काठमाडौँ । गायक, संगीतकार, एरेञ्जर लगायतको परिचय बनाएका जेम्स प्रधान अब फिल्म निर्देशन बनेका छन् । उनी निर्देशित छोटो फिल्म ‘सर्ट टर्म मेमोरी लस्ट’लाई शुक्रबार प्रिमियर गरियो ।
आयोजित समारोहमा नेपाली संगीतका चर्चित हस्तीको उपस्थिती रह्यो । १९ मिनेटको यो छोटो फिल्ममार्फत निर्देशक प्रधानले छिन-छिनमा बिर्सने समस्या भएका दुई प्रेमीप्रेमिकाको सम्बन्धमा आउने उतारचढावको अवधारणा पेश गरेका छन् ।
इन्टरनेटमा सिकेको सिपलाई प्रयोग गरेर निर्देशक बनेको उनले बताए । ‘विभिन्न भिडियो हेरेर निर्देशनका विविध पक्षमा आफ्नो क्षमतालाई प्रयोग गरिरहेको थिएँ । त्यही क्रममा निर्देशनसँगै लेखक पनि बनेको हुँ’ प्रधानले भने ।
प्रिमियरपछि कुरा गर्दै प्रधानले चाँडै फिचर फिल्म निर्देशन गर्ने इच्छा पनि व्यक्त गरे । उनको यस्तो इच्छामा उनका समकालिन संगीतकर्मीले शुभकामना दिए ।
गायिका आनी छोइङ डोल्माले हौसाएपछि प्रधान निर्देशक बन्न कस्सिएका थिए । यो कुरा उनले त्यतिबेला खुलाए । ‘म चलचित्र निर्देशन गर्छु, तर कहिले ? अहिल्यै भन्ने अवस्था छैन । यसलाई त्यसकै सुरुआतको रुपमा समेत बुझ्न सकिन्छ’ प्रधानले भने ।
यो फिल्ममा मण्डला थिएटरका फिल्म विद्यार्थी समिसन जिसी र बेदना राईको अभिनय छ । खोलाको किनारमा आकस्मिकरुपमा भेटिएका यी दुई पात्रको परिस्थिती र सम्बन्धमाथि कथावस्तुछ ।
प्रिमियरमा उपस्थित निर्देशक राजेन्द्र शलभले विज्ञापन बनाउने क्रममा आफूले जेम्सको प्रतिभालाई महसुस गरेको बताए । ’मैले जेम्समा गायनसँगै स्टोरीटेलिङको क्षमता बुझ्न पाएँ । निर्देशक भएकाले पनि मलाई त्यो प्रतिभा पहिचान गर्न गाह्रो भएन’ उनले भने ।
अभिनेता तथा फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारले फिल्म हेरेपछि नियमितभन्दा भिन्न महसुस गरेको बताए । प्रिमियरमा गायक योगेश्वर अमात्य, सचिन रौनियार, प्रसन्नध्वज प्रधान, भीम तुलाधर लगायतका संगीतकर्मी उपस्थित रहे ।
फोटो सौजन्य : अर्जुन गुरागाईं
source https://www.onlinekhabar.com/2023/06/1323430
0 Comments