१६ पुस, काठमाडौं । ‘२०१२ सिएनएन हिरो अफ दि इअर फ्रम काठमाडौं इज पुष्पा बस्नेत ।’
यो अवार्डका लागि अन्तिम १० मा परेपछि पुष्पा क्यालिफोर्नियाको लस एन्जलसमा पुगेकी थिइन् । दर्शकदीर्घाको अघिल्लो लाइनमा बसेकी पुष्पा आफ्नो नाम सुन्नासाथ भक्कानिइन् । आकाशतर्फ हेरेर हिक्का छोडिन् । छेउमै बसेकी आफ्नी आमालाई अंगालो हालिन्, उही मुद्रामा । अनि स्टेजतर्फ लागिन् ।
यस्तो लाग्थ्यो, यो उनका लागि अप्रत्याशित हो । स्टेजतर्फ हेर्थिन् मुस्काएजस्तो गर्थिन्, फेरि दर्शकतर्फ फर्किन्थिन्, भक्कानिन्थिन् । संसार जित्न सक्छु भन्ने जोश बोकेकी पुष्पालाई त्यतिबेला आफूलाई सम्हाल्न हम्मेहम्मे परेको थियो ।
जब सीएनएन हिरोको अवार्ड पुष्पाले पाइन्, एकछिन् हेरिन्, स्पर्श गरिन् अनि यसरी आफ्नो अंगालोमा कसिन्, जसरी एउटी आमाले लामो समयदेखि हराएको सन्तानलाई भेट्दा न्यानो अंगालोमा बाँध्छ । पुष्पा रुँदारुँदै हाँसिन्, हाँस्दाहास्दै रोइन् । र रुँदैरुँदै बोलिन्, ‘दिस इज फर माइ चिल्ड्रेन ।’ पुष्पाको हर्षको आँशुसँगै पड्किएको तालिको आयातन अझ बाक्लियो । तररर…।
जसबाट उनले नाम पाइन् । दाम पनि पाइन्, तीन करोड । जतिबेला उनको उमेर २८ वर्ष थियो । तर ३२ जनाका ‘मामु’ थिइन्, जसका आमाहरु जेलका चिसा छिडीमा थिए ।
अवार्डसँगै पाएको रकमले बूढानीलकण्ठको डाँडामा पाँच रोपनी जग्गा किनिन् । ‘मैले सात हजार घरभाडा तिर्न नसकेको पीडा थियो । र, काठमाडौंलाई हेर्दा तल देखियोस् यस्तो ठाउँमा जग्गा किन्न चाहन्थे’, पुष्पा बोलिन् ।
आमाबाबु जेलमा परेका कारण त्यहीँ पुगेका बालबालिकालाई उद्दार गरेर हुर्काउने, बढाउने र पढाउने जिम्मेवारी लिन थाल्दा उनी भर्खर २१ वर्षकी थिइन् । २०७२ मा आइपुग्दा चपलीमा ४३ जना बच्चासँगै बसिरहेकी थिइन् । बिस्तारै उनी आफ्नो सपनाको घर बनाउन शुरु गर्दै थिइन् । अर्थात ‘पुतलीको घर’ ।
डोनर खोजिन् । जसोतसो घर निर्माणको अन्तिम चरणमा थियो । उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार घर निर्माण गर्दै थिइन् । त्यो घर नभएर गाउँजस्तो बन्दै थियो । सुविधा सम्पन्न गाउँ, जहाँ बालबालिकालाई कुनै कुराको कमी नहोस् ।
शनिबारको दिन, १२ वैशाख २०७२ । पुष्पा निर्माणाधीन आफ्नो सपनाको घर हेर्दै थिइन् । जेठो छोराले फोन गरे, ‘मामु चट्नी खाने तिल छैन, लिएर आउनू न है ।’
पुष्पा आफ्नो बाबुको रातो भ्यान चढेर निस्किइन् । पार्क भिलेज नजिकै पुगेकी थिइन्, बटारिएको सर्पजस्तो देखियो बाटो । पार्क भिलेजको स्वीमिङ पुलको पानी छर्लङ्ग गर्दै बाटोमै निस्कियो । ‘म गाडिबाट हाम फालिहालेँ । दिमागले कामै गरेन’, पुष्पा अत्तालिए जसरी बोल्छिन्, ‘मैले बच्चा, घर सबै सम्झिएँ ।’
भूकम्पले यसरी हल्लाएको तीन दिनपछि कन्ट्रयाक्टरले फोन गरेर भन्यो, ‘घर त सबै भत्कियो म्याम !’
अब झन् कसरी काम गर्छ पुष्पाको दिमागले । भन्छिन्, ‘घर अगाडि टेन्ट टाँगेकी थिएँ । आधा बोटल पानी राखेर हेरिबस्थेँ कि कतिबेला भूकम्प आउँछ ।’
एक हप्तापछि बल्ल उनी बूढानीलकण्ठ पुगिन् । ‘भत्किएका घर देख्नासाथ गेटमै ढलेँ । मेरा सबै सपनाहरु भत्किएजस्तो लाग्यो’, पुष्पा नियमित स्मरणमा छिन् ।
जेसुकै बितोस्, पुष्पासँग ४० जना बालबालिकाको भविष्य थियो । केही त गर्नै पर्यो । एक महिना नबित्दै उनले जर्मनीको टीभी कम्पनीलाई मेल गरिन् । उसले जवाफ फर्कायो, ‘दुई पेज लेखेर पठाउनू ।’ पुष्पाले त्यसै गरिन् । इमेलमा जवाफ आयो, साढे चार करोड सहयोग गर्ने बाचासहित ।
पुष्पा सक्ड ! जसरी भूकम्प आउँदा उनी अचम्मित भएकी थिइन् । ‘यो सपना कि विपना ! चार लाख भनेको कि चार करोड !’, उनको हाउभाउ परिवर्तन हुन्छ, ‘मैले टेन्टभित्र बसेर थोप्लो गन्थेँ । साँच्चै हो त ?’ तर यो विपना नै थियो ।
उनलाई त्यति नै बेला लाग्यो- तँ आँट म पुर्याउँछु भन्थे, साँच्चै हो रहेछ ।
‘त्यसपछि त समाज कल्याण परिषदबाट अनुमति लिएर ड्याङ कि ड्याङ घर बनाइहाल्यौं नि’, पुष्पा उत्साहित बन्छिन् । भवन निर्माणमा साढे नौ करोड खर्चेकी छिन् पुष्पाले ।
****
गेटबाट छिर्नेवित्तिकै कुनै पार्क जस्तो देखिन्छ पुतलीको घर । चारैतिर दुई तले चार वटा सुन्दर घर छन् । बीचमा ठूलो स्पेस । एउटा कुनामा बच्चा खेल्ने खेलसामाग्रीसहित चौर छ । अझ पारी खोला । वरिपरि जंगल ।
एउटा घरको भुइँ तलामा चिरिच्याट्ट तेक्वान्दोको ठूलो खेल मैदान जस्तो । अर्को तलामा उस्तै सफा । पुष्पाका छोराहरु सुत्ने बेड रुम, जहाँ निला रङका ओच्छ्यान छन् ।
अर्को भवनमा छोरीहरु बस्ने उस्तै सफा घर, जहाँ राता रङका ओच्छ्यान छन् । भुइँमा एउटा रातो डोरो हुँदै ट्वाइलेट बाथरुम पुगिन्छन् । त्यो डोरो र ट्वाइलेट फरक क्षमता भएकाहरुका लागि पनि हुने गरी निर्माण गरिएको छ ।
त्यसकै अगाडिको अर्को भवनमा कार्यालय छ, जसको दोस्रो तलामा पुष्पा बस्छिन् । भुइँ तलामा ठूलो हल छ, जहाँ बच्चाहरु खेल्नका लागि काठका अनेक सामाग्री छन् ।
एउटा कुनाबाट तल झर्ने खुड्किलो भेटिन्छ । त्यहाँबाट देखिन्छ, छानो हालेको खुला ठाउँ । जहाँ आउटडोर कार्यक्रम हुन्छ । त्यहीँबाट देखिन्छ पुरै काठमाडौं शहर ।
यहाँ एकातिर अर्को भवन छ । जहाँ पढ्ने कोठा, पुस्तकालय र कम्प्युटर कोठाहरु छन् । उस्तै सफा ।
र, त्यसकै अर्को पट्टी भवनमा पुष्पा सुत्छिन् । पुष्पा भन्छिन्, ‘मलाई अनुशासन चाहिन्छ । महिनाको एक-दुई पटक म आफैंले सबै घर सफा गर्छु । ताकी बच्चाहरुलाई परोस्, मामुले पनि यस्तो काम गर्नुहुन्छ, काम सानो ठूलो हुँदो रहेनछ ।’
कार्यालय समयमा हामी पुग्दा पुष्पा अफिसको क्याबिनमा थिइन् । सामान्य कालो स्वीटर र कटनको पाइन्टमा । फुङ्ग उडेको कपालमा तेलसम्म लगाएकी छैनिन् । कर्ली कपाललाई पछाडि लगेर बाँधेकी छन् । जहाँ पुगुन्, पुष्पाको ‘ड्रेस कोड’ यस्तै हो ।
‘किन यति साधारण छिन् पुष्पा ?’, धेरैले प्रश्न तेर्स्याउँछन् ।
पुष्पा हाँस्दै जवाफ दिन्छिन्, ‘बिहान उठेर ब्रस गरेर हिँड्ने फुर्सद हुँदैन । कहाँबाट मेन्टेन गर्ने ?’ हो, पुष्पाले कामलाई नै सुन्दरता सम्झन्छिन्, गहना मान्छिन् ।
****
काठमाडौंको डिल्लीबजारमा जन्मिइन् पुष्पा । उनको हुर्काइमा कुनै कुराको अभाव खड्किएन । त्यसैले उनलाई कहिल्यै इच्छा भएन कि यो लगाउन पाए, त्यो खान पाए ! उनी भन्छिन्, ‘मान्छेसँग जे हुँदैन, त्यसको न चाह गर्ने हो ।’
तर खै किन हो उनलाई कहिल्यै कपडामा त्यति धेरै ‘चुजी’ हुन मन लागेन । स्नातक पढ्दासम्म पनि उनी कुर्तामा हुन्थिन् । बाहिर हिँड्दा जहिले बुवाको कम्पनीको टिसर्ट लगाउँथिन्, तल सामान्य ट्रयाक ।
यहीबीच पुष्पाले तीन वर्षअघिको सिंगापुरको घटना सम्झिइन् ।
पुष्पा जुनसुकै कार्यक्रममा जाँदा पनि प्रायः आफ्नै संस्थाको टिसर्टमा हुन्छिन् । उनी एउटा तालिममा सिंगापुर पुगेकी थिइन् । कार्यक्रममै त्यहाँका प्रोफेसरले अकस्मात सोधे, ‘तिमीसँग अरु कपडा छैन कि क्याहो ? सधैं एउटै कपडामा हुन्छौ ।’
पुष्पाले भनिन्, ‘मसँग एउटै रङको कपडा दश जोर हुन्छ । आइ डोन्ट ह्याभ मल्टिपल च्वाइस । किनकी यसले डिसिजन पावरलाई एकदमै कमजोर पार्छ ।’
‘मैले कुनै डिसिजन लिनुपर्यो भने ढ्वाक्क लिन्छु । त्यो हल्लिँदैन । त्यसमा मेरो कपडाको पनि प्रभाव छ’, पुष्पाले तर्क दिइन् ।
हुन त उनका दराज कपडाले भरिएका छन्, तर साधारण । प्रायः एउटै रङका कपडाले । र, उनको घरमा कुनै मेकअपको सामाग्री छैन । ‘दश वर्षअघि जापान जाँदा आमाले कर गरेर लिपिस्टिक लिएको थिएँ । त्यो पनि ढुसी परेछ, उनी भन्छिन्, ‘अब उमेर पनि भयो । त्यसैले डाक्टरसँग जाँच गरेर सनब्लक क्रिमचाहिँ लगाउँछु ।’
उनलाई थाहा छ कि हाम्रो समाजले के गर्योभन्दा पनि के लगायो भन्नेमा बढ्ता ध्यान दिन्छ । तर पुष्पालाई यसको बाल मतलब। ‘मैले चस्माचाहिँ राम्रो चलाउँछु किनकी यो देख्ने कुरा हो । जुत्ता राम्रो लगाउँछु, नत्र लड्ने डर हुन्छ’, उनी पहिरनबारे थप बोल्छिन्, ‘स्वीमिङ पुल जाँदा स्वीमिङ कस्टुम लगाउनुपर्छ भन्ने सेन्स त छ नि मसँग ।’
अनुहारमा त कामले चमक ल्याउनुपर्छ । यो उनको आदर्श हो ।
त्यसैले त पुष्पालाई गोलकास्ट डटकमले २०१० देखि २०१९ सम्म अर्थात् दशककै प्रेरणादायी व्यक्तित्वको पहिलो नम्बरमा राखेको छ । सीएनएन सुपर हिरो अवार्डबाट सम्मानित भएकी उनले ग्रेटा थनवर्ग, स्टिभ जब्स, मलाला युसुफजाइलगायतलाई उछिनेर पहिलो नम्बरमा स्थान बनाएकी हुन् ।
पुष्पाको चाहिँँ प्रेरणाको स्रोत के हो त ?
पुष्पा फ्याट्ट आमा-बाबु सम्झन्छिन् । ‘आमा-बाबाले मलाई सबैभन्दा ठूलो कुरा अनुशासन दिनुभयो ।’ त्यसैले त अहिले पनि उनका आमा-बाबालाई हरेक दिन बिहान फोन गरिनन् भने राम्रोसँग उनको दिन बित्दैन । उनले सुत्नुअघि फोन गर्छिन् ।
र, सम्झन्छिन्, आफ्ना छोराछोरीलाई । ‘कुनै आमा-बाबुले मुटुको टुक्रालाई त्यसै अञ्जान व्यक्तिको हातमा सुम्पन त सक्दैन नि ! ममाथि उनीहरुका आमा-बाबुको ठूलो विश्वास छ’, पुष्पा बोल्दै जान्छिन्, ‘यी बच्चाहरु हुन् मेरा प्रेरणा ।’
तत्कालीन इन्स्पेक्टर मिरा चौधरी हुन् उनकी प्रेरणा । ‘उहाँलाई देख्दै लाग्थ्यो वाह् ! महिला भएर पनि कस्तो बोल्ड’, छक्क पर्दै भन्छिन्, ‘उहाँले मलाई जेल देखाउन नलगेको भए यहाँ हुन्थिनँ ।’
सेन्ट जेभियर्समा पढ्दा फिल्ड भिजिटका लागि उनलाई जेल देखाउन लगिएको थियो । फर्कने बेला एक अञ्जान बालिका पुष्पाको कुर्ताको फेरोमा झुण्डिइन् । पुष्पा पग्लिइन् । त्यसपछि उनी विद्यार्थीबाट जेलका बालबालिकाका ‘मामु’ भइन् । पुष्पा भन्छिन्, ‘आफू आफैंदेखि पनि प्रेरित हुन जरुरी छ । आफ्नो कामबाट सन्तुष्टि लिन सक्नुपर्दोरहेछ, यसैबाट प्रेरित भइँदोरहेछ ।’
****
अहिले पुष्पा नियमित कलेज जान थालेकी छन्, मास्टर्स इन टेक्निकल भोकेस्नल एजुकेशन विषय छनोट गरेर । अन्तिम परीक्षाको तयारीमा छिन् उनी । किनकी उनले बच्चाहरुलाई बालाजु टेक्निकल स्कुलमा पढाएकी छन् र आफू पनि अपडेट हुनु छ ।
पुष्पासँगै सन् २०२० मा उनका एक छोरा र एक छोरीले काठमाडौं युनिभर्सिटीबाटै ग्राजुएसन गर्दैछन् । पुष्पा १० वर्षपछि कलेजमा फर्किएकी हुन् । ‘बच्चाहरुलाई इन्स्पायर गर्नका लागि पनि म कलेज जान थालेकी छु । उनीहरुलाई लाग्नसक्छ यतिधेरै व्यस्ततामा पनि कलेज पढ्न सकिँदोरहेछ’, पुष्पा भन्छिन्, ‘सबैभन्दा ठूलो कुरा मैले समय व्यवस्थापन गरेकी छु ।’
महत्वपूर्ण कार्यक्रमबाहेक पुष्पा अफिसमै हुन्छिन् । र, छोराछोरीलाई संस्कार सिकाउँछिन् ।
कतिले प्रश्न गर्छन्, पुष्पाले बच्चाहरुलाई किन यति विलाशी जीबन दिएको होला ? एउटा समय यस्तो थियो, मान्छेहरुले उनलाई बच्चाहरु राख्न घर भाडामा दिँदैनथे । जेलका बच्चा भनेर दुरदुर गर्थे । कसैले साथी बनाउँदैनथे । र, पनि पुष्पाले आमा बनेर हुर्काइरहिन् । ‘मानिसहरुले मलाई बाहिरबाट हेर्दा कठोर भन्छन् । तर भित्र त्यति नै नरम छु’, उनी विस्तारै बताउँछिन्, ‘म कठोर भएको भए पैसा मात्र कमाएर बस्ने थिएँ । बच्चाहरुसँग रमाइलो गर्न कहाँ सक्थेँ ?’
सिएनएन सुपर हिरोको अवार्ड उचालेपछि भनेकी थिइन्, ‘तपाईंले आफूलाई विश्वास गर्नुस् । आफ्नो प्यासनमा विश्वास गर्नुस् । फेलियर इज द सक्सेस अफ लाइफ ।’ हो, उनले आफ्नो प्यासनलाई निरन्तरता दिइन् ।
प्रारम्भिक बालबिकास केन्द्र (पुतलीको घर) शुरु गरेको १५ वर्षपछि पुष्पा सन्तोषको सास फेर्दैछिन्, ‘आइ ह्याड अ व्युटिफूल जर्नी अफ लाइफ ।’
अब उनको उद्देश्य छ, जेलबाट निस्किएका महिलाहरुलाई एउटा सेल्टर बनाउने । के उनको जीबनको योजनामा बिहेचाहिँ परेकै छैन ? पुष्पा भन्छिन्, ‘गरौंला नि बिहे त । उमेर छँदै छ । बिहे गर्दिनँ भनेर कहाँ भनेको छु र !’
source https://www.onlinekhabar.com/2020/01/824836
0 Comments