Looking For Anything Specific?

Header Ads

कसरी गायब भयो घाटे भकारी र सिँढीहरु ?

बर्खाको मौसममा बाहेक प्रायः त्यतिमाथिसम्म पानी नआउने भएकोले मानिसको शव जलाउनको लागि तयार पारिएको आकर्षक ढुंगाद्वारा निर्मित घाटे भकारी र नदीको बीचमा सायदै कतैपनि मानव संरचनाहरु बन्दैनन् होला । त्यो भकारी नै घाटको चिनो हो र घाट नै नदीको सारथि हो । तर, यो अचम्मलाग्दो दृश्य हामीले थापाथलीदेखि टेकुसम्मको वागमतीको किनारामा देख्न सक्छौं । जहाँ घाट र नदीको बीचमा जंगलमात्रै छैन । एउटा सिंगो बस्ती नै बसेको छ ।

यो क्षेत्रमा सबैभन्दा पहिले वागमतीलाई संकुचित गराएर पार्क निर्माण गर्ने योजना बनाइयो । त्यसै अनुसार वागमतीलाई एक तिहाई भाग सानो गराएर त्यहाँको जग्गा खाली गराईयो । सो विरुद्ध त्यतिबेलै सर्वाेच्च अदालतमा मुद्दा पनि पर्‍यो । सर्वाेच्चले पार्क बनाउनै पर्ने भएपनि सांस्कृतिक सम्पदाहरुको क्षति नहुनेगरी बनाउन भन्यो । त्यसमा सबै सहमत भए । नदी बग्ने ठाउँमा सडक बनाइयो । त्यसको छेउमा पार्क र त्यो भन्दा भित्र नदी राख्ने भनियो । त्यही बेलादेखि नै घाटलाई नदीसँग छुट्टाएर सम्पदाको संरक्षण गर्ने प्रतिबद्धता गरियो ।

सोही क्षेत्र पर्ने काठमाडौं महानगरपालिकाका वडा नं ११ का वडाध्यक्ष हिरण्यलाल श्रेष्ठ नदीसँग किनारालाई छुट्टाउने काम जायज नभएको भन्दै अब आफूहरु त्यो नदी किनारका भकारीहरुको संरक्षणमा लाग्ने बताउँछन् । नदी र किनाराको बीचमा भएको सडक २०५२ सालतिर नै बनेको भन्दै त्यसलाई बन्द गर्न नसकेपनि त्यहाँको सम्पदाहरुलाई संरक्षण गरेर सम्पदा मार्गको रुपमा त्यसलाई विकास गराउने उनले बताए ।

 


२५ वर्षदेखिको झमेला

विसं २०५२ साल भदौ १२ गते संयुक्त राष्ट्र संघको ५० औं वाषिर्क उत्सव मनाउने क्रममा तत्कालीन श्री ५ को सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार गठित राष्ट्रिय समितिले शंखमूलदेखि टेकु दोभानसम्मको साढे ३ किलोमिटरको दूरीमा पार्क निर्माण गर्न सिफारिस गर्‍यो । दुबै तर्फको वागमती नदीको किनारा शंखमुलदेखि टेकुसम्मको जग्गामा संयुक्त राष्ट्र संघ पार्क निर्माण गर्ने विषयमा निर्णय भएपछि अहिले पनि कतिपय ठाउँमा पार्क निर्माणको काम सम्पन्न भइसकेको छ भने कतिपय ठाउँमा काम चलिरहेको छ ।

यो काम सुरु भएपछि दायर भएको यस विरुद्धको रिटमाथि फैसला गर्दै तत्कालीन न्यायाधीस केदारप्रसाद गिरीको इजलासले प्रसुति गृहको नाममा सार्वजनिक घाट, भकारी एवं नदीको क्षेत्रमा प्रतिकूल असर पर्ने कुनै कार्य नगर्नु नगराउनु हुन भनेर सरकारको नाममा २०५६ साल जेठ ३१ गते फैसला सुनाएको थियो । तर, त्यसको २० वर्षपछिसम्म आइपुग्दा न त त्यहाँ पार्क निर्माणको कामले गति लिएको छ न त सर्वाेच्चको आदेश बमोजिम त्यहाँको सांस्कृतिक सम्पदाहरु संरक्षण नै भएको छ ।

नदीलाई संकुचित गराइएको छ भने घाट र नदीको बीचमा नै पक्की मानवनिर्मित संरचनाहरु तयार पारिएको छ । थापाथलीमा रहेको प्रसुति गृहको भवनले घाटको अस्तित्व नै संकटमा पारेको छ भने घाट र भकारीमा रहेका महत्वपूर्ण ऐतिहासिक ढुंगाहरु समेत चोरी हुने क्रम बढी रहेको छ ।

पार्क निर्माणको क्रममा त्यस विरुद्ध आएका आवाजहरु निर्मूल पार्नको लागि शखंमुलदेखि टेकुसम्मको जग्गामा रहेको पुरातात्विक धार्मिक, सांस्कृतिक, प्राचीन मूल्य मान्यता र परम्पराको सुरक्षा, संरक्षण, सम्वर्द्धन र विकास विस्तार एवं जगेर्ना गरी उक्त क्षेत्रलाई आकर्षकता प्रदान गर्न र सो क्षेत्रमा रहेको ऐतिहासिक कला, मठ, मन्दिर, घाट, भकारी जस्ता मूल्य मान्यतालाई कुनै असर नपर्नेगरी पार्क निर्माण गर्न लागिएको भनिएको थियो । तर, त्यहाँ प्रतिबद्धता गरिएकोभन्दा ठिक विपरित अहिले घाट र नदीको बीचमा बाटो निर्माण र निजी संरचनाहरु खडा गरिएको छ भने विभिन्न सांस्कृतिक सम्पदाहरु नष्ट हुने क्रममा छन् ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौं महानगरपालिकाले काठमाडौंको थापाथलीदेखि टेकुसम्मको बाग्मती किनारलाइ ‘श्री हुतराम वैद्य स्मृति पैदलमार्ग’ बनाउने निर्णय गरेको थियो । चालू आर्थिक वर्षको लागि यहाँ बजेट पनि विनियोजन भइसकेको छ । त्यस्तै, टेकुदेखि विष्णुमतीसम्मको नदीकिनारालाई ‘श्री भगवानदास मानन्धर स्मृति स्थल’ को रुपमा विकास गर्ने भनिएको भएपनि अहिले त्यो काम अघि बढ्न सकेको छैन । थापाथलीमा सुकुम्बासी बस्तीको समस्या उस्तै छ भने प्रसुति गृहले निर्माण गरेको संरचना अझै भत्किएको छैन । विभिन्न किसिमका स्थायी संरचनाहरुका कारण यो क्षेत्र आफैंमा अघोषित रुपमा कब्जा भइसकेको छ ।

तर, काठमाडौं महानगरपालिकाका ११ नं वडाका वडाध्यक्ष हिरण्यलाल श्रेष्ठ भने प्रसुति गृहको भवनका कारण यो योजना रोकिएको भन्दै अब यो कामले गति लिने बताउँछन् । ‘राज्यको योजना भनेर भवन निर्माण विभाग, जाइका र मन्त्रालयबाट समेत माग भएपछि हामीले दिएका थियौं । अब तत्कालै बनाइदिन र नभएर महानगरले नै बनाउँछ भनेपछि अहिले ठेक्का प्रक्रिया सुरु भएको छ भनेका छन् । अब छिट्टै बन्छ सम्पदा पदमार्ग ।

एक नं भकारीदेखि टेकु दोभानसम्म सम्पदा पदमार्ग बनाउने तयारी

काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको एक नं भकारीदेखि टेकु दोभानसम्मको घाटघाटैको बाटोलाई सम्पदा पदमार्ग बनाउनको लागि भनेर बजेट नै निकासा गरिसकेको छ । यद्यपि प्रसुति गृहको भवनका कारण यो रोकिएको काठमाडौं महानगरपालिका वडा नं ११ का वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । अहिले प्रसुति गृहका सम्बन्धित अधिकारीहरुले पर्खाल बनाउनको लागि टेण्डर नै आहृवान गरिसकेको भन्ने प्रतिक्रिया दिएको भन्दै अब हेरिटेज वाक जसरी पनि बन्ने दाबी गरे ।

पुनर्निर्माणको क्रममा सम्पदाको संरक्षणको चिन्ता

यतिबेला यो साढे ३ किलोमिटरको घाट मध्ये धेरै ठाउँमा यसको अस्तित्व मेटिएको छ । यसले यही घाट आसपासमा रहेका विभिन्न मन्दिरहरुको पुनर्निर्माणको क्रममा पनि यहाँको सुन्दरता र सांस्कृतिक महत्वलाई ख्याल गरिँदैन कि ? भन्ने चिन्ता धेरैलाई पर्ने गरेको छ । अहिले त्यहाँको भकारीका अधिकांश ढुंगाहरु चोरिएका छन् ।

इतिहासकारहरुका अनुसार एक नं भकारीदेखि टेकु दोभानसम्म भएका कूल ६६ भकारीहरु मध्ये आधाभन्दा धेरै भकारीका ढुंगाहरु हराइसकेका छन् । घाटको लागि व्यवस्थित गरेर राखिएका घाटको सिँढीका ढुंगाहरु समेत धेरै हराइसकेका छन् । पहिले जुन प्रयोजनको लागि यसको निर्माण गरिएको थियो । त्यो अहिले देख्न सकिँदैन । यही सम्पदा क्षेत्रमा विभिन्न किसिमका मन्दिरहरु पनि निर्माण गरिँदै छ । तर, ती मन्दिरहरुका साथमा यो सिंगो पवित्र क्षेत्रलाई कसरी व्यवस्थित गर्ने ? भन्ने बारेमा पर्याप्त बहस भएको पाइँदैन ।

यही क्षेत्रलाई सम्पदा क्षेत्रको रुपमा विकास गर्नुको मुख्य उद्देश्य भनेको नै यस क्षेत्रमा रहेका १९ औं शताब्दीका मठमन्दिर, देवल, सत्तल, आश्रम सुरक्षित राख्नु रहेको श्रेष्ठ बताउँछन् । यही क्षेत्रमा त्रिपुरेश्वरी मन्दिर छ । यही क्षेत्रमा हेमहिरण्यजंग नारायण मन्दिर छ । जुन सन् १८६८ मा तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले आफ्नी दुई पत्नी हेम र हिरण्यको स्मरणमा बनाउन लगाएका थिए । जुन मुगल शैलीको छ । यही क्षेत्रमा जंगबहादुरले बनाएका विभिन्न किसिमका आश्रमहरु, शिव मन्दिर, पचली भैरवको मन्दिर, राणा प्रधानमन्त्रीहरुको श्राद्ध गर्ने ठाउँ र राजाको श्राद्ध गर्ने ठाउँहरु रहेका छन् ।

६० वर्षमा वागमती : सुक्यो नदी, हराए सम्पदाहरु

पछिल्लो ६० वर्षको समय हो जुन समयमा वागमती एउटा विशाल नदीको स्वरुपबाट एउटा सानो र ढलमात्रै बग्ने नदीको रुपमा परिवर्तन भएको छ । जसका कारण यसको संकुचन पनि बढ्दै गइरहेको छ । सन् १९६० मा जर्मन जियोलोजिस्ट टोनी हेगनले नेपालको विभिन्न स्थानको अध्ययन गर्न नेपाल आउने क्रममा खिचेको एउटा फोटोमा विशाल बागमतीको चित्र देख्न सकिन्छ । त्यो वागमतीको प्रमाण भनेको काहीँकतै देखिने त्यही भकारी र घाटहरु बाँकी छन् । त्यसबाहेक आधा भन्दा धेरै वागमतीको भूभागमा नयाँ संरचना बनिसकेका छन् ।

तस्वीर : आर्यन धिमाल



source https://www.onlinekhabar.com/2020/01/824845

Post a Comment

0 Comments