भोलि म कहाँ हुन्छु ? केही दिनयता यो प्रश्नले मलाई लखेटिरहेको छ । म यसको उत्तर खोजिरहेको छु ।
कहाँ हुन्छु होला म भोलि ? यो प्रश्न कतिको मनमा उठ्दो हो वा नउठ्दो हो, केही थाहा छैन । प्रश्न उठे पनि यसको उत्तर तिनले पाएका छन् कि छैनन्, त्यो पनि थाहा छैन ।
कता कता लाग्छ, के भोलि भन्ने कुरा छ यो दुनियाँमा । आज सकिएर भोलि हुने हो । भोलि भनेर गणना गरेको समय आउँदा आउँदै आज भैसकेको हुन्छ । भोलि त कसैले देखेकै छैन । भोलि के कल्पित संसारको स्वरुप हो ? वा के हो ? म आफैं अलमलमा पर्दछु । अनि कहिल्यै नदेखेको भोलि, म कहाँ हुनेछु ?
हिँजोको वारेमा त म पूरै जानकार छु । मैले भोगेको हिँजो, मैले सम्झे पनि बिर्से पनि इतिहास वनेर रहेको छ । यो दुनियाँ नै हिँजोले भरिएको जस्तो लाग्छ । हिँजो पाएको दु:ख, हिँजो पाएको सुख, हिँजो भएको घटना, हिँजो भएको दुर्घटना । मान्छेहरु हिँजोमा बाँच्न सहज हुन्छ । हिँजो न्यानो थियो वा चिसो , त्यसको सम्झना हुने हो, स्मृतिलेख हुने हो, छाप हुने हो, डोब हुने हो । त्यो स्वयमले त दुखाउँदैन । हिँजोको दु:खले आज दु:खी हुनेहरु अज्ञानी हुन् । हिँजो त सकिइहाल्यो नि । सकिएको यथार्थले दु:खी हुनुको के अर्थ ? के प्रयोजन ? के उपादेयता ? हिँजो भन्नु त समयको मृत अंश हो । हिँजोको जीवन हुँदैन ।
हिँजो युध्द भएका थिए । विश्व युध्द भएका थिए । भुईंचालो आएको थियो, बाढी आएको थियो, पहिरो गएको थियो, आँधी आएको थियो, सामुद्रिक आँधी आएको थियो । आयो र सकियो पनि । त्यसका घाउ चोट बाँकी होलान् । घाउ चोटमा अल्झेर, ती घाउ चोटमा दु:खी भएर हिँजोको लासलाई महादेवले पार्वतीको मृत शरीर वोकेर विश्व भ्रमणमा गए जस्तो गर्नुको पनि अर्थ छैन । त्यो लासलाई कुहिन दिनु पर्छ । झर्दै जान दिनुपर्छ । चाहे शक्ति पिठहरु बनून्, चाहे नबनून् । लास वोकेर महान भईंदैन । त्यो एउटा विक्षिप्तताको परिस्थिति हो । भावनात्मक चरमावस्था हो । त्योबाट मुक्त हुनुको विकल्प छैन ।
हिँजोलाई जीवनबाट पखालपुखुल पारेर विदा गर्नुपर्छ । तर, हिँजो त्यति सजिलै मान्छेको जीवनबाट टाढा जान सम्भव पनि छैन । हिँजो इतिहास वनेर आफूलाई कालजयी भैरहने उपक्रममा लागिरहन्छ । हो, हिँजो इतिहासको पानामा सुरक्षित वनोस् । तर हिँजोले आजलाई हिलाम्ये नवनाओस् । फोहोर नवनाओस् । घिनलाग्दो नवनाओस् । दु:खदायी नबनाओस् ।
हिँजो म एउटा अनकण्टार पहाडमा जन्मेको थिएँ । खाली खुट्टाले गोठालो जान्थें । बा आमाको काखमा लुटुपुटु हुन्थें । झगडा गर्थें । रुन्थें । त्यो पुरानो हिँजो हो । धेरै पुरानो ।
स्कूल जान थालें । ज्ञान हासिल गर्न थालें । पुस्तकलाई प्रेम गर्न थाले । जीवनको रङ्ग वदलिन थाल्यो । त्यो पनि हिँजो हो । पुरानो हिँजो हो ।
मैले अमेरिकाको सपना देखेको थिइनँ । एसएलसी पास नगर्दासम्म जुत्ता नदेखेको मेरो खुट्टाले सात समुद्रपारिको सपनाको देश अमेरिकामा पनि पदचाप पुर्याउला भन्ने न मेरो कल्पना, न सपना । शायद त्यो मेरो हिँजोको भोलि थियो कि ? होइन, हिँजोको भोलि त आज हो, जसको कल्पना थिएन । तर कल्पना नभए पनि आएँ । गएँ । पुगें । अक्षरको पुलमा वसेर आएँ । जीवन नै सपना भयो । सपना नै यथार्थ भयो । अमेरिका नपुगेको भए पनि म बाँचिरहेकै हुन्थें । बँचाइको सिलसिला चलिरहने थियो । आत्महत्या पक्कै गर्ने थिईंन । हाँसेर, रमाएर, सिर्जनात्मक भएरै बाँचेको थिएँ ।
आफूलाई जीवन दिने पिता गुमाएँ । माता गुमाएँ । टुहुरो भएँ । जीवनबाट उज्यालो हराएको महशुस भयो । तर जीवनबाट उज्यालो कहिल्यै हराउँदैन । कहिले काहीं वदली भए पनि, उज्यालोले जीवनसँग लुकामारी गरे पनि, मान्छेको जीवनबाट उज्यालो कहिल्यै हराउँदैन । त्यो उज्यालो नै जीवन हो । आशा हो । जीजिविषा हो । समयको निरन्तरता हो । हिँजोको पीडाको तातो विस्तारै सेलाउँदै जान्छ । असहजता सहज हुँदै जान्छ । जीवनले फेरि राजमार्ग भेट्टाउँछ । राजमार्गले नयाँ गन्तब्यको बाटो समातेपछि हिँजो पछि छुट्छ । विस्तारै पुरानो हुन्छ । इतिहास बन्छ ।
मान्छेलाई भविष्यले डोर्याउँछ भन्छन् । भोलिले डोर्याउँछ भन्छन् । म अलमलमा पर्छु फेरि । नदेखेको भोलिले मान्छेलाई कसरी डोहोर्याउने होला । नबुझेको भोलिले कसरी तातेताते गर्ने होला । भोलि भनेको सपना हो कि माया जाल ? भोलि भ्रम हो कि यथार्थ । पछि लाग्दा लाग्दा कहिल्यै नभेटिने, नपुगिने गन्तब्य नै रहेछ कि क्या हो भोलि भनेको । त्यही कहिल्यै नआउने भोलिले दिक्क भएर आदिकवि भानुभक्तले ” भोलिभोलि भन्दैमा सब घर विती गो, बक्सियोस् आज झोली” भनेका होलान् । उनलाई कहिल्यै नआउने भोलिको भन्दा भीक्षा माग्ने झोलीको भरोसा लाग्यो ।
भोलिका लागि भनेर मानिसहरु ठूला घर वनाउँछन् । फराकिला कोठा बनाउँछन् । फराकिला खाट हाल्छन् । तर जतिसुकै ठूलो खाटमा सुते पनि मान्छेलाई सुत्नलाई चाहिने खाटको आयतन त्यति नै हो । औलो दौलो सम्पत्ती थुपार्छन् मान्छेहरु । भोलिका लागि । जुन भोली आउँछ कि आउँदैन थाहा छैन ।
कोरोनामा पैसाले मान्छेलाई वचाउन नसकेपछि एउटा देशको सडकमा मान्छेहरुले नोठहरु फालिदिए । सडक नोठले छताछुल्ल भयो, टिप्ने कोही भएनन् । जसले त्यो नोठ संग्रह गरेको थियो, त्यो भोलिको लागि थियो । त्यो भोलि आएन । एउटा देशमा अरवपतिले हजारमा र्याल काढेर हातमा हतकढी पाए । पद गयो । प्रतिष्ठा गयो । त्यतिन्जेल लुकेका करतूतहरु समेत छताछुल्ल भए । उसले जे गरेको थियो, भोलिका लागि थियो । तर कुन भोलि ? अब उसको भोलि सँकटमा पर्यो, जसको जति उध्दार गर्न खोजे पनि सम्भव छैन ।
उसको आजको तस्वीरले सारा संसार ढाकिदियो । जसले हतकढी जोगाए र बचेको ठानिरहेका छन्, तिनको पनि भोलि आउनेवाला छैन । आजको पहिरोले तिनलाई नामेट गर्नेछ भन्ने सोच्ने फूर्सत तिनलाई छैन । तिनले भोलिका लागी सङ्ग्रह गरेको सबथोकले नै तिनिहरु छोपिनेछन्, पुरिनेछन्, हराउनेछन्, बेपत्ता हुनेछन् । अहिले त भोलि मृगतृष्णा भएर तिनका सामु झलक्क झल्केको छ, टलक्क तल्केको छ ।
बेरोजगार भएपछि फर्केका जन सिमानामा रोकिएका छन् । तिनको बाटो बन्दुकले छेकेको छ । किन आफ्नो घर जान नपाएको हो, गाउँ जान नपाएको हो, देश जान नपाएको हो, तिनले त्यस्तो उत्तर पाएका छैनन् जसले तिनको चित्त बुझोस् । बोस्निया हर्जगोभिनाबाट लस्कर लागेका शरणार्थीहरुको लामो लाम याद आउँछ । थिम्पुबाट सिलिगुडी हुँदै झापा मोरङ् आइपुग्नेहरुको लामको सम्झना दिलाउँछ, जो आउन पाए, फर्किन कहिल्यै पाएनन् । एउटा भिजेको अण्डरवियरमात्र लिएर नदीमा ज्यान फालेर देश छिरेको निहत्था नागरिक आधा दर्जन प्रहरीको घेरामा देखिन्छ ।
यो युगको एउटा अलौकिक तस्वीर । एउटा ढोका बन्द अस्पतालदेखि अर्को ढोका बन्द अस्पतालको यात्रामा जीवन बिसाउनेको पीडाको अस्पतालका मालिकहरुले कति जन्म तपस्या गरी ज्ञान प्राप्त गर्ने हुन्, त्यसको कुनै निर्क्योल छैन । कहिल्यै नआउने भोलि सुरक्षित गर्न ब्यस्त छन् साराका सारा मालिकहरु । ढोकामा प्रवेश निषेधको साइनबोर्ड राखेर साह्रै मुलायम नरम ओछ्यानमा सुन्दर, शान्त, विशाल भोलिको जपतपमा ब्यस्त छन् ।
यो आज हो । आज घाइते छ । आज क्षतबिक्षत भएको छ । आजको बाटोमा पहिरो गएको छ । निकास पाएको छैन आजले । अमेरिकाबाट नेपाल हिंडेको म लकडाउनमा अड्केको छु बृन्दावन नगरीमा । मेरो निवेदन दिने ठाउँ कतै छैन । मेरो अर्जी कसले सुन्ने ? मजस्ता अरु पनि होलान् । अझ अरु पनि होलान् । सुनसान छ बृन्दावन । मन्दिरहरु सुनसान छन् । भक्तहरु कता हराए, ईश्वरहरु भक्त खोज्न जुलुस लिएर आइरहे जस्तो लाग्छ ।
मृत्युका खबरहरुले आँखा र कान पाकिसकेका छन् । यो आजको भयावहताको अन्त्यको प्रतीक्षामा छन् वाँचेकाहरु । मर्नेहरुले चिहान नपाउने हुन् कि भन्ने चिन्ता छ । प्रेमको सङ्लो नदी बगिरहेछ । घृणाको नाली पनि बगिरहेछ । आजलाई कालो बादलले ढाकेको छ । तुवाँलोले ढाकेको छ । जीवनलाई मृत्युले ढाकेको छ । आजै सुरक्षित छैन, भोलिको कुरा के भयो र !
आजको मरुभूमिमा म आँतभरि तिर्खा बोकेर दौडिरहेको छु । मैले देखेको पानीको पोखरी फगत् मृगतृष्णा हो । त्यो मृगतृष्णा नै मेरो भोलि हो ।
मलाई थाहा छैन- म भोलि कहाँ हुन्छु ।
तर म भोलि जहाँ भए पनि अँध्यारो कुल्चँदै उज्यालो विहानीसँगै हुन्छु । आशाका स्वर्णीम किरणका साथ हुन्छु । म यसमा निर्धक्क छु । ढुक्क छु ।
-बृन्दावन, भारत
source https://www.onlinekhabar.com/2020/05/868855
0 Comments