१४ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शन गर्दै छ । केन्द्रीय राजधानी काठमाडौंको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ ।
बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस सुरु हुने छन् । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस सुरु हुने छन् ।
यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ । ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरुले सम्बोधन गर्ने युवा संघ अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए ।
सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा दैनिकजसो आन्दोलन हुँदै आएको छ । सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको थियो । जनता समाजवादी पार्टी, नागरिक अगुवा, विद्यार्थी र युवाहरुले पनि विरोध प्रदर्शन गर्दै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-माधव दुवै समूहले आधिकारिक नेकपा आफूहरु रहेको दाबी गर्दै आएका छन् । संसद विघटनविरुद्ध परेका रिटहरुमा सर्वोच्चमा बहस चलिरहेको बेला निर्वाचन आयोग पनि नेकपाको आधिकारिकता विवाद टुंग्याउने तयारीमा छ ।
source https://www.onlinekhabar.com/2020/12/919546
0 Comments