१२ असार, बैंग्लोर । साफ च्यामपियनसिप २०२३ अन्तर्गत मंगलबार हुने नेपाल र पाकिस्तानबीचको खेल औपचारिकता मात्रै हुने भएको छ ।
बैंग्लोरको कान्तिराव स्टेडियममा भइरहेको च्याम्पियनसिपमा यसअघि नै समूह ए मा दुवै खेल हार्दै बाहिसकेका नेपाल र पाकिस्तान अन्तिम खेलमा सुखद नतिजासहित घर फर्कन चाहन्छ ।
दिउँसो साढे ३ बजे मैदान उत्रँदा नेपालको लक्ष्य सान्त्वना जितसहित प्रतियोगिता सकाउने हुनेछ ।
कुवेत र भारतसँग सुरुवाती दुई खेलमा हार बेहोरेपछि नेपालको यात्रा समूह चरणमै सकिएको हो ।
नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ र दोस्रो खेलमा भारतसँग २-० ले पराजित भएको छ ।
यस्तै पाकिस्तान भारत र कुवेतसँग समान ४-० को अन्तरमा पराजित भएको थियो ।
समूह ए बाट घरेलु टोली भारत र आमन्त्रित टिम कुवेत दुई खेल जित्दै सेमिफाइनल पुगिसकेका छन् । यी दुईबीच बेलुका पौने ८ बजे हुने खेल समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।
पाकिस्तान विरुद्धको खेलमा नेपालका अन्जन विष्ट चोटका कारण खेल्ने छैनन् । उनको स्थानमा अर्को खेलाडी खेल्ने पक्का छ । अनि अन्य केही पोजिसनमा पनि खेलाडी परिवर्तन हुन सक्ने मुख्य प्रशिक्षक भिनसेन्चो अल्बर्टो एनेसले बताएका छन् । ‘अन्जनको स्थानमा अर्को खेलाडी आउनेछन् भने हाम्रो टिम र खेल्ने शैलीमा पनि परिवरत्न हुनेछ । हामीले आक्रमक भएर खेल्नुपर्छ,’ उनले भने ।
प्रशिक्षक एनेसले पाकिस्तान विरुद्ध जितकै लागि खेल्ने पनि बताएका छन् । उनले भने, ‘थोरै तयारी गरेर पनि हामीले सुरुवात दुई खेलमा राम्रो प्रयास गरेका थियौँ । केही सामान्य गल्तीले पराजित भयौँ । थ्री नेसन्स कपमापछि नेपाली टिममा धेरै परिवर्तन भएको छ ।’
यस प्रतियोगितामा नेपालको प्रदर्शनबाट आफू सन्तुष्ट नै रहेको उनले बताए ।
नेपाल र पाकिस्तानबीचको खेल औपचारिकता मात्रै भएपनि मैदान उत्रेपछि जितकै लागि खेलिन्छ र यो खेलसँग प्रतिष्टा पनि जोडिन् ।
किनकि नेपालले साफ च्याम्पियनसिपमा पाकिस्तानलाई नहराएको पनि १५ वर्ष भइसकेको छ ।
पछिल्लो पटक २००८ मा नेपालले पाकिस्तानलाई ४-१ ले हराएको थियो ।
साफ च्याम्पियनसिपमा यी दुई टोलीबीच अहिलेसम्म ७ खेल हुँदा नेपाल र पाकिस्तानले समान २ खेल जितेका छन् । ३ खेल बराबरीमा टुङ्गिएको छ ।
पाकिस्तानको निलम्बन फुकूवा भएपछि गत वर्ष काठमाडौंमा यी दुई टोली पछिल्लो पटक भेट हादा भने नेपाल १-० ले विजयी भएको थियो । उक्त खेलमा अन्जन विष्टले गोल गरेका थिए ।
समग्रमा भने नेपाल र पाकिस्तानबीच अहिलेसम्म १७ खेल भएको छ । जसमा नेपालले ६ खेल जितेको छ । पाकिस्तानले ५ खेल जित्दा ६ खेल बराबरीमा सकिएको छ ।
नेपाल भर्सेस पाकिस्तान
मिति : १२ असार २०८०
समय : दिउँसो ३:४५ बजे नेपाली समय अनुसार
स्थान : श्री कान्तिरवा स्टेडियम, बैंग्लोर
source https://www.onlinekhabar.com/2023/06/1328167
0 Comments