मेरो ‘कम्प्युटर-सम्बन्ध’ र ‘डिजिटल-साक्षरता’ धेरै ढिलो सुरु भयो, जनआन्दोलन २०६२/६३ पछि भने पनि हुन्छ । २०५६ तिर स्थानीय झुम्का बजारको एक कम्प्युटर सिकाइ केन्द्रमा सिक्ने प्रयत्न गरेको थिएँ । दिनको एक घन्टाको पालो कुरेर करिब २ महिनामा पनि टाइप गर्न सक्नेसम्म भइनँ । त्यसपछि झर्को लागेर छोडिदिएँ ।
२०६३ पछि आफ्नै ‘डेस्कटप’ किनें । गुरु थपना विनै आफैं मध्यरातसम्म अभ्यास गर्ने भएँ । त्यो बेलाको सबैभन्दा ठूलो समस्या थियो- लोडसेडिङ । दिनको ८ घन्टासम्म लोडसेडिङ हुन्थ्यो । बिजुली आएकै बेला पनि ‘डेस्कटप’ ले तान्ने जति भोल्टेज हुँदैनथ्यो । बिजुली, डेस्कटप र भोल्टेजको तालमेल कुर्दा मध्यरात सबैभन्दा उपयुक्त समय हुन्थ्यो ।
त्यसअघि त सबैले किताबमै पढ्ने हो । हातले नै लेख्ने हो । त्यो बेला पनि म साप्ताहिक स्तम्भ लेख्थें- पूर्व धरानको ब्लास्ट टाइम्स दैनिकमा ‘लेˆट ट्रयाक’ । तीनपटक लेख्नुपथ्र्यो । पहिलो पटक खेस्रा गर्ने । दोस्रो पटक काटकुट, थपथाप गर्ने, मिलाउने । तेस्रोपटक फोटोकपी पेपरमा सार्ने फ्याक्स गर्नका लागि । यस्तो बेला पनि कुनै हप्ता नबिराई करिब ३ वर्ष लेखेको अनुभवले अझै रोमाञ्चित गर्छ ।
त्यो बेला म सोच्थें- मदनमणि माड्साबले ‘माधवी’ लेख्दा सातपटक साफी गरे रे ! त्यो मेहनत र दुःखको अनुभूति आजका मान्छेसँग होला ? त्यत्रो मोटो किताब, सातपटक पुनर्लेखन, कति धेरै दुःख, कति धेरै मेहनत !
मसँग आधुनिक मोबाइल फोन नहुँदै मेरो फेसबुक एकाउन्ट मेरा मित्र, आजका चर्चित लेखक तथा स्तम्भकार केशव दाहालले खोलिदिएका थिए, आफ्नो अफिसमा बोलाएर । त्यही एकाउन्ट चलाउँदैछु आज पनि । फेसबुक चलाउन पासवर्ड खल्तीमा बोकेर स्थानीय ‘साइबर’ हरूमा जान्थें । ट्वीटरमा त केही वर्षपछि मात्र छिरियो ।
केही महिना फेसबुक चलाएपछि एउटा लेख लेखेको थिएँ । शीर्षक थियो- फेसबुक पुस्ताको क्रान्ति ।
जुन दिन आफूसँग बिजुली नभएको बेला ब्याट्रीले वा कम भोल्टेजमा पनि चल्ने ल्यापटप र आधुनिक मोबाइल फोन भयो- संसार जितेजस्तो लागेको थियो ।
त्यो लेख म आज पनि सम्झिन्छु । त्यसमा मैले फेसबुकले नयाँ पुस्तामा के-कस्तो प्रभाव पार्ने छ र राजनीतिक क्रान्तिहरूको प्रवृत्ति कसरी बदलिनेछ भन्ने अनुमान गर्न खोजेको थिएँ । त्यो ‘अरब स्पि्रङ’ वा भारतको ‘अन्ना हजारे आन्दोलन’ भन्दा पनि केही वर्षअघिको कुरा थियो । त्यही बेला हामी केही साथीहरू मिलेर ‘वैकल्पिक राजनीति’ को पैरवी सुरु गरेका थियौं । त्यसको एउटा पाटो ‘डिजिटल युग’ मा लोकतन्त्रको प्रवृत्तिमा कस्तो बदलाव आउँछ वा आउनुपर्छ भन्ने पनि थियो ।
सार्वजनिक बौद्धिक विमर्शमा संसारभरि नै यो देखिन्छ कि इतिहास के हो ? मानिसको सोच कसरी निर्माण हुन्छ, बदलिन्छ वा आकारित हुन्छ ? समाज, राष्ट्र र राज्य कस्तो बन्दै जान्छ ? के यसको कुनै बनिबनाऊ वा क्रमबद्ध ऐतिहासिकता छ कि यो गैरएकलरेखीय छ ?
कसैले भने कि इतिहास वर्ग-संघर्ष हो, कसैले धर्म-संघर्ष । कसैले नश्ल, वर्ण, जाति, संस्कृति, सभ्यता माने । कसैले अहं, सत्ता र शक्ति संघर्ष ठाने । ‘डिजिटल युग’ सम्म आइपुग्दा यी सबै प्रकारका बुझाइप्रति मेरो विश्वास उठिसकेको थियो । त्यसो हुनुका अरू पनि कारण थिए तर एउटा कारण डिजिटलीकरणपछि मानवीय आचरणमा आएको बदलावलाई नजिकबाट अनुभव, अभ्यास र अनुभूत गर्नु थियो ।
यो हाम्रो पुस्ताका लागि बिल्कुलै नयाँ, अकल्पनीय र आश्चर्यजनक कुरा थियो । हाम्रो पुस्ता बोरा बोकेर स्कुल जाने, काठको कालो स्लेटमा कमेरो माटोको खरीले लेख्ने, साइकल चढ्न पाउँदा निजी जहाज चढेभन्दा बढी खुशी हुने, स्कुल बाहेकको समयमा होमवर्क हैन, घाँस-दाउरा गर्ने युगबाट आएको हो ।
आज लाग्छ- इतिहास न वर्ग-संघर्ष मात्र हो न धर्म-संघर्ष, न नश्ल-संघर्ष मात्र हो, न जाति-संघर्ष र वर्ण-संघर्ष, न शक्ति मात्र संघर्ष हो न सभ्यता संघर्ष । यथार्थमा इतिहास सोच-संघर्ष हो । फरक बुझाइ र अवधारणाबीचको संघर्ष हो । फरक-फरक सपना, परिकल्पना र परियोजना बीचको संघर्ष हो । मान्छेले कुनै अस्तित्व वा परिघटनालाई कसरी बुझे, कस्तो बुझाइ वा समझ बनाए, तिनीहरू बीचको संघर्षले नै आजसम्मको मानव जातिको इतिहास बनेको हो ।
यो कुरा मूलतः माक्र्सवादी अर्थात् द्वन्द्वात्मक भौतिकवादी मित्रहरूलाई चित्त बुझ्दैन भन्ने भलिभाँती थाहा छ । उनीहरूको प्रश्न हुनेछ- सोचको आधार के हो ? कहाँबाट आउँछ सोच ? सोच आफैंमा एक आधेय हो, वस्तुगत आधारको उपरीसंरचना हो । प्रष्ट छ- यो तर्क आधार र आधेयबीचको ‘डाइलेक्टिस’ बाट बनेको छ । तर, यो संसारमा सबै चिज यही फम्र्याटमा छैनन् । सबै अवधारणाको ढाँचा आधार र उपरीसंरचना मात्र हैन, व्यतिकरण र गतिशील सन्तुलन पनि हो भन्ने उनीहरू बुझ्दैनन् ।
तसर्थ इतिहासको सार संघर्ष मात्र पनि हैन- सामञ्जस्यता पनि हो । विचारहरूको संघर्ष मात्र हुँदैन, संभोग र समागम पनि हुन्छ । बिल्कुलै फरक विचार एकसाथ सँगै हिंड्न नसक्लान्, तर एकअर्काको अस्तित्वलाई नै अस्वीकार गर्नु जरूरी हुँदैन । विचार समानान्तर मात्र हैन, पूरक पनि हुन्छन् । सोच, संघर्ष र सामञ्जस्यताको गतिशील सन्तुलन हुुन्छ ।
मानवीय सोच र इतिहासको प्रवृत्ति निर्माणमा चित्तवृत्तिको भूमिकालाई उनीहरूले छोडेका हुन्छन् । के यो हो चित्तवृत्ति ? यसलाई बुझ्न एउटा सानो उदाहरणमा भनौं । मानौं कि कुनै मानिस गरिब छ । यो एक वस्तुगत यथार्थ हो । माक्र्सवादले भन्छ कि एउटा वस्तुगत यथार्थमा एउटै सोच पैदा हुन्छ । सबै गरिब मिलेर क्रान्ति गर्दछन् । गरिब हुने वस्तुगत यथार्थबाट उब्जिने सोच क्रान्ति हो । सर्वहारा-क्रान्ति ।
कुरा यति सजिलो हुन्थ्यो त आज राजनीतिक प्रवृत्तिहरू यति धेरै छिरलिने थिएनन् । कतै नवफासीवाद र कतै अन्धराष्ट्रवादको उदय हुने थिएन । मार्कोस जुनियरले फिलिपिन्समा चुनाव जित्ने थिएनन् । रूसका पुटिन र टर्कीका एर्दोगानले यति धेरैपटक चुनाव जित्ने थिएनन् ।
यसको अर्थ हो कि वैयक्तिक चित्तवृत्ति र आम मनोवृत्तिका कारण एउटै वस्तुगत आधारबाट उत्पन्न हुनसक्ने परिणाम फरक-फरक हुन सक्दछ । आज संसारमा यही विचित्रको तानातानी छ । र डिजिटल युगले यो तानातानलाई झनै सतही बनाइदिएको छ । आजका संकटहरू आजका संकट हुन् । तर, ती आम नियमकै नयाँ श्रृंखला हुन् ।
फेसबुक चलाउन पाएको रोमाञ्चमा केही महिना नबित्दै लेखेको ‘फेसबुक पुस्ताको क्रान्ति’ मा मैले यसको सकारात्मक पाटोको व्यापक चर्चा गरेको थिएँ । कारण- यसको नकारात्मक पाटो अनुभूत भइसकेकै थिएन । त्यो सकारात्मक पाटो थियो- सम्पादित आमसंचारमाध्यमको प्रभावबाट जनसाधारण मुक्त हुनु । मुक्ति क्रान्तिको सधैं एक मुख्य अपील हुन्छ । कुनै न कुनै प्रकारको बन्धन, सीमा वा व्यवधानबाट मान्छेले निस्कन पाउँछ भने त्यो मुक्ति हो । त्यो क्रान्ति हो ।
मान्छेको अन्तिम आकांक्षा मुक्ति हो । सबै प्रकारका बन्धनबाट मुक्ति । सबै प्रकारका अस्वतन्त्रताबाट स्वतन्त्र । सबै प्रकारको शोषण र शासनबाट निर्बन्ध । ‘डिजिटल युग’ ले यसको विस्तार गर्छ । कम्तीमा संचारमा सबैको पहुँच पुग्छ । संचार पहुँचमा हुने विभेद र पदसोपान अन्त्य हुन्छन् । राजनीतिक, सामाजिक तथा राजकीय पदसोपानक्रमले सृजना गर्ने डोरी र जुइनाहरू खुकुला हुन्छन् । नेतृत्व परिवर्तन छिटो हुन्छ तसर्थ लोकतन्त्र तरोताजा भइरहन सक्दछ ।
सामाजिक तथा नागरिक आन्दोलनहरूको विस्तार हुन सक्दछ । नियन्त्रित तथा प्रायोजित राज्य, शासन प्रणाली र दलीय संरचना फुक्काफाल हुन्छ । डिजिटल डेमोक्रेसी, इलेक्ट्रोनिक भोटिङ र सीसीटीभी प्रविधिको कारण लोकतन्त्रको सघनीकरण, पारदर्शिता र निष्पक्षता बढ्छ ।
यसरी सोचेको थिएँ र खुशी भएको थिएँ । यस्ता चिजहरू हुँदै नभएका चाहिं हैनन् । नेपालमै पनि मतदाता नामावली र फोटोसहितको मतदाता परिचयपत्रले निर्वाचनको निष्पक्षतालाई बढाएको छ । यदि यो डिजिटल युग हुँदैनथ्यो भने हर्क र बालेनहरूको उदय हुँदैनथ्यो । न त राष्ट्रिय स्वतन्त्र पार्टीको उदय नै यति सहज हुन्थ्यो । गहिरो गरी नियाल्दा यस्ता अरू धेरै सकारात्मक उदाहरण होलान् ।
यो हप्ता म एक यही विषयको रिसर्च थेसिस पढ्दै थिएँ- कोरियाली मूलका जर्मन दार्शनिक व्युङ चुल हानको ‘इन्फोक्रेसीः डिजिटाइजेसन एण्ड क्राइसिस अफ डेमोक्रेसी’ । हान कान्ट-हिगेल-माक्र्स-फुको परम्पराका पछिल्लो पुस्ताका दार्शनिक मानिंदा रहेछन् । उनी बर्लिन विश्वविद्यालयमा दर्शनशास्त्रकै प्राध्यापक रहेछन् । समकालीन पुस्तामा जर्मनीमा सबैभन्दा बढी पढिने, मानिने, सुनिने चिन्तक मानिंदा रहेछन् ।
तर, हानले चित्रण गरेको डिजिटलीकरणको दुष्प्रभाव भने निकै गहिरो देखिन्छ र त्यसका गुण नेपालमा पनि सर्वत्र व्याप्त छन् ।
‘अभिव्यक्ति स्वतन्त्रता’ लोकतन्त्रको एक आधारस्तम्भ थियो, जो आज पनि मानिन्छ । यसैको ठोस रूपलाई ‘प्रेस स्वतन्त्रता’ भनियो । किनकि त्यो बेला प्रिन्ट मिडियामार्फत विचार अभिव्यक्ति हुन्थे । प्रेस विना पुस्तक र समाचारपत्र मात्र हैन, निर्वाचन पनि संभव थिएन । किनकि मतपत्र छाप्ने प्रविधि नभएको भए ‘इलेक्ट्रोरल डेमोक्रेसी’ संभव हुने थिएन । लोकतन्त्रका कैयौं मान्यता जस्तो कि आवधिक निर्वाचन, बहुमतको शासन, अल्पमतको विपक्ष आदि यही एउटा प्रेसको अभावमा खण्डित हुन्थे ।
हामी यो यथार्थ बिर्सन सक्दैनौं कि प्रिन्ट मिडियाको युगमा पनि ‘पीत पत्रकारिता’ हुन्थे । तर, यसको मात्रा निकै कम थियो । ‘मिसन पत्रकारिता’ हुन्थे । त्यसको भिन्नै महत्व थियो । मिडियातन्त्रको प्रिन्ट चरण पूर्णतः शुद्ध, चोखो वा पवित्र थिएन ।
मिडियातन्त्रको दोस्रो चरणलाई उनले ‘टेलिक्रेसी’ भनेका छन् । अर्थात् रेडियो र टेलिभिजनको युग । रोनाल्ड रेगन अगाडिका सबै अमेरिकी राष्ट्रपति प्रिन्ट मिडिया युगका उत्पादन थिए । जर्ज वासिङ्गटन, हेल्टिन, जेफरसनदेखि लिंकन-रुजबेल्ट, केनेडी र निक्सनसम्म यो युगमा एक से एक आइकन, प्रभावशाली, बौद्धिक र इतिहास निर्माता राष्ट्रपति जन्मिए ।
हानको बुझाइ कि प्रिन्ट मिडियाको युगमा मतदाता पार्टी र नेतामा तात्कालीन समस्या समाधान गर्न सक्ने बौद्धिकता, शालीनता र उपाय खोज्थे । टेलिक्रेसीको युगमा ‘छवि-निर्माण’ मुख्य हुन थाल्यो । रेगन अघि कुनै अभिनेता अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको थिएन । टेलिभिजन युगले राजनीति र अभिनय बीचको दूरीलाई सीमितीकरण गर्यो । अझ कतिपय सन्दर्भमा त समाप्त नै गर्यो । जस्तो कि युक्रेनका जेलेन्स्की ।
जेलेन्स्की खासमा टेलिभिजनका ‘अभिनेता राष्ट्रपति’ थिए तर ‘वास्तविक राष्ट्रपति’ बन्न पुगे । छवि-निर्माणको जादु भनेको यही हो । त्यसका लागि युक्रेनले चुकाउनु परेको मूल्य त्यहींका इतिहासकारले लेखाजोखा गर्लान् ।
तर, यहाँनेर एउटा गम्भीर बहस हुनुपर्ने प्रश्न छ- राजनीतिको केही आफ्नै चरित्र, गुणस्तर, ज्ञान र विशेषज्ञता पनि हुन्छ कि ‘सेलिब्रेटीहरू’ ले त्यो भूमिका सजिलै गर्न सक्दछन् ? के जेलेन्स्कीले नजितेको भए पनि युक्रेन युद्ध हुने थियो वा हुने थिएन ?
यो सत्य हो कि आजका तथाकथित बौद्धिक, शास्त्रीय, क्रान्तिकारी र परम्परागत राजनीतिज्ञहरूमा पनि लिंकन वा लेनिन, गान्धी वा मण्डेला, रुजबेल्ट वा नेहरू, महाथिर वा लि क्वान यु, माओ वा देङको गुणस्तर विरलै होला । तर, त्यसको प्रतिस्थापन जेलेन्स्कीहरूबाट हुन कति उचित हो ?
मिडियातन्त्रको तेस्रो र अहिलेको चरणलाई उनले ‘इन्फोक्रेसी’ अर्थात् ‘सूचनातन्त्र’ भनेका छन् । स्वाभाविक रूपमा यसका औजार डिजिटलीकरण, सामाजिक सञ्जाल, गुगल, युट्युब र इन्टरनेटका अनेक साइटहरू हुन् । सूचनाप्रविधिमा आएको यो चरणको क्रान्तिको महत्वलाई कसैले कम आँक्न सक्दैन । त्यो दुस्साहस म फिटिक्कै गर्दिनँ ।
तर, व्युङ चुल हानसँग सहमत हुन सकिने कुरा के हो भने प्राकृतिक रूपमा ‘समय-सघन कर्म’ हरूको प्रतिस्थापन हुन सक्दैन । जस्तो कि कुनै गाइनोलजिस्ट दम्पतीले आफूहरू विशेषज्ञ भएको भ्रममा ९ महिना नपुग्दै बच्चा जन्माउने अहंकार पाले वा प्रयत्न गरे त्यो प्रत्युत्पादक हुन्छ ।
ज्ञान र विशेषज्ञता एक ‘समय-सघन कर्म’ हो । अन्यथा चिकित्सक किन पढ्ने त्यत्रो दुःख गरेर, समय र पैसा लगाएर । डाक्टरले पढ्ने वा गर्ने सबै अभ्यास गुगल र युट्युबमै पाइहाल्छन् । मानौं कि कसैले संघीयताबारे १० वटा किताब पढेर कुनै धारणा बनाउँछ र कसैले दुई वाक्यको ट्वीट पढेर कुनै धारणा बनाउँछ भने त्यसको महत्व बराबर हुन सक्दैन ।
हान रोनाल्ड रेगनलाई ‘टेलिक्रेसी’ को उत्पादन माने जस्तै डोनाल्ड ट्रम्पलाई ‘इन्फोक्रेसी’ को उत्पादन मान्दछन् । उनको विचारमा यसका दुई महत्वपूर्ण रणनीति छन्- झुटा समाचार -फेक न्यूज) र षडयन्त्र सिद्धान्त (कन्सिपरेसी थ्यौरी) । यसका दुई मुख्य माध्यम छन्- सामाजिक सञ्जाल र युट्युब । र यसका दुई सामग्री हुन्छन्- छिट्टै भाइरल हुनसक्ने छोटा भिडियो र जोडजाड गरेर मिलाइएका फोटो । सारमा ‘इन्फोक्रेसी’ को परिणाम प्रियतावाद, अवसरवाद, हाइपोक्रेसीको तीव्र विस्तार हो ।
यस्तो युगमा नेतृत्वको गुणस्तर र उदयबारे मतदाता होसियार नभएमा ट्रम्प र जेलेन्स्कीहरूको उदयलाई कुनै बौद्धिक तथा क्रान्तिकारी सिद्धान्तले रोक्न सक्दैन । र त्यसको बर्बादीलाई भोग्न समेत त्यो राष्ट्र र समाज तयार रहनुपर्दछ ।
यो जोखिमबाट नेपाल पनि मुक्त छैन । शास्त्रीय र परम्परागत नेता र दलहरूको चरित्र हेर्दा हर्क, बालेन र रविहरूको उदय स्वाभाविक, आवश्यक र उत्साहजनक लाग्दछ । तर, उनीहरूले गरिरहेको राजनीति, लिइरहेका रणनीति र दिइरहेका अभिव्यक्तिहरूको गुणस्तरमा आज पनि पर्याप्त विश्वास गर्न सकिने आधार छैन ।
के यही नै हो त हाम्रो प्रतिस्थापन ? यही नै हो त हाम्रो आम र ऐतिहासिक चेतनाको सञ्चिति ? यही नै हो त- विज्ञता र विशेषज्ञताको स्तर ? यही नै हो त हाम्रो शालीनता, विनम्रता र सभ्यताको सांस्कृतिक गुणस्तर ?
यिनै हुन् त हाम्रा- लिंकन, लेनिन, गान्धी, मण्डेला, रुजबेल्ट, नेहरू, माओ, देङ, लि क्वान यु र महाथिर मोहम्मदहरू ? कि ‘डिजिटल युग’ मा सभ्य र सुसंस्कृत लोकतन्त्र स्थापित गर्न, सुशासन र स्वशासन प्रत्याभूत गर्न, स्वाभिमान र समृद्धि हासिल गर्न यस्तो गुणस्तरको नेतृत्व नै जरूरी छैन ?
डिजिटल युगमा ‘डिजिटल जादुगर’ हरू जन्मिने नै भए । तर, उनीहरूले लोकतन्त्रलाई बलियो बनाउँदैछन् कि कमजोर ? ‘डिजिटल जादुगर’ हरूले कता लैजाँदैछन् वा लैजान सक्दछ देशलाई ? प्रियता र अवसरवाद या हाइपोक्रेसीतिर कि एक गम्भीर र संवेदनशील समाधानतिर ? यी प्रश्नमा आज पनि ‘समय-सघन’ बहसको आवश्यकता छ ।
source https://www.onlinekhabar.com/2023/06/1327157
0 Comments