कैलालीको अत्तरिया र धनगढीको बीचमा बडेमानको भौतिक संरचना बेवारिसे अवस्थामा देखिन्छ । यो नेपाल सरकारले ३५ अर्बभन्दा बढी खर्च गरेर गेटा मेडिकल कलेजका लागि भनेर बनाएको भौतिक संरचना हो । सुदूरपश्चिमवासीले भरपर्दो र सुलभ स्वास्थ्य सेवा नपाइरहेको बेला यो बेवारिसे भौतिक संरचनाले गिज्याइरहेको छ । कहिले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय, कहिले प्रतिष्ठान त कहिले गेटा मेडिकल कलेज बनाउने भन्ने बहस र खिचातानी जारी छ ।
गत २०७९ माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गर्यो । प्रधानमन्त्री निर्वाचित भएको महिना दिनमै आफ्नो पहिलो सुुदूरपश्चिम भ्रमणको क्रममा प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले गेटामा बनेको संरचनामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने घोषणा गरे ।
२०८० जेठ ५ गते राष्ट्रपतिले संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पनि सोही कुरा उल्लेख गरिएको थियो । तर नीति तथा कार्यक्रममा उल्लेख गरिएको कार्यक्रम विपरीत बजेट भाषणमा भने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर १०० शय्याको अस्पताल सञ्चालन गर्ने उल्लेख छ । त्यसको विरोधमा सुदूरपश्चिमवासी आन्दोलित पनि भए ।
तर यो संरचनामा सबैभन्दा पहिले अस्पताल सञ्चालन हुनुपर्दछ । अस्पताल बनाइसकेर त्यसलाई प्रतिष्ठान बनाउने कि विश्वविद्यालय भनेर बहस चलाऔं । तर, अस्पताल सञ्चालन हुनुभन्दा अगाडि नै प्रतिष्ठान कि विश्वविद्यालय भन्ने व्यर्थ बहसले सुदूरपश्चिमवासी छिटो स्वास्थ्य सुविधा पाउने अवसरबाट टाढिंदै गएका छन् । सरकारले अर्बौं खर्च भएर तयारी अवस्थामा रहेको गेटाको भौतिक संरचनालाई लत्याएर डडेलधुुरामा मेडिकल कलेज सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेकाले त्यो शंकामा झन् बल पुगेको छ ।
सुदूरपश्चिममा सुविधायुक्त अस्पताल नहुँदा त्यहाँका बासिन्दालाई नेपालगञ्ज, काठमाडौं वा भारत गएर उपचार गराउनुपर्ने बाध्यता छ । सुदूरपश्चिमवासीको यो पीडामा राजनीतिक खिचातानीले झन् पीडा थपिदिएको छ ।
जुम्लामा डा. गोविन्द केसीले अनशन बस्दै गर्दा जुम्लावासीको साथ सहयोग प्राप्त भयो । फलस्वरूप उहाँको जुम्ला अनशनले गर्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भयो । जुम्लामा आज एमबीबीएस र एमडी पढाइ हुन्छ । तर, गोविन्द केसी धनगढीमा अनशन बस्दा त्यहाँका स्थानीय बुुद्धिजीवी, समाजसेवी, डाक्टरहरूले जुुम्लाको जस्तो साथ दिएनन् । फलस्वरूप उहाँको अनशन पनि सफल भएन । यदि त्यो अनशन सफल भएको भए सम्भवतः हालसम्म गेटा अस्पताल सञ्चालन भइसकेको हुनेथियो ।
गेटामा अस्पताल सञ्चालन हुन नदिनुमा मेडिकल माफियाहरूको पनि चलखेल हुनसक्ने कतिपयले आशंका गर्छन् । उनीहरू सुदूरपश्चिमवासीलाई घण्टौं परका अस्पतालमा धाउन बाध्य पार्ने र कमाउने धन्दामा पो लागेका छन् कि भन्ने आशंका निराधार छैन ।
गेटामाथि विभिन्न समयमा गरिएका चलखेलले आफ्नै भूमिमा बनेको अस्पतालमा सेवा गर्न इच्छुक डाक्टरहरूलाई पनि निराश बनाइदिएको छ । यो सन्दर्भमा नेपालगञ्ज मेडिकल कलेजमा काम गरेका डा. सुमित पाण्डेको सम्झना आउँछ । उहाँ भन्नुहुन्थ्यो, ‘गेटा मेडिकल कलेज बन्यो भने कोहलपुरको सट्टा त्यहीं गएर काम गर्ने हो । घरपायक पनि हुन्थ्यो ।’ तर उहाँको त्यो चाहना पूरा हुन सकेन । हाल उहाँ बेलायत जान बाध्य हुनुभयो ।
नेपालमा भएका विश्वविद्यालयको अवस्था कस्तो छ भनिरहनु पर्दैन । सुदूरपश्चिममा रहेको सुदूरपश्चिम विश्वविद्यालयमा पनि विद्यार्थी र दक्ष जनशक्तिको अभाव छ । भएका विश्वविद्यालय संकटमा परिरहेका बेला नयाँ-नयाँ विश्वविद्यालय थप्नुको औचित्य हुँदैन । अर्कोतर्फ वर्षौंदेखि सञ्चालित स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई विश्वविद्यालय नबनाएर नयाँलाई बनाउने निर्णय पनि सुहाउँदैन ।
आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान देशकै नमूना स्वायत्त निकाय हुन सफल भएका छन् । देशमा यी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सयौं स्वास्थ्यकर्मी उत्पादन हुनुका साथै बिरामीहरूले गुणस्तरीय उपचार सेवा पाइरहेका छन् । देशकै पहिलो टिचिङ अस्पताल महाराजगञ्ज अनि देशकै ठूूलो मेडिकल एकेडेमी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल विश्वविद्यालय हैनन् । तर भर्खर खुल्न लागेको अस्पताललाई विश्वविद्यालय बनाउनु कति जायज होला ?
इतिहास हेर्ने हो भने सन् १९९३ मा सञ्चालनमा आएको पूर्वाञ्चल विश्वविद्यालयले १९ वर्षपछि बल्ल मेडिकल कलेजको अनुुमति पायो र हाल आफ्नै अस्पताल सञ्चालनमा छ । त्यसैगरी सन् १९९१ मा सञ्चालनमा आएको पोखरा विश्वविद्यालयले स्थापनाको ५ वर्षपछि मेडिकल कलेज सञ्चालनका निम्ति आफ्नै अस्पताल सञ्चालनमा ल्यायो ।
देशकै कान्छो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान २०६८ सालमा स्थापना भयो र जुम्ला जिल्ला अस्पताललाई आफ्नो मातहतमा ल्यायो । त्यसैले अहिलेको पहिलो प्राथमिकता भनेको सुदूरपश्चिममा गेटा अस्पताल सञ्चालन गरेर भविष्यमा मेडिकल कलेजको मार्गप्रशस्त गर्नु अति उत्तम हुन्छ, चाहे त्यो प्रतिष्ठान बनाएर होस् या मेडिकल विश्वविद्यालय बनाएर ।
आज पनि सुदूरपश्चिमका जिल्लाका जनता गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बाहिर नै छन् । यस्तो अवस्थामा यदि गेटा अस्पताल सञ्चालनमा ल्याउन सकियो भने सुदूरपश्चिमका बिरामीहरूले कम्तीमा डाक्टर भेट्न पाउँछन् । प्राइभेट अस्पतालमा महँगो रकम खर्चेर लाइन लाग्नुपर्ने बाध्यता अथवा उपचार गर्नकै लागि नेपालगञ्ज, काठमाडौं अथवा भारत जानुपर्ने सिलसिला अन्त्य हुनेथियो । त्यसैले अहिलेको सुदूरपश्चिमवासीको आवश्यकता भनेको सुरुमा सुविधायुक्त अस्पताल सञ्चालनमा ल्याएर गेटा मेडिकल कलेजको आन्दोलन र बहसलाई बिरामीहरूको सेवामा परिवर्तन गर्नुपर्छ ।
(डा. आचार्य कोहलपुर मेडिकल कलेजमा कार्यरत छन् ।)
source https://www.onlinekhabar.com/2023/07/1335646
0 Comments