरणमा धकेलिएको छ ।
संक्रमणबाट जोगिन अपनाइएको लकडाउन, सेल्फ आइसोलसन, फोर्स आइसोलेसन आदिबाट विश्वभरकै आर्थिक गतिविधि ठप्प बन्न पुगेको छ । यसबाट दुनियाँको आर्थिक अवस्था तहस नहस भैरहेको छ ।
यो अवस्थाले चरम मन्दी ल्याउने आँकलन भेरहेको बेला कृषिमा आधारित नेपालमा कस्तो प्रभाव पर्ला भन्ने प्रश्न उठेको छ । हाम्रो खाद्य सुरक्षा धरापमा परेको कुरा त खाद्यान्न आयातको आँकडाले नै बताइरहेको छ ।
यो कोभिड–१९ अघिदेखि नै हाम्रो कृषि निर्वाहमुखी छ । कृषिलाई व्यावसायीकरण, आधुनिकीकरण गर्ने नाममा गरिएका सरकारी एवं वैदेशिक सहयोगमा सन्चालित प्रयासहरू कति सार्थक छन् त कति निरर्थक बन्न पुगेका छन् ।
नेपालको कृषि क्षेत्रमा सबै तहबाट भएका प्रयासले गर्दा करिब एक चौथाइ व्यावसायिक हुन सकेको सरोकारवालाहरु बताउँछन् । उनीहरुको कुरालाई मान्दा पनि तीन चौथाइ हिस्सा परम्परागत नै रहेको देखिन्छ ।
नेपालले पाँच वर्षअघि भूकम्पबाट सामाजिक–आर्थिक रूपमा ठूलो क्षति व्यहोर्नु पर्यो । अहिले कोभिड–१९ बाट गुज्रनु परेपछि हाम्रो कृषिको स्वरूप कस्तो हुने हो ? यसमा यथार्थपरक बहस होस् भन्ने हेतुले यो लघु आलेख तयार पारिएको हो ।
कोभिड–१९ पछिको नेपाली कृषिको रुपरेखा विश्लेषण गर्न प्रदेश ५ का कपिलवस्तु र पाल्पालाई उदाहरणको रूपमा लिइएको छ । कोरोनाबाट बढी प्रभावित जिल्लाको रुपमा कपिलवस्तुलाई लिइएको हो ।
पाल्पाको रामपुर नगरपालिका–३, गण्डकी ढीकका विष्णु सुवेदीको भनाइ अनुसार–
कोरोनाले कृषिमा असर खासै पर्दैन । हाम्रोमा लगाइने साबित्री जातको धानको बीउ वडा कार्यालयले सस्तोमा उपलब्ध गराएको छ । हाते ट्याक्टर घरमै छ । घरमा नहुनेले भाडामा पाउँछन् ।
हिँउदे खेती स्याहार्ने र वर्षे धान लगाउने यसै बेला परेकाले सबैका घरका सदस्य लकडाउन शुरू हुनुअघिबाटै गाउँ फर्कन थालेका थिए । मेरा काका–काकी समेत भाइबहिनी समेत लिएर पोखराबाट आएका छन् । सगोल परिवारमा छ जना थपिएर हामी १२ जना जम्मा भएका छौं ।
खेती गर्ने समयमा सबैका परिवार जम्मा हुन्छन् । काम गर्ने मान्छे नपाएर खेती गर्न रोकिँदैन । हामीकहाँ छिमेकीबीच परिमो (कामको पालो) गर्ने चलन पनि छ । समस्या मलखादमा छ ।
मलखाद ल्याउन लकडाउनले गर्दा गाडी चलेको छैन । बोकेरै ल्याउन जाने हो भने मलखाद पाइने ठाउँमा भीडभाड होला । यताको सरदर अवस्था यस्तै छ । खेतीमा कोरोनाको ठूलो असर पर्ने छैन ।
पूर्वी पाल्पाको कालीगण्डकी कोरिडोरमा छ रामपुर फाँट । धान खेतीको लागि अब्बल ठाउँ हो । रामपुर सिँचाइ परियोजनाले यहाँको १२०० हेक्टरमा सुबिधा पुर्याएको छ । यो पाल्पाको सबभन्दा ठूलो सिँचाइ कुलो हो । यी कारणले खेतीपातीमा कोरोनाको कारण खासै असर नपर्ने सुवेदीको अनुमान छ ।
कपिलवस्तुमा पाल्पाको भन्दा ठीक उल्टो अवस्था रहेछ । यशोधरा गाउँपालिका–४, सेमरीका कृषक अब्दुल अजिज मुसलमान यस वर्ष भोकमरी लाग्न सक्ने देख्छन् । उनको भनाइ यस्तो छ–
धानको बीउको जोहो गर्ने बेलामा लकडाउनमा थुनिएर बस्नु परेको छ । गाउँपालिकाले राधा ४, जानकी (मोटाधान)को बीउ दिने त भनेको छ, तर यसको उत्पादन दर हाइब्रीड धानको भन्दा आधा कम छ । धानको हाइब्रीड बिउ त्यही सीमापारि जति पनि पाइन्छ, तर जान पाइँदैन । यतै पाइने बीउ लगाउँदा उब्जनी थोरै हुने पक्का छ ।
यस वर्ष गहुँ पनि असिना र पानीले सखाप पार्यो । खर्च उठ्न त परैजाओस्, बीउसम्म उठ्यो । सारा किसान घरमा बन्द भएर बसेका छौं । न बीउ मिलेको छ, न मलखाद । सरकारले भारतसँग कुरा गरेर वातावरण बनाइदिए बीउ, मलखाद भन्सार तिरेरै ल्याइन्थ्यो ।
फेरि यस ठाउँमा शुरूदेखि नै कोरोना संक्रमित देखिए । अहिले त भारतबाट फर्केर थुप्रिएका छन् । मान्छे छन्, काम छैन । यो वर्ष हाम्रो खेतीपाती नहुने भयो । खेतीपाती नभएपछि भोकमरी नआएर के आउँछ ?
समयमै हाइब्रीड बीउ, मलखाद नपाए धान उत्पादन ७० प्रतिशत घट्ने अब्दुल अजिज मुसलमानको अनुमान छ । यी कुरा बताउँदा उनी सन्त्रासको मनस्थितिमा रहेको सजिलै भेउ पाईन्थ्यो ।
रूपन्देहीको सियारी गाउँपालिका–४, कैथोलियाका मीनप्रसाद गौतमले आफ्नो क्षेत्रमा कोरोनाबाट खासै फरक नपरेको बताए । उनको क्षेत्रमा खेत तयारी गर्ने, बाली काट्ने काम मेसिनबाट गरिन्छ ।
‘कोरोनाले गर्दा धेरै मान्छे बाहिरबाट गाउँ फर्केका छन्’, उनले भने, ‘सिँचाइ सुविधा छँदैछ, बीउ र मलखादको पनि धेरथोर जोहो भएकै छ । धानको उब्जनी सधैं जस्तै हुन्छ ।’
यता पहाडी खण्डमा यतिबेला बारीमा मकै छ । गोडमेल सकियो, उत्पादन लिन भदौ कुर्नुपर्छ । गाउँ फर्किएका मानिसहरुले धानको बीउ राखिसके ।
नेपालमा कोभिड–१९ फैलिरहेको त छ, तर कृषिमा कोरोनाले भन्दा रोगकीराले नोक्सान गर्ने गरेको छ । सञ्चार माध्यमहरुका अनुसार अहिले बागमती प्रदेशका १० जिल्लाका मकैबारीमा फौजी कीराको प्रकोप छ । यी सबै सन्दर्भहरुलाई हेर्दा कोरोना संक्रमणले पहाडको भन्दा तराईको कृषिमा बढी असर पारेको देखिन्छ ।
उता छिमेकी देशको पनि उस्तै हाल छ । उसले खाद्यान्न निर्यातमा कडाइ गर्यो भने हाम्रो खाद्य सुरक्षामा ठूलै चुनौती थपिनसक्छ ।
यो अवस्थामा संघीय तथा प्रदेश सरकारहरूले समयमै मल–बीउ आपूर्ति गर्ने, बाली भित्राएपछि तिर्ने गरी सुलभ दर र सरल प्रक्रियाको ऋण उपलब्ध हुने व्यवस्था गरिदिने हो यो वर्ष नभए अर्को वर्ष नेपालका साना–ठूला सबै कृषक देशलाई पुग्ने खाद्यान्न उत्पादन गर्न सक्षम हुनेछन् ।
सँगसँगै प्रविधि र यान्त्रीकीकरणमा ध्यान दिन आवश्यक छ । हिँजो नेपालमा कृषि नै रोजगारी दिने ठूलो क्षेत्र थियो, आज पनि छ र भोलि पनि रहनेछ । पुर्खाले उत्तम खेती, मध्यम व्यापार त्यसै भनेका होइनन् ।
(गौतम कृषि अर्थशास्त्री हुन् ।)
source https://www.onlinekhabar.com/2020/05/868201
0 Comments