६ साउन, काठमाडौं । नेपालमा यातायात व्यवसाय भित्र्याउने व्यक्ति हुन् सरदार प्रितम सिंह । भारतको जम्मुमा जन्मिए पनि कर्मभूमि नेपाल बनाएका ८८ वर्षे प्रितमले नेपाल पब्लिक मोटर्स सर्भिस कम्पनी खोलेर यातायातका माध्यमबाट नेपालको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
सन् १९५९ मा तीन वटा ट्रक लिएर भाइसँगै नेपाल आएका प्रितम काठमाडौं बस्ने पहिलो पुस्ताका सरदार हुन् । नेपालमा राम्रो सडक नभएको समयमा उनले ६ चक्के ट्रक लिएर नेपाल आए । ट्रक कसरी आइपुग्यो, त्यसको आफ्नै कथा छ । धेरै घुम्ती भएको त्रिभुवन राजपथमा ट्रक चलाउनु निकै कठिन थियो । कति पटक बाटोमा ट्रक बिग्रिएर अलपत्र परेको, ट्रक बनाउने दक्ष जनशक्ति नेपालमा नहुँदा भारतको पटनाबाट ट्रक बनाउन मिस्त्री ल्याएको आदि ।
भारतीय सेना गभर्मेन्ट अफ इन्डियाले नेपालको त्रिभुवन राजपथ निर्माण गरिरहेको थियो । नेपाललाई ट्रान्सपोर्ट व्यवसायको गन्तव्य बनाउने लक्ष्य राखेर व्यापार बुझ्न त्यसै वर्ष उनी बुवा कहन सिंहसँग नेपाल आए ।
‘म खासमा पाइलट बन्न चाहन्थें, आमाले तिमीलाई उड्नेभन्दा गुड्ने पेसा ठीक छ भनेर धेरैपल्ट भनेपछि बाटो बदलें’, प्रितमले भने ।
उनी काठमाडौं आएर न्युरोड फोटो कन्सर्ननेरको एउटा होटलमा बसेका थिए । संयोगवश होटल बाहिर हिंडिरहेको समय उनीसँगै लखनऊमा पाइलट कोर्स गरेका सहपाठी त्रिलोचन सिंहसँग उनको भेट भयो । सिंह राजा महेन्द्रका पाइलट थिए । जीप चलाएर कामविशेषले न्युरोड आएका रहेछन् ।
प्रितमले पाइलट सिंहसँग नेपालमा ट्रान्सपोर्ट व्यवसाय विस्तारबारे छलफल गरे । त्यतिबेला नेपालमा व्यवस्थित ट्रान्सपोर्ट थिएन । राजा र राणाका केही साना गाडी मात्र चल्थे, उपत्यकामा । पाइलट सिंहले नेपालमा ट्रान्सपोर्ट व्यवसाय नाफामुखी हुने सुझाव दिए । उनैले राजा महेन्द्रसँग पनि भेट गराइदिए ।
राजा महेन्द्रसँगको भेटमा नेपालमा ट्रान्सपोर्ट व्यवसाय विस्तारबारे कुरा राखे । महेन्द्रले नेपालमा ट्रान्सपोर्ट व्यवसाय गर्न आवश्यक प्रबन्ध मिलाइदिने बताए ।
सन् १९५९ मा प्रितमले नेपाल पब्लिक मोटर्स सर्भिस कम्पनी खोलेर ट्रान्सपोर्ट व्यवसाय व्यवस्थित बनाउने काम सुरु गरे । १९६१ मा राजधानी वरपरका जिल्लामा खाद्य सङ्कट परेपछि तत्कालीन सरकारले छिमेकी सहित दातृ निकायसँग सहयोग माग्यो । यस क्रममा छिमेकी भारतले नेपाललाई मानवीय सहायता स्वरूप १० हजार टन चामल उपलब्ध गराउने घोषणा गर्यो ।
भारतले नेपाललाई सहयोग स्वरूप उपलब्ध गराएको चामल दिल्लीबाट रक्सौल ल्याइपुर्याइदियो । तर नेपालमा सडकका नाममा अमलेखगन्ज-भीम फेदीसम्म मात्र मोटर कुद्थे । रक्सौल आइपुगेको भारतीय चामल सुरुमा भारतीय सेनाले काठमाडौं ल्याइदिने घोषणा गरेको थियो ।
भारतीय सेनाले यस्तै २०-३० टन चामल लरी (ट्रक) मार्फत रक्सौलबाट काठमाडौं ल्यायो । तर नेपालको भौगोलिक अवस्थिति र खराब बाटोका कारण काठमाडौं चामल लिएर आउने क्रममा केही भारतीय सैनिक दुर्घटनामा परेर घाइते भए भने केहीले त ज्यानसमेत गुमाए । भारत सरकारले निःशुल्क काठमाडौं चामल पुर्याइदिने घोषणा गरे पनि उसको सेनाले सकेन । चामल लिएर आउने भारतीय सेनाका गाडी काठमाडौं पुग्न ४-५ दिन लगाउँथे ।
प्रतिकूल भौगोलिक अवस्थितिका कारण समय बढी लागेपछि भारतीय सेनाले अन्य उपायबाट काठमाडौंमा चामल ल्याउन सकिने सुझाव नेपाल सरकारलाई दियो । त्यो विकल्प भनेको हवाई यातायात हुन्थ्यो । त्यसका लागि भारतीय सैनिकले थप लागत माग गर्यो । तर नेपालसँग रकम तिर्न सक्ने सामथ्र्य थिएन । नेपालमा ट्रान्सपोर्ट चलाउने प्रितम मात्र थिए ।
राजा महेन्द्रले प्रितमलाई दरबार बोलाए र सुक्खा पीडितका लागि आएको चामल रक्सौलबाट काठमाडौं ल्याइदिन आग्रह गरे । त्यतिबेलाको १० हजार टन खाद्यान्न परिमाणमा ठूलो थियो । चामल बोक्ने साधन पर्याप्त थिएनन् ।
प्रितमले यसबारे राजा महेन्द्रलाई जानकारी गराए । उनको कुरा सुन्ने बित्तिकै राजाले एकै चोटि ५ सयदेखि ६५० सम्मका नम्बर प्लेटयुक्त भारतीय मालवाहक ट्रक नेपालमा ल्याउन अनुमति दिए । ती ट्रक यहाँ ल्याउँदा भन्सार, कर सबै छूट दिइयो । त्यसपछि डेढ सय ट्रक मार्फत रक्सौलबाट सहयोगको चामल काठमाडौं ल्याइयो ।
राजा महेन्द्रको आग्रह अनुसार प्रितमले त्यतिबेला खाद्यान्न ढुवानी गर्दा लाग्ने शुल्कभन्दा धेरै कममा चामल बोके । २ रुपैयाँ १५ पैसा प्रतिटनमा भारतीय सहयोगको सबै चामल काठमाडौं उतारे । त्यो चामल सरकारले सुक्खा पीडितलाई बाँड्यो ।
काठमाडौंमा सहयोगको चामल उतारेको केही दिनपछि राजा महेन्द्रले उनलाई दरबारमा बोलाए । खाद्य सङ्कटमा परेकाहरूको सहयोगार्थ सेवा गरेबापत राजा महेन्द्रले १ हजार रुपैयाँ बक्सिस दिए । सरदारहरू साहसी र इमान-जमानका पक्का हुँदारहेछन्, विपद् आइलागेको समय सहयोग गरेको भन्दै राजाले उनलाई धन्यवाद पनि दिएका थिए ।
राजाले दिएको बक्सिस्, नेपाल र नेपालीले दिएको मायाले उनलाई आफ्नो काम अझै राम्रोसँग गर्ने हौसला मिलिरहृयो । सार्वजनिक यातायात शून्य रहेको अवस्थामा प्रितमले नै पहिलोपल्ट काठमाडौंमा बस भित्र्याए ।
राजा महेन्द्रको पालादेखि नै सरदार प्रितम सिंह नेपालको विकास यात्राको निरन्तर साथी बनेका छन् जसले उनलाई नेपालका सबै शासकहरूसँग घनिष्ठ सम्पर्कमा ल्याएको छ । उनी विगतका नेताहरूमध्ये कृष्णप्रसाद भट्टराईलाई विशेष गरी सम्झन्छन् । ‘नेपालको हितमा काम होस् भनेर सोचियो, जन्मभूमि नभए पनि नेपाल मेरो कर्मभूमि हो, यसको माया औधी लाग्छ’, प्रितमले भने ।
यिनै सरदार प्रितम सिंहको आत्मकथा विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितमले आफूलाई धेरैपल्ट साथ सहयोग र स्नेह दिएको भन्दै कृतज्ञता दर्शाए । उनले आफूलाई १२ वर्षअघि प्रधानमन्त्री बनाउन समेत कोसिस गरेको विवादास्पद वक्तव्य दिएका थिए ।
प्रचण्डले भनेका थिए, ‘उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरै चोटि दिल्ली पनि जानुभयो । काठमाडौंका पार्टी र नेतासँग पनि लगातार छलफल गर्नुभयो । राजनीति सफा भए मात्रै देश पनि विकास हुन्छ भन्ने ठान्नुहुन्छ उहाँ ।’
प्रधानमन्त्रीले दिएको यो अभिव्यक्ति पछि सरदार प्रितम सिंह को हुन् भन्ने बारे धेरै चर्चा समेत भएको थियो । अनलाइनखबरसँग कुरा गर्दै प्रितमले आफू राजनीतिक क्षेत्रमा नभई केवल सामाजिक काममा र सेवामा प्रवृत्त भएको भन्दै प्रधानमन्त्रीको भनाइबारे आफू स्पष्ट हुन नसकेको दाबी गरे । ‘उहाँले भावनामा बगेर त्यो भनेको भनी स्पष्ट पारिसक्नुभएकाले अहिले त्यसमा नजाउँ, मेरो चाहना सबैको भलो होस् राम्रो होस् भन्ने मात्रै हो’ प्रितमले भने, ‘त्यसैले गुरुद्वारामा गएर प्रचण्डको लागि प्रार्थना पनि गरियो, पम्फाजीसँग हाम्रो मित्रता थियो ।’
प्रितमले नेपालको यातायात क्षेत्रमा गरेको योगदान र उनको नेपालसँगको नाताको विषयमा उनकी छोरी किरण दीप सिंहले लेखेको आत्मकथा ‘रोड्स टु द भ्याली’ अहिले बजारमा उपलब्ध छ ।
हाल मलेशिया बस्दै आएकी छोरी तथा लेखिका किरणले आफ्ना पिताले नेपाली समाजमा छाडेका पदचापहरूलाई प्रकाशमा ल्याउने चाहना स्वरुप पुस्तक आएको बताइन् । उनले यो पुस्तक बिक्रीका लागि नभए पनि उठ्ने पैसा समाजसेवामै लाग्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
तस्वीर /भिडियो : आर्यन धिमाल
source https://www.onlinekhabar.com/2023/07/1339884
0 Comments