‘यो जाडोयाममा बिहान हिँड्ने कि नहिँड्ने ? भनि दिनुहोस् न ।’ एकजना स्वास्थ्य सञ्चारकर्मीमित्रको फोन आयो ।
‘किन र ?’ स्वाभाविक रूपमा सोधें ।
‘मुटुका रोग भएका वा हुन सक्नेहरुका लागि चिसोमा के गर्ने भनेर केही लेखौं कि भनेर ।’
ओहो कस्तो राम्रो विचार । हामी प्रायःजसो अरू नै मुटुका रोगका कारणहरुको चर्चा गरिरहेका हुन्थ्यौं । यो विशेष जाडो महिना त थप जानकारीका लागि महत्वपूर्ण नै हो नि ।
‘ए कस्तो राम्रो कुरा गर्नुभयो । जाडो याममा धेरै चिसोले मुटुमा असर गर्छ नि । यस बारेमा जानकारी त दिनु राम्रो हुन्छ’ मैले भनेँ ।
‘त्यसैले सोधेको नि, कतिले थाहै नपाई यसबारेमा दुःख भोगिरहेको हुन सक्छ कि भनेर’ सञ्चारकर्मी मित्रको स्पष्टोक्ति आयो ।
उनको फोन राख्नेबित्तिकै झट्ट दिमागमा १७ वर्ष अगाडिको कुरा आयो ।
एक हिउँदको चिसो दिउँसो, मध्यान्तरपछिको बहिरंग विभागमा बिरामी हेरिराखेको थिएँ । करिब सकिने बेलामा ४ बजेतिर परिचित प्राध्यापक जोडीसहित मकहाँ आइपुग्नु भयो ।
‘नमस्कार सर ।’ मैले भनेँ, ‘अबेला आउनु भयो त सर ।’
‘अँ, डासाब । हेर्नु न आज बिहान मर्निंगवाक गएको थिएँ, हिँड्दा हिँड्दै छाती हल्का भारी भएजस्तो भयो । दिउँसो कक्षा, अफिसको कामले आउन सकिनँ । त्यसैले अहिले सल्लाह गर्न आएको ।’
करिब ६० वर्षे सरलाई विगतमा मुटुको रोग केही थिएन । बिहानको चिसो समयको हिँडाइमा छाती भारी भएको रहेछ । त्यसबाहेक दिउँसो पनि छाती भारी थिएन । छाती भारी हुनासाथ मुटुकै चिन्ता पहिला पर्ने भएकाले केही मुटुको रोगसँग सम्बन्धित कारकहरुको बेलीबिस्तार गरियो ।
चुरोट खानुहुन्छ कि हुन्न ? मधुमेह छ कि छैन ? रक्तचापको औषधि लिनुहुन्छ कि हुन्न ? परिवारमा कसैलाई हृदयाघात, मष्तिस्कघात भएको थियो कि थिएन ? यस्तै प्रश्न सोधिरहेँ । त्यसपछि नाडीको गति हेर्ने, रक्तचाप नाप्ने, मुटुको धड्कन सुनेर उहाँको स्वास्थ्य जाँच गरेँ ।
त्यसपछि इसिजीको पालो थियो । इसिजीमा मुटुको रोगसम्बन्धी केही शंका देखियो । झट्टै नभनी बिस्तारै सरसल्लाह गरेर एन्जियोग्राफी गरेर हेर्नुपर्ने सुझाव दिएँ ।
सल्लाह अनुसार एन्जियोग्राफी गरेर हेर्दा मुटुमा हुने तीनवटा धमनीमा तीनवटै साँघुरो भएको रहेछ । तत्पश्चात् मुटुको बाइपास सर्जरी गर्नुभयो । अहिले पनि औषधि लिइराख्नुभएको छ ।
यो सम्झेर एक लाइनमा भनेँ, ‘हो नि, पहिला एकजना सरलाई चिसो बिहानमा छाती भारी भएर मुटुको रोग पत्ता लागेको थियो ।’
‘अनि चिसोले नै मुटुको रोग लागेको हो ?’
‘चिसोले नै मुटुको रोग लाग्ने त होइन । धेरै चिसोमा साँघुरिएको धमनीबाट मुटुको आवश्यकता अनुसार रक्तसञ्चार अपुग हुने हुनाले मुटु दुख्न सक्छ वा छाती दुख्न सक्छ । धेरै चिसोमा शरीरको तापक्रम उचित मात्रामा राख्न मुटुले थप काम गर्नुपर्छ । जसको लागि रक्तसञ्चार पनि उचित मात्रामा चाहिन्छ । साथै, रक्तनलीहरू पनि धेरै चिसोमा साँघुरिन सक्छन् । रगत जम्ने सम्भावना पनि बढ्छ । तसर्थ हृदयाघात हुने सम्भावना बढ्छ ।’
‘ए त्यसो भए, उच्च रक्तचाप, मधुमेह भएका धूमपान गर्ने व्यक्तिले त झन् याद गर्नुपर्छ होला है ?’
‘हो नि । त्यस्तो व्यक्तिका रक्तनलीहरू भित्र पहिले नै बोसो जम्ने र साँघुरो हुने भएकाले, ध्यान पुर्याउनुपर्छ । साँघुरो रक्तनलीबाट धेरै चिसो समयमा मुटुको थप कामको लागि आवश्यक रक्तसञ्चार हुन नसकेर मुटु दुख्न सक्छ । कसैकसैलाई हृदयाघात पनि हुन सक्छ ।’
‘त्यही त । धेरैले त्यसै पनि यो चिसोमा नहिँड् त भनिराखेको सुनेको थिएँ । तर फेरि मुटुको लागि हिँड्नुपर्छ होइन र ?’
‘हो । मुटुको स्वास्थ्यको लागि हरेक दिन आधा घण्टा हिँड्दा फाइदा हुन्छ ।’
‘अनि बिहान चिसोमा नहिँड्ने भएपछि, कति बेला हिड्ने त ?’
‘धेरै चिसोमा पो नहिँड्ने भनेको त । घाम लागेपछि वा केही न्यानो भएपछि हिँड्न सकिन्छ नि । अथवा आफ्नो शरीरलाई पूरै न्यानो बनाएर, जस्तो टोपी, पञ्जा, गलबन्दी, ज्याकेट, न्यानो ट्राउजर, जुत्ता, मोजा लगाएर हिँड्न सकिन्छ । चिसो स्याँठमा शरीरबाट तापक्रम बाहिर जान दिने ठाउँ नै नराखेपछि त शरीरको तापक्रम घटेन नि । हात, टाउकोबाट पनि प्रशस्त तापक्रम घट्न सक्ने भएकाले टोपी, पञ्जा, मास्क अनिवार्य लगाउनुपर्छ ।’
‘कसैकसैले त जति लुगा लगाए नि चिसो घट्दैन पनि भन्छन् त ।’
‘सायद लुगाको छनोट पनि कारण हुन सक्छ । भित्र केही भुवादार (सक्दो कटनको), त्यसपछि पातलो न्यानो, अनि हावा नछिर्ने ज्याकेट लगाउँदा, भित्रको शरीरको तातो नि बाहिर जान पाउँदैन, बाहिरको चिसो पनि लुगाभित्र छिर्न पाउँदैन ।
कसैकसैको हावा छिर्ने वा भनौं चिसो छिर्ने लुगा भएपछि ४, ५ पत्रमै पनि चिसो भइराख्न सक्छ । जस्तो स्वेटरमा हावा छिर्छ, कटनको लुगाहरुबाट छिर्न सक्छ ।’
‘यो जाडोमा हिँड्दै नहिँडे हुँदैन ?’
‘लौ, त्यो त अलि मिलेन कि ? बिहान चिसोमा निस्किनै नसकिने भयो भने घरमै तलमाथि हिँड्ने वा अलि न्यानो भएपछि हिँड्ने वा दिउँसो हिँड्ने गर्यौं भने राम्रो हुन्छ । फेरि जाडोमा हिँड्ने जस्तो शारीरिक व्यायाम पनि नहुने अनि धेरै पनि खाने भयो भने तौल बढ्ने सम्भावना धेरै हुन्छ । तौल बढ्नु आफैँमा हानिकारक हुन्छ ।’
‘कसैकसैले त न्यानो बनाउन चुरोट तान्ने पनि गर्छन् नि त ।’
‘ओहो, त्यो त खास भन्ने हो भने तान्नेलाई नि थाहा छ कि त्यो खराब हो भनेर ।’
‘चुरोटको धुँवा तानेपछि भित्रै न्यानो हुन्छ भन्छन् ।’
‘खै एकैछिन न्यानो त हुन्छ कि, खै ? तर चुरोटको धुवाँले फोक्सोलाई मात्र होइन मुटु, कलेजो, रक्तनली सबैमा खराब असर पार्छ । धुँवाको तातोभन्दा देखिने कालो र नदेखिने अनेकन खराब तत्वहरु फोक्सो भएर भित्र छिरेपछि, फोक्सोलाई ध्वाँसो भान्साको चुलो जस्तो कालो त बनाउँछ बनाउँछ, साथै खराब तत्वहरु फोक्सोका रक्तनलीहरू हुँदै सम्पूर्ण शरीरमा छरिन्छ । अनि कतै रक्तनली साँघुरो, कतै फोक्सोको नली साँघुरो, कतै क्यान्सर, कतै अल्सर– धेरै खराब असर गर्छ । त्यसैले एकै छिनको न्यानोले धेरै अस्वस्थकर असर पुर्याउँछ । अब भन्नुस्, न्यानो प्यारो कि ? क्यान्सर, मुटुको रोग प्यारो ?’
‘ए त्यस्तो खराब गराउने चुरोट त खानै भएन नि । मेरा नि एक–दुई जना मित्रहरू छन्, नखा भने नि नमान्ने, अब जसरी नि छुटाउन लगाउँछु । आखिर मित्रको दुःख नि आफ्नै त हो नि ।’
‘एकदम राम्रो । प्लिज, कोसिस गरौं । छोडिहाल्नु हुन्छ ।’
‘कोही कोही चिसो भयो, रक्सी खाउँ भन्ने नि छन् पो त ।’
‘हो, हो, त्यो पनि हो ।’
‘अनि के रक्सी खाएर न्यानो भएको राम्रो हो ?’
‘थोरै रक्सीले न्यानो महसुस हुन सक्छ । तर, रक्सीले न्यानो महसुस हुने भनेको नि बाहिरी रक्तनलीहरु फुलेर केही रक्तसञ्चार बढेर शरीर तातो हुने हो । यसमा शरीरको भित्री तापक्रम रक्तसञ्चार हुँदै बाहिर आएर छालाबाट निस्केपछि शरीरको तापक्रम घट्छ । तसर्थ मुटुको काम त, झन् बढ्छ पो त । अझ रक्सी खाएर न्यानो भयो भने चिसोमा गयो भने, शरीरको तापक्रम स्वात्तै घट्न सक्छ । त्यसैले रक्सीले पनि यो जाडोमा न्यानो बनाउँछ भनेर खाएर चिसोमा जानु सही होइन । तातो वातावरणमै बसेर थोरै खाँदा धेरै फरक नपर्ला तर खाएर चिसोमा जाने वा धेरै खानेचाहिँ पक्कै खराब हो । फेरि दैनिक रक्सी सेवनले कलेजो बिगार्ने काम त भन्नै परेन, सबैले बुझेकै कुरा हो ।’
‘हो त्यो त बुझेकै छ । त्यसो भए, रक्सी, चुरोट यो जाडोको लागि सहायक सिद्ध भएन ?’
‘भएन ।’
‘अब के गर्ने त ?’
‘न्यानो लुगा लगाउने, तातो पानी पिउने, झोलिलो तातो खानेकुरा खाने । बाहिर चिसोमा हिँड्दा शरीर पूरै ढाकेर न्यानो बनाएर हिँड्ने । शारीरिक व्यायाम गर्ने । ती नै हुन् ।’
‘हुन्छ, धन्यवाद है तपाईंलाई ।’
‘यहाँलाई धेरै–धेरै धन्यवाद । मुटुको स्वास्थ्यका लागि केही कुरा सम्बन्धित क्षेत्रमा पुर्याउन मद्दत गरिदिनुभयो ।’ सायद फोनमा लामै कुरा भए नि समयको उपयोग भएको सम्झेँ ।
source https://www.onlinekhabar.com/2020/12/920158
0 Comments