काठमाडौं, गणराज्य नेपालको प्रशासनिक केन्द्र । नयाँ संविधान बनिसकेपछि प्रदेश सरकार मार्फत प्रशासनिक काममा शक्ति बाँडफाँट भएता पनि व्यावहारिक प्रयोगमा जनताले अनुभूत हुने गरी प्रदेश सरकारले काम गरेको देखिंदैन । काठमाडौं अझै पनि प्रदेशहरूमा हावी भएको देखिन्छ । प्रदेश सरकारहरू आफ्नो सृजनशीलता, मौलिकता सहित जनपक्षीय हुन नसक्दा काठमाडौं हावी भएको हो । प्रशासनिक क्षेत्रमा अधिकार प्रत्यायोजन भए तापनि राजनैतिक, आर्थिक दृष्टिले केन्द्र हुँदै जाँदा प्रशासनिक रूपमा पनि काठमाडौं केन्द्र नै छ ।
अत्यावश्यक, झण्डै-झण्डै बाध्यात्मक अवस्था बाहेक म काठमाडौं जाने गरेको छैन । विद्यार्थी राजनीति र अध्ययनका केही वर्ष काठमाडौंमा बिताएँ । ठाउँ नचिन्ने, भूगोल थाहा नपाउने, हिंडडुलमा रुट छिचोल्न नसक्ने पनि हैन, तर खै किन हो काठमाडौं मेरो रहर बन्न सकेन ।
सबै सम्भावना बोकेको शहर, मेरो क्षमताले सम्भावनालाई पकड्न नसक्ने जस्तो पनि लाग्दैन तर किन-किन सधैं दिलखुस नभए झैं भइरहने । मेरो हो जस्तो नलाग्ने, तर कता-कता मेरो बनाउँछु भन्ने सोच चाहिं आइरहने ।
मेरो चेतनाले काठमाडौंलाई राजनैतिक रूपले अलि बढी बुझ्यो । आन्दोलनका सुरुवाती चरणमा प्रचारात्मक काम र मध्य भागतिर लजिस्टिक, सञ्चार उपकरण, प्रचार सामग्री व्यवस्थापनमा काठमाडौंमा बसियो । स्वायत्त क्षेत्रको परिभाषा, यहाँका जनतासँगको व्यापारिक मात्रको सम्बन्धले राजनैतिक उपयोगको रूपमा मात्र काठमाडौंलाई मेरो विवेकले ग्रहण गर्यो ।
२०६४ सालमा देशैभरि चुनावी मोर्चामा सफलता हात पार्दै गणतन्त्र काठमाडौंमा केन्दि्रत भएपश्चात् मेरो मानसिकतामा काठमाडौंप्रति प्रेम पैदा भयो । काठमाडौं अब जनताको भयो, श्रमजीवी किसान, मजदुरको भयो, निमुखा गरिब, परिश्रमीहरूको भयो भन्ने आत्मविश्वास पैदा भयो । काठमाडौंका गल्ली-गल्ली गणतन्त्रसँगको संगतले मुस्कुराइरहेको जस्तो देखिन थालेको थियो ।
मजदुर, युवाहरूले संस्थागत रूपमा श्रमजीवी वर्गलाई गणतन्त्र उपभोग गर्न उत्साहित गरेको देख्दा आत्मसन्तुष्टिको सीमै रहँदैनथ्यो । कलंकी चोक हेर्दा, रविभवनतिर बस्दा, नयाँबजारमा भेटघाट गर्दा व्यवस्था बदलिएको, जनताले जितेको महसुस हुने गर्दथ्यो । नेताहरूको निवासमा पुग्दा घरभन्दा प्यारो लाग्ने, नेताका परिवारजन सहकर्मीहरूसँग भेट्दा बेग्लै आत्मीयता पैदा हुने गर्दथ्यो ।
तेस्रो, चौथो पटकको यात्रापछि काठमाडौंले अनौठो, अस्वाभाविक महसुस गराउन थाल्यो । नेताजीको निवासमा वरपर नपुग्दै अत्तरको मग-मग बासना आउने, केही समय त केको बासना हो थाहा पाउनै गाह्रो हुन्थ्यो । इस्त्री लगाएको, क्रिज बसेका, टिलिक्क टल्किने सुट, र्याप गरिएका फूलका गुच्छा, पूरै छोपिएका गिफ्ट प्याक हिजो सेभोटेज गरेको सामन्तको घरको आधुनिक अवतारको झल्को दिने रहनसहन । ओहो ! कति छिट्टै बदलिएछ काठमाडौं !
नेताहरूका छेउमा आफू नसुहाउने भएको र त्यस्तै महसुस गराउने व्यवहार नेताले पनि गरेको जस्तो लाग्न थाल्यो । कोठामा गोप्य भेटघाट हुन्थे । पर्खाइमा बसेका मान्छेहरू खासखुस गरेको, बोल्ने तरिका र गरेका कुरा सुन्दा अचम्म लाग्ने भयो । सुकिला-मुकिला, चिल्लाचाप्लाहरूले हामीलाई हेयको व्यवहार गरेको तर हाम्रै नेता भित्र-बाहिर गर्दा उठेर झुक्दै चाकडी गरेको देख्न थालियो ।
ढोका बाहिर फुकालेका जुत्ता हेर्दा काठमाडौं र गाउँ प्रष्ट चिनिने, लवाइखवाइ हेर्दा प्रष्ट थाहा पाइने वातावरणमा नेताहरू बासना सुँघ्ने, व्यवसाय बुझ्ने, कारोबार हेर्ने र व्यवहार हेर्ने अवस्थामा पुगेको आभास हुन थाल्यो ।
नेताका परिवार त्यही नयाँ सम्बन्धमा रमाएको देखियो । बैठकमा नेता आउँदा पहिले लर्किने सुट लगाएको मङ्ग बसाउने दलालसँग हात मिलाउने, लामो समय गोप्य छलफल उसैसँग हुने, हामीले विचार राजनीति, संगठन र देशको विकासबारे कुरा गर्दा सकेसम्म सुन्नै नपरे हुन्थ्यो जस्तो गर्ने अवस्था आयो ।
ग्याङहरू बन्ने र त्यो ग्याङले स्रोत (दलालहरू) खोज्दै प्रभावमा पार्ने, नेतामा पहुँच पुर्याउने अनि बिलो लगाउने प्रचलन नै बस्यो ।
म घमण्डका साथ भन्छु- व्यक्तिगत माग लिएर आजसम्म कुनै नेताको घरमा गएको छैन र म जस्ता धेरै कार्यकर्ता अहिले पनि पार्टीमा सक्रिय छौं । हामी पार्टीको समस्या, समाजको समस्या, सुझाव र समाधान लगेर नेताकहाँ पुग्न तिनै बिचौलिया मार्फत जानुपर्ने अवस्था आयो । नेताहरू पनि यी विषयमा औपचारिकता बाहेक अघि बढ्नै चाहेको देखिएन ।
गएको १३ वर्ष राजनैतिक विषयमा एउटै विषय र एउटै तर्क दिएर नेताहरूले जागिर बचाए । भ्रष्टाचारी भन्दै करोडौं असुलेर आफूले भ्रष्टाचार गर्ने क्रान्तिकारी यही बीचमा जन्मिए ।
वैचारिक छलफल, क्रान्तिकारी कार्यक्रम, वर्गसंघर्षको नयाँ रूप र पहलकदमी, जनसम्बन्धको विस्तार, सरकारसँग जनता जोड्ने कुनै काम हुन सकेन । नेतामा कहींकतै व्यक्त हुने यी चाहनाहरू पनि घेरा हालेर बसेको ग्याङ (बिचौलिया) हरूको उपहारले हावामै उडाइदियो ।
यतिसम्म भयो कि काठमाडौं जाने भाडा बल्ल-बल्ल जुटाएर आएका कार्यकर्तालाई बस्नलाई घर भाडा, गाडीको खर्च, खानपिन खर्च भन्दै जोड्दै ६/७ लाख मासिक खार्च हुने हिसाब सुनाइयो तर आयस्रोत नदेखाउँदा पर्ने प्रभावको हेक्का भएन । त्यो, पैसाले जन्माएको उन्माद थियो ।
काठमाडौं यतिसम्म विकृत भइसकेको थियो कि बि्रफकेसले पार्टीमा राज्य आतंक नै मच्चाएको थियो । पार्टी कार्यालयमा आन्दोलनका अनुभूति सुनाउँदा ‘पाखे’ भइएला जस्तो, नेताका निवासमा युद्ध अनुभवका कुरा गर्दा द्रोही भइएला जस्तो, मुट्ठी कसेर हात माथि उठाएर लालसलाम भन्दा नेताविरुद्ध कालोझन्डा देखाएको जस्तो हुने अवस्थामा पुगेको थियो ।
राति ठूलाठूला होटल, बारमा मस्ती, साँझ-बिहान अत्तर छर्केर कुन्टी (च्याम्बर)मा खासखुस नियति नै यही बन्यो । सक्नेले लुट्ने, लुट्न नसक्नेले लुटेकाहरूसँग हात थाप्ने, काठमाडौं यसैमा व्यस्त भयो । न यो काठमाडौंले कणर्ालीमा नुन नपुगेको थाहा पायो, न किसानको उत्पादनले बजार नपाएको थाहा पायो, न युवाहरू खाडीमा पसिना बगाएको र अर्काको देशमा आत्महत्या गर्न बाध्य भएको थाहा पायो वा थाहा पाएर पनि थाहा नपाएजस्तो गर्यो ।
त्यसपछिका धेरै यात्रा उपचार र अत्यावश्यक काममा मात्र भए । २०६६ सालदेखियता दलाल पूँजीपतिले घेरिएको काठमाडौंलाई घृणा मात्र गरियो । नेतासँग भेटघाट रहरले त गरिंदै गरिएन । संयोगले हुने भेटघाट पनि बिचौलियाले कता लगेर जोड्ने हुन् झैं लाग्यो ।
दलाली गर्नेहरूको सीप, ज्ञान र हैसियत टाढैबाट हेर्दा कति निन्दनीय भने एउटा दलालले गरेको दलालीको अर्को दलालले भण्डाफोर गरेर आफूले फेरि दलाली गर्ने ।
यो बीचमा कुन नेताले, कुन फोरममा देश र जनताको कुरा गरे खोज्दैछु । आफूले अवसर पाउँदा अध्यक्षको जय-जय, नपाउनेबित्तिकै सरापेको बाहेक अरू सुन्न पाएको थिइनँ । यो चंगुलबाट पार्टीलाई निकाल्न हरेक तहमा सबै प्रकारका संघर्ष हुँदै आए । पार्टी ठूलै हन्डर-ठक्कर खाँदै, पछारिंदै आयो तर पार्टी पछारिंदा चोट कार्यकर्तालाई जति पर्यो त्यसको पाँच प्रतिशत पनि नेतालाई परेन ।
अहिले तेस्रो पटक पार्टी अध्यक्ष प्रधानमन्त्री, वरिष्ठ उपाध्यक्ष गृहमन्त्री हुने अवसर जुरेपछि भने काठमाडौं साँच्चिकै फेरिंदैछ, सुनिंदैछ । हिजो पार्टीमा आतंक नै मच्चाएका बि्रफकेसहरू अहिले हायलकायल भएका छन् ।
हिजो नेता र तिनका दलाल उत्साहित हुने कार्यकर्ता र जनता निराश हुने अवस्था थियो भने आज ती नेता र दलाल निराश, सक्किगो, हुन्न भन्ने अवस्थामा पुगेका छन् । आम जनता र इमानदार कार्यकर्ता उत्साहित भएका छन् ।
देशमा भ्रष्टाचार विरुद्धको आन्दोलनमा उत्साहित हुने, पार्टीको पहलकदमी लिने, आफैंले बनाएको संविधान र कानुनलाई समाएर भ्रष्टहरूलाई तह लगाउने अवसर आएको बेलामा तैं चुप र मै चुप अवस्थामा बसेको देखिन्छ । अझ खतरनाक अवस्था त अर्कालाई खुइल्याएर आफू चोखिने प्रवृत्ति देखिएको छ ।
आफू सु”एिर अरूलाई सुधार्ने भन्दा अर्कालाई गलत साबित गरेर आफ्ना अपराध लुकाउने संस्कारले पार्टी निर्माणभन्दा ध्वस्त गराउने देखिन्छ । देशभरिका जनतालाई भ्रष्टाचार विरोधी आन्दोलन, अभियानको रूपमा चलाउने, सुशासन कायम गर्ने, इमानदारीलाई प्रोत्साहन गर्दै नयाँ नेपाल बनाउने सुनौलो अवसर हो ।
समय अनुसार चल्न सकिएन भने नेता भइरहन पनि सकिंदैन । एउटा प्रतिपक्षले ‘चोर आएको हल्ला गरेर डाँका डाल्ने दाउ हो सरकारको’ भनिराखेको छ । अर्कोले ‘हामी युवाले आवाज उठाएको हुनाले भ्रम दिन नाटक गरिएको हो’ भनेको छ । कर्मचारीहरूमा ‘हिजो दबाबमा हस्ताक्षर गराइयो आज सजाय दिइयो’ भनेर निराशा पैदा भएको छ ।
यो बेला सरकारको समर्थनमा पार्टीले कस्ता कार्यक्रम बनाउनुपर्छ, के योजना बनाउनुपर्छ, देशैभरिका जनता, कार्यकर्तालाई कसरी डोर्याउनुपर्छ भन्ने कुरा नेताहरूले नबुझेको हो कि हिजो इमानदारलाई आतंकित पारेको त्यो धनले आज तपाईंहरूलाई आतंकित पारेको हो ?
प्रिय नेताजी मोह त्याग्नुस् । धन जान या अन्जानमा संग्लिएको छ भने ल्याउनुस् उत्पादनमा लगाऔं । एउटा गल्ती लुकाउन हजार गल्ती गर्दै जाँदा मर्ने बेलामा मनले शान्ति नपाउला । भएको जुराएको सम्पत्ति अर्कैले हडप्ला । त्यसैले एक नेता एक सामूहिक उत्पादनको नीति बनाएर तपाईंको सुटकेस त्यहाँ खन्याऔं, युवाहरूको श्रम मिसाऔं, आयात रोकौं, कृषिमा पूर्णरूपमा आत्मनिर्भर बनौं ।
सरकारलाई काठमाडौंलाई सुधार्न गरिएको पहलप्रति हार्दिक धन्यवाद । आफ्नो र पराइ नछुट्याई गलतलाई सजाय दिंदै जाओस् । देश विकासको अर्को महत्वपूर्ण अध्यायको सुरुवात होस् । जनताले काठमाडौं -सबै निकाय र तहको सरकार)लाई सहयोगी मित्रको रूपमा सहकार्य गर्न पाउन् !
source https://www.onlinekhabar.com/2023/08/1344384
0 Comments