पछिल्लो समय धेरै मानिसहरु थाइराइडबाट पीडित छन् । धेरैले थाइराइडलाई रोग भन्दछन् तर यो रोग होइन, हाम्रो घाँटीमा हुने ग्रन्थी हो । शरीरको मेटाबोलिजम अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक पर्छ । हर्मोनले शरीरलाई चाहिने तत्व विभिन्न अंग, कोशिकामा पुर्याउन सहयोग गर्छ र शरीरले तागत प्राप्त गर्छ । मेटाबोलिजम फोक्सो, हाड, छाला, मुटुलगायत शरीरका सबै अंगलाई चाहिने कुरा हो ।
थाइराइड ग्रन्थीमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ । हर्मोन बढी हुनुलाई ‘हाइपर थाइराइडिज्म’ र हार्मोन कम हुनुलाई ‘हाइपो थाइराडिज्म’ भनिन्छ ।
थाइराइड ग्रन्थीले राम्रोसँग काम गरेको छ कि छैन भनेर थाहा पाउन ‘थाइराइड फङसन टेस्ट’ गर्नुपर्छ । त्यसमा ‘थाइराइड स्टिमुलेटिङ हर्मोन’ (टीएसएच) जाँच हुन्छ । यसैबाट हार्मोन कम छ कि, बढी छ कि वा सामान्य अवस्थामा छ भन्ने थाहा हुन्छ । ‘टीएसएच’ एकदमै घट्न थाल्यो भने हर्मोन बढी छ भन्ने बुझिन्छ ।
टीएसएचले थाइराइड हार्मोन र थाइराइड ग्रन्थीलाई नियन्त्रण गर्ने काम गर्छ । यो टेस्ट गरेपछि शरीरमा थाइराइडले राम्रोसँग काम गरेको छ कि छैन भन्ने थाहा हुन्छ ।
थाइराइडबारे विभिन्न भ्रमहरु छन् । तीमध्ये केही भ्रम निवारण गर्न हामीले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत ईएनटी हेड एण्ड नेक सर्जन डा. बिरोज घिमिरेलाई पाँच प्रश्न सोधेका छौं ।
१. थाइराइड के कारणले हुन्छ ?
हार्मोनको कमीले गर्दा ‘हाइपोथाइरिटिजम’ देखिने समस्या बढी हुन्छ । ३०–४० वर्ष अगाडि आयोडिनको कमीले गर्दा हार्मोन कमी हुन्थ्यो । तर, अहिले थाइराइड अटो इम्युनको कारणले गर्दा हुन्छ । प्रतिरोधी प्रणाली (इम्युन सिस्टम) ले भित्रबाट थाइराइड ग्रन्थी भत्काउँछ ।
२. थाइराइडको अप्रेशन गरेको विरामीलाई भविष्यमा कुनै समस्या आउँछ कि आउँदैन ?
‘थाइराइड ग्ल्याण्ड’ हाम्रो शरीरको एउटा महत्वपूर्ण अंग हो । यसबाट थाइराइड हार्मोन उत्पादन हुन्छ । यो हार्मोनले मानव शरीरको विकास र वृद्धि, शरीरको तापक्रम, मुटुको चाल, पाचनक्रिया, मस्तिष्क, हड्डी विकास र निर्माण आदि काम गर्छ । कुनै प्रकारको रोग थाइराइड ग्ल्याण्डमा भएर र त्यसको अपरेशन गर्नुपर्ने भएपछि मानिसमा यसका जटिलताको कुराहरु मनमा आउने गर्छ । भविष्यमा आउने जटिलता, जस्तै– आवाजमा परिवर्तन हुनु वा आवाज नआउने हुनसक्छ । किनभने अपरेशनको जटिलताको कारण ‘रिकरेन्ट ल्यारिनजियलनर्भ पल्सी’ हुने सम्भावना हुन्छ । अपरेशनमा वा पछि रगत बग्ने हुनसक्छ । अर्को जटिलता भनेको ‘हाइपो क्यालसेमिया’ हो, जसले गर्दा ओँठ, हात, खुट्टा झमझम गर्नु, मांसपेशी दुख्नु, टाउको दुख्नु वा डिप्रेशनमा जाने सम्भावना हुन्छ । पूरै थाइराइड निकालेपछि लामो समयसम्म क्यालसियम र भिटामिन ‘डी’ र थाइराइड हार्मोन खानुपर्ने हुनसक्छ ।
३. थाइराइड ग्रन्थीसँगै भएको प्यारा थाइराइडले के काम गर्छ ? प्यारा थाइराइड कमजोर भयो भने शरीरले क्याल्सियमको मात्रा आपूर्ती गर्छ कि गर्दैन ?
‘प्याराथाइराइड ग्ल्याण्ड’ चार वटा हुन्छन् र ‘थाइराइड ग्ल्याण्ड’सँग टासिएर बसेका हुन्छन् । यो ‘ग्ल्याण्ड’ले ‘प्याराथर्मोन हार्मोन’ निकाल्छ जसले शरीरको क्याल्सियमको मात्रालाई सन्तुलन गरेर राख्छ । यसकारण ‘प्यारा थाइराइड’ कमजोर भयो भने शरीरले क्याल्सियम आपूर्ती गर्न सक्दैन ।
४. यदि शरीरमा क्याल्सियमको मात्रा आपूर्ती गर्न नसकेको खण्डमा जिन्दगीभर औषधि सेवन गर्नु पर्छ कि पर्दैन ?
अपरेशनको क्रममा प्रायः गरेर एउटा ‘प्यारा थाइराइड ग्ल्याण्ड ट्रान्सप्लान्ट’ गरेर छातिमा राखिन्छ । प्रायः गरेर क्याल्सियम र भिटामिन ‘डी’ अलि लामो समयसम्म खानुपर्ने हुन्छ ।
५. थाइराइडको अपरेशन गरी थाइराइड ग्रन्थी नै फालिसकेपछि महिलाले बच्चा जन्माउन मिल्छ कि मिल्दैन ?
थाइराइड गर्भवती हुनका लागि पनि चाहिन्छ । अपरेशनपछि यदि थाइराइडको हार्मोन गडबडी भएमा गर्भवती हुने सम्भावना निकै कम हुन्छ र गर्भ खेर जाने सम्भावना बढ्छ । नियमित डाक्टरको सल्लाह र औषधि सेवन गरेमा गर्भधारण गर्ने सम्भावना बढेर जान्छ ।
source https://www.onlinekhabar.com/2019/12/824311
0 Comments