१७ पुस, काठमाडौं । परिपक्वताको खुट्किलो चढ्दै गर्दा नै रेवती गुरुङ पश्चिमा संसारसँग परिचित भइन् । अंग्रेजी साहित्यमा स्नातकोत्तर गर्दा उनले थाहा पाइन् कि सभ्यता र संस्कृतिको जग युरोप र अमेरिका रहेछ । विकास अध्ययन पढ्न थालेपछि थाहा पाइन्, विकास प्रक्रिया पनि पश्चिमबाटै सुरु भएछ । उनलाई लाग्यो, नेपालीहरू हर कुरामा विदेशीभन्दा, विशेषतः गोराहरूभन्दा पछाडि नै रहेछन् ।
संवत् २०७२को भूकम्प लगत्तै गुरुङ अध्ययनका सिलसिलामा फिनल्यान्ड पुगिन् । लैङ्गिकता, राजनीति तथा संस्कृतिबारे छोटो अध्ययनका क्रममा उनलाई फिनल्यान्डको एक परियोजना ‘फिनिस बेबी बक्स’बारे बताइयो । यस अन्तर्गत भर्खरै सुत्केरी भएका आमाहरूलाई बच्चा सुताउन कार्डबोर्डको एउटा बाकस र बच्चाका लागि केही जोर लुगा दिइने रहेछ । दोस्रो विश्वयुद्धपछि प्रचलनमा आएको त्यो बेबी बक्सले फिनल्यान्डेली आमा र नवजात शिशुमा अत्यन्त राम्रो प्रभाव परको उनले थाहा पाइन् ।
बेबी बक्सलाई गहिराइमा बुझ्न नपाई गुरुङले कोर्स पूरा गरिन् र काठमाडौं फर्किन् । आफ्नो नियमित काममा व्यस्त हुन थालिन् । कामकै सिलसिलामा जब केही नेपाली महिला उद्यमीलाई भेटिन्, उनले फिनिस बेबी बक्सलाई सम्झिइन् ।
करिब दुई वर्ष अगाडि उनमा महिला स्वास्थ्यका लागि फाइदाजनक नै हो भने त्यस्तो उद्यम नेपालमा कसैले गर्छ कि भन्ने जिज्ञासा उब्जियो । त्यो बाक्सामा केके सामान हुने रहेछन्, विस्तृतमा हेर्न मन लाग्यो । हेल्सिन्कीका साथीहरूलाई सम्पर्क गरेर एउटा बाक्सा मगाइन् ।
आम नेपालीजस्तै गुरुङलाई पनि लागेको थियो, युरोपको ‘विकसित’ मुलुकमा नवजात शिशु र आमाका लागि तयार गरिएका सामान अत्यन्त वैज्ञानिक होलान्, जुन उनले आजसम्म देखेकी नै छैनन् । ‘जसै बाक्सा खोलेँ, म त अचम्ममा परेँ,’ आज पनि त्यो दिन सम्झँदा उनको मुहारमा त्यही अचम्मित भाव देखिन्छ, ‘त्यो बाक्सामा राखिएको एउटा गन्जी त ठ्याक्कै हामीले सानामा लाएको भोटोजस्तै रहेछ ।’
फिनल्यान्डबाट आयातित भोटो देखेपछि गुरुङको दिमाग रन्थनियो किनकि त्यसले उनको आशा चकनाचुर गरिदिएको थियो । भोटै हेर्नु थियो भने युरो तिनेर त्यो बाक्सा किन मगाउँथिन् होला र ?
लगत्तै उनलाई जान्न मन लाग्यो, नेपाली र फिनल्यान्डेली समाजले कसरी बच्चाका लागि उस्तै खालका लुगा बनाए ? उनले खोज्न थालिन् । खोज लगत्तै गुरुङले निधो गरिन्, अब कसैले ‘फिनिस बेबी बक्स’को नक्कल गर्नुपर्दैन, बरु नेपाली मौलिकता देखिने त्यस्तै व्यवसाय सुरु गरे हुन्छ ।
र, गुरुङ विगत एक वर्षदेखि नेपाली समाजमा पुस्तौँदेखि चलिआएको शैलीमा भोटो र दौरासुरुवाल सिलाउँदै र बेच्दै छिन् । उनले यसलाई आफ्नो मूल व्यवसाय नै बनाएकी छिन् ।
नेपाली भोटोको वैज्ञानिकता
गुरुङले आफ्नो अनौपचारिक ‘रिसर्च’का क्रममा केही चाखलाग्दा कुरा पत्ता लगाइन् । आफ्नै नातागोता र छरछिमेका हजुरआमाहरूलाई उनले सोधिन्, किन बच्चाको भोटोमा भित्री राख्नुपर्छ ? किन तुना हाल्नुपर्छ, टाँक राख्न मिल्दैन ? बच्चा सुताउने तकियामा किन तोरीका दाना हाल्नुपर्छ ?
‘भोटोको भित्रीका मुख्य दुई काम रहेछन्, गर्मी हुँदा यसले पसिना सोस्छ । अनि बाहिरको खस्रो कपडाबाट बच्चाको नरम छाला जोगाउँछ । टिकाउका लागि बाहिरी कपडा भित्रीभन्दा अलिक खस्रो नै चाहिन्छ,’ आफ्नो सिकाइ सुनाउँदै गुरुङ भन्छिन्, ‘टाँक हाल्नुहुँदैन किनकि बच्चाले खेल्दाखेल्दै निल्न सक्छ । तुना भयो भने सजिलै सानोठूलो बनाउन मिल्छ र टिकुन्जेल लगाइदिन पाइन्छ ।’
उनलाई थाहा भयो कि बच्चाका भोटो र दौरासुरुवाल सिलाउन सुती कपडा खोजिन्छ किनकि यो पूर्णतः प्राकृतिक हुन्छ र बच्चाले चपायो, निल्यो नै भने पनि पचाउन सक्छ । तकियाभित्र भरिने तोरीका दानाले बच्चाको टाउकोलाई सही आकारमा विकसित हुन मद्दत गर्छन् । हेर्दा उस्तै देखिने कोदो वा अन्य दाना हाल्नुहुँदैन । तिनीहरू तोरीजस्ता नरम हुँदैनन् । कोदो त छिट्टै धुलिन्छ र खार लाग्छ । बच्चाको स्वास्थ्यमा असर पर्न सक्छ ।
नेपाली भोटोको वैज्ञानिकता बुझेपछि, अनि युरोपेली समाजमा पनि यस्तै मान्यता कायम रहेको देखेपछि गुरुङले नेपाली ‘बेबी बक्स’ बनाउने निधो गरिन् । नेपाली समाजमा प्रचलित कोक्रोभन्दा फिनल्यान्डको कागजी बाक्सा हलुका र सजिलो हुने सोची उनले बाक्साबारे अध्ययन गर्न थालिन् ।
उनी फेरि फेल खाइन् । ‘अध्ययनमा मैले कागजी बाक्साभन्दा कोक्रो नै राम्रो हुन्छ भन्ने पाएँ,’ उनी सुनाउँछिन्, ‘नेपालका घरका भुईँ राम्ररी बनाइएका हुँदैनन् । भुईँको चिसोले कागज बिग्रन्छ । बाँसको कोक्रो सजिलै कुहिन्न । चिसो हटाउन आवश्यकताअनुसार दुईतीन तहमा डस्ना बिछ्याउन मिल्छ ।’
यो सोचाइपछि उनले भोटो र दौरासुरुवालसँगै कोक्रोको पनि व्यापार गर्ने योजना मात्र बनाइनन्, आफ्नो ब्रान्डको नाम नै ‘कोक्रोमा’ राखिन् ।
जगमा महिला सशक्तीकरण
अध्ययन सकेर फिनल्यान्डबाट फर्किएको तीन वर्षपछि ‘फिनिस बेबी बक्स’ मगाउन केले घच्घच्यायो होला गुरुङलाई ?
‘मैले नेपालमै चलचित्र निर्माणसम्बन्धी एउटा तालिम लिन पाएँ, त्यसमा हामी महिलामात्रै सहभागी थियौँ,’ अचेल वृत्तचित्र निर्माण र भोटो उद्योगलाई सँगसँगै अगाडि बढाएकी गुरुङले गाँठो खोलिन् । तालिमका क्रममा एक लघुचलचित्र बनाएपछि उनलाई अभ्यासका लागि आफैं केही गर्न मन लाग्यो । त्यसैले काठमाडौंको बौद्धमा एक महिला उद्यमीले स्थापना गरेको ‘दृचु’ नामको कपडा ब्रान्डबारे वृत्तचित्र बनाइन् । करिब त्यही बेला गरिबी निवारण कोषले विभिन्न जिल्लामा रहेका महिला उद्यमीबारे वृत्तचित्र बनाउनका लागि प्रस्ताव आह्वान गर्यो । केही वर्ष अगाडि आफूले चिनेका फिनल्यान्डेली वृत्तचित्रकर्मी ग्यारि ओर्नेलसँग मिलेर उनले आवेदन दिइन् । कोषले गुरुङ र ओर्नेललाई छान्यो ।
‘संवत् २०७४को पुसदेखि फागुनसम्म हामी पूर्वको ताप्लेजुङदेखि पश्चिमको दैलेखसम्म डुल्यौँ,’ ओर्नेललाई साक्षी राखेर गुरुङ सुनाउँछिन्, ‘हामीले ढाका कपडा, मिथिला चित्रकलादेखि बाँसका ढकियासम्मका कथा खोज्यौँ ।’
यात्राका क्रममा गुरुङले नेपाली महिला उद्यमीका अवसर र चुनौती बुझ्न पाइन् । ‘उनीहरूले राम्रै काम गरिरहेका थिए, तर म चाहिँ खुसी हुन सकिनँ किनकि उनीहरूसँग बजार थिएन । त्यसैले त्यो उद्यम दिगो हुन्छ भन्ने निश्चित थिएन,’ उनी भन्छिन् ।
गुरुङले दृचु र ती उद्यमहरूको तुलना गरिन् । दृचु बढी सफल देखियो किनकि यसको बजारमा पहुँच थियो । यो उद्यम मात्र थिएन, ब्रान्ड थियो ।
हो, त्यही बेला उनले नेपाली महिलाले बजार पाउने गरी केके उद्यम गर्न सक्छन् भन्ने सोचिन् र ‘फिनिस बेबी बक्स’लाई सम्झिइन् ।
‘तर उद्यम गर्छु भन्ने त कतै थिएन । त्यो मेरो विषय पनि होइन । स्कुलमा हिसाब राम्ररी पढिनँ । अहिले पनि घरमा कसैले कुनै व्यवसाय गरेको छैन,’ उनी सुनाउँछिन्, ‘मैले समग्र नेपाली महिलाका लागि के हुनेरहेछ हेर्न खोजेको थिएँ ।’
प्रारम्भिक लक्ष्य महिला सशक्तीकरण भएकाले आफूले आफ्नो व्यवसायमा आज पनि महिला सशक्तीकरणलाई केन्द्रमा राखेको गुरुङको दाबी छ । ‘अध्ययनकै चरणमा मैले पत्ता लगाएँ कि नेपाली कारागारका धेरै कैदीहरूले सुती कपडा बुन्ने रहेछन्, तर बजारमा पहुँच रैनछ । त्यसमध्ये धेरै महिला रहेछन् । त्यसपछि म केन्द्रीय कारागार गएँ र सहकार्यको प्रस्ताव राखेँ,’ उनी सुनाउँछिन्, ‘आज हामीले उनीहरूलाई बजार दिएका छौँ ।’
‘कोक्रोमा’मा हाल छ जना सूचीकार कार्यरत छन् । ती सबै महिला नै हुन् । उनीहरूलाई प्रचलित बजारभाउ र श्रमका हिसाबले समुचित पारिश्रमिक दिएको गुरुङको दाबी छ ।
बजार प्रतिक्रिया
आफ्ना कर्मचारीलाई ‘समुचित’ पारिश्रमिक दिएको दाबी सुन्दा लाग्छ कि उनका भोटो र दौरासुरुवाल पहिलो दिनदेखि नै बजारमा सजिलै भनेकै मोलमा बिके ।
‘होइन नि, कहाँ हुनु ?’ उनी हाँस्छिन्, तर तुरुन्तै निन्याउरो मुख पार्छिन्, ‘सुरुका दिनहरू दिक्कलाग्दा थिए । पोहोरको पुससम्म हामीले २० जोर लुगा बनाएका थियौँ, तर कसैले किनेनन् । अनि म आफन्तका घरघर डुल्न लागेँ ।’
‘एक दिन दिउँसो एक जना आन्टीकोमा गएकी थिएँ । उहाँले त ‘मन परेन’ भन्दिनुभो । मलाई साह्रै नराम्रो लाग्यो,’ बिग्रिएको मुड अलिकति राम्रो होला कि भनेर उनी बौद्धकै एउटा कफी पसल गइन् । उनले हातमा एउटा झोला बोकेकी थिइन्, जसमा आन्टीले किन्न नमानेका लुगा थिए ।
‘त्यहाँ मेरो साइडमा एक जना विदेशी महिला आएर बसिन् र मलाई झोलामा के छ सोधिन् । मैले बताएँ । उनले मलाई ध्यान दिएर सुनिन् । हतार भइसकेछ क्यारे, ‘इमेलमा कुरा गरौंला, उद्यम गर्ने रिहछौ, म पनि लगानी गरिदिन सक्छु’ भनेर इमेल ठेगाना दिएर गइन् ।’
गुरुङलाई ती अपरिचित महिलाको कुरा पत्यार लागेन । पाँच मिनेट कुरा गर्दैमा लगानी गर्छु भन्ने मान्छेको कुरा पत्याउनु पनि भएन नि ! ‘तैपनि, इमेल गर्दा के बिग्रेला त भनेर इमेल चाहिँ गरेँ ।’
केही दिनमा जवाफ आयो । कुराकानी अगाडि बढ्दै जाँदा अमेरिकाकी क्रिस्टिना हेन्रिक्वेजले १५ हजार डलर लगानी गर्छु, तर किस्ताकिस्ता गरेर पैसा पठाउँछु भनिन् ।
आजसम्म उनले छ हजार डलर पठाइसकिन् । गुरुङको कारखानाका सुरुका सात मेसिन हेन्रिक्वेजकै पैसामा किनिएका हुन् । पहिलो कर्मचारीलाई तलब पनि उनैले खुवाइन् ।
हेन्रिक्वेजले पठाएको पैसा समेत गरी हालसम्म करिब २० लाख रुपैयाँ लगानी भएको छ, ‘कोक्रोमा’मा । एक वर्षको अवधिमा लगानी मोटामोटी उठिसकेको छ । अब भने आफ्नो व्यवसाय आत्मनिर्भर भयो कि भन्ने उनलाई लागेको छ, किनकि हालसालैको एक महिनामा करिब एक लाख रुपैयाँ खर्च हुँदा त्यसको दोब्बर कमाइ भएको आँकडा गुरुङसँग छ ।
गुरुङका आधाउधी ग्राहक विदेशी छन् । गरिबी निवारण कोषको परियोजनामा सँगै काम गरेका ओर्नेलले नेपाली भोटो र दौरासुरुवाल विदेशी बजारमा पुर्याउन सहयोग गरेका छन् । उनले कम्पनीको वेब्साइट र अन्य प्रचार सामग्री पनि बनाइदिए । गुरुङ उनलाई आफ्नो ‘मेन्टर’का रूपमा चिनाउन चाहन्छिन् ।
‘तर पनि हामीजस्ता स्टार्टअपलाई धेरै चुनौती छन्,’ गुरुङ भन्छिन् । उनकाअनुसार नेपाली उपभोक्ता नेपालमा बनेका सामग्री आयातित ब्रान्डभन्दा सस्तो हुनुपर्छ भन्ने अपेक्षा गर्छन्, तर गुणस्तरको भने वास्ता गर्दैनन् । ‘धेरैले हामीजस्ता स्थानीय ब्रान्डको सम्मान गर्दैनन्, तर हामी यसलाई बदल्न चाहान्छौं ।’
तस्वीरहरू : ग्यारी ओर्नेल
source https://www.onlinekhabar.com/2020/01/825256
0 Comments