कर्म सत्य रहे जहाँ पनि सुन्दर प्रकाशन हुन सक्छ। कर्महरूद्वारा नै मानव प्रेरणा जागृत गराउन सकिन्छ। कर्म मार्फत मानिसले वस्तुगत रचनाको अध्ययनद्वारा दिव्य चैतन्य, दिव्य सौन्दर्य र दिव्य ज्ञानद्वारा समाजमा स्पष्ट संकेतहरू व्यक्त गर्न सक्नुपर्छ। चाहे त्यो ठूलो होस् वा सानो, कर्ममा मन पूर्ण रूपमा समर्पित हुनुपर्छ।
आत्मप्रकाशन स्वरूप हामीले गर्ने कर्महरू इन्द्रियग्राह्य भएर धर्तीमा ओर्लिनुपर्छ र व्यावहारिक अन्वेषण प्राप्त गर्न सक्नुपर्छ। आज–भोलि समाजमा ठूलाबडा र धनी वर्गका हुनेखानेले गरिने कामलाई मात्र कथित कर्मका रूपमा व्याख्या गरिन्छ। यो सरासर गलत व्याख्या हो। एसईई नतिजा आएसँगै छोराछोरीलाई जबरजस्ती विज्ञान विषय पढाएर डाक्टर पढाउने तरखरमा हुनुहुन्छ भने एकचोटि सोच्नुहोस्। छोराछोरीलाई आफ्नो मन पर्ने क्यारियर आफैं छान्न दिनुस्।
छोराछोरी सानो हुँदादेखि नै डाक्टर नै बन्नुपर्छ भन्ने मान्यतामा आम समाज विकसित छ । उसको चाहको विषयभन्दा पनि करलाग्दी वा देखावटी रूपमा नै अभिभावकको चाहको विषय दिमागमा थोपर्ने नियतिलाई दुर्भाग्य मान्नुपर्छ। यो भन्दैमा डाक्टर बन्नै हुँदैन भन्न खोजेको चैं हैन। र हाल डाक्टर माथि बढ्दै गइरहेका आक्रमणका घटना, अवसर र पैसाको खोजीमा पलायन भइरहेको युवा चिकित्सक जमात, नबढाइएको सरकारी चिकित्सकको दरबन्दी र मौन सरकारलाई देखेर पनि डाक्टरी पेशाको अब भविष्य छैन भन्न खोज्या पनि होइन।
मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस क्षेत्रमा पाइला टेक्नु भन्दा अगाडि नै संवेदनशील भएर सोच्नु चैं जरुरी छ। उचालेको कुकुरले मृग मार्दैन। त्यसैले अभिभावकले आफ्नो प्रतिष्ठित भविष्यलाई मात्र मध्यनजर गरेर नसक्ने र नचाहने सन्तानलाई यो भुमरीमा धकेल्नुहुँदैन।
तर अर्को कुरा यस विषय छनोट पछि सन्तानले खर्चिन सक्ने त्याग, तपस्या र मिहिनेतको कदर भने गर्नै पर्छ र यसकै प्रतिफल स्वरूप उसले समाजमा एउटा नाम स्थापित गराउन सक्नुले पनि यो पेशा आकर्षणको केन्द्रमा रहेको बुझ्न सकिन्छ।
म आफैं पनि चिकित्सा पेशामा छु। मेरो आफ्नै दिदी पनि यही पेशामा हुनुहुन्छ। हामी दुवैले देशकै प्रतिष्ठित चिकित्साशास्त्र अध्ययन संस्थानबाट अध्ययन गरेका हौं। र परिवारकै आकलन गर्दा पनि लगभग धेरै नै यही पेशामा आबद्ध हुनुहुन्छ।
के हाम्रा अभिभावकले पनि हामीमा जबरजस्ती थोपरिदिएको रूपमा हामीले यस पेशालाई लिएका हौं त? कदापि हैनौं। सायद पारिवारिक देखासिकी र स्व-चाहनाले पनि यसमा केही हदसम्म भूमिका खेलेको हुनुपर्छ। त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा हामीले लिने महत्वाकांक्षा र गन्तव्यमा निर्धारण हुन जान्छ। के हामीले गर्ने पढाइ र त्यस पश्चातको कर्ममा प्रेमपूर्ण रहेर आनन्द लिन सक्छौं? वा यो क्रिया निकै नै सकसपूर्ण हुँदै जान्छ? यो प्रश्न मननयोग्य छ।
अचेल मानसिक तनाव, डिप्रेशन हुँदै आत्महत्यासम्मका घटनाहरू मेडिकल विद्यार्थीमा बढ्दै गइरहेका छन्। महँगो शुल्क, छात्रवृत्तिबाट वञ्चित, पढाइको प्रेसर र भविष्यको अन्योल नै यसका कारण हुन्। एउटा अपरिपक्व निर्णयले हामी पनि यसकै शिकार हुन के बेर ?
जब जब अरुका सूक्ष्म अनुभवका आधारमा मानिस आत्मविश्वासले प्रेरणा जित्दै जान्छ र अनन्त मनमस्तिष्कका चेत र आह्वानहरू पहिल्याउँछ, तब मात्र ऊ त्यही कर्मद्वारा आफूसहित परिवार, समाज र देश सुधार्न सक्छ। तर अपरिपक्व निर्णयहरूबाट जब ऊ अँध्यारोमा छट्पटाउँछ, त्यही बोझले थकित भएर गूढ रहस्य भएर बिलाइजान्छ।
त्यसैले अभिभावक महोदयहरू, बहकाउमा होइन आफ्नो मनको चित्र जुन काम गर्दा सन्तानले भेट्न सक्छन् त्यतैतिर दत्तचित्त भएर लाग्न हौसला प्रदान गर्नुहोस्।
अहिले एसईई वा प्लस टु अध्ययन पश्चात रंगीन विज्ञापनका भरमा स-साना भाइबहिनीका ध्यान आफूतिर खिचेर मनग्ये पैसा कमाउने साइन्स कलेजदेखि लिएर कोचिङ इन्स्टिच्युटहरू च्याउसरी उम्रिएका छन्।
डाक्टर बन्ने ठूला सपनाहरू देखाएर, अप्राकृतिक रूपमा अभिभावकका सोचहरू बङ्ग्याएर यस्ता प्राइभेट संस्थाहरूले पनि विद्यार्थीको आफू अनुकूल विषय सोच्ने र छनोट गर्ने काममा प्रतिकूल असर पुर्याइराखेका हुन्छन्। सही मार्गनिर्देशन गर्न सके त विद्यार्थीमा आउन सक्ने फ्रस्टेसन र अभिभावकमा पर्ने अनावश्यक बोझ समेत अवश्य हल्का हुनेथियो।
अचेल प्यारामेडिक्स, सिए, कानुन, कृषि एवं वन विज्ञानमा समेत मानिसको आकर्षण बढ्दैछ। यो मात्र नभएर शिक्षण पेशा, पत्रकारिता, राजनीतिशास्त्र, प्रशासनतर्फ समेत ध्यान दिनुपर्ने आवश्यकता छ। सूचनात्मकताले भरिपूर्ण आजको युगमा तार्किक बहस र तीव्र निश्चयका साथ गरिने कर्महरूले नै हाम्रो भविष्य कति खँदिलो र भरिलो हुनसक्छ भनेर हामी भन्न सक्छौं।
देशमा नै केही गरेर स्वावलम्बी बनाउने कार्यहरूमा अभिभावकको उचित सुझावहरू सन्तानका लागि हृदयस्पर्शी हुन सक्छन्। कसैको आलोचना वा कसैको वाहवाही आउला भनेर होइन, यथार्थवादी धरातलमा ओर्लिएर सन्तानहरू स्वयं कसरी आफ्नो ऐनामा प्रतिबिम्बित हुनसक्छन्, उसैगरी कर्मको छनोट गर्न दिनुपर्छ।
चिकित्सा एउटा साधारण पेशा हो जहाँ उसले गर्ने कर्मले व्यक्तित्व निर्धारण गर्छ। यो पेशा अँगाल्नेहरू सबै महान् हुन्छन् भन्ने छैन। त्यसैले कर्म, कर्म गर्नकै निमित्त हुनुपर्छ, त्यसले जीवन मनमा आनन्द दिनुपर्छ, सौन्दर्यचेत छर्दै समाजमा कर्तव्यप्रति सजग गराउन सक्नुपर्छ। यस्तै सन्तानका रोजाइ उन्मुख कर्मलाई समर्थन गर्नु आजका अभिभावकको जिम्मेवारी हो।
source https://www.onlinekhabar.com/2023/07/1334074
0 Comments