महँगी तथा आर्थिक संकटसँग जुधिरेको श्रीलंकाका मानिसहरुका लागि कटहरको फल अहिले निकै ठूलो सहारा सावित भैरहेको छ ।
दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा गरिरहेका तीन बच्चाका पिता करुप्पइया कुमारका अनुसार कटहरले उनीजस्ता लाखौं मानिसहरुलाई भोकमरीले मर्नबाट जोगाइरहेको छ । उनी भन्छन्, ‘कटहरले हामीजस्ता लाखौं मानिसहरुलाई जिवितै राखेको छ । यसले हामीलाई भोकमरीबाट बँचाएको छ ।’
कुनै समय कामै नलाग्ने सम्झिएको र कसैले भाउ नै नदिने यो फल अहिले त्यहाँका मानिसहरुको प्राण धान्नका लागि ठूलो सहारा बनिरहेको छ । बजारमा अहिले एक केजी कटहर स्थानीय मुद्रामा २० रुपैयाँ पर्दछ । ४० वर्षीय करुप्पइया भन्छन्, ‘यो आर्थिक संकटभन्दा पहिले जसले पनि भात वा रोटी किनेर खान सक्ने हैसियतमा थिए । तर अहिले खाद्य पदार्थ महँगो भएका कारण धेरै मानिसहरु दिनहुँ कटहर नै खाएर गुजारिरहेका छन् ।’
आम्दानीको ७० प्रतिशत खानेकुरामा खर्च
श्रीलंकामा अहिले करिब आधा मानिसहरू खानेकुराको अभावसँग जुधिरहेका छन् र उनीहरुको आम्दानीको ७० प्रतिशतभन्दा धेरै रकम खानेकुरामै खर्च भैरहेको छ ।
तीन सन्तानकी आमा नदिका परेरा भन्छिन्, ‘यसअघि हामीले दिनमा तीन पटक खाने गरेकोमा अहिले घटाएर २ पटकमा झारेका छौं । अघिल्लो वर्षसम्म १२ केजीको खाना पकाउने ग्यासको सिलिण्डरको भाउ पाँच डलर थियो ।’
तर सिलिन्डरको भाउ दोब्बर भएपछि अहिले उनले दाउराको आगो बालेर खाना पकाउँछिन् ।
सन् २०२२ मा इतिहासकै सबैभन्दा चरम वित्तीय संकट बेहोरेसँगै श्रीलंकामा मानिसहरुको आम्दानी घटेको छ र खाद्य पदार्थको मूल्यवृद्धि उच्च भएको छ ।
केही महिनादेखि लगातार भैरहेको विद्युत कटौती तथा इन्धनको अभावबाट आजित भएका मानिसहरुले गत वर्षको जुलाइमा तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षेको सरकारी निवास नै कब्जा गरेका थिए र राष्ट्रपति भाग्नुपरेको थियो ।
तर त्यसपछि त्यहाँको सरकार अन्तर्राष्ट्रिय मुद्रा कोषसँग आर्थिक संकट टार्नका लागि आर्थिक सहायता अर्थात् बेलआउट प्राप्त गर्न सफल भयो । त्यसपछि पनि श्रीलंकामा गरिबीको दर दोब्बर बनिसकेको छ ।
आफ्ना पति तथा बच्चाहरुसँगै नदिका राजधानी कोलम्बोमा दुईवटा बेडरुम भएको घरमा बस्दछिन् । उनी क्यारेमबोर्डको राष्ट्रिय प्रतियोगिताकी पूर्व उपच्याम्पियन पनि हुन् । तर अहिले उनी चरम आर्थिक अभावबाट गुज्रिरहेकी छिन् ।
क्यारेम एसियामा लोकप्रिय खेल हो । तर विद्यमान अवस्थामा रेफ्रीको पेसा ठप्प छ । त्यसैले कमाइ पनि बन्द भएको छ । परिवार पाल्ने आम्दानीका लागि उनका पतिले भाडाको ट्याक्सी चलाउने गरेका छन् ।
उनी भन्छिन्, ‘मूल्य ६ गुणा बढेका कारण हामीले मासु र अण्डा किन्न छाडिसक्यौं । बसभाडा महँगिएका कारण पैसा तिर्न नसकेर बच्चाहरुलाई पनि नियमित स्कुल पठाउन सकिएको छैन ।’
कुनै दिन विजुली र ग्याँस सस्तो होस् भनेर उनी प्रार्थना गर्ने गरेकी छिन् ।
यद्यपि श्रीलंकामा पछिल्लो समयमा महँगीको दर निकै कम भएकेा छ । फेब्रुअरीमा मुद्रास्फीति ५४ प्रतिशत रहेकोमा जुन महिनामा घटेर १२ प्रतिशत कायम भएको छ । तथापि मूल्यवृद्धिमा लगाम लगाउनका लागि सरकारले संघर्ष गरिरहनु परेको छ ।
ग्रामीण जनताका समस्या
रबर तथा चियाका हरियो बगानले भरिएका पहाडहरुको बीचमा अवस्थित रत्नपुरा शहर कोलम्बोदेखि १६० किलोमिटर दक्षिणमा रहेको छ ।
आफ्नो जीविका चलाउनका लागि करुप्पइया कुमार नरिवलका रुपमा चढ्छन् । एउटा रुखमा चढेर नरिवल टिपेबापत उनले २ सय श्रीलंकाली रुपैयाँ कमाउँछन् ।
उनी पत्नी रबरको ट्यापिंग गर्ने काम गर्दछिन् । त्यसका लागि उनले रबरको रुखमा नाली जस्तै घाउ बनाएर रबरको दूध निकाल्ने जुक्ति लगाउनु पर्दछ । तर वर्षात सुरु भएका कारण उनको त्यो काम पनि अहिले बन्द छ।
नरिवलको रुखमा चढ्ने आफ्नो कामको जोखिमका बारेमा कुमार भन्छन्, ‘भलै वर्षा किन नहोस् आफ्नो परिवारको हातमुख जोर्नका लागि मलाई झरी परेको बेला समेत घरमै बसेर र रुखमा नचढेर पुग्दैन ।
रत्नपुरा नजिकै रहेको पलेंडा गाउँमा करिब डेढसय परिवार बस्दछन् जसमा धेरैजसो किसान तथा मजदुर छन् ।
त्यहाँस्थित एउटा सरकारी प्राथमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले विद्यार्थीहरुको सरीरको तौल नापिरहेका छन् । प्रधानाध्यापक वजीर जहिरका अनुसार त्यहाँका अधिकांस बच्चाहरु गतवर्षको आर्थिक संकटसँगै गरिबीको रेखामुनि पुगेका परिवारबाट आएका हुन् । त्यसैले स्कुलले बच्चाहरुलाई खाने कुरा दिन सुरु गरेको छ । सुरुमा स्कुलको खाजामा हप्तामा २ वटा अण्डा समेत दिने गरिएकोमा मूल्यवृद्धि भएका कारण हाल हप्तामा एउटा अण्डा दिने गरिएको छ ।
उनका अनुसार स्कुलमा पढ्ने आधाजसो बालबालिकाहरु कम तौल भएका अर्थात् कुपोषित छन् । श्रीलंकामा विगत एक वर्षभन्दा अगाडिदेखि जारी आर्थिक संकटका कारण जनताको स्वास्थ्य स्थिति पनि नराम्रोसँग प्रभावित भएको छ ।
श्रीलंकामा कुल २ करोड २० लाख जनसंख्यालाई नि:शुल्क स्वास्थ्य सुविधा उपलब्ध हुन्छ । श्रीलंकाले आफ्नो आवश्यकताको करिब ८० प्रतिशत औषधि आयात गर्दछ । त्यसैले आर्थिक संकटका कारण औषधि आयात हुन नसक्दा अत्यावश्यक औषधिको समेत चरम हाहाकार मच्चिएको छ ।
श्रीलंकाको क्याण्डीका राजनीतिशास्त्री ७५ वर्षीय प्राध्यापक मोआ डि जोयसा यसबाट प्रत्यक्ष रुपमा प्रभावित भए । आफ्नो फोक्सोको रोग फाइब्रोसिसको उपचारका लागि उनले भारतबाट औषधि खरीद गर्न संघर्ष गर्नुपर्यो । जसका कारण नौ महिनाअघि उनको मृत्यु भयो ।
उनकी पत्नी मालिनी भन्छिन्, ‘उनी यस्तो अवस्थाबाट हतास थिए तथापि आफ्नो किताब लेखन गरिरहेकै थिए । आफ्नो अवस्थामा सहज सुधार नभएको कारण उनलाई आफू मर्छु भन्ने लागिरहेको थियो । यद्यपि यदि अवस्था सामान्य रहेको भए अन्तिम समयका केही महिनाहरु कम तनावपूर्ण बन्न सक्दथे । उनको मृत्युपछि भारी ऋण चुक्ता गर्नका लागि हामीले निकै संघर्ष गर्नुपर्यो ।
कोलम्बोस्थित एकमात्र विशेषज्ञ क्यान्सर अस्पतालभित्र समेत यो पीडा प्रष्टरुपमा देखिन्छ । यो अस्पतालभित्र रहेकी स्तन क्यान्सरकप् बिरामी ४८ वर्षीया रमानी अशोका र उनका पति आगामी महिना हुने तय भएको दोस्रो चरणको किमोथेरापीलाई लिएर अन्योलग्रस्त छन् ।
रमानी भन्छिन्, ‘यहाँ अहिलेसम्म अस्पतालको तर्फबाट नि:शुल्क रुपमा औषधि प्राप्त हुन्थ्यो । यहाँसम्म यात्रा गरेर आउनु नै अहिले निकै महंगो भैसकेको छ । अझ त्यसमा पनि हामीले अब औषधि समेत आफै खरीद गर्नुपर्दछ, किनकि अस्पतालसँग औषधि उपलब्ध छैन ।’
श्रीलंकाली स्वास्थ्य मन्त्री रामबुवेलाले आफू महँगो औषधि तथा त्यसको अभावका बारेमा जानकार रहेको भन्दै तर तत्कालै यो समस्याको पूर्णरुपमा समाधान गर्न भने नसकिने बताएका छन् ।
बीबीसी
0 Comments