“ उदास मेरो जीवन कथा कसैलाई भनिन
यो जन्मभरि सहेको व्यथा त्यो पनि भनिन्। “
मेरो कोठामा चिसो रात पसेको छ। अनि म मेरो बर्फिलो छातीलाई सिरकमा गुटमुट्याएर न्यानो बनाउने प्रयास गर्दैछु।
मेरो छाति चिसो छ। एकदमै चिसो। यो चिसोलाई मेरो तातो आँसुहरूले पनि पखाल्न सक्दैनन्। यद्यपि झ्याल खुल्ला छ। यही झ्यालबाट त हो, यी चिसा कठोर रातहरूले सन्नाटाहरु ल्याएर खन्याइदिन्छन्।
अनि अरूणा लामाका गीतहरू नि ?
अघि माथि नै उल्लेख गरेको गीतका हरफहरूबाट तपाईंले चिसो रात, वर्फिलो छाति, खुल्ला झ्याल… भित्र अरूणा लामाको गीत नै तत्व भनेर औंल्याइसक्नु भएको थियो हाेला। यो चिसो रातको घनत्व बढाउने यो भन्दा उपयुक्त तरिका अरू के नै हुन सक्छ र ?
म हरेक चिसा रातलाई यसप्रकार स्वागत गर्छु, अरूणा लामाका विरही स्वरहरूले। झ्यालबाट मेरो गुफामा प्रविष्ट रातप्रति कृतज्ञ हुन्छु – यो चिसो मनभित्र अझ चिस्यान थपिदिएकोमा।
‘ अब उदास मेरो जीवन कथा ‘ को कुरा ।
अलिकति पछाडि फर्किएर हेरेँ। अरू धेरैजनाको जस्तै मेरो मन पर्ने गायक नारायणगोपाल थिए। मेरो उक्त विश्वासलाई यो गीतले भने कम्पित तुल्याएको थियो । भैरवनाथ रिमालका अक्षरहरुमा अरूणा लामाका स्वर भरिदिएर नारायण गोपालले सङ्गीतद्वारा यतिबिघ्न सजाएका छन् कि उनलाई मनपर्ने गायक भन्दा पनि मनपर्ने संगीतकारको समूहमा स्थापित गर्न मन लाग्छ। यद्यपि यो मेरो गीतप्रतिको तीव्र अनुरागको कारणले पनि हुन सक्छ।
अरूणा लामा : अ ट्राजेडी क्वीन। मानौं की वहाँको कण्ठभित्र संसारभरिका जम्मै उदासी र विरह गाठिएर बसेको छ ।
अरूणा लामा, जसका गीतहरू जिन्दगी नामक सिनेमाका बहुसंख्यक पात्रहरूको प्रतिनिधि गीत बनेको छ।
यस्ता युग युगान्तर र त्यसपछि पनि बाँचिरहने गीतहरू कसरी गाउन सकिन्छ? संगीत सिक्नु, अभ्यासमा श्रेष्ठ हुनु मात्रले त अवश्य गाउन सकिँदैन। संगीत र मानिसको जीवन बीचको पार्थक्य मेटिएर दुवै कुरा एकाकार भएपछि मात्र यस्ता गीतहरूको भ्रूण तयार हुन्छन्। अझ त्यसमाथि विरह, उदासी जीवनका देन हुन्, जसलाई वाहिर निस्कनमा लागि उपयुक्त अवसर र माध्यम उपलब्ध हुनुपर्छ। र, त्यस्तो अवसर र माध्यम कला र सङ्गीतको आँगन बाहेक अन्यत्र कतै हुँदैन। अरूणा लामाका जीवनकथा र गीत सुनेर त्यस्तो अनुभव हुन्छ।
उफ्! ‘ उदास मेरो जीवनकथा ‘ सङ्ग भेटघाट त धेरैं पहिला भएको थियाे मेरो तर चिनजान भने अहिले भरखर मात्र भएको। अहिले भरखर। यो समय, जहाँ मलाई महसुस भइरहेको छ कि यो मेरो लागि जीवनभरिको सर्वोत्कृष्ट सङ्गीत हो अनि जीवनको बास्तविक अनुहार यही आवाज र धुनबाट मात्र प्रदर्शित हुन सक्छ, अरूबाट सम्भव छैन।
एकछिन है त! म तपाईंहरूलाई एउटा रहस्य भन्न गइरहेको छु। भेटघाट भएको यति धेरै समय अन्तराल पछिमात्र किन चिनजान भएको त? धेरै बर्ष अघि जब पहिलोपटक मैले यो गीत सुनेको थिए, मैले होसियारी पूर्वक सुनेको थिए, प्रत्येक शब्द र संगीतका मधुर लयहरूलाई केस्रा केस्रा छोडाउदै सुनेको थिएँ। तर यारो! अहिले म बेहोसीमा छु, नशामा छु, गीतको सुरुवात सङ्गै एउटा सघन मुर्छामा परेको छू। म बेहोसीमा गीत सुनिरहेको छु।
लाग्छ – मेरो ओठसम्म प्रवाहित भएका तर धरातलमा चुहिन नसकेका सम्पूर्ण छटपटाहट अभिव्यक्त हुँदै छ।
लाग्छ – मैले जीवनलाई चारैतिरबाट हेरिसकेको छु र पाँचौं दृष्टिको अन्वेषणमा छु।
बस्, चिनजान भइहाल्यो।
मानौँ, म कुनै सागर थिएँ। अकम्पित, शान्त, स्थिर। यो भन्दा पहिले मैले यो गीतलाई मानिसहरूको जङ्गलभित्र सुनेको थिएँ। तर मलाई थाहा थिएन, कुनै दिन यो गीत मानिसहरूको जङ्गलबाट उम्किएर मेरो प्रशान्त छातीमा तैरिन आउँछ भनेर। अहिले म गीतभित्र घोलिएको छु अनि आफ्नै ज्वारभाटाहरूद्वारा ग्रसित छु। आफ्नै लहरहरू उम्लिएर आफैंबाट भाग्न खोजे झैं गर्छन् फेरि मेरो क्षेत्रफलभित्र बाँधिन अभिशप्त छन्।
बस् चिनजान भइहाल्यो।
चिसो रातलाई अझ भयभीत पार्दै गीत बजिरहेको छ।
‘ कपुर जस्तो जीवन दिनदिन उड्दछ अनन्त
औँशीको रात विपतको खेल खेल्दछ बसन्त ‘
अरूणा लामा जी ! जीवनको सार के यति अल्प शब्दमा खिचिन सकिन्छ र ! यदि तपाईंसँग साक्षात्कार गर्ने मौका पाएको भए शायद हिम्मत समेटेर प्रश्न गर्ने थिएँ हाेला – अरूणा जी! यो जीवन किन कपूर जस्तो! दिनदिन, ढिलो, थोरैथोरै गरेर सकिन्छ? किन मैनबत्ती जस्तै? आफ्नै प्रकाशले आफै दिनदिनै, बिस्तारै बिस्तारै पग्लिएर मात्र सकिन्छ जीवन? के यो त परालको आगो झैं समापन हुनुपर्ने हैन र ? केही क्षणको चर्को क्रन्दन, त्यसपछि कथान्त। किन यस्तो हुन्छ, छटपटीभित्र अमूर्त खुशी खोज्ने झुटो कला सिक्दै दिनदिनै मर्नुपर्ने?
तपाईँले पनि सोध्न सक्नु हुन्छ। वहाँको तस्बिर हेर्नहोस् र सोध्नुहस्।
अरूणा लामाका तस्बिरहरू। सुन्दर मंगोलियन अनुहारमा एकदम सुहाउने हाँसोसहितका तस्बीर। अपुरा, अधूरा तस्बीर। म भित्र भित्रै छट्पटिए।
यस्तो कसरी हुन सक्छ? किन तपाईंको तस्वीर र तपाईँको स्वरमा निकटता भेटिन्न? तपाईँको सजीव मुस्कुराहट के यो अभिनय मात्र हो? के मानिसको जीवन अभिनय मात्र हो, मात्र अभिनय? वास्तविक अनुहार लिएर जिन्दगी काट्न सकिँदैन र?
अरूणा लामा जी ! मैले यो गीत एकै बसाईमा पचासौं पटक सुने। उही भोक, उही तृष्णा, उही व्याकुलता सहित। गीतका प्रत्येक अल्पविरामपछि म हुरुक्क भएको छु, गीतको समाप्ति पछिको गहिरो शुन्यताभित्र मैले आफूलाई जलाएको छु। लाग्छ – कसैले मेरो शरीरमा दौडिरहेको प्राणको मूल्य सोधेको छ, आजसम्मको सम्पूर्ण प्रयास, सङ्घर्ष, असफलता सबैको अघि प्रश्नचिन्ह उभ्याइदिएको छ, एउटा खोक्रो शून्यता देखिरहेको छु जसको अन्तिम आवरण पनि भक्षण हुने क्रममा छु। म निर्वस्त्र छु, मेरा सब वस्त्रहरू बेकार साबित भएका छन्। जीवन केही पनि हैन र!
म मेरो कोठाभित्र यो गीतलाई सुन्दै, सुनिरहदै धेरैबेर चिसो रातलाई छाम्दै सुतिरहेँ । हाम्रा कति धेरै आकांक्षाहरू हाम्रै अघि भस्म भए, जसका अन्तिम टुक्राहरूलाई हावाले धेरैबेर हाम्रो वरिपरि उडाईरह्यो। अब यो खाटबाट उठ्ने तागत छैन्। छाती गरहुंगो भएको छ, पैताला निदैसकेकका छन्। के शेष जीवन यसरी नै सधैंभरिका लागी सुतेर, बाँच्नुको परिभाषाभित्रको केवल एउटा मानक, श्वास फेर्नु – भित्र मात्र बाँच्न सकिँदैन र!
म कोल्टे फेर्दै आफ्नो छाती छाम्दै अतलिँदै छु। सोच्छु – किन उठ्न मान्दैनन् झोक्राईबसेका न्यानोपनहरू।
मआँखा उठाएर तपाईँको गीततर्फ हेर्न खोज्दैछु तर असफल हुन्छु। मेरो रक्तप्रवाह तीव्र छ। सिरेटोले हिरकाइरहेकाे छ । म फेरि पनि तपाईँको स्वरतर्फ आँखा जुधाएर कुरा गर्न खोज्दै छु, फेरि असफल हुन्छु। आँखामा जमेका धमिला स्वप्नहरू भत्किँदैछन्। अनि मेरो निद्रालाई सहारा दिन आएका स्वप्नहरू कुहिएर टुक्रा टुक्रा झरिरहेको छ। मलाई थाह छैन, म के गरौं? म भित्रको निस्तो आत्मा ओकलेर चोइटा चोइटामा खण्डित पारेर प्रत्येक चोइटामा नियालु की? मैले आफ्नो लागि भनेर सहेका सम्पूर्ण घाउहरूमा सिसा फोडेर त्यो पीडाभित्रको सार खोजु की? मेरो सेतो स्निग्ध सफा कागज- जहाँ हजारौं मानिसहरूको हस्ताक्षर छ – लाई मेटाउ कि? त्यसपछिको रिक्ततालाई भर्नु की?
( कोठाभित्र डोस्टोएभस्की, कामु र पारिजातका प्रेतात्माहरू शीघ्रातीशीघ्र सल्बलाइरहेका छन्। पारिजात कुजिएको शरीरलाई भित्तामा अडेस लगाउँदै भन्छिन् – “अभागा मान्छे ! मर्दैन पनि ।”
डोस्टोएभस्की ( ओभरकोटमा हात घुसार्दै ) – “ शिष्या यति धेरै अभागी मानिसहरू एउटा न एउटा बाहाना खोजेर घस्रीरहेका छन्, तिमी पनि एउटा बाहाना खोजिदेउ। “
रात तन्किरहेकाे छ। झ्याल बाहिर काला काला रूखहरू चुपचाप उभिरहेका थिए। अल्बर्ट कामु निदाएका पखेटा एकछिन तन्काए।
टेबलमा एउटा सादा कागज थियो। त्यहाँ कामु पेन्सिलले ठेगानाविहिन चिठी लेखिरहेका थिए – प्रिय! जीवन निश्चय नै दुर्गन्ध हो। त्यही दुर्गन्धमा फूल फुलाईरहनु र त्यसप्रति उत्साहित भईरहनु नै अन्तिम विकल्प हो। )
‘ विरही वनमा भौँतारि खेल्छु खोजेर सृजना । `
अन्त्यमा आएर त स्वीकार्नै पर्छ कि जीवन अन्तिम विकल्प हो। बाध्यताबस् पनि बाँच्नु पर्ने छ। नयाँ नयाँ अर्थहरूमा अल्झिँदै लड्दै बाचिरहनु। मृतक सपनाको चिहान कुल्चिएर नयाँ नयाँ स्वप्नहरू बुनिरहनु। बस्…बुनिरहनु मात्र। अर्थ नसोधीकन, आशा नराखीकन अनि निराशाभावले प्रताडित नभइकन।
अहो! यो कुरा स्वीकार गर्न कति गार्हो। सत्य सधै पराया भएर उभिदिन्छ जसलाई म सहजताका साथ अँगालो हाल्न सक्दिनँ।
कन्फ्युज्ड!
अरूणा लामा! हाम्राे चितको कोमलतालाई ध्यानमा राखेर तपाईँले गीत बनाउनु भएको भए नि हुन्थ्यो।
तर अहिले यो कुरा छोडौं! रात छिप्पीसक्यो, चिसो अग्लिसक्यो। म एक्लै यसरी छटपटिएर बस्न सक्दिनँ। मलाई इश्वरको स्तुति गाउनु छ। निदाइरहेको ईश्वरलाई व्युझाउनु छ अनि उसलाइ मेरा हृदयका रगतको भागीदार उसलाइ पनि बनाउनु छ।
source https://www.onlinekhabar.com/2024/01/1416021
0 Comments