२९ असार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले महिला र पुरुषको पुरस्कार राशी बराबर हुने ऐतिहासिक घोषणा गरेको छ ।
दक्षिण अफ्रिकाको डर्नमाभ एको वार्षिक सम्मेलनमा आईसीसीले आफ्ना सबै महिला र पुरुष टोलीको पुरस्कार रकम समान बनाउने घोषणा गरेको हो । यस निर्णियपछि अब महिला र पुरुषको उस्तै किसिमको प्रतियोगिता विजेता लगायतले पाउने पुरस्कार रकम पनि बराबर हुनेछ ।
आईसीसी अध्यक्ष ग्रेग बार्कलेले यो महत्वपूर्ण क्षण भएको बताएका छन् । ‘यो हाम्रो खेलको इतिहासमा महत्त्वपूर्ण क्षण हो। म खुशी छु कि आईसीसीको विश्वव्यापी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने पुरुष र महिला क्रिकेटरले समान पुरस्कार राशि पाउनेछन्,’ उनले भनेका छन् ।
पुरस्कार राशी समान बनाउने प्रयास स्वरुप २०१७ देखि महिला प्रतियोगितामा पुरस्कार बढाउँदै आएको उनले बताए । अब आईसीसी महिला विश्वकप, महिला टी-२० विश्वकप र यू-१९ महिला विश्वकपको विजेताले पुरुषकै समान पुरस्कार पाउने उनले बताए ।
उनले अगाडि थपे, ‘समान पुरस्कार राशीमा पुग्ने स्पष्ट लक्ष्यका साथ, हामीले सन् २०१७ देखि महिला प्रतियोगिताहरूको पुरस्कार राशी बढाएका थियौं । अबदेखि, आईसीसी महिला क्रिकेट विश्वकप जित्दा आईसीसी पुरुष क्रिकेट विश्वकप जित्ने बराबरको पुरस्कार राशी हुनेछ र टी-२० विश्वकप र यू-१९ विश्वकपमा पनि उस्तै हुनेछ ।’
source https://www.onlinekhabar.com/2023/07/1336058
0 Comments