१७ माघ, काठमाडौं । बुधबारदेखि सुरु नेकपा बैठकमा उठेका विषयले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् । त्यस्तै, कोरोना भाइरस संक्रमण, छाउगोठ भत्काउने सरकारको निर्णयको प्रभावकारितामाथि पनि अखबारहरूले नजर लगाएका छन् । क्रिकेटर क्रिस गेल नेपाल आउन लागेको खबर पनि आज छापिएका छन् ।
‘यस्तो छ कारागारमा महराको दैनिकी’ शीर्षक दिएर नागरिकले पूर्वसभामुख कृष्णबहादुर महराको कारागार दैनिकी उतारेको छ । नागरिकका अनुसार गत कात्तिक २५ गतेदेखि डिल्लीबजार कारागारमा रहेका उनलाई भेट्न जानेहरूको लर्को नै लाग्ने गरेको छ । अहिलेसम्म उनलाई भेट्न १० हजार बढी आफन्त र कार्यकर्ता पुगेको कारागारको भनाइ छ । तर उनलाई सामान्य कार्यकर्ता र आफन्तबाहेक भीआईपी भने जाँदैनन् ।
‘अरू कैदीलाई भेट्न फाट्टफुट्ट रूपमा भए पनि शीर्ष नेता नेताहरू आइरहेका,’ कारागारका एक कर्मचारीले नागरिकसँग भनेका छन्, ‘तर महराज्यूलाई भेट्न शीर्ष नेताहरू कोही नआएको देख्दा अनौठो लागेको छ ।’
त्यसो त महरा आफैं पनि सञ्चारकर्मी र कर्मचारीसँग भेट्न अनिच्छुक छन् । कारागार चलान भएलगत्तैदेखि उनले कर्मचारीसँग पत्रकार आए भेट्न नदिनू भनेको नागरिक समाचारमा उल्लेख छ ।
सन्चोबिसन्चो सोध्ने कर्मचारीलाई उनले ठीक छ भनेर टाउको हल्लाउने गरेका छन् । समाचार अनुसार महराको दायाँ बाया २५÷३० जना कैदी छन् । तर उनी ती कैदीहरूसँग पनि खासै बोल्दैनन् ।
source https://www.onlinekhabar.com/2020/01/832651
0 Comments