१५ पुस, फुङलिङ (ताप्लेजुङ) । ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा लागेको आगोले चरन तथा बासस्थान खरानी बनाएपछि रेडपाण्डा (रातो हाब्रे) सङ्कटमा परेको छ ।
छ दिनदेखि लागेको डढेलो पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिए । डढेलो फैलिने क्रम जारी रहेकाले कति वन क्षेत्र डढेलोले नष्ट गर्छ, अहिले आकलन गर्न नसकिने शेर्पाको भनाइ छ ।
पाथीभरा क्षेत्रको वनमा ८० हेक्टरभित्रको ब्लकमा आठदेखि ११ सम्म रेडपाण्डाको राम्रो चरन तथा बासस्थान भएको रेडपाण्डा क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए ।
रेडपाण्डाको बासस्थान पूरै डढेलोले खरानी बनाएपछि कति रेडपाण्डा अर्को स्थानमा जान सफल भए वा कति आगोले जलेर मरे अहिले अनुमान गर्न नसकिएको राईको भनाइ छ ।
आगलागीका कारण पाथीभरा क्षेत्रको फावाखोला जङ्गल र सिकैचा क्षेत्रको जङ्गलसमेत जलेको छ । हावा चलेकाले पनि आगो एक क्षेत्रबाट अर्को क्षेत्रमा सजिलै फैलिरहेको पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले बताए ।
हिउँ वा पानी नपरेसम्म आगो निभाउन नसक्ने अवस्था रहेको निर्देशक काफ्लेले बताए । पाथीभरा क्षेत्रको पश्चिमपट्टि रहेको मयाम पाताल जङ्गलमा आगो प्रवेश गरे मानव बस्तीमा पनि क्षति हुने उनले जानकारी दिए ।
काठमाडौँबाट आएको सिम्रिक एयरको हेलिकोप्टरले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि आगो निभेको छैन । सोमबार हेलिकोप्टरबाट पाँच पटकसम्म पानी खसाले पनि आगो निभेको थिएन ।
गत बिहीबारदेखि फुङलिङ नगरपालिका-११ फावाखोलामा रहेको सिम्बु सामुदायिक वन क्षेत्रमा लागेको डढेलो पाथीभरा मन्दिर नजिकै पुगेको हो ।
आगलागीको कारण अझै खुलेको छैन । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरिरहेका छन् ।
source https://www.onlinekhabar.com/2020/12/919939
0 Comments