‘मलाई ‘गुरू’ नभन्नुस् न, ‘सर’ भन्ने गर्नुस् । मलाई ‘सर’ भनेको नै मन पर्छ,’ उहाँ सोझै हामीसित भन्ने गर्नुहुन्थ्यो ।
उहाँ शिक्षण–पेसामा हुनुहुन्थ्यो र नेपाली विषय पढाउनुहुन्थ्यो । शरीर पातलो थियो । शिरमा ढाका टोपी सधै शोभायमान हुन्थ्यो । पावरदार चश्मा विशिष्ट पहिचान थियो । प्रायः देब्रे हातमा भाषा वा साहित्यसम्बन्धी केही पुस्तक हुन्थे । र, अक्सर दाहिने हातमा धुवाँ निस्कँदै गरिरहेको चुरोट ! अनौठो मान्न सकिने उहाँको त्यही विशेषता थियो– उहाँ नेपाली विषयको शिक्षक आफूलाई गुरू भनेको मन पराउनु हुन्नथ्यो !
‘किन त्यस्तो होला ?’ हाम्रो सहज जिज्ञासा हुने नै भयो ।
उहाँ, हीरामणि शर्मा पौडेल, म क्याम्पस पढ्ने ताका नेपाली विषय पढाउने उपप्राध्यापक हुनुहुन्थ्यो । उहाँ पहिले लामो समयसम्म त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा हुनुहुन्थ्यो । त्यहीं बस्दा उहाँले बोटे र कुमाल भाषाहरूसम्बन्धी दुईवटा अनुसन्धानमूलक पुस्तक पनि प्रकाशित गराइसक्नुभएको थियो । पछि उहाँ राजधानीमै कीर्तिपुर सरुवा हुनुभएको थियो । अध्यापन उहाँको जीवन–वृत्ति थियो, र समालोचना एवं भाषिक अनुसन्धानमूलक लेखन उहाँका प्रिय रूचि थिए । उहाँमा त्यही एउटा लत विकसित भएको थियो– निरन्तर चुरोटको धुवाँ उडाइरहनु पर्ने । अनि एक दिन त्यही लतले उहाँलाई असमयमै कालको गास बनायो, उहाँ क्यान्सर रोगले थला परेर लाइलाज अवस्थामा पुग्नुभयो र –त्यति शीघ्र इच्छा नहुँदानहुँदै पनि– यो संसार छाड्न विवश हुनुभयो । हरे ! विधिको यो लेखा, कसले के भन्न सक्छ र !
उहाँ किन आफूलाई ‘गुरू’ नभनेर ‘सर’ भन्न रुचाउनुहुन्थ्यो ? त्यसको बलियो कारण पनि उहाँसित थियो । उहाँँले नेपाली भाषामा एमए गर्नुभएको थियो । तर, सायद उहाँसित संस्कृतको परम्परागत ‘गुरूकुलीय शिक्षा पद्धति’, वा ‘ऋषिकुल शिक्षा’ अथवा ‘देवकुल शिक्षा’ पद्धतिहरूको सैद्धान्तिक भए पनि यथेष्ट अनुभवजन्य ज्ञान भने थिएन । त्यसैले सायद, उहाँ भन्ने गर्नुहुन्थ्यो, ‘अचेल ‘गुरू’ भन्ने शब्द एकदमै सस्तो भएको छ, जसले जसलाई पनि गुरू भनेर बोलाउन सक्छ । अरू त अरू, बस र ट्रकका चालकहरू पनि गुरू र गुरूजी भइसकेका छन् । बस वा ट्रक चलाउने पनि गुरू, हामी आजीवन खटेर विद्यादान गर्ने पनि गुरू ! अनि कसरी यो कुरा एउटै हुन सक्छ ? यो बाहेक पनि, अरूअरू विषय पढाउने चाहिं ‘सर र म्याम’, अनि हामी नेपाली विषय पढाउने मात्र चाहिं ‘गुरू र गुरूमा’ ?’
उहाँ शरीरको अन्तरकुन्तरबाटै आजित भएर बोले झैं भान हुन्थ्यो । यसो भनिरहँदा उहाँ आक्रोशको मुद्रामा देखिनुहुन्थ्यो, कहिलेकाहीं वादविवादमै ओर्लन भ्याउनुहुन्थ्यो, तर धन्य कहिल्यै रौद्र मुद्रामा भने प्रकट हुनुभएन !
उहाँले भने जस्तै, के ‘गुरू’ शब्द यति दीन हीन र मूल्यवत्ताहीन भइसकेको हो त ? मेरो मनमष्तिष्कमा चेतनाको घण्टी निरन्तर बजिरहन्थ्यो, र मलाई लागिरहन्थ्यो– के समयको प्रवाहसँगै ‘गुरू’ शब्दको अर्थ पनि पृथ्वी घुमें झैं घुम्न थालेको हो त !
सामाजिक जीवनका पाटाहरू नियाल्दा स्पष्ट देखिने तथ्य हो– शिक्षक, चालक र माझी एकसमान हुन्छन् । शिक्षकले सयौं र हजारौं शिक्षार्थीलाई विद्याको बाटो हुँदै जीवन–डुङ्गा तारीदिने बलियो सहाराको रूपमा काम गर्छन्, चालक र माझीले चिनारू–अनचिनारू अनगन्ती यात्रुलाई मानव–जीवनभन्दा पनि लामा–लामा बाटा र अथाह जलप्रवाहहरूले भरिएका नदी तारी दिन्छन् । जीवनको नदी तर्नेहरू वा प्राकृतिक नदी तर्नेहरू कहाँबाट कहाँ पुगिसक्छन्, तर शिक्षक, चालक र माझीहरू अक्सर उही आ–आफ्नै डुङ्गामा हुन्छन्– एकजना आफ्नो विद्यालयरूपी डुङ्गामा, त अर्का चाहिं वाहनरूपी फलामे डुङ्गामा वा नदीको तटीय क्षेत्रमा खडा गरिराखिएको काठको डुङ्गामा ।
माझीलाई, बोट चलाउने हुँदा, बोटे पनि भन्छन् । चालकलाई कोही ड्राइभर भनी बोलाउँछन, त कोही ‘पाइलट’ र धेरैजसो त गुरू वा गुरूजी । शिक्षकलाई एक नामले होइन, अनेक नामहरूले बोलाइन्छ, अनेक सम्बोधनहरूले पुकारिन्छ ।
अंग्रेजीमा टीचर, प्रोफेसर, मिस, सर, म्याडम वा म्याम भने पुग्यो । हिन्दीमा पनि बहुधा टीचरजी वा मास्टरजी भने पुग्ने गरेको छ । चिनियाँ, फ्रेन्च, स्पेनिश, जर्मन र अरूअरू भाषामा पनि यस्तै अनेक नाम हुँदा हुन् शिक्षकलाई सम्बोधन गर्ने । नेपालमा सर, मिस र म्याम भनेको त सुनिन्छ तर टीचर, टीचरजी या मास्टरजी भन्ने प्रचलन उस्तो देखिंदैन । शिक्षकजी भनेको त झनै कहीं कतै सुनिंदैन । अ“, गुरू वा गुरूमा वा गुरूजी भन्ने त चलन चल्ती नै छ ।
त्यसो त, समय आफैमा महान शिक्षक हो, असल गुरू हो । उसलाई हामी कुनै पृथक नामले सम्बोधन गर्दैनौं । सायद सिक्ने र सिकाउनेहरूको उस्तो नाम विशेष हुँदैन– फगत एउटा साइनो हुन्छ, गाँस्न सकेमा । गुरू शब्द आफैमा ओजपूर्ण र गम्भीर पनि छ । त्यसैले कुनै पनि खास महत्वको वा संवेदनशील प्रसङ्ग उठ्दा त्यसलाई ‘गुरु–गम्भीर’ भन्ने गरिन्छ । यसको अर्थ ‘गुरु जस्तो गम्भीर’ भन्ने पनि हुन्छ, जसको अर्थ हुन्छ– गुरु भन्ने पद आफैमा गम्भीर छ, दायित्वले भरिपूर्ण छ, जिम्मेवारीले भरिएको छ र कत्र्तव्यभावले सराबोर छ । मात्र दुई अक्षर ‘गु’ र ‘रू’ले बनेको भए पनि यसको सर्वव्यापकता, सर्वमान्यता र सर्वस्वीकार्यता अतुलनीय छ, संस्तुत्य छ ।
अतीतमा, शिक्षा–दीक्षाको थालनीका दिनहरूमा र त्यसपछि पनि धेरै समयसम्म ‘गुरू’ वा ‘आचार्य’ भन्ने शब्दमा कति ओज थियो ! कति महिमामण्डित थियो यो शब्द ! कति चमक थियो ! कति मान र सम्मान थियो ! खास–खास व्यक्तित्वका लागि आरक्षित गरिएर राखेको जस्तो ! तर समयक्रममा जसैजसै शिक्षाको विस्तार हुँदै गयो र शिक्षाको स्वरूप सेवा भन्दा पनि व्यवसायिक र संस्थागत बन्दै गयो, त्यससँगै ‘गुरू’ वा ‘आचार्य’ शब्दहरूमा विगतको त्यो महिमा र त्यो गरिमा रहेन ! ती सबैलाई अङ्ग्रेजीको एउटै शब्द ‘सर’ वा ‘मिस’ (अथवा म्याडम’) ले कति सहजै विस्थापित गरीदियो ! (अझ विस्थापित गर्दै जाने क्रम तीव्रतर हुँदै जाँदो छ) ।
शिक्षा मानिसको जन्मसिद्ध, मौलिक अधिकार हो । यथोचित् शिक्षाले नै उसमा बुद्धिको समुचित विकास हुन्छ, स्वतन्त्र चिन्तन–मनन गर्ने शक्ति विकसित हुन्छ । त्यस्तो शिक्षाको ज्योति फैलाउनेहरू शिक्षक हुन् । शिक्षाकै अर्को नाम विद्या हो । शिक्षाको ज्योति फैलाएर गाउ“, समाज र राष्ट्रलाई आलोकित गर्ने उनै शिक्षक–शिक्षिकाहरू हुन् । शिक्षकहरू अक्सर सौम्य, सरल र विद्यानिष्ठ हुन्छन् (यस्तो आमधारणा हो, सबै सहमत हुन पनि सक्छन् र नहुन पनि) । उनीहरुमा शिष्य–शिष्या वात्सल्य हुन्छ र हजारौं शिष्य–शिष्यालाई विद्यामृत पिलाएर पनि उनीहरू विद्या–परम्परालाई अगाडि बढाइरहनुपर्ने कुरामा कहिल्यै थाक्दैनन्, विद्यादान –जुन आफैमा एउटा कर्मयोग हो– मा सधै लागिरहन्छन् । बरू जीवन अनित्य छ, तर शिक्षा (र, शिक्षादान पनि) नित्य छ, शाश्वत छ, र सार्वभौम पनि ।
ती मानिसहरू, जो विद्यादान गर्छन्, उनीहरूको जहिले जति प्रशंसा गरे पनि कम्ती नै हुन्छ । यद्यपि, असल विद्यार्थी नै पछि गएर पनि असल शिक्षक–शिक्षिका नै बन्छ भन्ने केही छैन –धेरै दृष्टान्तहरू छन् जसले असल विद्यार्थी नै कालान्तरमा असल शिक्षक बनेको भन्ने सकारात्मक सन्देश दिँदैनन्– तर सम्भवतः धेरैजसो शिक्षक चाहिँ निश्चय पनि असल विद्यार्थी रहेकै हुन्छन्, हुनुपर्छ । आखिर त्यसै त भनिएको छैन नि– सिक्ने र सिकाउने (यस मानेमा पढ्ने र पढाउने) प्रक्रिया जीवनमा कहिल्यै टुङ्गिदैन ।
त्यसकारण विद्यादान गर्नेहरू असल हुन्, र महान पनि हुन् । उनीहरू विद्या सिक्न आउनेहरूलाई रुचाउँछन्, सकेको सिकाउँछन् र असल नागरिक बन्न एवं सफल जीवन यापन गर्न केही भए पनि सिकायौं भनेर सन्तुष्टि लिन्छन् । यिनै शिक्षक–शिक्षिकाहरू नै त हुन् जसले एक पुस्ताले प्राप्त गरेको ज्ञान अर्को पुस्तालाई हस्तान्तरण गरीदिन्छन, एक पुस्ताबाट अर्को पुस्तामा ‘पास’ गर्छन् । के हुँदो हो यदि यस्ता शिक्षक–शिक्षिका वा गुरू–गुरूमा नभएको भए ! मानिसहरूले, जसले जे जसरी सक्छ, आ–आफै सिक्नुपर्ने हुन्थ्यो ! यदाकदा दुर्लभ प्रतिभाहरूले त धेरै सिक्न सक्थे होलान्, तर संसार त अर्कै हुन्थ्यो होला ! परिवर्तित हुन्थ्यो होला ! किनभने अगिल्लो पुस्ताले हासिल गरेका ज्ञान, सीप, दक्षता, आदर्श, विचार आदि सबै कुराहरूबाट मानवता वञ्चित हुन पुग्थ्यो होला ! सम्भवतः त्यसैले, दुनियाँमा अहिले जति शिक्षण पेसामा मानिसहरू संलग्न छन्, अन्य कुनै एउटै पेसामा यति व्यक्तिहरू छैनन् ।
शिक्षा र अशिक्षा अनि ज्ञान र अज्ञान एक–अर्काका बैरी हुन्, जसरी घाम र छायाँ अनि अँध्यारो र उज्यालो । अँध्यारो भनेकै अज्ञानता हो जुन डरलाग्दो हुन्छ, खतरनाक हुन्छ तर ज्ञानको वृद्धिसँगै यो हराउँदै जान्छ– उज्यालो देखेपछि अँध्यारो भागे जस्तै । त्यसैले त भनिएको होला नि – अँध्यारोबाट उज्यालोतिर लैजाऊ … तमसोर्गमा ज्योतिर्गमय…।
नोबेल पुरस्कार विजेता भारतीय बंगाली साहित्यकार रवीन्द्रनाथ टैगोरले लेखेका छन्– ताराहरूले भने, हामी प्रकाश दिन्छौँ । अन्धकार हट्छ वा हट्दैन, त्यो भने हामीलाई थाहा छैन । हाम्रा गुरू–गुरूमाहरू अथवा मिस–म्याम–सरहरू पनि यस्तै हुन् । उनीहरूले हामीलाई शिक्षा दिँदा कसैलाई काखा र कसैलाई पाखा नगरी समान तवरले शिक्षा दिन्छन, दीक्षित गर्छन् । आफूभन्दा धेरै असल, आफूूभन्दा धेरै ज्ञानी र आफूभन्दा धेरै प्रभावशाली बनाउन प्रयास गर्छन् । कुन शिष्य र शिष्याले के कसरी त्यो शिक्षा ग्रहण गर्छन् भन्ने त स्वयं उनीहरूमाथि नै भर पर्छ, उनीहरूकै उत्सुकता, क्षमता र परिश्रममा भर पर्छ । गुरू÷गुरूमाहरूले प्रकाश छर्छन्, त्यस आधारमा जीवन–अ“ध्यारो हटाउन दीप प्रज्वलित गर्ने त स्वयं शिष्य–शिष्याहरू नै हो ।
सायद त्यसैले भनिएको होला– ईश्वर र भक्तपछिको दोस्रो सर्वाधिक पवित्र सम्बन्ध गुरू÷गुरूमा र शिष्य÷शिष्याको हुन्छ । यथा ः
गुरुर ब्रह्मा, गुरुर विष्णु, गुरुदेव महेश्वरः ।
गुरु साक्षात् परंब्रह्म, तस्मै श्री गुरुवे नमः ।।
‘गुरू’ भन्ने शब्द कति ओजपूर्ण छ भन्ने त ‘गुरू–गम्भीर’, ‘गुरूत्तर दायित्व’ वा ‘गुरूत्वाकर्षण’ पनि भन्ने गरिएबाटै थाहा पाउन सकिन्छ । आखिर चालकहरू पनि यस्तै गम्भीर प्रकृतिको उत्तरदायित्व वहन गरिरहेका हुन्छन्– कतै बहुमूल्य मालसामानको ढुवानी गरिरहेका हुन्छन् त कतै सयौँ मानिसलाई यता र उता गराइरहेका हुन्छन् ! तपाईं यात्रामा हुनुहन्छ भने अरू दर्जनौं यात्रुसँगै तपाईंको आयु–रेखा चालकले कुनै पनि क्षण केर–मेट गरीदिन सक्छ ! (चालकको दायित्व त्यति गम्भीर हुन्छ !) । हतार भइरहेको बेला अथवा कुनै अत्यावश्यक काम परेको बेला चालकले ठीक समयमा सकुशल ठीक ठाउँमा ल्याइपु¥याइदियो भने तपाइँ स्वतः भन्नुहुन्छ– ‘गुरूजी, धेरैधेरै धन्यवाद !’ (यसरी भन्दा त्यो अनादर वा हेय भएर होइन, पूर्ण कृतज्ञ भावले भरिएको उद्गार हुन्छ) ।
तसर्थ पनि, मलाई लाग्छ, ‘गुरू’ भन्ने शब्द हेय होइन, हुन पनि सक्दैन । ‘गुरू’को मान–मर्दन पनि हुन सक्दैन । गुरू भनेको सबैलाई स्नेह गर्ने, समानताको महान पाठ पढाउने र सद्भावको सन्देश प्रवाहित गर्ने व्यक्तिहरू हुन् ।
‘गुरू’– अर्थात्, जो बढी जान्ने छ र जसले अरूलाई केही सिकाउन वा डो¥याउन वा सहयोग पु¥याउन सक्छ । सिक्न र जान्न सक्ने हो भने जीवनमा जो पनि यस्तो गुरू हुन सक्छ– समाजमा, शिक्षामा, खेलकूदमा, मनोरंजनमा, अर्थात् हरेक क्षेत्रमा । मन मिल्ने सँगी–साथी पनि गुरू हुन सक्छन् । प्रकृति, वनस्पति वा जनावर, आफैँ पनि गुरू बनेर उपस्थित हुन सक्छन् ! सकारात्मक वा नकारात्मक कसरी के कति ग्रहण गर्ने हो भन्ने चाहिँ हामी आ–आफैँमा निर्भर रहन्छ ।
‘सर’ अङग्रेजी भयो, त्यसमा सम्मानसूचकता बढी झल्किन्छ । ‘गुरू’ वा ‘गुरूमा’ स्नेहिल छ र अपनत्वपूर्ण छ । ‘गुरूजी’ आदरार्थी छ, सम्मानार्थी छ । त्यसो त अब ‘गुरू’ शब्द अङ्ग्रेजी भाषाले पनि अपनाइसकेको छ, जहाँ धेरै जान्ने र बुझ्ने मानिसलाई ‘गुरू’ (र, पण्डित पनि) भन्न थालिसकिएको छ । त्यसकारण समान काम गर्ने मानिसलाई जे भनेर बोलाए पनि केही फरक पर्दैन, अर्थात्, उही पुरानै उक्तिमा, शेक्सपियरको उद्गार– गुलाफलाई अन्य कुनै नामले बोलाउँदा के त्यसको सुन्दरतामा कुनै कमी आउँछ र ! त्यसैले, ‘सर’लाई ‘गुरू’ भनेर बोलाए पनि, अथवा ‘गुरू’लाई ‘सर’ भनेर बोलाए पनि उनीहरूको व्यक्तित्व वा मान–सम्मानमा कुनै कमी आउँछ होला र ? तर्कनाहरूको जालो बुन्ने हो भने भन्न सकिन्छ– विगत अज्ञात समयदेखि ‘गुरू पूर्णिमा’ मनाइँदै आएको अनुभव छ, तर ‘सर पूर्णिमा’ मनाएको त, कुन्नि !
बिर्सन हुँदैन पनि– गुलाफमा काँढा पनि हुन्छन् ! सबै ‘सर’ ‘म्याम’ वा ‘गुरू’ वा ‘गुरूजी’हरू एकसमान हुँदैनन् । लोकभाकामा गुञ्जिने स्वरलहरी … ‘लान्छ क्यारे घुमाउन झिल्के डाइभरले…’ भनिए जस्तै उनीहरूमध्ये कतिले गैर–पेसागत, अमर्यादित र भत्र्सनायोग्य कार्य गरेका उदाहरण पनि बग्रेल्ती नै पाइन्छन् । सायद उहाँ हीरामणि ‘सर’ लाई यी सब कुराको राम्रो हेक्का थियो, उहाँ त्यस्ता विशिष्ट ‘झिल्के गुरूहरू’को कोटिमा पर्नु हुन्नथियो । त्यसैले उहाँ हामीसित आफूलाई ‘गुरू’ नभन्न जोडदार आग्रह गर्नुहुन्थ्यो ! यस्तोमा ‘सर’ नभएर ‘गुरू’ वा ‘गुरूजी’ नै निरन्तर सुनिरहनु पर्दा र त्यसरी नै सम्बोधित भइरहनु पर्दा के हुन्थ्यो होला ? उहाँ हीरामणि ‘सर’मा पर्याप्त सहनशीलता र धैर्यता पनि थियो, किनभने उहाँ अक्सर हामीसितको बहसमा दार्शनिक कार्ल माक्र्सको यो उक्ति दोहो¥याउने गर्नुहुन्थ्यो– तिमी आफ्नो बाटो लाग्दै गर, जसले जे भन्छ भन्न देऊ ।
समयको बित्दो प्रवाहममा जति–जति बेला ती नेपाली विषय पढाउने ‘सर’ को सम्झना आउँछ, मलाई लाग्छ, उहाँको जीवनानुभवले हामीलाई भनिरहेछ, सबैभन्दा महत्वपूर्ण हो– एकाग्रता, लक्ष्यमा पुग्ने दत्तचित्तता, र, लक्ष्यको प्राप्तिप्रतिको तन्मयता । अन्यथा, हावा–हुण्डरीहरू त जीवनमा सधैँ आइरहन्छन्, र गइरहन्छन् पनि । कतिपय आग्रहहरू पूरा नहुन सक्छन्, कति आग्रहहरू कालान्तरमा पूर्वाग्रहमा फेरिन सक्छन्, तर एक्लै भए पनि हिँड्नु त छँदैछ नि ।
त्यसैले मलाई भन्न मन लागिरहन्छ– जाम् जाम् गुरूजी जीवनको त्यो चौतारीमा, जहाँ आग्रह र पूर्वाग्रहहरू शेष रहँदैनन्, अनि जहाँ मानव र मानवताले सहज मुस्कान छर्न पाउने स्वतन्त्र एवं निर्बन्ध परिवेश हुन्छ ।
मलाई गुरूहरूको शाश्वत उपस्थिति मन पर्छ ।
००० ००० ०००
(जयदेव गौतमको नयाँ निबन्धसंग्रह ‘ती निला आँखा’ बाट । यही शुक्रबार माघ १९ गते विमोचन हुन गइरहेको यो निबन्धसंग्रह साझा प्रकाशनले छापेको हो । ‘लक्ष्मणरेखाका दासहरू’ पछि लेखक गौतमको यो दोस्रो निबन्धसंग्रह हो । व्यक्ति, जीवन, समाज र प्रकृतिका विविध आयाम समेटेर रोचक शैलीमा रचिएका एक्काइस ओटा मूलतः आत्मपरक निबन्ध यस पुस्तकमा संग्रहित छन् ।)
source https://www.onlinekhabar.com/2024/01/1426581
0 Comments