८ असार, काठमाडौं । तत्कालीन राजा वीरेन्द्र स्पेन घुमेर आएपछि २०४० सालमा नेपालमा स्पेनिस भाषाको पढाइ सुरु भयो ।
विश्वभाषा क्याम्पसमा काठमाडौंका रमेश श्रेष्ठ ‘स्पेनिस भाषा तथा साहित्य’ पढ्न पहिलो ब्याचमै भर्ना भए । एक वर्ष नेपालमा पढेपछि थप तीन वर्ष पढ्नको लागि स्पेन सरकारकै छात्रवृत्तिमा पढ्न स्पेन जाने मौका पाए ।
रमेश फर्किएपछि विश्वभाषा क्याम्पसमा पढाउन थाले । ‘यही क्याम्पसमा पढेकै कारण मैले छात्रवृत्तिमा पढ्ने मौका पाएँ । त्यसैले क्याम्पसलाई मैले पनि केही योगदान दिनुपर्छ भनेर पढाउन सुरु गरेको हो,’ उनले त्यो क्षण सम्झिए ।
श्रेष्ठले ३५ वर्षदेखि स्पेनिस भाषा पढाइरहेका छन् । भाषा अनुवादक भएको पनि करिब ३१ वर्ष भयो । तर आज पनि उनीसँग न नियुक्त पत्र छ, न समयमा तलब ।
सुरुको केही वर्षसम्म उनलाई प्रत्येक ६ महिनाको निुयक्ति पत्र दिने र नवीकरण गर्ने क्रम चलिरहृयो । त्यसपछि केही वर्ष प्रत्येक एक वर्षमा नवीकरण भयो । अहिले त त्यो पनि छैन ।
‘विदेशी भाषाको लागि स्थायी हुने व्यवस्था पनि छैन, कहिलेसम्म गर्नुहुन्छ गरिरहनुहोस् भनेपछि चुप लागेर काम गरिरहें,’ आंशिक शिक्षकका रुपमा कार्यरत ६३ वर्षीय श्रेष्ठले भने, ‘सात महिनादेखि त पारिश्रमिकसमेत पाएको छैन । आफ्नै श्रमको मूल्य पाउनु पनि किन यत्ति चर्को हो, बुझ्न सकेको छैन ।’
३५ वर्षसम्म इमान्दारपूर्वक नियमित काम गर्दा पनि अपमानजनक व्यवहार भएको भन्दै उनले अहिले आएर यो काम ‘किन गरेछु’ भन्ने सोँच्न थालेको बताउँछन् ।
विश्वभाषामा रमेश श्रेष्ठसहित १० जना अनुवादक छन्, जसले सेवाग्राहीको कागजात अनुवाद गरेको पारिश्रमिक २०७९ पुसयता पाएका छैनन् ।
विश्वभाषा क्याम्पसले जापानिज, कोरियन, चाइनिज, स्पेनिस, फ्रेन्च, इटाली, जर्मन भाषाको कागजात अनुवाद गर्ने गरेको छ ।
सात महिनादेखि पारिश्रमिक नपाएपछि शिक्षक तथा अनुवादकहरुले २७ असारदेखि अनुवाद स्थगित गरेका छन् ।
अर्का एक अनुवादकका अनुसार भाषा कक्षा लिंदा पिरियडको आधारमा रकम पाउने भएकाले महिनामा २० हजार हारहारी हुन्छ, बाँकी कागजात अनुवाद गरेरै जुटाउने हो ।
लामो समयसम्म श्रमको पारिश्रमिक नपाउँदा दैनिकी चलाउनै मुश्किल परेपछि काम रोक्नु परेको उनले सुनाए । ‘सेवाग्राहीहरु मारमा हुनुहुन्छ, त्यसले हामीलाई पनि पीडा दिएको छ,’ एक अनुवादक भन्छन्, ‘तर हामी पनि त नखाइ काम गर्न सक्दैनौं । सात महिनासम्म ज्याला नआउँदा हाम्रो हालत कस्तो भएको होला तपाईं आफैं भन्नुस् त ।’
यो सात महिनामा क्याम्पस प्रमुख र प्रशासनसँग पटक-पटक छलफल गर्दा पनि समस्या समाधान नभएको उनीहरुको गुनासो छ ।
आजित भएका अनुवादकहरुले २४ असारमा विज्ञप्ति जारी गर्दै ‘काम गरेवापतको पारिश्रमिक नपाउँदा घर गृहस्थी बिग्रेको, घर चुलो बल्न छोडेको, बैंक तथा सहकारीमा तिर्नुपर्ने ऋण तिर्न नसक्दा शारीरिक तथा मानसिक तनाव भोग्नुपरिरहेको’ बताएका थिए ।
त्यहीबेला उनीहरुले तीन दिनभित्र पाउनुपर्ने रकम नपाए काम रोक्ने चेतावनी दिएका थिए ।
२७ गतेसम्म काम गर्दा पनि पारिश्रमिक पाउने निश्चित नभएपछि काम स्थगित गरेर बसेको उनीहरु बताउँछन् ।
नाम खुलाउन नचाहने अर्की अनुवादक भन्छिन्, ‘हामीले दैनिकी चलाउने नै यही अनुवादबाट आएको ज्यालाले हो । त्यही ज्याला सात महिनासम्म नपाएपछि कसरी काम गर्ने ?’
अनुवाद सेवा बन्द भएको दुई साता भइसक्दा समेत क्याम्पस प्रशासनलाई नछोएको उनको गुनासो छ ।
सेवाग्राही आए आफूहरुको फोन नम्बर दिएर पन्छिने गरेको भन्दै उनले भनिन्, ‘सेवाग्राहीले फोनमा गर्ने दुखेसो र एसएमएस पढ्दा रुनु मन लाग्छ । तर क्याम्पसलाई यसले कत्ति पनि छोएको छैन ।’
क्याम्पस प्रमुख डा.यादवराज पन्तले भने १ साउनमा ‘आर्थिक वर्ष अन्तिम भई कार्यालयको हिसाब मिलानसम्बन्धी कार्यमा बाधा पर्ने भएकोले साउन ५ गतेसम्मका लागि अनुवादसम्बन्धी कुनै पनि सेवा दिन नसक्ने’ भन्दै सूचना निकालेको छ ।
सेवाग्राहीलाई मर्का
अनुवादकले काम रोक्दा सेवाग्राही मर्कामा छन् । अधिकांश रोजगारदाता कम्पनीले विश्वभाषा क्याम्पसको अनुवादलाई मात्रै मान्यता दिने भएकाले सेवाग्राही समस्यामा परेका हुन् ।
नुवाकोटका रमेश थापा (२६) जापानीज भाषामा कागजात अनुवाद गर्न आइतबार क्याम्पस पुगेका थिए । ‘म जुलाइभित्र जापान उड्नुपर्ने हो अहिलेसम्म यहाँको काम भएको छैन’ एसएसडब्लु (सर्ट स्कील वर्किङ) भिसामा जापान जान लागेका रमेश भन्छन्, ‘तीन पटक भयो धाएको, कामै भएको छैन ।’
उनका अनुसार रमेश २४ गते क्याम्पस पुगेका थिए । तीन दिनपछि आउन भनियो, तीन दिनपछि जाँदा ६ गतेदेखि हुने भनेकाले आइतबार पुनः आएको बताए । ‘आज अब केही दिनमा हुन्छ भन्छन्,’ उनले भने, ‘अरुतिर गराएको पनि नहुने रे !’
दोलखाका शिव खड्का (२९) पनि २७ असारमा जापानीज भाषामा अनुवाद गराउन क्याम्पस पुगेका थिए । उनलाई पनि क्याम्पस प्रशासनले असार ६ गतेदेखि हुने भनेर पठायो ।
आइतबार जाँदा फेरि केही दिनमा हुने भनिएको भन्दै उनले भने, ‘अनुवाद हुने कोठा बन्द छ, प्रशासनमा सोध्दा शिक्षक बिदामा हुनुहुन्छ भन्नुभयो ।’
नुवाकोटकी शर्मिला तामाङ (२५) कोरियन भाषामा अनुवाद गर्न क्याम्पस धाएको दुई हप्ता भयो । उनी भन्छिन् ‘पढ्न जान लागेको हो । अबको १५ दिनभित्र भएन भने म डुब्छु ।’
उनी अनुवादका लागि दुई असार २७ मा क्याम्पस पुगेकी थिइन् । क्याम्पस प्रशासनमा अनुवादक नभेटेपछि शिक्षकको नम्बर लिएर गइन् सम्पर्क गर्दा फोन अफ पाएपछि दुई दिनपछि क्याम्पस पुग्दा आर्थिक वर्षको अन्तिम भएको भन्दै असार ६ गते आउन भनियो ।
आक्रोश मिश्रति भावमा उनले भनिन्, ‘आज फेरि दुई दिनपछि आउन भन्छन् । दुख दिनुको पनि सिमा हुन्छ नि !’
के भन्छ क्याम्पस प्रशासन
विश्वभाषा क्याम्पस विकेन्द्रीकरणमा गएपछि क्याम्पस कार्यसमितिले २०७० सालमा विद्यार्थीबाट एक पेज अनुवाद गरे बराबर ७०० रुपैयाँ शुल्क लिने र अनुवादकलाई ३८० दिने निर्णय गर्यो । त्यसको एक वर्षपछि त्रिभुवन विश्वविद्यालयले ‘आन्तरिक स्रोत परिचालन निर्देशिका’ ल्यायो, जसमा ५० प्रतिशत पुँजीगत कोषका रुपमा कार्यालयमा राख्ने र बाँकी ५० प्रतिशतबाट केही कार्यालय सञ्चालनका लागि राखेर बचेको रकम अनुवादकलाई दिने उल्लेख छ ।
क्याम्पसले भने क्याम्पस कार्यसमितिले गरेको निर्णय अनुसार एक पेज अनुवाद गरे बापत ३८० अनुवादकलाई दिँदै आयो ।
गत मंसिरमा निर्देशिका विपरीत भुक्तानी भइरहेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न त्रिविलाई पत्राचार गर्यो ।
त्रिविको छानबिन प्रतिवेदन नआएसम्म क्याम्पसले भुक्तानी रोकेको क्याम्पस प्रमुख डा. पन्त बताउँछन् ।
पछिल्लो समय अनुवादकले काम रोकेपछि क्याम्पसको अनुरोधमा त्रिवि कार्यकारीले निर्णय गरेर पठाएको छ । उनले भने, ‘केही दिनभित्र समस्या समाधान हुन्छ ।’
क्याम्पसका एक कर्मचारीका अनुसार कार्यकारी परिषदले ‘आन्तरिक स्रोत परिचालन निर्देशिका’ अनुसार भुक्तानी निर्देशन दिएको छ । र, निर्देशिका लागू भएपछि अनुवादकले पाएको पारिश्रमिक मिलान गर्ने तयारी छ ।
उनका अनुसार केन्द्रले चिठी पठाएको आधारमा निर्देशिकाले तोकेभन्दा बढी भुक्तानी भएकोलाई व्यवस्थापन अथवा कट्टा गरेर दायरामा ल्याएर र अरुको भुक्तानी गर्ने तयारी भइरहेको छ ।
source https://www.onlinekhabar.com/2023/07/1340658
0 Comments