शौचालय एक यस्तो सुविधा हो, जसलाई मानिसलेे मल एवं मूत्रको समुचित व्यवस्थापनको लागि प्रयोग गर्दछ । शौचालय शब्दको प्रयोग त्यस्तो कक्षको लागि गर्न सकिन्छ, जसमा मल-मूत्र विसर्जन गर्ने तकनिकी वा विधि प्रयुक्त गरिएको होस् ।
सरसफाइ मानिस स्वस्थ रहनका लागि व्यक्तिगत तथा वातावरणीय स्वच्छता कायम गर्ने कार्य हो । मानिसले सरसफाइमा ध्यान दिने हो भने ३० देखि ६० प्रतिशतसम्म रोग लाग्नबाट बच्न सकिन्छ ।
सरसफाइको परिभाषा मान्छेपिच्छे फरक-फरक हुन्छ । एक जनाले आफ्नो हात पानीमा भिजाएर ओठ चुठेपछि हातमुख सफा भयो भन्ठान्छ । तर अर्को जना धारामा गएर साबुन पानीले राम्ररी हातमुख धोएपछि मात्र सन्तुष्ट हुन्छ ।
शौचालय र सरसफाइबीच नजिकको सम्बन्ध छ । शौचालयको सरसफाइले संसारमै एउटा ठूलो मुद्दाको रूप लिएको छ । शौचालय सरसफाइको प्रवृत्ति र आचरणमा सुधार ल्याउन ठूलो प्रयास र लगानी भइरहेको छ । संयुक्त राष्ट्रको घोषणा अनुरूप सहस्राब्दी लक्ष्य अन्तर्गत अन्तर्राष्ट्रिय, क्षेत्रीय, राष्ट्रिय तथा स्थानीय स्तरमा निकै जिम्मेवारी तथा उत्तरदायित्व निर्धारण गरिएको छ ।
घर र वरपरको सरसफाइको महत्व दर्शाउँदै घर आउने पाहुनालाई शौचालय देखाऊ भन्ने अर्ती छ । यो भनाइको तात्पर्य यो हो कि जुन घरमा शौचालय सफासुग्घर छ, त्यो घर स्वतः सफा हुन्छ । तर यो अर्तीलाई मानिसले व्यवहारमा ल्याउन अझ गर्नुपर्ने धेरै बाँकी छ । नेपाली समाज खुलाबाट बन्द शौचालयमा परिवर्तनशील छ ।
खुला शौचालय प्रणाली सामूहिक शौचालय प्रणाली थियो । पोखरी, नदी वा जलाशयको डिल र किनार, बस्तीभित्रका वा चौर, बाँसघारी, झाडी आदि शौच क्षेत्र हुन्थ्यो । पानी लिएर शौच गर्नुपर्ने, माटोले हात र पानी बोक्ने भाँडो माझ्नुपर्ने, हात-खुट्टा धुनुपर्ने हुन्छ । खुला शौचको सफाइ जनावर विशेषले आहारको रूपमा प्रयोग गरेर गर्थ्यो । मलको केही अंश माटोमा कम्पोष्ट भएर मिल्थ्यो ।
समय बदलिएको छ । खुला शौचालय प्रणाली लोप हुँदै सफाइ र सभ्यताको विकास हुँदै गएको छ । खुला शौचालय बन्द शौचालयको रूपमा र सामूहिक शौचालय निजी शौचालय तथा सार्वजनिकको रूपमा परिवर्तित भएका छन् । सार्वजनिक शौचालयहरू व्यावसायिक तर अधिकांश अव्यवस्थित अवस्थामा छन् । सरकारी शौचालयहरू कि अमानतमा कि ठेक्कामा सञ्चालन गरिन्छन् ।
सार्वजनिक शौचालय व्यवसायमा निजी क्षेत्रको भूमिका अत्यन्तै कम छ । यसलाई सामाजिक प्रतिष्ठामा कमी आउने किसिमको व्यवसाय मानिन्छ । कुनै जातिविशेषलाई शौचालय सफाइकर्मी जातिको दायरा तोकी छुवाछूतको भेदभाव अपनाउने अवस्था अब रहेन । शौचालयको सेफ्टी ट्यांकीबाट मल झिकेर बाहिर लैजाने काममा ढुवानी साधन -सेफ्टी ट्यांक क्लिनर) को चलन उत्साहवर्द्धक छ ।
बन्द शौचालयहरूमा निजी, सार्वजनिक र व्यावसायिक गरी तीन किसिमले बाँड्न सकिन्छ । सरसफाइको दृष्टिकोणले यी सबै किसिमका शौचालयहरूको अध्ययन आवश्यक छ । निजी शौचालयको सरसफाइ थप गर्नुपर्ने कुराहरू धेरै छन् । तर अभियानअन्तर्गत बनाइएका शौचालयहरूको दिगो सरसफाइका लागि थप चेतनामूलक काम आवश्यक छ ।
नेपालमा खुला दिसामुक्त घोषणा अभियान २०६८ देखि सुरु भयो र २०७६ मा आउँदा देशको प्रत्येक भूभाग र प्रत्येक इञ्च खुला दिसामुक्त छ । तर गाउँ होस् वा बजार इलाका हरेक बाटो गल्लीमा खुला दिसाले मानिसलाई गिज्याइरहेको हुन्छ ।
घर-घरमा शौचालय निर्माणको नाराले धेरैको घरमा शौचालयको अभाव हटाएको छ । घर-आँगनमै शौचालय बनाउन दिक्क मानिरहेका मानिसहरू येनकेन शौचालय बनाइसकेपछि त्यसै शौचालयप्रति गर्व गर्न थाले । घर-आँगन आउने आफन्त र अतिथिलाई शौचालयको दर्शन गराउन थालेका थिए । तर तिनै मानिस अचेल शौचालयको चर्चा गर्न हिच्किचाउँछन् । किनभने शौचालय अब पुरानो भएको छ भन्दा पनि फोहोर रहन थालेको छ । शौचालय जाने मानिसहरूले शौचालयको सफाइ पनि उत्तिकै आवश्यक छ भन्ने व्यवहार आलस्य मान्दछन् । सफाइप्रतिको उत्प्रेरणाको कमी छ ।
नेपालीलाई लाग्ने ८० प्रतिशतभन्दा बढी सरुवा रोग स्वच्छ खानेपानीको अभाव र सरसफाइको कमीले लाग्ने गर्छ भन्ने विभिन्न प्रतिवेदनको निष्कर्ष छ । तर पनि शौचालयले परिवारजनलाई रोगजन्य आक्रमणबाट कसरी बचाउँछ भन्ने तथ्यप्रति जागरुकता आउन सकेको छैन । शौचालयलाई किन र कसरी सफा राख्ने भन्ने चेतनाको प्रसार हुन नसक्दाÙ शौचालय नहुँदाको अवस्थाभन्दा शौचालय हुँदाको अवस्थामा जोखिम बढेको छ ।
आम मानिस त्यस्तो जोखिमप्रति सजग हुन नसक्नु अस्वाभाविक छैन । तर शौचालय अभियानका अगुवाहरूको नवअवतार नहुनु भने स्वाभाविक हुन सक्दैन । अब, शौचालय सफा राखौं भन्ने नारा लगाउने बेला आएको छ ।
कुनै पनि समुदायका घरपरिवारमा प्रायः समान किसिमको संरचना बनाइएको हुन्छ । जस्तै देउताको, भान्साको, खाने, सुत्ने, बस्ने, त्यस्तै शौचालयको । घरको सफाइ परिवारको लागि नियमित कार्यहरूमा पर्दछ । प्रत्येक दिन बिहान र बेलुका घरको सरसफाइ गरिन्छ । बेलुका धूप आरती देखाउने चलन पनि छ । घरको सरसफाइमा शौचालयले नियमित स्थान पाएको हुँदैन ।
शौचालयको सफाइ अरू स्थानको भन्दा बढी मिहिनेती हुन्छ । शौचालयको सफाइमा केही विशेष साधन -ब्रस, हर्पिक, फिनायल आदि) आवश्यक पर्छ । प्रायःजसो घरमा ती सामग्रीको अभाव रहेको देखिन्छ । घरको सरसामान खरिदमा शौचालय सफाइ सामग्री उपेक्षाको शिकार भइरहेको हुन्छ । सफाइ सामग्रीले शौचालय सफाइतर्फ आकर्षित गर्दछ ।
शौचालय अभियान अन्तर्गत जुन घरमा चर्पी छैन, त्यो घरमा छोरी नदिने नारा चल्यो । तर छोरीलाई घर पठाउँदा शौचालय सफाइको पाठ पढाएर पठाइएन । प्रतिफल छोरीको घर जाँदा बाबुलाई शौचालयतर्फ हैन, लोटा दिएर चौरतिर पठाइन्छ । तर बाबुले यति हुँदा पनि शौचालय सरसफाइ शिक्षाको दरकार बुझ्न सकेको छैन । सबैको हाल उस्तै छ ।
परम्परागत समाजले घरेलु कार्यको अभिभारा महिलालाई बोकाएको छ । लोग्नेमान्छेले बाहिरी जिम्मेवारी हेरोस् भन्ने ठानिन्छ । घरेलु काम हेर्ने मानिसको उपहास गरिन्छ । बरु लोग्नेले नुहाउने पानी स्वास्नीले तानिदिनुपर्छ । पुरुष आफ्नो घरमा पाहुना झैं हुन्छन् । त्यसमा पनि शौचालय सफा गर्ने कुरा त निकृष्ट र अपवित्र काम मानिन्छ ।
भगवानले वराह अवतार लिएको रहस्य सुनाउँछन् तर त्यसबाट प्रेरणा लिने काम गर्दैनन् । ठूलो र संयुक्त परिवारहरूमा शौचालय सफाइको कुरा त झन् बढी जटिल हुन्छ । परिवारभित्रका कतिपय असहमतिको मार शौचालय सफाइमाथि नै पर्दछ ।
शौचालयको सफाइप्रति घरको मुख्य व्यवस्थापकको चासो हुनुपर्दछ । चासो मात्र होइन, आचरण पनि देखिनुपर्छ । एक त शौचालय, त्यसमा पनि गन्हाउने भनेपछि अरू पनि दूर दूर नै रहने कोसिस हुन्छ । घरको व्यवस्थापकले अरूलाई सुझाउने वा अह्राउने गरेर मात्र हुँदैन परे आफैंले पनि गरेर देखाइदिनुपर्दछ ।
महात्मा गान्धीले एकपटक एक बालकलाई धेरै गुलियो न खाऊ भनी सम्झाउनुपर्ने परिस्थिति पैदा भयो । उनले त्यसका लागि सात दिनको समय लिए, पहिले आफूले त्यो बानी छोडे अनि मात्र सम्झाउने कार्य गरे ।
शौचालयको उचित व्यवस्थापनका केही प्रमुख नियम हुनसक्छन् । शौचालय सफाइ पारिवारिक छलफलको विषय बन्नु भाग्यमानी कुरा हो । ती नियमको पालना गर्नका लागि सबैलाई सिकाउनु आवश्यक हुन्छ । शौचालयमा पानीको प्रयोग पनि एक महत्वपूर्ण विषय हो । शौचालय र पानीको स्रोतबीचको दूरी पनि अर्को महत्वपूर्ण पक्ष हो । शौचालयभित्र वा बाहिर हात धुने स्थानमा साबुन, तौलिया, कवर बिन आदि वस्तुको व्यवस्था जरूरी छ ।
जुठो र बचेको खानाको उचित व्यवस्थापन नगरी कतिपयले ट्वाइलेटको प्यानभित्र हालेर खानालाई फ्लस गर्ने गरेको प्रयास उचित होइन । यसो गर्दा पानीको दुरुपयोग बढी हुन्छ र खानाको कण र तेलले प्यानको सफाइलाई खर्चिलो बनाउँछ । जुठो र बचेको खानाको सबैभन्दा सजिलो उपाय त्यसलाई कम्पोष्ट बनाउनु हो ।
घरमा स-साना नानी छन् भने प्यानमाथि ढक्कन राख्न उचित हुन्छ । यसो गरेर तपाइँ आफ्नो प्यारो बच्चा र स-साना महत्वपूर्ण तथा बहुमूल्य सामग्रीलाई समेत सुरक्षित तुल्याउनुहुनेछ । अब बालमैत्री शौचालयको समय आएको छ । केटाकेटीको स्वभाव र बानी बुझेर उनीहरूलाई कठिनाइ नहुने किसिमको शौचालय संरचना बनाउनु नै बालमैत्री शौचालय हो । हुनत शौचालय वृद्धमैत्री पनि बनाउनुपर्छ । शौचालय पानी जम्ने अवस्थामा राख्नुहुँदैन, काई लागेर चिप्लिने हुनसक्छ ।
शौचालयको सफाइ कति मात्रामा गर्ने ? प्यानमा एक-दुई बाल्टिन पानी हालेर पुग्यो कि ? यताउति दुई-चार पटक ब्रस चलाएर भयो कि ? अथवा वास्तवमा सफा सुग्घर चिटिक्क पार्ने हो ? शौचालयलाई सिंगार्न सकिन्छ । स्नानागार र शौचालय सँगै छ भने सिंगार्ने उपाय धेरै हुन्छ । ओडोनिल जस्तो सुगन्धित टिकिया राख्न सकिन्छ । यसो गरियो भने निश्चय पनि स्वस्थ जीवनको समर्थक मानिन्छ ।
शौचालयलाई ब्रश र हार्पिकलगायतको लिक्युडले नियमित सफा गर्नुपर्छ, खर्चिलो ठान्नुहुन्न । स्वास्थ्यको रक्षाका लागि खानपान र रहनसहनमा खर्च गरे जस्तै शौचालय सफाइको खर्च पनि स्वस्थताकै निरन्तरताका लागि हो ।
मानिससँग केही आलस्य पनि हुन्छ भने केही समयको अभाव पनि हुन्छ शौचालयको सफाइका लागि । त्यसैले कतिपयले दैनिक शौचालय सफाइका लागि मानिस पनि नियुक्त गरेका हुन्छन् । मानिस राख्नु गलत होइन । तर आफैंले गर्दा पैसाको बचत हुने भन्दा पनि शारीरिक अभ्यासमा योगदान गर्नु ठूलो कुरा हुनसक्छ ।
मल भोजनको अपचित भाग हो, जसमा पानी, ग्याँस र ठोस तीन वटै अंश हुन्छन् । एक स्वस्थ व्यक्तिले प्रतिदिन औसत ३०० ग्राम मल त्याग गर्दछ । एक स्वस्थ व्यक्तिको मलमा ६० ग्राम ठोस भाग रहन्छ । अर्थात् एक वर्षमा एक व्यक्तिद्वारा लगभग १८ किलो ठोस मलको त्याग गरिन्छ । भोजन गर्नका लागि एउटा व्यक्तिले कति मिहिनेत र प्रयास गर्दछ तर भोजनको अवशेषको व्यवस्थापनका लागि के गर्दछ भन्ने सबाल एक-एक व्यक्तिका लागि महत्वपूर्ण बन्नु आवश्यक छ ।
जसरी मलको हिस्सा पेटमा अडाएर राख्न सकिंदैन त्यसरी नै मललाई बाहिर सडाएर राख्न सकिंदैन । शौचालय सफाइ स्वास्थ्य र जीवन स्तर राम्रो बनाउनको लागि हो ।
दिगो विकासको मुख्य आधार नै स्वच्छ खानेपानी र सरसफाइयुक्त व्यवहार हो । व्यक्तिले घरभित्रको सरसफाइको महत्व नबुझेसम्म घर बाहिर फोहोर गर्ने कार्यबाट निजात पाउन सक्दैन । एक सुदृढ एवं प्रभावकारी शिक्षा, सूचना एवं संप्रेषण प्रणालीको माध्यमले स्वच्छताप्रति प्रेरणा उत्पन्न गरेर स्वच्छता एवं स्वास्थ्य शिक्षाको प्रसार गर्नु आवश्यक छ । सरसफाइ सम्बन्धी प्रविधिको अध्ययन, विकास, अनुसन्धान तथा सूचना व्यवस्थापन, दीर्घकालीन गुरुयोजनाको मूल्यांकन तथा परिमार्जन गर्ने, नीति, कार्यक्रम र कार्यनीति बनाउने, शैक्षिक सामग्रीको विकास, उत्पादन र वितरण गर्ने, वाषिर्क कार्यक्रम तथा बजेट बनाउने कार्यमा आवश्यक गम्भीरता अपनाउनु आवश्यक छ ।
source https://www.onlinekhabar.com/2023/07/1339851
0 Comments