खुशीहरू त्यति भीषण हुँदा रहेछन्, आरोहण पछि उनको चहकिलो मुहारमा देखिन्थ्यो।
ओहो ! जताततै हरि बुढा मगरकै चर्चा चुलियो केही दिन । पाँच वर्षको अनवरत प्रयास पछि असम्भव भनिएको कुरालाई पनि सम्भव बनाए उनले ।
गोर्खा ब्रिटिश सेनामा आबद्ध रहँदा अफगानिस्तानमा एक दुर्घटनामा परी दुवै खुट्टा गुमाएका हरि जो कसैका लागि प्रेरणाका स्रोत हुन्। सपनाहरू सेलाउन नदिन उनले लिएका अठोटहरूलाई कसैले रोक्न सकेन।
तत्कालीन पर्वतारोहण सम्बन्धी नियमावलीले बाधा पुर्याए पनि नेपालको संविधानको धारा १८ को उपधारा २ ले उनको अवरोधको अप्ठ्यारो हट्यो।
‘सामान्य कानुनको प्रयोगमा अपांग भएकै आधारमा भेदभाव गरिने छैन।’
उनको लागि यो एक वाक्य असामान्य रह्यो। उपचार र पुनर्स्थापनामा नै धेरै समय व्यतीत गरेका उनको इच्छाशक्तिलाई उक्त व्याख्याले बढाइदियो।
कैयौं मानिसको जीवनमा बाधा, अड्चन र समस्याका अनेकौं सगरमाथा छन्, ती सबैलाई पार गर्न हरिको जस्तै एउटा साहस र हिम्मत चाहिन्छ।
जीवनले अक्सर मानिसलाई गिज्याउँछ, तर्साउँछ। अनि जीवनकै बारेमा अनेकौं सोचिबस्छ मानिस। खण्डहर भएको र केही गर्नै नसकेको भनी हरेश खान खोज्छ मानिस। ज्योतिशून्यता भएको, आफ्नो सबै शक्ति नाश भएको र ऐना हेर्दा सास फेरिराखे पनि मुर्दा जस्तै झल्किएको भान गर्छ मानिस। सफलता मात्र आउन् भनेर असफलताको बाटो छेक्दछ मानिस। तर एउटा सफलताका लागि कति असफलताहरूप्रति कृतज्ञ भएर धैर्य गर्नुपर्छ त्यो जान्दैन मानिस।
एकचोटि सोचौं त हरिसँग दुवै खुट्टा थिएनन् तर पनि सुन्दै डर र रहर लाग्ने सर्वोच्च शिखर चुमे। हामीसँग के छैन? के हाम्रा आँखा, हात, खुट्टा, कान, नाक, मस्तिष्क नियमित क्रिया भन्दा अलि बढी गर्न असमर्थ छन् र? हामीसँग सबै चिज हुँदाहुँदै पनि हामी किन पछि परिरहेछौं? जिन्दगीले तर्साउँदैमा हामी किन तर्सिरहेछौं?
सपना त सबैले देख्छन्। सपना पूरा गर्ने नशा सवार पनि हुनुपर्छ। तर यताउता समाजका अनेकौं अवयवसँग अलमलिंदै कुहिरोको काग हुनुले केही दिलाउँदैन। अनि त मानिस सजिलै पहिलो प्रयासबाट नै हार स्वीकार गरेर बसिदिन्छन्। किन हामीले सिक्न सकेनौं? सफलता कुनै जादू होइन भनेर!
किन बुझ्न ढिलो गर्यौं, सफलता ममी–ड्याडीले आफ्नो पर्सबाट झिकेर दिने कुनै पकेट खर्च होइन भनेर। सफलता त मिहिनेतको कमाइ हो जसका निमित्त पसिनाको बलिदानी चाहिन्छ। धैर्य, समर्पण र निरन्तरताको रागहरू चाहिन्छ।
जीवन धेरै नै प्राकृतिक र कलात्मक हुने गर्छ। तर आइपर्ने विभिन्न रोगले, आपतकालीन अवस्थाहरूले तोडमरोड गरेर जीवनको शारीरिक, मानसिक र आर्थिक बनोट बिगारिदिन्छ। कुनै अप्रत्याशित घटना मात्र आइपर्यो भने जीवन नै चिन्ताग्रस्त हुन्छ, हुँदै जान्छ। अनि सफलता भन्ने चिज त डाँडापारि पुग्छ। हामी आफैंलाई अभागी ठान्छौं। हामीमा हाम्रो आफ्नै परिश्रमले पनि हँसी उडाउँछ।
हो, यस्तै बेला चाहिन्छ हामीमा धुलो टक्टक्याएर उठ्ने साहस। अभाव र शोकलाई शक्तिमा बदल्ने अठोट। झोक्राएर मात्र पनि त समाधान हुँदैन बरु आत्मपतन हुन्छ। यसबेला चाहिन्छ वेदनालाई पनि माथ खुवाउने अनौठो ऊर्जा।
देख्नेहरूले भन्न सक्लान् ‘तँ सक्दैनस्’ तर ती भुल वा हँसीहरूमा भुलिनु भन्दा आफैं उपर विश्वासका साथ लाग्नु नै हरिको जस्तै सफलताको यात्रा हो।
जिन्दगीको अनुभव आफू जस्तै भएर बाँच्नुमा छ। तपाईंको सफलता मात्र तपाईंको हातमा छ। अनेक क्रिया त भगवानले हामीलाई लिएका परीक्षाहरू हुन्। हामी त मात्र एक झेली परीक्षार्थी न हौं। एकचोटि फेल भएपछि हामी चिट चोर्न खोज्छौं, अनि फेरि फेल गराइदिन्छन् भगवानले।
हामी जबसम्म संघर्षलाई सत्य मान्दैनौं हाम्रा लागि जीवनका परीक्षाहरू पास र फेलमा सीमित रहन्छन्। जब आत्मसात् गर्छौं, अब त केही गर्नु छ! तब त असफलताहरू पनि सफलता पुग्ने सिंढी जस्तै लाग्छन्।
‘मैले यति घण्टा पढें, यति वर्ष पढें, यति मिहिनेत गरें अब त मेरो लोकसेवामा नाम निस्किनुपर्छ।’
हामी यस्तै यस्तै भनेर मोलमोलाइ गर्छौं, अर्थात् सफलतालाई व्यापार बनाउँछौं। यो भन्न सक्दैनौं कि सफल नभइन्जेलसम्म म लागिरहनेछु। यति भनेपछि त भाग्यको धर्सा कोर्ने भगवान पनि सोच्न बाध्य हुनेछन्।
जीतमा हाम्रा कैयौं असफलता मुखरित हुँदैनन्। ती सधैं ओझेलमा पर्छन्। कति अरु हिमाल चढे होलान् हरि मगरले? कतिचोटि बीचबाटै फर्किए होलान्?
हाम्रा राष्ट्रपतिज्यू नै कति पटक हार्नुभयो होला प्रधानमन्त्रीको दौडमा? यी सबै कुराहरू कसैको मानसपटलमा रहँदैन। रहन्छ त्यो अन्तिम घडी जुन घडीका लागि तपाईंको तपस्या नगन्य थियो।
मृत्युसँग डर लाग्छ कि लाग्दैन, तपाईंलाई? मृत्यु धेरै सानो कुरा हो हाम्रो सफलताको अघि। किनकि सफल नभइन्जेल मृत्युले पनि लैजान सक्ने छैन। तर समयको ख्याल राख्न, आफैंमा इमानदारी र अनुशासन राख्न मृत्युबोध चाहिं हुनुपर्छ। कुन सफलतालाई हामीले अन्तिम मान्ने?
के हरि मगरको रेकर्ड अरु वा आफू स्वयंले पनि नतोड्लान् भन्ने छ र? किनकि कामीरिता शेर्पाले २८औं पटक सगरमाथा चढेर आफ्नै रेकर्ड आफैं उछिनिरहेका छन्। अर्थात् सफलता भन्ने कुरा त परिवर्तनशील रहेछ। जति धेरै हाम्रा जीवनका परीक्षाहरू हुन्छन् उति धेरै सफलता र असफलता हुँदा रहेछन्।
‘भयो अब पुग्यो म सफल भएँ’ र ‘भयो अब म सक्दिनँ, म असफल भएँ’ दुवै वाक्य हानिकारक रहेछन्।
मखुण्डो लगाएका अन्जान मानिसहरू तराजुमा राखेर बेच्न बसेका हुन्छन् सफलताहरू चोकचोकमा। जबरजस्ती भिराएर सपनाहरू मस्तिष्कमा कसैका निम्ति सफल हुन प्रायोजित हुन्छन् आजका बालबच्चा युवाहरू। तर सिक्नै पर्ने पाठ हरि मगरबाट कि! सफलता एकैचोटि आउँदैन, अनेकौं असफलता लिएर आउँछ। तर मनबाटै प्रयास गर्नेहरूका लागि हरेक कुरा सम्भव छ।
source https://www.onlinekhabar.com/2023/06/1323586
0 Comments