आधा दर्जनभन्दा धेरै ५ हजार मिटरभन्दा माथिका हिमालहरु, परापूर्वकालदेखि अहिलेसम्म नै पवित्र देवभूमिको रुपमा परिचित एवं यी र यस्तै यावत सम्भावनाहरुलाई गर्भगृहमा राखेर गरिबीको नियती भोग्न बाध्य छ सुदूर उत्तर पश्चिमी भेगको एउटा गाउँपालिका । सम्भावनाकै कुरा गर्ने हो भने के छैन त्यहाँ ? तर, उपलब्धताको कुरा गर्ने हो भने केही पनि छैन त्यहाँ । छ त केवल अभाव र समस्या ।
यो नियती हो बझाङ जिल्लाको उत्तरी भेगमा पर्ने साईपाल गाउँपालिकाको । विभिन्न किसिमका फलफूलहरुको लागि उपयुक्त भूभाग, पर्याप्त धार्मिक एवं प्राकृतिक सुन्दरताका क्षेत्रहरु हुँदा हुँदै पनि विकासका पूर्वाधारहरुको अभावले सधैं गरिब छ यो गाउँपालिका ।
स्थानीय सन्तोष बोहोरा भन्छन् ‘हामीले कस्तुरीले जसरी आफ्नै सुगन्धलाई पनि चिन्न नसकेकै हो । तर, धेरै हाम्रो नियतीले पनि काम गरेको छ । हामीलाई केन्द्रले कहिलै आफ्नो मानेन । काठमाडौंले कहिलै पनि सोचेन कि सुदूर उत्तरमा पनि केही गाउँहरु छन् भन्ने ।
साइपाल हिमालले आश्रय दिएको र पहाडको काखमा बान्की मिलेर बसेका खेतीयोग्य भिराला जमिनहरु त्यसै बञ्जर बनेर बसेका छन् । स्थानीयले प्रयास गर्छन्, तर त्यसमा बुईथाम्न जानुपर्ने निकायले त्यो गाउँलाई कहिलै पनि देखेन । साइपाल हिमाललाई देख्ने सरकारले त्यसैको काखमा रहेको एउटा बिकट गाउँलाई कहिलै देखेन । त्यहाँका सम्भावनाहरु स्वतन्त्र हुन चाहँदैछन् । तर, त्यसलाई फस्टाउने मौका दिइएको छैन । अझै भर्जिन छ त्यो पर्यटकीय भूमि ।
त्यही माटोमा उर्भर हुने ओखर र स्याउले काठमाडौंबासीको आवश्यकता पूरा गर्न चाहिरहेको छ । तर, त्यो गाउँको काठमाडौंसँग सम्पर्क सूत्र नै जोडिन सकिरहेको छैन । त्यहाँका हिमाल, झरना, ताल र गुफाहरुले सिंगो देशबासीको थकान मेटाउन चाहिरहेको छ । तर, सिंगो देशसँग नै यो सम्पर्क सूत्रमा बाँधिन सकेको छैन ।
त्यहाँको हिमाली सिरेटो छल्दै हुर्किएका रसिला र खाइलाग्दा भेडा एवं बाख्राहरुले सिंगो देशबासीको तलतल मेटाउन चाहिरहेको छ । तर, केवल यही गाउँपालिका पनि उनीहरुको लागि एउटा विशाल साम्राज्य जस्तो हो । जहाँ एक कुनाबाट अर्काे कुनामा पुग्नकै लागि कैयौं दिन लाग्छ । एउटा ठाउँबाट अर्काे ठाउँमा पुग्नको लागि यातायातको साधनको रुपमा केवल घोडा या खच्चडहरु छन् । गाउँपालिकामा सडकबाटो बनेकै छैन भन्छन् गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामी ।
पर्यटकीय सम्भावना बोकेका पाटन तथा थानहरु यही पर्यटकहरुलाई स्वागत गर्ने बाटोको प्रतीक्षामा छन् । जलविद्युतकालागि पर्याप्त पानीका स्रोतहरु यही विकासको प्रतीक्षामा छन् । अव्यवस्थित रुपमा संकलन गरिने जडिबुटीहरु यही विकाससँगै व्यवस्थित हुने पर्खाईमा छन् । पशुपालनका लागि पर्याप्त रुपमा रहेका घाँसहरु व्यवसायिक पशुपालनको पर्खाईमा छन् । तर, यी सबै सम्भावनाहरुले गाउँपालिका छाड्ने बाटो पाएको छैन । धेरैजसो भूभाग भिरालो र चट्टानी क्षेत्रहरु, अग्ला र भिराला पहाडी श्रृंख्ालाले बनेको यस गाउँपालिकामा सिंगो नेपालसँग जोडिन चाहन्छ । आफ्ना उत्पादनहरुलाई देश र विदेशमा समेत पुर्याउन चाहन्छ । तर, यो केवल यही विकासको बाटो हेरेर बसिरहेको छ ।
गरिबीको चरम अवस्था
नेपाल मानव विकास प्रतिवेदन, २०१४ अनुसार सिंगो बझाङ जिल्ला मानव विकास सूचकांकका दृष्टिकोणले ७५ जिल्लाहरु मध्ये ७४ औं स्थानमा पर्छ । यो गाउँपालिका बझाङ जिल्लाको पनि सबैभन्दा विकट गाउँपालिका हो । बझाङ जिल्लाको मानव विकास सूचकांकको मान ०.३६५ रहेको छ । जसअनुसार औषत आयु ६५.२२ वर्ष तथा प्रतिव्यक्ति आम्दानी ४८७ अमेरिकी डलर रहेको छ । राष्ट्रिय योजना आयोगकोअनुसार यस जिल्लामा ४८.२ प्रतिशत गरिब छन् ।
यही चरम गरिबी रहेको जिल्लामध्येको पनि विकट जिल्ला हो । जिल्ला सदरमुकाम भन्दा निकै टाडा (३२ कोष ) रहेको यो गाउँपालिका चीनको स्वशासित क्षेत्र तिव्वतको ताक्लाकोटसँग जोडिएको छ । गाउँपालिकाका अध्यक्ष धामीको कुरालाई आधार मान्दा यो गाउँपालिकाका मानिसहरुले १२ महिना काम गर्दा ३ महिनाको लागि पुग्ने अन्न मात्रै उत्पादन गर्ने गर्छन् । बाँकी अन्नको लागि बाहिर नै निर्भर हुनुपर्छ । पशुपालन र विशेषगरी जडिबुटीको बिक्रीबाट कमाएको पैसाले नै उनीहरु आफ्नो गुजारा टार्ने गरेका छन् ।
यहाँको केवल जनता मात्रै होइन । यहाँको सरकार पनि गरिब छ । यो गाउँपालिकाको मुख्य आयस्रोत जडिबुटीको संकलन नै हो । त्यहाँ करिबन २६०० को हाराहारीमा जनसंख्या रहेका छन् । सबै घरधुरीबाट एक सिजनमा डेढ लाख देखि ८ लाख रुपैयाँसम्मको जडिबुटी संकलन गरेर बिक्री गर्छन् । गाउँपालिकाले यसैमा लगाएको करबाट केही शुल्क उठाउने गर्छ । अघिल्लो वर्ष गाउँपालिकाले ३५ लाख रुपैयाँ उठाएको थियो । तर, यो वर्ष जडिबुटीको संकलन कम भएको छ । त्यसैले यो साल २३ लाख रुपैयाँ मात्रै आम्दानी हुने लक्ष्य लिइएको छ । गाउँपालिकाकै पनि धेरै कामहरु स्वयंसेवकहरुले गर्ने गर्छन् । यस्तो कर उठाउने काम पनि स्वयंसेवकहरुले गर्छन् ।
सम्भावना मात्रै, उपलब्धता केहीपनि छैन
गाउँपालिकामा मानिसको आधुनिकताको लागि चाहिने पूर्वाधारहरु केही पनि छैन । यहाँ केवल एउटै कुरा छ, त्यो हो अभाव । यहाँ अभावसँगै सम्भावना पनि धेरै छन् । यो गाउँपालिकामा इन्टरनेटको सुविधा छैन, पछिल्लो समय टेलिफोनको सुविधा केही ठाउँहरुमा पुगेका छन् । तर, यसको पनि राम्रो सेवा अझै छैन । गाउँपालिकाभरी बैंकको सुविधा केही पनि छैन । केन्द्र सरकारसँग र प्रदेश सरकारसँग समेत पटक पटक आग्रह गर्दा पनि बैंकलाई गाउँपालिकामा ल्याउन नसकेको गाउँपालिकाका अध्यक्ष धामी बताउँछन् ।
गाउँपालिकामा पर्यटकहरुको लागि केही पनि सेवा सुविधा छैन । त्यही भएर होला वर्षमा १००/२०० जना मात्रै पर्यटकहरु गाउँपालिकामा आउने गरेका छन् । ती पर्यटकहरुले पनि धेरै खर्च गर्दैनन् । पर्यटकहरुको लागि होटल र होमस्टेको व्यवस्था छैन । केन्द्रीय लाईनको बिजुलीको पहुँच छैन ।
सबै वडामा सोलारको व्यवस्था छ । गाउँपालिकाका अधिकांश घरमा सोलाहरु छन् । गाउँपालिकाको वडा नं ५, ४ र ३ नं वडाहरुमा स्थानीय लगानीमा लघु जलविद्युत सञ्चालनमा छ । जस मध्ये वडा नं ४मा २२ किलोवाट, वडा नं ५ मा ९ किलोवाट र वडा नं ३ मा १२ किलोवाट विद्युत उत्पादन हुन्छ ।
गाउँपालिका भित्र सडक नै छैन । यातायातका साधन भनेको खच्चड र घोडा मात्रै हुन् । गाउँपालिकाभरी खच्चड र घोडा हिँड्ने बाटाहरु मात्रै छन् । ढुवानीको सामान भेँडा र खच्चडमा बोकेर लगिन्छ । जिल्ला सदरमुकामबाट गाउँपालिकासम्म पुग्न दुईदेखि तीन दिनसम्म लाग्छ । स्थानीय सन्तमान लामा सदरमुकामबाट तीनदेखि चार दिनमा बल्ल सामान बोकेर आफ्नो घर पुगिने बताउँछन् ।
के छ सम्भावना ?
अग्लाअग्ला चुच्चा डाँडाहरु र काँडेदार वुट्यान एवं झारहरुले भरिएको यो भूमिमा पहिले खड्का जातका मानिसहरु बसोवास गर्ने गर्थे । अध्यक्ष धामी भन्छन् चुच्चे डाँडा र काँडायुक्त झारहरु भएको यस स्थानमा वसोवास गर्ने मानिसहरुलाई पछि कडाल भनियो । त्यही कँडाल शव्दलाई कँडाल जातिको रुपमा नामाकरण गर्न थालियो । यही डाडाँकाँडा र काँडेदार झारहरुकाबीच वसोवास गर्ने कँडाल जातीको नामवाट यो ठाउँको नाम काँडा राखिएको जानकारहरु बताउँछन् । तत्कालीन काँडा गाउँ विकास समितिलाई नै अहिले साईपाल गाउँपालिकाको नामाकरण गरिएको हो ।
जिल्लाको ४३ प्रतिशत भूभाग ओगटेको यस गाउँपालिकाको उत्तरपट्टीको भूभागमा साईपाल हिमाल (७०२५ मी.), नाप्पा हिमाल (६७४५मी.), योगा हिमाल (६६४५मी.), उराई भन्ज्याङ्ग (५२०७ मी.), व्यास हिमाल (५६३२ मी.), राक्स्या हिमाल आदि रहेका छन् । त्यस्तै, गाउँपालिकामा नाम्खा गुम्बा, लाघा मन्दिर, बझाङ ताक्लाकोट जाने बाटोहरु पनि पर्यटनको लागि सम्भावनाका क्षेत्रहरु हुन् ।
अग्ला र भिराला पहाडी श्रृंख्ालाले बनेको यस गाउँपालिकामा भीरपाखा तथा बसोबास योग्य क्षेत्र सहितको विविधतायुक्त धरातलीय अवस्थिति रहेको छ । यहाँ कुनै कुनै ठाउँहरुमा चिम्टयाईलो, पाङ्गो माटोका साथै धैरै जसो कंकि्रटयुक्त माटो पनि पाइन्छ । बझाङ्ग जिल्लामा बहने सेती नदीको मुख्य स्रोत पनि यही क्षेत्र हो । आदिमकालदेखि नै यस क्षेत्रवाट नदीहरु अनवरतरुपमा बगिरहेको मानिन्छ । यहाँका नदीहरुबाट प्रतिसेकेन्ड २० हजार लिटर पानी बहने गर्छ । जहाँपाट बिजुली उत्पादन गर्न सक्ने प्रशस्त सम्भावनाहरु देखिन्छ । यसबाहेक जडिवुटी संकलन तथा विक्रि वितरण, पशुपालन एवं माहुरीपालन जस्ता व्यवसायिक कृषिहरुमा समेत यो ठाउँ पर्याप्त सम्भावना बोकेको क्षेत्र हो ।
जनजीवन र संस्कृति
संस्कृति र स्थानीय जनजीवनको हिसाबले यो क्षेत्र मौलिक र फरक संस्कृति बोकेको क्षेत्र हो । यहाँ हिन्दु र बौद्ध संस्कृति अँगाल्नेहरुको बाहुल्यता रहेको छ । यो क्षेत्र विभिन्न जातजातिहरुको मौलिक संस्कृति र परम्परागत चालचलनहरुको अनुपम संगम हो । क्षेत्री, दलित, जनजातिहरुमा केटाले दौरा सुरुवाल, पाइन्ट र सर्ट र महिलाले गुन्यु चोली र पटुकीले सजिएर आफ्ना दैनिक गतिविधिमा सहभागी हुन्छन् ।
कोही नेपाली भाषा बोल्छन्, कोही धुलेल त कोही गुरुङ्ग र तामाङ्ग भाषा बोल्ने गर्छन् । केहीले बझाङी भाषालाई नै आफ्नो स्थानीय भाषाको रुपमा स्वीकारेका छन् । सबैतिर मनाइने कृष्णाष्टमी, तीज, जनैपूणिर्मा, दशैं, तिहार, माघेसंक्रान्तिका साथमा उनीहरुको मौलिक पर्वहरु सिउरो, हरलेे, भूवो आदि पर्वहरुमा उनीहरु विशेष रमाईलो गर्छन् । जनजातिहरु मध्ये लामाहरुले बख्खु र जामा लगाउँछन् । उनीहरु ल्होसार मान्छन् । मानसरोवर जाने लाँगाको वाटो नै यहाँको महत्वपूर्ण सांस्कृतिक सम्पदा हो ।
त्यहाँका धामी, गोबरा, तामाङ, लामा, कामी, दमाई, थापा भण्डारी, रोका आदि सबै थरका मानिसहरु खेतीपाती लगाएर सकिएको दिनमा महोत्सव नै गर्छन् । त्यही क्षेत्रमा चौदशी भन्ने धर्म पनि मान्ने गरिन्छ । यो धर्मका मानिसहरुले आगोलाई नै देवता मान्ने गर्छन् ।
source https://www.onlinekhabar.com/2019/12/823998
0 Comments