Looking For Anything Specific?

Header Ads

ट्वीवेल्थ फेल : बेइमान शिक्षाको जगमा उभिएर इमानको लडाइ

कसैले सही भनेथ्यो, ‘नेपालीको आधा जिन्दगी त लाइन (पंक्ति)मा उभिएरै सकिन्छ । पढ्न गयो स्कुलमा लाइन, जागिरको खोजीमा लाग्यो लोकसेवा आयोगमा लाइन, कतै पार लाग्दैन फेरि विदेश जानुपर्‍यो एयरपोर्टमा लाइन !’ यसरी हामीलाई बच्चादेखि वयस्क हुँदासम्म कसले लाइनमा उभ्याइरहेको छ ?

उत्तर टर्रो छ, ‘विद्यमान शिक्षा प्रणालीले ।’

यो प्रणालीले दिने गुरुमन्त्र हो, ‘घुँडा धसेर पाठ घोक, रातभर जाग्राम बसेर भए पनि परीक्षा पास गर, दौडधुप गरेर जागिर खाऊ, जिन्दगीलाई सफल बनाऊ ।’

यही कुरा सिकाउन सरकारले वर्षेनि खर्बको अंकमा लगानी गर्छ । यसपालि मात्र १ खर्ब ९७ अर्ब २९ करोड ‘पढ्न र पढाउन’ भनी खर्च गरेको छ । तर, पढी-गुनी विद्यालयबाट निस्किएका थुप्रै युवा कहाँ छन् ?

एयरपोर्टको लाइनमा ।

‘श्रम भिसा’ च्यापेर उनीहरू प्रस्थान द्वार अघिल्तिर पंक्तिबद्ध उभिएका छन् । तथ्यांकले भन्छ, दिनहुँ औसत २२ सय युवा यसरी नै लाइनमा उभिने गर्छन् ।

आखिर गोलमाल कहाँ छ ? सिलसिलाबद्ध खोतल्दै जाँदा चोरऔंलाले देखाउँछ, राज्य प्रणाली । राज्य प्रणालीमा को छ ? सरकार । सरकारमा को छ ? नेताहरू । नेताहरू कहाँ छन् ? जताततै सर्वत्र । निजी शिक्षामा कृपा गर्नदेखि सामुदायिक शिक्षामा हस्तक्षेप गर्नसम्म उनीहरू हाजिर छन् ।

हामीले परिकल्पना गर्ने ईश्वर झैं उनीहरू नभएको कुनै ठाउँ छैन । पाठ्यपुस्तक तयार गर्नेमा छन्, छाप्नेमा छन्, शिक्षा नीति बनाउनेमा छन्, शिक्षक नियुक्तिमा छन्, शैक्षिक सामग्री खरिद–बिक्रीमा छन्, परीक्षा बोर्डमा छन्, जागिर दिने निकायमा छन्, लोकसेवा आयोगको ढोकामा छन् ।

नतिजा,

जसले आफ्नो कर्मको कोर्सबुकबाट ‘चिटिङ’ र ‘चाकडी’ सर्लक्क हटाएका छन्, उनीहरू जीवनभर ‘लाइन’मा उभिएका उभिएकै छन् ।

बेइमान शिक्षाको नतिजा

‘ट्विवेल्थ फेल’ यस्तै इमानीहरूको कथाव्यथा हो, जो राजनीतिक हस्तक्षेप र काइते शिक्षाको पेलानमा छन् । यदि शिक्षा प्रणाली र राजनीतिक व्यवस्था सही–सलामत हुँदो हो त चम्बल गाउँमा बस्ने मनोजकुमार शर्मा आफ्नै इमानको आलोकमा उभिएर शानदार जीवन बाँच्थे होलान् ।

पशु फार्म खोल्थे, दूध उत्पादन गर्थे, डेरी उद्योग चलाउँथे । श्रमको धरातलमा सुकिलो घरबार ठड्याउँथे । मायालु हजुरआमाको काखमा लुट्पुटिंदै, आफ्नै भान्सामा पाक्ने दाल–रोटी खाँदै आफूलाई अरू ऊर्जावान् बनाउँथे । चम्बल गाउँलाई तर्साइरहने डाकुहरूलाई वाल्मीकि बन्ने बाटो देखाइदिन्थे ।

जागिरे जीवनको उत्तरार्द्धमा उनका पिताजी यति अपमानपूर्वक ढंगले निलम्बित हुने थिएनन् । घरबार लथालिंग छाडेर मुद्दा–मामिलामा धाउने थिएनन् । आफ्नै आदर्शबाट हार खाएर धर्धरी रुने थिएनन् । बरु, उनको कार्यकुशलता र इमानको मूल्यांकन हुन्थ्यो । जागिरमा स्तरोन्नति हुन्थ्यो । राज्यको सेवामा अविचलित खटिए बापत सम्मानले विभूषित हुन्थे । र, आत्मगौरवले धपक्क बलेर सन्ततिलाई ‘हार मान्नुहुँदैन’ भनी आत्मबल दिइरहेका हुन्थे ।

तर, चम्बल गाउँको पार्टपूर्जा खराब छ ।

सरकारी अड्डादेखि विद्यालयसम्म स्थानीय विधायकको मुट्ठी र मूडमा चल्छ । त्यसैले जताततै ‘किर्ते काम’ हुन्छ । जबकि यस्तो काम सदर गर्न नचाहने निर्भीक कर्मचारीलाई जागिरबाट निलम्बन गरिन्छ । मनोजकुमारको पिता यसरी नै निकालिएका हुन् ।

जागिर गुमाएको साँझ पिता भन्छन्, ‘उच्च अदालत जान्छु । न्यायका लागि लड्छु । यी स्वाँठ र भ्रष्टहरूलाई छाड्दिनँ ।’

कुरा सुनेर आमा दुःखी हुँदै गन्थन गर्छिन्, ‘तपाईं गएपछि के हुन्छ ? घरखर्च कसरी टर्छ ? बालबच्चाले के खाएर बाँच्छ ?’

यतिबेला छोरो मनोजकुमार भन्दैनन्, ‘मैले पढेको छु । मसँग ज्ञान छ, सीप छ, क्षमता छ, आत्मविश्वास छ । केही न केही काम गर्छु । आयआर्जनको स्रोत जसरी पनि जुटाउँछु ।’ यसो किन भन्दैनन् ? किनभने उनले जुन ‘शैक्षिक धरातल’मा टेकेका छन्, त्यो आफैंमा बेइमान छ । त्यो शिक्षाले उनलाई ‘पास गर्न’ उक्सायो, ‘सक्षम’ बन्न होइन ।

तब मनोजकुमार भन्छन्, ‘चिन्ता नगर्नु आमा । १२ कक्षा पास त गरौं, चपरासीको नोकरी पक्का मिल्छ ।’

चिटिङ छाड

मनोजकुमार जहाँ पढ्छन्, त्यो विद्यालय पनि विधायककै स्वामित्वमा छ । अतः त्यहाँको शैक्षिक परिपाटी भनेको फगत विद्यार्थीलाई ‘परीक्षामा पास’ गराउनु हो । यी तन्नेरीको मनोविज्ञानले भन्छ, ‘जसरी हुन्छ केटो, पास गर ।’

१२औं कक्षाको परीक्षा हुन्छ । विद्यार्थीहरू नम्बरको होडबाजीमा लाग्छन् । पूर्ववत् ढंगमा चिट चोराउने र चोर्ने काम हुन्छ । ठीक यहीबखत दृश्यन्त सिंह नाम गरेका एक प्रहरी अधिकारी अनुगमनमा आइपुग्छन् ।

ती प्रहरी अधिकारीलाई ‘विधायकको विद्यालय हो’ भनी प्रभावमा पार्न नखोजिएको होइन । ‘डाकूको बालबच्चा पनि यहाँ पढ्छन्’ भनी धम्की नदिइएको होइन । सुलुक्कै ‘पैसाको बिटो’ दिएर लोभ नदेखाइएको पनि होइन । यद्यपि जब्बर प्रहरी अधिकारीले प्रिन्सिपललाई पक्राउ गर्छ । विद्यालयकै हाताबाट । विद्यार्थीकै सामुन्नेबाट ।

चम्बल गाउँमा यति दह्रो मुटु भएको त कोही देखिएकै थिएन । डीएसपी दृश्यन्त सिंह देखेर मनोजकुमारको मन मडारिन्छ । एक दिन हिम्मत गरेर उनले डीएसपीसँग सोध्छन्, ‘सर मलाई तपाईं जस्तै बन्नु छ । कसरी बन्ने ?’

डीएसपी सफा जवाफ दिन्छन्, ‘चिटिङ छोडनुपर्छ, बस् !’

यही मोडबाट मनोजकुमारले इमानको बाटो समात्छन् । अब उनले इमान, जिम्मेवारी र सपनाको समीकरण कसरी मिलाउँछ त ?

इमानको आड

इमानमा जति गुरुत्वबल हुन्छ यसलाई कायम राख्नु उत्तिनै कठिन पनि । मनोजकुमारले देखेका छन्, इमान नछोड्दा पिताले धेरै कुरा छाड्नुपरेको । जागिर, परिवार–सुख, बुढी आमा, समाज । आखिर उनले के पाए ?

एकदिन पिताजी थकित भएर भन्छन्, ‘बीउ–बिजनको कालोबजारीमा धेरै पैसा कमाइन्छ छोरा । अब पैसा कमाउनुपर्छ ।’

‘कस्तो कुरा गर्नुहुन्छ बुवा ?’ पिताको अनपेक्षित कुराले मनोजकुमारको मुटु हल्लिन्छ ।

पिता सुनाउँछन्, ‘बेइमानको विरुद्ध खडा रहँदा जीत सत्यको हुन्छ । मलाई यस्तै लाग्थ्यो । मूर्ख हुँ म । सत्यको चक्करमा मैले आफ्नो घर बर्बाद गरें ।’ उनी यतिमै रोकिंदैनन् । भन्छन्, ‘चौहानको (जसले उनलाई जागिरबाट निलम्बन गरेका थिए) खुट्टा ढोगौंला । उनले जुन भन्छ, त्यही फाइलमा हस्ताक्षर गरिदिउँला ।’

छोरालाई अँगालेर उनी रुँदै भन्छन्, ‘बेकार हो यो इमानदारी । हामी जस्तो मान्छेले कहिल्यै जित्दैनौं ।’

दिल्लीको यो पुरानो गल्ली, जहाँ एउटा साँघुरो, अँध्यारो र धुस्रोफुस्रो आटा मिलमा मनोजकुमार बस्छन् । आरामसाथ खुट्टा तन्काउन नमिल्ने यो कोठामा उनी त्यसै बसेका छैनन् । तीन घण्टा सुतेर, १५ घण्टा आटा पिसेर, ६ घण्टा पढाइमा त्यसै लागेका छैनन् । ग्वालियरमा बेखर्ची भई भोक–भोकै रात त्यसै कटाएका छैनन् । चियाको जुठो गिलास उठाउने र भुइँ पुछ्ने काम त्यसै गरेका छैनन् । हरेक दिन त्यही एकसरो लुगा लगाएर शहरका सुकिला युवासँग त्यसै होडबाजी गरिरहेका छैनन् । अँध्यारो रातमा बिजुलीको पोलमुनि बसेर पुस्तकका ठेलीहरू त्यसै कण्ठ गरेका छैनन् । भद्रगोल विद्यालयबाट चिट नचोरी मिहिनेतसाथ त्यसै पास गरेका छैनन् । चाहे त्यो थर्ड डिभिजन नै किन नहोस् !

‘हार पनि मान्नुहुन्न’ मनोजकुमार भन्छन्, ‘इमानदारीको थर्ड डिभिजनले बेइमानीको फस्र्ट डिभिजनभन्दा बढी खुसी दिन्छ ।’

मनोजसँग सपना छ । सपना प्राप्त गर्ने दृढ अठोट छ । अठोट साकार बनाउने त्याग, लगाव, मिहिनेत, श्रम छ । त्यसैको जगमा उनी एक दिन आफ्नो लक्ष्यको नजिक पुग्छन् । पुलिस अफिसरका लागि अन्तर्वार्तामा बोलाइन्छ । उनलाई सोधिन्छ, ‘न तिमीले १२ कक्षा फस्र्ट डिभिजनमा पास ग¥यौं, न अंग्रेजी जानेका छौं । जबकि तिम्रो प्रतिस्पर्धीहरू एक से एक तगडा छन् । उनीहरू आइटी टपर हुन् । उनीहरूलाई छाडेर हामी किन तिमीलाई छनोट गरौं ?’

मनोजकुमारको जवाफ सटिक छ, ‘उनीहरू टपर पक्कै पनि हुन् । तर, उनीहरूले त्यो सबै कुरा देखेका छैनन् जो मैले भोगेको–झेलेको छु ।’

सगरमाथामा पाइला राख्ने पहिलो व्यक्ति थिए, एडमण्ड हिलारी । तर, आङरिता शेर्पा पहिलो आरोही थिए जसले विना अक्सिजन त्यो टाकुरामा पाइला टेक्यो । ‘मलाई लाग्छ विना सहयोग चुचुरोमा चढ्नु ठूलो कुरा हो’ मनोज भन्छन्, ‘म यहाँसम्म विना अक्सिजन आइपुगेको हुँ । त्यो पनि खाली खुट्टा ।’

हार मान्ने छैन

विद्यमान व्यवस्थाले ठाउँ–ठाउँमा ‘परीक्षा’ नामक प्रवेशद्वार थपना गरेको छ, जसलाई पार गरेर मात्र अवसर भोग गर्न पाइन्छ । उक्त प्रवेशद्वारमा को कति अग्ला छन् भनेर त नापजाँच गरिन्छ तर को कस्तो धरातलबाट उठेका हुन् भनेर लेखाजोखा गरिंदैन । यही कारण माथिल्लो श्रेणी वा चरणकाहरू योग्य ठहरिन्छन् । र, अवसरको उपभोक्ता बन्छन् । बाँकी निर्धाहरू ?

राज्य प्रदत्त सेवा, सुविधा, अवसरबाट उनीहरू सधैं पाखा लगाइन्छन् ।

‘कति पटक तिमीले यो परीक्षा दिइसकेका छौं ?’ मनोजकुमारलाई सोधिन्छ । उनी सहज भावमा भन्छन्, ‘यो अन्तिम हो ।’

‘यदि तिमी यसपालि पनि छनोट भएनौ भने नि ?’

मनोज दृढतापूर्वक जवाफ फर्काउँछन्, ‘कुनै फरक पर्दैन । हार मान्ने छैन । आफ्नो लक्ष्यको प्राप्तिसम्म रोकिने छैन ।’

‘अन्तिम परीक्षा दिंदैछौं । लक्ष्यको प्राप्ति कसरी हुन्छ ?’

‘पुलिस अफिसर बन्ने लक्ष्य होइन, देशलाई सुधार्ने हो’ उनी भन्छन्, ‘यदि म छनोट भइनँ भने गाउँ गएर शिक्षक बन्छु । बच्चालाई यो कुरा पढाउँछु कि चिटिङ (किर्ते काम) नगर । यदि उनीहरूले कलिलो उमेरमा यो शिक्षा पाएमा जीवनभर किर्ते काम गर्ने छैनन् ।’

रि–स्टार्ट

भारतको एउटा डाकू प्रभावित गाउँबाट यो कथाको सुरुवात भएको थियो ।

कथाका सूत्रधार मनोजकुमार मिश्र नजिकिदो परीक्षाका लागि धमाधम चिट बनाउँदै थिए । किनभने उनलाई १२ पास गरेर जागिर खानुछ ।

पिताजी आफ्नी सानी छोरीलाई अटल बिहारी बाजपेयीको कविता ‘हार मान्ने छैन’ पाठ गराइरहेका थिए । किनभने उनी एक आदर्श पिताको रुपमा बाँच्न चाहन्छन् ।

ठीक यही बेला कसैले उनलाई ‘जागिरबाट निलम्बित भएको पत्र’ थमाउन आइपुग्छन् । किर्ते काममा हस्ताक्षर गर्न नमान्दा कार्यलयमा सानोतिनो लफडा भएको थियो, त्यही कारण उनी जागिरबाटै निकालिए ।

यसरी एउटा अनौठो द्वन्द्वबाट फिल्म ‘ट्वीवेल्थ फेल’को कथा अगाडि बढ्छ । जहाँ पिताजीलाई आफ्नो आदर्शमाथि प्रहार भएको छ त्यहीबाट छोरा मनोजकुमारले इमानको बाटो रोज्छन् । र, इमानलाई कहीँ कतै डगमगाउन नदिई संघर्षको मैदानमा हाम फाल्छन् ।

प्रहरी सेवामा लाग्ने दृढता लिएर ग्वालियर पुग्छन् । त्यहाँ पुग्दा दुईवटा कुरा एकसाथ घटित हुन्छ, हजुरआमाले साँचेर दिएको सबै पैसा बसमै हराउँछ । प्रहरी सेवाको परीक्षा तीन बर्षलाई स्थगित हुन्छ ।

न टेक्ने ठाउँ रह्यो, न समाउने ? अब उसले सून्यबाट आफुलाई कसरी उठाउँछ ? फिल्मले उनको सपना र संघर्षको प्रेरक कथा भन्छ ।

‘सपना देख । त्यसलाई पुरा गर्न कठोर संघर्ष गर । शानदार सफलता हासिल गर ।’ सरसर्ती हेर्दा फिल्मले यही कुरा भने जस्तो लाग्छ । तर, यो सफलताको कथा होइन बरु इमान, लगाव र दृढताको कथा हो ।

नोट :

विधु विनोद चोपडा निर्देशित यो चलचित्र ‘कसैको वास्तविक जीवनमा आधारित’ छ । मूलकथा मात्र होइन त्यसलाई लिपपोत गर्नका लागि जसरी दृश्यांश, ध्वनी, रंगमा रचनाशिल्प देखाइएको छ, सतहमा नभनिएका थुप्र्रै कुरा दर्शकले गहिरो अनुभूत गर्न सक्छन् । पात्रहरुले धेरै बोलेका छैनन् । नबोलेर पनि आफुलाई व्यक्त गरेका छन् ।



source https://www.onlinekhabar.com/2024/01/1417819

Post a Comment

0 Comments