१८ मंसिर, काठमाडौं । खुलामञ्चलाई खुला गर्नका लागि काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले आफ्नै प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेकी छिन् । उपमेयर खड्कीले खुलामञ्चको स्थलगत अवलोकन गरी त्यहाँ देखिएका तथ्य समेत केलाउदै खुलामञ्चलाई खुला गर्न पत्रचार गरेकी हुन् ।
उनले महानगरका मेयर विद्या सुन्दर शाक्यलाई समेत बोद्धार्थ दिएर खुला मञ्च खाली गराउन निर्देशन दिन आग्रह गरेकी छिन् ।
टुँडिखेल अतिक्रमणबाट जोगाउन शुरु गरिएको अकुपाई टुँडिखेल अभियानका अयिान्ताहरुको आग्रह पछि केहि दिन अघि उपमेयर खड्कीले खुलामञ्चको स्थलगत अनुगमन गरेकी थिइन । अनुगमनका क्रममा उनले खुलामञ्च सर्वसाधारणको पहुँचबाट टाढा पुगेको भन्दै यथाशिघ्र आवश्यक काम गर्न आग्रह गरेकी छिन् ।
खुलामञ्चमा अनधिकृत तरिकाले सवारी साधनहरु पार्किङ हुने गरेका भन्दै उनले यसलाई हटाउन समेत पत्रमा भनेकी छिन् । अनुगमनका क्रममा देखिएका सात तथ्यहरु उल्लेख गर्दै उनले त्यसलाई के गर्न सकिन्छ भनेर लेखेकी छिन् ।
टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै तीन साताअघि अकुपाईं टुँडिखेल अभियान सुरु भएको थियो । कात्तिक २३ गते पहिलो चरणको विरोधस्वरुप मानव साङ्लो बनाएर टुँडिखेल संरक्षणको सन्देश दिइएको थियो । गत शनिबार भने साहित्यिक जमघट गरेर विरोध जनाइएको थियो ।
अव्यवस्थित पार्किङ, अनाधिकृत बसपार्क, पसलहरु सञ्चालन गरेर टुँडिखेल मासिदै गएपछि भन्दै सम्पदाप्रेमीहरुले गत कात्तिकदेखि अकुपाई टुँडिखेल अभियान चलाउँदै आएका छन् ।
कुनै समयमा एसियाकै ठूलो खुला मैदान मानिने टुँडिखेल अहिले साँघुरिँदै गएको छ । केही वर्षदेखि नेपाली सेनालाई समेत टुँडिखेल मिचेको आरोप लागेको छ ।


source https://www.onlinekhabar.com/2019/12/817111
0 Comments