Looking For Anything Specific?

Header Ads

रेडजोनमा भय मिश्रित ७२ घण्टा

यतिबेला समाजका थुप्रै अङ्गहरू एक प्रकारले कोमाको स्थितिमा छन् । तर, पत्रकारिताको गति भने निर्वाध चलिरहेको छ । समाजमा कोरोना महामारीको जोखिम पनि थपिँदैछ । लकडाउनका बेलामा खासगरी चिकित्साकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरूजस्तै पत्रकारहरूका लागि कर्म, मन र डरको सन्तुलन मिलाउनु निकै जटिल सन्दर्भ बनेको छ ।

‘भोलि बिहान पत्रकार महासंघ सुनसरीले फिल्डमा सक्रिय भएर खटिएका २० जना पत्रकारको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब सङ्कलन गर्दैछ । साढे नौ बजे इटहरी क्वारेन्टिनमा आउनु है,’ सोमबार साँझ पत्रकार दाइ सचिन पोखरेलले फोनमा एउटा प्रतीक्षारत सूचना सुनाउनुभयो ।

सरकारले कोरोना रोकथामका लागि दुई महिनादेखि लगाएको लकडाउनका बीचमा म सुनसरी जिल्लाका विभिन्न जोखिमयुक्त स्थानमा पुगेर टेलिभिजनका लागि रिपोर्टिङ कार्यमा निरन्तर सक्रिय थिएँ । दुई पटक भारतसँग जोडिएको सुनसरीको हरिनगरसहित सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका पुग्दा निकै डराएको थिएँ ।

मनको डर कतिखेर बाहिर फुत्किने हो र साथीहरूका सामु कमजोर देखिइने हो भन्ने मनोवैज्ञानिक दबाव परेको थियो

बीचमा म रिपोर्टिङकै लागि प्रदेश १ को कोरोना सङ्क्रमित राखिएको कोभिड–१९ अस्पताल (कोसी अस्पताल) विराटनगरसमेत पुगें । विराटनगरमै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको अन्तर्वार्तासमेत गरें ।

काठमाडौंबाट वीरगन्जदेखि सप्तरी र उदयपुर हुँदै पूर्व आउनुभएका सहकर्मीहरुसँग रिपोर्टिङका लागि दुई दिन सँगसँगै हिँडेका थियौं । मनमा कताकता भय पलाउन सुरु भइसकेको थियो । यसबीचमा म अति समस्यामा परेका केही व्यक्तिहरूको सहयोगका लागि औषधि लिन जोगवनी सीमानाका र धरानसमेत पुगेको थिएँ ।

मङ्गलबार दिउँसो ११ बजे इटहरी–५ स्थित जनता क्याम्पस परिसरमा इटहरी उपमहानगरपालिकाले स्थापना गरेको क्वारेन्टिनमा कोरोना परीक्षणका लागि स्वाब (खकार) सङ्कलन गरियो ।

पहिलो चरणमा मसँगै सुनसरीका २० जना पत्रकारबाट स्वाब सङ्कलन गरिएको थियो । त्यस क्रममा केही साथीहरू डराए । केहीले स्वाब सङ्कलनको सूचीबाट आफ्नो नामसमेत हटाए । स्वाब सङ्कलनका क्रममा धेरै साथीहरूको अनुहार मलिन थियो । रिपोर्ट पोजेटिभ आउँदाको अवस्थामा त्यसको सामना कसरी गर्ने भन्ने चिन्ता अरूलाई जस्तै मलाई पनि थियो ।

भित्र जति डराए पनि बाहिर सबैजना केही होइन यो, सामान्य कुरा हो जस्तो भाव प्रस्तुत गरिरहेका थिए । मनको डर कतिखेर बाहिर फुत्किने हो र साथीहरूका सामु कमजोर देखिइने हो भन्ने मनोवैज्ञानिक दबाव परेको प्रायः साथीहरूको मुहार, आँखाको प्रस्तुति, कुरा गराइ र शारीरिक हाउभाउमा झल्किरहेको थियो । कति कुरा नभनेरै बुझ्नुपर्ने अवस्था आइलागेको थियो ।

स्वाब सङ्कलनअघि र पछि मन र दिमागमा अनेकखाले कुरा खेल्न थालेका थिए । कोरोना पोजेटिभ भइहाले मेरा कारणले अरू कति धेरैलाई सङ्क्रमित हुने हो र तनाव हुने हो भन्ने यावत् कुरा बारबार दिमागमा आउन थाल्यो । आफू बस्ने टोलमा पत्रकार भनेर जहाँ पनि हिँडेको छ, कुनै बार–बन्देज छैन, कतै टोलमा कोरोना फैलाउने माध्यम आफू नै त हुने होइन भन्ने सोच मनमा आउँदा बेलाबेलामा मन उद्वेलित हुन्थ्यो ।

कोरोना परीक्षणका लागि स्वाब दिएर आएको भनेर घरमा सुनाउँदा मपछि श्रीमतीजी, दुई छोरा र बुबा-आमामा चिन्ता र तनावको मात्रा उत्कर्षमा पुगेको थियो । परिवारका सदस्यहरूको अनुहारमा देखिएको भावले पनि मन थप खल्लो बनाएको थियो ।

यता, इटहरी–२ महेन्द्र मावि छेउका एक जना १८ वर्षीय युवकको स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा रिपोर्ट कोरोना पोजेटिभ आएको खबरले इटहरी आत्तिएको थियो । खबरलगत्तै इटहरी २ र ३ नम्बर वडा सिल गरिएको थियो । टोल–टोलमा गरिएको माइकिङका कारण बच्चादेखि जेष्ठ नागरिकसम्म सबैमा त्रासको माहोल ह्वात्तै बढेको थियो । स्थानीय सरकारले हाम्रो घर भएको २ नम्बर वडालाई तत्काल रेड–जोन घोषित गरेको थियो ।

यस्तो पृष्ठभूमिमा ४८ घण्टापछि रिपोर्ट आउने भनिएको थियो । तर, सुनसरी, मोरङ र झापाबाट सङ्कलित दुई सय ५० जनाको स्वाबको एउटै लटमा परीक्षण गरियो, जसका कारण रिपोर्ट थाहा पाउन ७२ घण्टाभन्दा बढी समय कुर्नुपर्यो । रिपोर्ट नआउँदाको यो ७२ घण्टा ७२ महिनाजस्तो बोझिलो लागेको थियो ।

कसैलाई वा कुनै विषयको नतिजालाई पर्खिनुजस्तो सकस सायद कमै हुन्छ जिन्दगीमा । त्यही सकसमा बिताएँ मैले शरीरमा आएको हल्का ज्वरोसहितको यो ७२ घण्टा ।

रिपोर्टिङकै क्रममा कोरोना सङ्क्रमित भएका वीरगन्ज र उदयपुरका पत्रकार साथीहरू कोरोनासँग कसरी लडिरहेका होलान् भन्ने चिन्ता पनि मनमा आउँथ्यो । त्यसमा मुलुकको स्वास्थ्य अवस्था, अस्पतालको अवस्था, क्वारेन्टिनको व्यवस्थापन, जिम्मेवारी लिएकाहरूको व्यवहार, समाजको दृष्टिकोण आदि–इत्यादि छटपटिएको मनलाई अझ उद्वेलित बनाउन पर्याप्त थिए ।

यदि मेरो स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको भए म के गर्थें ? के लेख्थें ? यसबेला त्यो कुरा यहाँ उल्लेख गर्नु खासै सान्दर्भिक छैन । भाग्यवश परिस्थिति अनुकूल भइदियो । अनपेक्षित केही व्यहोर्नुपरेन । रिपोर्टिङका क्रममा वा अन्य काममा पनि बाहिर हिँड्दा, मान्छेसँग भेटघाट गर्दा सावधानी अपनाएकै कारण कोरोना भाइरसले मलाई छुन सकेन ।

मेरोमात्र होइन, मसँगै स्वाब परीक्षणका लागि दिनुभएका सुनसरीका २० जना पत्रकारमध्ये सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यो अर्को ठूलो सन्तोषको कुरा भएको छ ।

यता, कोरोनाले जजसलाई छोएको छ, तीमध्ये एक जना बालिका र केही जेष्ठ नागरिकसहित धेरैजना भाइरससँगको युद्ध जितेर घर फर्किसकेका छन् । यो धरातलीय यथार्थ त्यो तनावपूर्ण ३६ घण्टामा मेरो तनाव कम गर्ने र मनोबल बढाउने एउटा प्रभावकारी सूत्र बनेको थियो । तथापि मेरो लागि यो ७२ घण्टाको समय अहिलेसम्मकै कठिन र अविस्मरणीय भयो ।

यत्रतत्र कोरोना महामारी फैलिएको यो संवेदनशील बेलामा फिल्डमा सक्रिय भएर खटिएका पत्रकारहरूका लागि स्वास्थ परीक्षण गरेर ढुक्क हुने अवसर प्रदान गर्नुहुने पत्रकार महासंघ सुनसरी, जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरी, इटहरी अस्पताल र इटहरी क्वारेन्टिनका चिकित्सकको नेतृत्वलगायत सबै सरोकारवाला तथा शुभेच्छुकहरूमा धेरैधेरै धन्यवाद !

(मनोज सुनसरीमा कार्यरत पत्रकार हुन् ।)



source https://www.onlinekhabar.com/2020/05/868865

Post a Comment

0 Comments