Looking For Anything Specific?

Header Ads

राम्रो पेटले आरोग्य, आयु, सौन्दर्य बढाउँछ, कसरी यसलाई स्वस्थ राख्ने ? (भिडियो)

वास्तवमा मीठो खानुलाई सुख भन्छन् । तर, वास्तविक सुख के हो भने जे–जस्तो रुखोसुखो खाएपनि मज्जाले पचाउन सकियोस् । मान्छेहरु आहिले बचाउनमा ध्यान दिन्छन् तर पचाउनमा दिदैनन् । बचाउनेमा जत्तिकै ध्यान दिनुपर्छ पचाउनेमा पनि ।

हाम्रो पेटले चार वटा काम गर्छ । पहिलो, स्वस्थ्य धारण । दोस्रो, धर्म धारण । तेस्रो, सौन्दर्य धारण । चौथो, गर्भधारण ।

पेटको पहिलो काम आरोग्य धारण हो । अर्थात शरीरलाई स्वस्थ बनाइराख्नु हो । धेरैजसो रोग पेटकै विकारले पैदा हुन्छ । आयुर्वेदले भन्छ, ‘पेटमा मल सढिएपछि सबै रोग सुरु हुन्छ ।’

पेटको दोस्रो काम हो, धर्म धारण । पाप वा धर्म गराउने पनि यही पेट हो । पेट ठीक छ भने मान्छे ठीक हुन्छ । ऊ आनन्दित र सन्तुष्ट हुन्छन् । कुकर्म सोच्दैनन् । पेट खराब छ भने उनको मन पनि गडबड हुन्छ ।

पेटको तेस्रो काम सौन्दर्य धारण । हाम्रो अनुहार, छाला भनेको पेटको ऐना हो । यदि पेट सफा छ, सहज रुपमा खानेकुरा पचाएको छ, विकार छैन भने छालामा चमक देखिन्छ । अनुहारमा आभा देखिन्छ ।

पेटको चौथो काम गर्भधारण । हरेक सृष्टिको रचनाकार हो गर्भ । हामी जतिपनि धर्तीमा आएका छौं गर्भबाटै आएका छौं । आमाको गर्भबाट केही न केही अंश लिएर हामीले आफ्नो शरीर बनाएका छौं । जब हामी सन्तानको  रचना गर्छौं, त्यससँग पेटको सम्बन्ध हुन्छ । नवजात शिशुको नाभीसँग आमाको नाभी जोडिएको हुन्छ ।

त्यसैले हाम्रो नाभी रहेको स्थान पेटको धेरै ठूलो महत्व छ । अब यो पेटलाई स्वस्थ, तगडा, बलियो राख्नु हाम्रो धर्म हो । प्रथम दायित्व हो ।

तपाईं–हामीलाई थाहा छ, धेरैको लागि समस्या बनिरहेको छ पेट । ग्याष्ट्रिक, एसिडिटी, अजिर्ण, अपच,  वायु विकारले सताइरहेको छ । नयाँ नयाँ रोगहरु पनि पेटलाई गाँज्न आइपुगेको छ । अल्सर, क्यान्सरले पनि पेटलाई छाडेको छैन ।

यसरी पेट नै रोगी भएपछि मान्छे तन्दुरुस्त रहने कुरा भएन । न शरीर बलियो हुन्छ, न सौन्दर्य कायम रहन्छ । पेटले धर्म छाडेपछि शरीरले पनि आफ्नो कर्म छाड्छ ।

त्यसैले पेटलाई स्वस्थ, चुस्त राख्नु जरुरी छ ।

पेटलाई बुझौं

हाम्रो पूर्वीय संस्कृतिले पेटलाई कसरी प्राकृतिक रुपमै बलियो र तगडा राख्ने भन्ने विधि सिकाएको छ । खासगरी प्राणायाम क्रिया, योग आसनले पेटलाई बलियो बनाउन सकिन्छ । पेटको विकार हटाउन सक्छौं ।

तर, जान्नुपर्ने कुरा के भने पेट गडबड भएपछि उपचार खोज्नुभन्दा पेट खराब हुनै नदिनु उत्तम हो । यसका लागि पहिलो सर्त हो, सही खानपान ।

हामी मोवाइल किन्नुअघि सय पल्ट त्यसको फिचरबारे हेर्छौं । बुझ्छौं । मोटरसाइकल–गाडीमा तेल हाल्नुपर्‍यो भने ‘कति शुद्ध छ ? कतै मिसावट त छैन’ भनेर सोधीखोजी गर्छौं । किनभने अशुद्ध तेल हालेमा इन्जिन खराब हुन्छ ।

जबकि पेटमा चाहिँ जे पनि हाल्छौं । कुन खानेकुराले पेट बिगार्छ भनेर सोच्दैनौं । गाडीको त्यती माया लाग्छ तर यो अनमोल शरीरप्रति हामी खेलाँची गर्छौं ।

हामी जे खान्छौं, त्यो खानेकुराबारे परिचित हुनुपर्छ । नचिनको खाना नखाने । घरमा नचिनेको पाहुना आयो भने हामी प्रवेश गर्न दिदैनौं । त्यसरी नै पेटले नचिनेको खानेकुरा नखाऔं ।

सही खानपान एउटा कुरा भो । अर्को महत्वपूर्ण कुुरा के भने, खाएको कुरा राम्ररी पचाउन सक्नुपर्छ । आहार कार्यको महत्वपूर्ण पाटो हो पाचन । खानामा रहेको पोषणलाई राम्ररी अवशोषण गर्ने, बाँकी रहेको विकारलाई राम्ररी निष्कासन गर्ने हुनुपर्‍यो ।

जब खानेकुरा राम्ररी पच्दैन पेटमा बोसो लाग्न थाल्छ । पेट बढ्न थालेपछि सर्तक हुनुपर्छ । बैंकको व्याज बढ्दा हामी जसरी सवाधान हुन थाल्छौं, त्यसरी नै पेटमा बोसो बढेपछि पनि सजग हुनुपर्छ ।

यी चाहि व्यवहारिक नियम भए । आयुर्वेदका दृष्टिले पनि केही नियम छन् । योगका दृष्टिले पनि केही आसन–क्रिया छन् ।

पाचन क्षमता बढाउने प्राकृतिक तरिका

बिहान उठ्नसाथ मनतातो पानी पिउनु पाचनका लागि सर्वोत्तम हो । विहान शौचालय जानुअघि मनतातो पानी पिउने । त्यसपछि गर्ने चार वटा आसन क्रिया छन् । जस्तो, ताडासन, तिर्यक ताडासन, कटि चक्रासन, उदर आकर्षण । यी आसनहरु कसरी गर्ने भन्ने कुरा अहिले युट्युबबाट पनि थाहा पाउन सकिन्छ ।

यी आसनपछि शौचालय जान सकिन्छ । राम्ररी दिसा हुन्छ । पेट सफा हुन्छ । शौचालयमा धेरै समय गुजार्नुपर्दैन ।

शौच क्रिया सकेपछि शरीरबाट पसिना निकाल्ने कुनै गतिविधि गर्न सकिन्छ । चाहे व्यायाम गरेर होस्, काम गरेर होस्, खेलेर वा दौडिएर । शरीरबाट पसिना आउनु भनेको पाचन प्रणाली बलियो बनाउनु हो ।

केही शक्तिबद्र्धक आसन छन्, जसले पनि पेटलाई बलियो बनाउँछ । सूर्य नमस्कार, प्रज्ञा योग लगायतका विधिहरु अपनाउन सकिन्छ ।

पेटलाई लक्षित गरेर अर्को योग क्रिया गर्न सकिन्छ, जसलाई अग्निसार क्रिया भनिन्छ । यो भनेको पेटलाई हल्लाउने हो । सास बाहिर छाड्ने र नरम पेटलाई मज्जाले अगाडि–पछाडि, तल–माथि, दायाँ–बायाँ हल्लाइदिने । यसले पेटको आन्तरिक मांसपेशीहरु सक्रिय र बलियो हुन्छ ।

गड्यौला हिँडे जसरी पेटमा रहेको मललाई बटारिदै, तन्किदै, गुडुल्किदै तलतिर ठेल्छ । पेटमा मल सढ्न पाउँदैन । पेट सफा हुन्छ ।

अब पेटलाई बलियो बनाउन प्राणायाम विधिहरु पनि गर्नु उपयोगी हुन्छ । अनुलोम विलोम, कपालभाती, भास्रिका जस्ता प्राणायामले पेटलाई बलियो बनाउँछ ।

सुधार गरौं गल्ती

हामीले गर्ने केही गल्ती छन्, जसले पेटलाई रोगी बनाउँछ । जस्तो एकै पटकमा धेरै खानु । खाना खानुसाथ सुत्नु । राती अपच हुनेगरी खानु ।

खाना खाने नियम छन् । जस्तो बिहान पुग्दो खाने त्यसपछि क्रमस खानाको मात्रा घटाउदै जाने । राती सकेसम्म थोरै र सुपाच्य खानुपर्छ । सूर्यअस्त अघि खानु सर्वाेत्तम हो । खाना खाएको दुई वा तीन घण्टापछि मात्र सुत्ने । वा खाना खाने र सुत्ने अवधिबीच दुई–तीन घण्टाको अन्तराल हुनुपर्छ ।

यसरी राती कम खाएपछि पेटमा सड्न पाउँदैन । भोलिपल्ट बिहान पेट हल्का र सफा हुन्छ ।

स्वादका लागि जंकफुड, फास्टफुड, प्याकेटबन्द, प्रसोधित खानेकुरा बन्द गरौं । सकेसम्म ऋतु, भूगोल, हावापानी अनुसार उत्पादन हुने प्राकृतिक भोजन गरौं । फाइबर र रेसादार खानेकुराले थाली भरौं ।

खानेकुरा खाँदा हतार नगरौं । दाँतलाई पनि काममा लगाऔं । मिहिन ढंगले चपाउन लगाऔं । यसरी विस्तारै, राम्ररी चपाएर खाएपछि त्यो खानेकुरा सुपाच्य हुन्छ ।

अन्नबाली उत्पादन गर्न बर्षदिन लाग्छ, त्यसलाई पकाउन तीन–चार घण्टा लाग्छ तर हामी खानका लागि दुई मिनेट पनि लगाउँदैनौं । खानामा समय दिऔं । आरमले, धैर्यले, आनन्दले, स्वादले खाऔं ।

खाना खानुअघि वा पछि पानी पिउनु उचित हुन्न । यसरी पानी पिउँदा खाना पचाउने विभिन्न किसिमको तत्व एवं इन्जाइमहरु पखालिन्छन् ।

पेटको अग्नी

आयुर्वेदले पेटमा ‘अग्नी’ हुन्छ भन्छ । यसलाई शरीर विज्ञानको भाषमाा ‘डाइजेस्टिभ फायर’ भनिन्छ । यो आगोलाई सधै प्रदिप्त बनाइरहनुपर्छ ।

अग्नी दुई प्रकारका हुन्छन् । एउटा बाहिरको, अर्को भित्रको । बाहिरको अग्नीलाई हामी फायर भन्छौं । घाम, आगो बाहिरको अग्नी हो । यसैगरी आयुर्वेदले हाम्रो शरीरभित्र पनि विभिन्न १३ प्रकारको अग्नी हुने बताएको छ । त्यसमध्ये पेटको अग्नी मूख्य हो, जसलाई उदर अग्नी भनिन्छ । यस अग्नीको काम हामीले खाएको खानेकुरालाई टुक्राउने, धुल्याउने, निर्चोने र पचाउने हो ।

शरीरको पनि आफ्नै तापमान छ । यसलाई सन्तुलित राख्न जरुरी हुन्छ । शरीरको अग्नीलाई कायाअग्नी भनिन्छ । यो बडो विचित्रको धर्ती जस्तै स्वचालित छन् । यसको आफ्नै गुरुत्वआकर्षण छ, रक्त निर्माण पक्रिया छ, धातु निर्माण संयन्त्र छ । आरोग्य निर्माण प्रक्रिया छ, वीर्य निर्माण प्रक्रिया छ, रजो निर्माण प्रक्रिया छ । शरीरको सुख निर्माण प्रक्रिया छ । बोध निर्माण प्रक्रिया छ ।

छ । शरीरको सुख निर्माण प्रक्रिया छ, बोध निर्माण प्रक्रिया छ त्यो सबै अग्निले गराउँछ । त्यसैले अग्नि महत्वपूर्ण छ ।

पेटको अग्नी प्रदीप्त भइरह्यो भने पेट सफा हुन्छ । तर, त्यो अग्नी निभ्यो भने अपच, अजीर्ण, कब्जियत जस्ता अनेकन रोग लाग्छ ।

पेटको अग्नी कसरी बढाउने ?

१. पेटको अग्नी बढाउन एउटा योग छ, अग्निसार । यसले पेटको अग्नी बढाउँछ ।

२. प्राणायाम गरौं । यसले प्राण शक्ति बढाउँछ ।

३. दिनमा एक पटक शरीरबाट पसिना निकालौं ।

४. शरीरलाई सिथिल हुन नदिऔं । हलचल गरिरहनुपर्छ । हिँडौं, खेलौं, काम गरौं ।

५. हप्तामा वा पन्ध्र दिनमा उपवास बसौं ।

६. बेलाबखत जडिबुटी खाऔं । जस्तो घिउकुमारी, अमला, त्रिफला । हर्रो पेटको सबैभन्दा राम्रो औषधि हो ।

७. रक्सी, मासु, चुरोट, जंकफुड, प्रशोधित खानाले पेटलाई दुःख नदिऔं ।



source https://www.onlinekhabar.com/2024/01/1414915

Post a Comment

0 Comments