जब एक रसियाली चर्चित गृहस्थ भौतिक जीवनको चरम सीमामा पुग्छ, त्यसपछि एकाएक उसलाई वेदान्तको ‘ब्रहृम सत्य जगत् मिथ्या’ भन्ने ज्ञान मिल्छ । पूर्वीय दर्शनमा निर्वाणको मार्ग भेटिन्छ, निस्सार जीवनको अर्थ भेटिन्छ ।
रुसको यास्नाया पल्यानामा ४२ वटा कोठा भएको आलिसान महल, चार हजार एकड भन्दा धेरै जग्गाजमिन, तीन सयभन्दा बढी नोकर चाकर राखेको त्यो सम्भ्रान्त परिवारमा जन्मिएर पनि कहिल्यै भौतिक सुख पाउन नसकेका चर्चित उपन्यासकार हुन्-लियो टाल्सटाय ।
सम्पत्तिले मात्रै आफ्ना बाबुआमा जोगाउन सकेनन् उनले । उनी नौ वर्षको हुँदा नै बाबु र आमाले संसार छाडेपछि सबैथोक भएर पनि रित्तो भएका थिए टाल्सटाय ।
त्यति धेरै सम्पत्तिका मालिक रहेका असाधारण साहित्यकारको रेल्वे स्टेसनमा साधारण मृत्यु भयो । मृत्युको दुई/तीन दिनसम्म कसैलाई पत्तो भएन ।
टाल्सटायका साहित्यिक विशेषता
टाल्सटाय छोटा र सुव्यवस्थित किसिमका साहित्यमा खासै विश्वास नगर्ने स्वभावका थिए । उनको लेखनसम्बन्धी स्वाभाव फ्रान्सका साहित्यकार वाल्जाकसँग मिल्दोजुल्दो देखिन्छ ।
टाल्सटायले आफूलाई विश्व प्रसिद्ध गराउने पुस्तकहरु मध्ये ‘वार एण्ड पिस’ सन् १८६३ देखि सन् १८६९ सम्म लगाएर लेखेका थिए । सन् १८६५ देखि यसको प्रकाशन सुरु भएको थियो । यसका कूल ४ भाग छन् । सबै उपन्यासको हिसाब गर्दा यसको कूल पृष्ठसंख्या झण्डै १५ सय पृष्ठको छ ।
युद्ध र शान्ति उपन्यासमा नेपोलियन र रूसी जनताको संयुक्त प्रतिरोधसँग सम्बन्धित युद्धको विवरण तथा आत्मीय र रंगीन जीवन, वरिपरिका उपन्यास पात्रहरूको दर्शनलाई समेटिएको छ ।
सामाजिक रुपमा उनको जीवन अशान्त र बेचैन थियो । आध्यात्मिक मापदण्डमा त्यही जीवन शान्तिपूर्ण थियो । उनलाई त्यसैको संयोग नै उपयुक्त लागेको थियो । त्यही युद्धको बीच भेटिएको शान्तिले नै ‘वार एण्ड पिस’को जन्म दियो । त्यसैले विश्व चिनायो र उनको गरिमा बढायो ।
उनको अर्को चर्चित पुस्तक अन्ना कारेनिना हो । उनले दर्जनौं उपन्यास, लघु उपन्यास र कथाहरु लेखे । उनको वाल्यावस्था, किशोरावस्था र युवावस्था सम्बन्धी पुस्तक पनि चर्चित मानिन्छ ।
उनको लेखनीमा आफ्नो जीवनको कथा मात्र छैन, उनले राज्यप्रणाली र त्यहाँको सामाजिक परिवेशका बारेमा धेरै विषय समेटेका छन् ।
टाल्सटाय तिनै महापुरुष हुन्, जसको क्षमताले युगौं पहिलेका साहित्यहरुको जस्तै ओझ दिएको छ । आफ्नो जीवनकालमा उनले साहित्यलाई ठूलो योगदान दिए । समाजलाई ठूलो योगदान दिए । तर, केवल आफ्नै लागि केही दिन सकेनन् ।
प्रेम र वियोगको कथा
टाल्सटायको आफ्नो विवाहित जीवन सामान्य रहन सकेन । उनको जीवन एउटा उत्कृष्ट नाटकजस्तो रह्यो । त्यसका कारक उनीहरु दुबै पात्र थिए । तर, त्यसका मुख्य पात्र थिए टाल्सटाय । उनकी पत्नी पनि मुख्य भूमिकामा नै थिइन् ।
टाल्सटायको वैवाहिक जीवनको सुरुवाती समय प्रेमिल सम्बन्धका साथ अघि बढ्यो । श्रीमान-श्रीमतीबीच प्रगाढ प्रेम थियो । उनीहरु एक अर्कालाई प्रेमले भरिएका पत्र लेख्थे । टाढा हुँदा सोही पत्रलाई छातिमा टाँसेर एक अर्काको यादमा हराउने गर्थे । एकले अर्काको आलिंगनमा संसार भुल्ने गर्थे । उनीहरुका लागि सिंगो ब्रहृमाण्ड त्यसैमा भेट्थे । सृष्टिको नियम भुल्थे । यस्तै थियो उनीहरुको संसार । विवाहको १५ वर्षसम्म उनीहरु धेरै हदसम्म आफ्नै संसारमा हराए । गहिरो प्रेममा परे । तर, त्यो लामो समय टिक्न सकेन ।
३४ वर्षका टाल्सटायले सन् १९८२ मा १८ वर्षीया किशोरीसँग विवाह गरेका थिए । सुन्दर अनुहार, चम्किला आँखा, धपक्क बलेको अनुहार, बाठी स्वभावकी कलाप्रेमी सोन्यालाई टाल्सटायको साहित्यले मोहनी लगाएको थियो भने टाल्सटायलाई उनको सुन्दरताले ।
एकातिर उनको साहित्यसँग मोहित भएकी सोफियालाई अर्काेतिर सम्पत्तिमा भने आशक्ति थियो । त्यसको ठीक विपरीत टाल्सटायको सम्पत्तिप्रतिको घृणा । उनीसँग पर्याप्त सम्पत्ति थियो । तर, उनी ती सबै सम्पत्ति गरिबलाई बाँड्न चाहन्थे । त्यो कुरा उनकी श्रीमती सोफियालाई मन पर्दैनथ्यो । तर, श्रीमतीको कुरा उनी सुन्दैनथे । टाल्सटायले सम्पत्ति बाँड्दै गर्दा सोफिया कराउँथिन् । रुन्थिन्, लडिबुडी गरेर चिच्याउँथिन् । तर, टाल्सटाय आफ्नी पत्नीसँगै रोइदिन्थे । तर, आफ्नो मनमा लागेको कुरा बन्द गर्दैनथे ।
टाल्सटायले आफ्नो जीवनमा जति नाटकीय पीडा भोगे, सबै पीडाहरु अन्तिम साहित्यिक कार्यका रुपमा रहेको ‘दि लाइट साइन्स इन द डार्कनेस’मा उतारेर गए । त्यही साहित्यमार्फत् नै उनले आफ्नो पारिवारिक जीवनको कठोर सत्यलाई जीवित गराए । आफ्नो दर्दनाक कहानीको लेखोट लेखे । आफ्नो सन्यासप्रतिको आशक्ति पोखे र समग्रमा जीवनको सारलाई नै सोही पुस्तकमा उनले व्यक्त गरे ।
श्रीमतीसँगको प्रेममा बिस्तारै विराग बढ्दै थियो । सन्यास आश्रमतिरको बारेमा ज्ञान बढ्दै थियो । महाभारत र रामायण जस्ता पुस्तकहरुको अध्ययनसँगै तीक्ष्ण मस्तिस्क भएका उनलाई जीवन र जगतको ज्ञान बढ्दै थियो ।
उनैले आफ्नो जीवनको वास्तविक सत्यको खोजी गर्दै थिए । उनको सो कृति रसियनहरुको स्वतन्त्रताभन्दा अघि नै लेखिएको थियो । जसमा तत्कालीन रसियाको एउटा जीवित तस्वीर भेटिन्छ ।
शोक र आनन्दको आध्यात्मिक विरोधाभास उनको बच्चाहरूसँगको सम्बन्धका बारेमा थियो । उनका कूल १३ वटा र बाँचेका आठ बालबालिकामध्ये एउटी छोरी मारियासँग उनको विशेष लगाव थियो । उनी रुसी स्थानीय भाषामा उनलाई ‘माशा’ शब्दले बोलाउने गर्थे । स्थानीय भाषामा माशाको अर्थ महान वा शक्तिशाली महिला हो । तर, जीवनको अन्तिम क्षणमा उनले त्यो आशक्तिलाई पनि तोडेर गए ।
सन् १९१० को अक्टोबर २१ को दिन । श्रीमती सोन्याले टाल्सटायलाई पहिलेको प्रेमपत्र पल्टाएर हेर्न आग्रह गरिन् । त्यतिबेलासम्म टाल्सटायमा पहिलेको प्रेम, माया र विश्वास टुटिसकेको थियो । उनले बिहे हुनुभन्दा पहिले आफ्नी प्रेमिकालाई पठाएको एउटा पत्र खोलेर हेरे । त्यसलाई पढेर पनि सुनाए । त्यसमा प्रेमका कुराहरु थिए । कति कञ्चन प्रेम थियो ! त्यसलाई दुवैले सम्झिए । अँगालोमा बाँधेर धित मरुन्जेल रोए ।
तर, आँशु सुकेसँगै उनको पत्नीप्रतिको मरिसकेको प्रेम रसाउन सकेन । उनी सुख्खा भए । कठोर बने र सोही दिन दिउँसो ३ बजे घर छाडेर बिदा भएको उनीबारे लेखिएका विभिन्न पुस्तकमा उल्लेख छ । त्यसको ठीक ११ दिनपछि उनको लास घर नजिकैको एउटा रेल स्टेसनमा भेटियो ।
कुनै जमाना थियो, संसारका सबैभन्दा ठूला व्यक्तिहरुको नाम लिँदा पण्डितहरु निर्विवाद उनैको नाम लिन्थे । उनको बोली सुन्नकै लागि मानिसहरुको भीड लाग्थ्यो । उनको केवल बोलीमा मात्रै होइन, हरेक गतिविधिमा एउटा जादु थियो । उनको त्यो जादुले सबैलाई मोहित गराइरहृयो । जादुकै कारण उनले धेरैलाई हराए र अन्त्यमा आफैं पनि हारेर गए ।
बुद्धका भक्त, सन्यास आश्रमका पक्षपाती
साहित्यिक विशिष्टता र सम्पन्नता हुँदाहुँदै पनि विश्वले पुजेका एक महान् साहित्यकार अन्तिममा सन्यास आश्रम व्यवस्थाबाट प्रभावित भए । उनलाई घर, परिवार, समाज र राज्यव्यवस्था सबै मिथ्या लाग्न थाल्यो । उनले घरपरिवारलाई देखाउने माया सबै देखावटी लाग्न थाल्यो ।
‘युद्ध र शान्ति’लाई उनले आफ्नो जीवनमा एकैपटक भोगे । शरीरले युद्ध गरिरहँदा मनले शान्तिको सास फेरिरहेको थियो । उनलाई जति खुशी राजशी जीवनशैली र गृहस्थले दिएको थियो, त्योभन्दा धेरै आफ्नै जीवनले दिएको थियो ।
विश्वको साहित्यिक समूहलाई आफ्ना कृतिहरुमार्फत् तत्कालीन समयमा नेतृत्व गरिरहेका टाल्सटायले गाउँका ६ हजार गरिबहरुलाई आफ्नो सम्पत्ति बाँडे । यी दुबै कामबाट प्रभावित भएकाहरु उनलाई एउटा भगवानको रुपमा मान्ने गर्थे । अर्कोतर्फ उनी आफैं आफ्नो जीवनको वास्तविक अर्थ खोज्दै थिए ।
उनले विश्वका धेरै वैज्ञानिकहरू, दार्शनिकहरू र धार्मिक नेताहरूसँग प्रत्यक्ष कुराकानी गरेरै आफ्नो जीवनको अर्थ सोधे । कसैले पनि उनलाई सन्तुष्ट गराउन सकेनन् । भौतिकवादी विज्ञान, तर्कसंगत दर्शन र धर्मको प्रचलित व्याख्याहरूले उनलाई सन्तुष्ट पार्न सकेन । बरु, उनका प्रश्नहरूले त्यस समयको कुलीन वर्गका मानिसहरुलाई दोषी र व्यर्थताको भावना भर्न थालिसकेको थियो ।
सोही समयमा उनलाई पूर्वीय दर्शन साहित्य उपनिषद, बौद्ध दर्शनमा बुद्धका उपदेशहरु र प्राचीन चीनका प्रसिद्ध दार्शनिक लाओत्सेको चिन्तनले प्रभावित गरिरहेको थियो । उनले रामायण र महाभारतको पनि राम्रोसँग अध्ययन गरेका थिए । त्यसमध्ये पनि उनले उपनिषदमा उल्लेख गरिएको सन्यास आश्रमसम्बन्धी व्यवस्थाले उनलाई धेरै प्रभावित गरायो । उनी त्यसैका पछि लागे ।
अहिले टाल्सटायका बारेमा मात्रै २३ हजारभन्दा धेरै पुस्तकहरु लेखिएका छन् । ५६ हजारभन्दा धेरै आलेखहरु लेखिएका छन् ।
टाल्सटाय व्यवहारतः किशोरावस्थादेखि नै यौनमा आशक्त थिए भन्ने कुरा उनैले आफ्नो लेखनीमा स्वीकारेका छन् । तर, जीवनको उत्तरार्धमा उनी ब्रह्मचर्यप्रति आकषिर्त भए । उनको मान्यता थियो- सक्छौ विवाह नगर, सक्दैनौ विवाह गर । तर, कुनै महिलाप्रति व्यभिचार नगर । कसैलाई खराब नजरले हेर्छौ भने तिमीले उसमाथि व्यभिचार गरिसकेको हुनेछौ ।
टाल्सटायको विवाह, प्रेम र यौनसम्बन्धी मान्यता उनका कथाहरु ‘क्रुजर सोनेट’ र ‘पारिवारिक सुख’ मा जीवन्त रुपमा पढ्न पाइन्छ ।
source https://www.onlinekhabar.com/2019/12/823761
0 Comments