भ्लादिमिर लेलिन सूपरिचित नाम हो । मात्र २७ वर्षको उमेर थियो, लेलिनको । जुन बेला उनी विश्व सामु परिचित भइसकेका थिए । २२ अप्रिल सन् १८७० मा कम्यूनिष्ट आन्दोलनको चर्चाले विश्व आश्चर्य चकित थियो । तर उमेर कलिलो भएपनि विचार र व्यक्तित्वमा कुनै अपरिपक्कता थिएन ।
जनक्रान्तिको फरक सन्देश विश्वलाई सुनाउनु थियो । कम्यूनिष्ट विचारको तत्कालिन युगलाई आवश्यकताको महशुस गराउनु थियो । ती चुनौतिलाई पुरा गर्न न उमेर, न त तत्कालिन सत्तासिनहरुको शक्ति कुनै परिस्थितिले रोकेन् । बरु परिवर्तन चाहनेहरुले दिल खोलेर साथ दिए ।
कारण एउटै थियो, युवा जोश, साहस र दृढइच्छा शक्ति । हो हामी पनि युवा हौं, आन्दोलनमा सरिक हुन्छौं, भइरहेका छौं, तर परिवर्तन र समयलाई संवोधन गर्न सके नसकेको मूल्याकंन गर्ने बेला भएको छ ।
सडकमा नारा जुलुस गर्नु, पुत्ला दहन गर्नु, कुविचारसहितको टिप्पणी सामाजिक सञ्जालमा पोख्नु र राजनीतिक अन्धभक्तताले गलतलाई पनि सही भन्नु मात्रै हाम्रो काम हो र ? हामी र हाम्रो शैलीमा समाज जोडिएको छैन र ? हाम्रो समाज प्रतिको उत्तरदायित्व र जिम्मेवारी छैन र ?
समाजका अंग हौं भने हाम्रो पनि जिम्मेवारी र उत्तरदायित्व बराबरी हुनुपर्छ । समाज मेरो हो, समाजका लागि केही गर्नु पर्छ भन्ने सोच राख्न जरुरी छ । लेलिनले २७ वर्षमा विश्व हल्लाउन सक्ने, तर हामी चाहिँ अरुको आलोचना र भक्तिभावमा मात्र बाँच्नु लज्जाको विषय हुनु पर्छ ।
युवालाई परिवर्तनको संबाहक र विकासको मेरुदण्ड भनिन्छ । तर हामीले ओजिलो शब्दमार्फत प्राप्त जिम्मेवारी पुरा गर्न सक्यौं कि सकेनौं, समीक्षा गर्ने वेला भएको छ । देशले चाहेको केहो ? समाजले खोजेको विषय के हो ? हाम्रा भूमिका र जिम्मेवारी के हुनु पर्छ ? खुला बहसको विषय बन्नु पर्छ ।
पृथ्वी नारायण शाहले १७ वर्षको उमेरमा नेपालको एकीकरण सुरुवात गरे ।
मलेसियामा एक जना युवा २५ वर्षको उमेरमा मन्त्री बनेका छन्। हामी पनि बन्न सक्छौ र गर्न सक्छौ भन्ने मान्यता राखौं । त्यही इच्छाशक्तिले आफू बन्ने र देश बनाउने उपाय मिल्छ ।
तर हामी अक्सर दिनभर तास, क्यारमबोड, पब्जी जस्ता खेलमा तल्लीन भएर समय ब्यर्थै खेर फाली रहेका छौं । हाम्रो सोच र इच्छा शक्ति नै त्यही अरुले बनाएको प्रविधि खेलाउनमा ठिक्क छ । हामीले कुरा गर्नमा सिपालु बन्यौ, तर काम कहिल्यै गरेनौं । उपाय भन्यौं, तर उत्पादन कहिल्यै गरेनौं । सिकाउने भयौं, तर आफूले कहिल्यै सिकेनौं । जुन कर्मको फल हामी भोग्ने अवस्थामा छौं ।
देश लकडाउनमा बन्दी छ । अर्थतन्त्र तहस नहस छ । चुलो बाल्न अरुको भर पर्नु परेको छ । भारतको भरोसा विना हामी बाँच्न सकेका छैनन् । भारतलाई सीमा मिच्यो भनेर गाली गर्यौ, तर भारतको उत्पादन खाँदैनौं, हामी पनि उत्पादन गर्न सक्छौं कहिल्यै भनेनौं । भारतमा बस्यौ, तर भारत विना बाँच्ने श्रम देशमा खर्च गरेनौं ।
गफ जति ठूला र जुनसुकै गरेपनि काममा विश्वास गर्न नसकेसम्म न म माथि उठ्छु नत तपाई नै । लिम्पियाधुरा, लिपुलेक र कालापानीका विरुद्धमा माइतिघर मण्डलामा पछि विरोध गरौंला, पहिले प्याज, आलु, बन्दा, साग र खुर्सानीसम्म त नेपालमै उत्पादन गरौं ।
जबसम्म हामी आत्मनिर्भर र कृषिमा अब्बल सावित हुँदैनौं, नचाहेर पनि भारतको सामु झुक्नु पर्नेछ । झुक्नु पर्ने मात्र होइन, भएको अर्थतन्त्र पनि उसैलाई बुझाउनु पर्ने छ । यस कारण पनि युवा आन्दोलन उत्पादनका लागि हुनु पर्छ । हामी उमेर पर्खि बस्ने कि उत्पादन ? एक पटक सोच्नु पर्छ, साथी हो ।
म पनि तपाइँ जस्तै उमेरमा युवा । तर, देखिन काम न मैले गर्न सकेको छु, न तपाइँहरुले नै । अपवादबाहेक हामी ठूलो युवा जमातले देखिने गरी केही गरिरहेका छैनौँ । गरेका छौं, त बेकामे गफ गरेर युट्युबमा भाइरल हुने काम । गरेका छौं, त हामीले माइती घर मण्डलामा जाने, नारा जुलुस गर्ने र फर्किने । त्यो पनि सभ्य र संस्कारी शैलीमा होइन ।
हाम्रो काम अरुलाई दोष दिने, गाली गर्ने र विरोध गर्ने मात्र भएको छ । राज्य सत्ता जो सुकै विचार धाराको होस्, सचेत युवाले राम्रो काममा समर्थन गर्न सक्नु पर्छ । मैले पनि बाजुरा जिल्ला बाल अधिकार मञ्चको अध्यक्षदेखि नेपाल युवा सञ्जाल सुदूरपश्चिम प्रदेश अध्यक्षको भूमिका निर्वाह गरिरहेको छु ।
मेरो सिकाइ जीवनका लागि महत्वपूर्ण उपलब्धी हो । तपाईहरु आवद्ध संस्थाको सिकाइ पनि महत्वपूर्ण नै छ होला । तर समीक्षाको विषय हामीले सिकेको सीपलाई हामीले कुन क्षेत्र र उत्पादनमा लगाएका छौं भन्ने हो ।
हाम्रै लागि लक्षित युवा मन्त्रालय, राष्ट्रिय युवा परिषद र अन्य युवाका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायहरू छन् । तर अपेक्षाकृत उपलब्धि हात पार्न सकेका छैनौँ । कारण एउटै हो, हामीले कुरा सुन्यौ, कुरा सुनायौं, आफैँबाट सुरुवात कोही कसैले गरेनौं । हामी त सबै जना जान्ने मात्र छौं । विश्व दुनियाँ बारे सहजै व्याख्या गर्न सक्छौ ।
चीन, भारत, अमेरिका, जापान, कोरिया सबै देशका प्रविधिबारे सुरिला गफ दिन सक्छौं । अर्थतन्त्रको सविस्तार व्याख्या गर्न सक्छौं । अरु देशको उत्पादनको बारेमा खुलेरै प्रंशसा गर्न सक्छौ, तर हामीले के गर्यौ कहिल्यै भन्ने सकेका छैनौ ।
बरु हामीले देशले गरेन्, सरकारले गरेन्, कर्मचारीले गरेन, भन्नमै हाम्रो दैनिकी वितिरहेको छ । हामी युवा आन्दोलन देश परिर्वतनको मेरुदण्ड हो, मैले माथि नै भनिसकेको छु । तर हामीले आन्दोलन केलाई भन्ने ? आन्दोलनको स्वरुप कस्तो हुने । समीक्षा गर्नु जरूरी छ।
जिन्दावाद मुर्दावाद मात्रै आन्दोलन हो की ? उत्पादन र आत्मनिर्भर उत्पादन हो । शिक्षा आर्जनका प्रमाण पत्र देखाउनु मात्रै योग्य जनशक्ति हो की ? प्रमाण विना जीवन खुसी साथ बाँच्ने सीप हुनु योग्यता हो । यसबारेमा हामी किन ध्यान दिन सकिरहेका छैनौँ ?
समय फेरिएको छ । कोरोनाको संक्रमणले विश्व थलिएको छ । मान्छे कसरी बचाउने भन्ने मात्र समस्या छैन, पहिलो कुरा त मानव जाति बाँच्ने के खाएर भन्ने छ । उत्पादनका खानी देशमै महामारीले ठूलो संकट पैदा गरेको छ । अब ती देशबाट पैसा तिरेरै पनि माग अनुसारको खाद्यन्न पाउने अवस्था छैन ।
चिया पसलमा सरकारको आलोचना गरी बस्ने दिनको अन्त्य कोरोनाले गरिदिएको छ । हामी सचेत कहिल्यै हुने थिएनौं, कोरोनाले धेरै कुराको पाठ सकाएको छ । उत्पादन अहिलेको पहिलो आवश्यकता हो । विद्यार्थी राजनीति गर्नेदेखि युवाका आवाज भन्नेहरु सबैले अब कुर्लिएर होइन, गरेर देखाउने बेला भएको छ ।
कोरोनाको महामारीपछिको जटिल अवस्थामा अब युवा उत्पादनमा लाग्नुपर्छ । उत्पादक कार्यमा जोडिनु पर्छ । नत्र हामी हिजो जस्तो थियौं, आज र भोलि पनि त्यस्तैमा सीमित हुने छौं । गफ र विरोधले मात्रै न राष्ट्र समृद्ध हुन्छ, नत राष्ट्रवाद मौलाउन सक्छ । यो सोच्ने, गर्ने र देखाउने बेला हो, सबै लागौं, समृद्धि र उत्पादनको आन्दोलन युवाबाटै सुरु गरौं, यसैमा राष्ट्रवाद देखिने छ ।
source https://www.onlinekhabar.com/2020/05/867648
0 Comments