Looking For Anything Specific?

Header Ads

गोधूलि गीतको सन्देश : माओवादीसँग दु:खेसो, रास्वपासँग शंका

‘एउटा कुरा भनौं दिदी ?’ उसले सोध्यो।

‘के कुरा ?’

‘आज चामलको भात खाएर मज्जा लाग्यो।’

मासु पाकेको छाक चामलको भात खान पाएको बेलुकी ईश्वरी बुढा मगरसँग खुशी साटेको थियो १० वर्षे कमरेड खड्गबहादुर पुनले। माओवादी लडाकुले दिनैपिच्छे चामलको भात खान्छन् भन्ने सुनेर ऊ माओवादीमा आएको थियो। तर त्यहाँ पनि चामलको भात खान नपाउँदा विरक्तिएको थियो।

बालबालिकालाई सुरक्षाकर्मीले शंका नगर्ने हुँदा झोलामा ग्रिनेड र चिठी बोकाउने जस्ता काममा प्रयोग गरिएको छ।

ताप्लेजुङका भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ को अंश हो माथिको संवाद। यस अघि रुमानी साँझ कथा सङ्ग्रह प्रकाशित गरिसकेका बोखिमको दोस्रो कृति हो। बीबीसी र एण्टेना फाउण्डेसन नेपालमा गरी नौ वर्षजति काम गर्दाको अनुभव र अध्ययनबाट यो उपन्यास लेखेका हुन्। कलम प्रकाशनले प्रकाशित गरेको उपन्यास ३६१ पृष्ठको रहेको छ।

यो गोधूलि गीतको समीक्षा भन्दा पनि त्यसमाथि एउटा पाठकीय दृष्टिकोण र समयको स्वरसँग उपन्यासको तादाम्यता खोज्ने प्रयत्न मात्र हो।

जसले उपन्यासलाई जीवन्त बनाएको छ

सुन्दै कौतूहल लाग्ने रुमानी साँझ कथा सङ्ग्रह प्रकाशित गरेका भानु बोखिमले त्यति आकर्षक र आधुनिक नलाग्ने शीर्षक ‘गोधूलि गीत’ किन पस्किए ? मसँग जस्तै तपाईंसँग पनि यो प्रश्न हुनसक्छ। तर पुस्तक पढेपछि त्यो जिज्ञाशाको चित्तबुझ्दो निवारण भेटिनेछ।

‘गोधूलि साँझ’ वनबाट चरेर फर्केका गाईबस्तुले बाटोमा उडाएको धुलो र अस्ताउँदो रातो घामले उडेको धुलोमा छर्ने रङको सुन्दरता यसको सकारात्मक पाटो, धुलो उडेर बस्तु धपाउँदै हिंड्ने गोठाला र बाटो छेउका बस्तीमा पर्ने प्रदूषण र असर, यो नकारात्मक पाटो। तत्कालीन संघर्षलाई निरपेक्ष भएर हेर्ने हो भने त्यसका सकारात्मक र नकारात्मक दुवै पाटा छन्। ती दुवै पाटाहरूलाई स्पष्ट औंल्याएर लेखिएको गोधूलि गीतको प्रशंसनीय र सच्याउन सकिने दुवै पाटा छन्।

उपन्यासमा अनेकन् पात्रका अनेकन् कथा समेटिएका छन्। राजनीति र सशस्त्र संघर्षले छुनै नहुने वर्ग शिक्षक, साना नानीहरू र तिनको परिवारलाई कसरी प्रभावित पारेको छ ? जसले राजनीति कहिल्यै सोचेन, जानेन, रुचि बनाएन, त्यही वर्ग युद्धमा होमिन र बलिदानी गर्न कसरी बाध्य हुन्छ ? एउटा गहन प्रश्न र प्राप्त नभएको त्यसको जवाफ वा नतिजा हो गोधूलि गीत।

‘क्रान्तिकारी लडेर मर्छ र लडेरै बाँच्छ’

तालिमका क्रममा प्रशिक्षकबाट आएको यो भनाइ ठूला क्रान्तिकारी जति बाँचेर सानाहरू मरेर भए पनि सार्थक भएको छ। सशस्त्र संघर्षमा भूमिगत राजनीतिक दलको संगठन निर्माण, भूमिगत अवस्थाका अप्ठ्यारा, जनताको समर्थन, सरकारी पक्षबाट हुने निगरानी र आक्रमण, त्यसभित्रका सूक्ष्म व्यवस्थापन र अप्ठ्यारा सबै कुरा मिहिन ढंगले एक युद्ध अनुभवीको बयान झैं सलल बगेका छन्।

चार वटी श्रीमती ल्याएको दोषमा श्रमशिविरमा रहेको रामकुमार कार्की भागेकै कारण भोजपुरको पिप्ले एरिया कमाण्डरबाट ईश्वरीलाई हटाएर जलपुर सरुवा गरिनु र लडाकुको अपेक्षा विपरीत कमरेड अमरलाई जिम्मेवारी दिइनुलाई नेतृत्व आफ्नो अनुकूल पार्ने तिकडमको राजनीति देखिन्छ।

यस्तै धरानमा बीए पढ्दै गरेको झापाको ठिटो, रसियन साहित्यबाट प्रभावित भएर परिवारको समर्थन विना नै कमरेड असिम बनेर संघर्षमा होमिन्छ। तर बाबुको सम्पत्ति र दाजुदिदी सरकारी जागिरे भएकै कारण उसलाई कहिल्यै विश्वास गरेर जिम्मेवारी दिइँदैन। यसरी सँगै संघर्ष गरेका माथि अविश्वास, गुटबन्दी जस्ता विकृत राजनीति बन्दुकको नालसँगै भित्रिएको सत्य जीवन्त लाग्छ।

नेतृत्व समर्थनबाट नभई शक्तिबाट लिनुपर्छ भन्ने उदाहरण प्रेमकलाको अभिव्यक्ति र सफलताले स्पष्ट पार्छ। एउटा प्रहरीको प्रेममा परेर छोरी सहित छाडिएकी उनमा राजनीतिक भन्दा बढी बदलाको भावना छ। सबैभन्दा चाँडो केन्द्रीय सदस्य र सभासद् बनेर सम्भ्रान्त र व्यापारीको घेरामा परेकी उनले ईश्वरीलाई उस्तै प्रेरणा भर्छिन्- पार्टीको काम मात्र गरेर हुँदैन ईश्वरी, पार्टीमा आफ्नो स्थान पनि बनाउनुपर्छ। त्यसका लागि चलखेल चाहिन्छ। र, पार्टीले पत्याएर मात्र हुँदैन देशका विद्वान, व्यापारी र ठूलाठालुले पनि पत्याउनुपर्छ। मैले सिफारिस नगरेकी भए तिमी नै कहाँ जिल्ला सेक्रेटरी हुन्थ्यौ त !

पदबाट हटाइदा पनि दुखी नभएकी ईश्वरी आफ्नो कर्म र क्षमताले भन्दा पनि कसैको सिफारिसले आफू जिल्ला सेक्रेटरी भएको थाहा पाएर निराश हुन्छे।

रोल्पाकै परिवेशमा लेखिनु उपन्यासको बलियो पक्ष हो भने एउटा लडाकु वा युद्ध अनुभवीले लेखेझैं युद्धका दृश्य, शब्द र भाषाको प्रयोग, रोपाईंमै प्रहरीको आक्रमण र शहादत, साँझ घरैमा गफ गर्दैगर्दा महिलाहरूमाथि गोली प्रहार र जबरजस्ती करणी, सँगै कलेज पढेको प्रहरी साथीसँग कुरा गरेकै भरमा आफ्नै समर्थक शिक्षकमाथि सुराकीको आरोपमा हत्या, गरिबलाई ऋण दिएर घरजग्गा हडप्नेमाथिको कारबाही, बालबालिकाको प्रयोग र क्षतिमा समाजका विभिन्न पात्रहरूको यथार्थ चित्रण पर्याप्त छन्।

अझ माओवादी र सुरक्षाकर्मीबीचको लुकामारी जीवन्त लाग्छ। प्रहरीले माओवादी भेष धारण गरी झुक्याएर पक्राउ र हत्या गरेका दृश्यहरू, एकापसमा पासवर्ड आदानप्रदान गरेर मात्र आफ्नो इलाकामा छिर्न दिने, बालबालिका र विद्यालयको प्रयोग, त्यसबाट उत्पन्न क्षति, परिवर्तनको पक्षधर नै शंकाको घेरामा परेर मारिएको सत्यले वास्तविक विद्रोहको गतिविधिसँग मेल खाने देखिन्छ।

गीत–संगीतका लागि उसबेला रेडियो नेपाल एक मात्र विकल्प, त्यस समयको श्रोता प्रतिनिधि पनि हो- ईश्वरी। पढाइलेखाइ गर्दा समेत रेडियो नेपाल सुनिरहने समयको कथा जो अहिले पनि दुर्गममा त्यसको निरन्तरता हुनसक्छ, जीवन्त लाग्छ चित्रण।

नसमेटिएको पाटो

रोल्पाको पहिलो र प्रचारित घटना २०५८ सालमा होलेरी प्रहरी चौकीमा माओवादीको आक्रमण र ७१ जना प्रहरीको अपहरण, २०५६ मा जेल्बाङ दङ्गा प्रहरी र घर्ती गाउँ प्रहरीमा आक्रमण र २०५९ लिस्नेमा दिउँसै प्रहरीसँग भिडन्त जस्ता मुख्य घटना कतै उल्लेख छैन।

ज्यादती सुरक्षाकर्मीले मात्र गरेनन् माओवादीले पनि गरेका छन्। त्यो कतै उल्लेख भएन। संघर्षका बेला धेरै सताइएको वर्ग पत्रकार पनि हो। रेडियो नेपाल सुर्खेतमा कार्यरत धनबहादुर रोकायालाई माओवादीले अपहरण गरी मारेका थिए। मुख्य र उल्लेखनीय घटनाहरू नआउँदा त्यो वर्गले उपन्यासमाथि अपनत्व नलिन सक्छ।

रोल्पामा माओवादीबाट पीडा भोग्नेको कथा थिएन कि ? वा सबै जनता माओवादीका समर्थक मात्रै थिए ? सायद पाठकको मनमा यो प्रश्न उठ्न सक्छ।

जसरी सुरक्षाकर्मीबाट भएको यौनशोषण उल्लेख छ माओवादीभित्रको यौन विकृतिको चर्चा हुन्थ्यो उसबेला, त्यो पाटोमा अध्ययन नभएको वा नदेखाएको हो यो। माओवादीलाई अधिक लोकप्रिय बनाएको ‘भाटे कारबाही’ कतै उल्लेख नहुँदा अलिनो लाग्न सक्छ।

कथाको विविधतामा प्रेम

स्वभावमा चञ्चले नदेखिए पनि प्रेम गर्ने सवालमा निकै छिटी देखिन्छे ईश्वरी बुढा मगर। बाल्यावस्थामा सँगै स्कुल पढेको कुमार ओलीसँगको प्रेम अन्त्यसम्म तन्केर आइरहन्छ। जो अन्य प्रेम कथामा जस्तो खुलस्त भने देखिंदैन। कमरेड बतास र प्रशिक्षक कमरेड पासाङसँग पनि तुरुन्तै लोभिएको देखिन्छे। तर दुवै प्रेमीले शहादत प्राप्त गरेपछि सकिन्छ।

सच्याउन सकिने सन्दर्भहरू

निदाउनु छ घना जंगलमा

उठ्नेछ नयाँ बिहानी लिएर

बदल्नको लागि समाज व्यवस्था

जानुछ माटोलाई केही दिएर

मुक्तक भनेर लेखिएको यी ४ लाइन मुक्तक संरचनामा छैन। लेखकले ख्याल नगरे पनि सम्पादकले सच्याउन सक्थे।

त्यसबेलाका त्यहाँका बालबालिकाले सायद ‘रुकस्याक’ थाहा पाएका थिएनन्। पछाडि भिर्ने झोला भन्थे होला, हामी त्यसै भन्थ्यौं।

‘पेन्सन मात्रै पाकेको भए जिल्लै छोडेर हिंड्थें। छोरो जीवनलाई पढाएर आफूभन्दा माथिल्लो तहको शिक्षक बनाउनुछ, छोरी ईश्वरीलाई नर्स बनाउनु छ, के गर्ने होला अझै ३ वर्ष बाँकी छ पेन्सन पाक्न।’ प्रहरीले दुःख दिन थालेपछि श्रीमतीसँग चिन्ता गरेका धनबहादुर बुढामगर केही समयपछि नै मारिन्छन्। तर आमाको नाममा पेन्सन आएको सन्दर्भ त्रुटिवश समावेश भए जस्तो लाग्छ।

उपन्यासमा ६२ वटा शीर्षक छन्। अघिल्ला सन्दर्भका कारण अब के हुन्छ भन्ने कुरा कतिपय शीर्षक हेर्दै अनुमान गर्न सकिन्छ। कुनै कौतूहल हुँदैन। र केही पृष्ठहरू नभए पनि हुनेजस्तो लाग्न सक्छ।

‘हिंडेर आएको बाटो’ शीर्षकमा उपन्यासको सार लेखिएको जस्तो लाग्छ।

४४ प्रतिशत मगरको बाहुल्य रहेको समाजको कथा लेखिंदा तिनको खानपान, जीवनशैली, संस्कृति, संस्कारजन्य मुख्य कुरा आइदिएको भए हुनेथियो भन्ने लाग्नु नकारात्मक होइन।

झनै कारुणिक कथा

रेडियोले भिडन्तको समाचार नभनेको रात मस्तले निदाएकी मनमती आमाको कथा। त्यसबेलाका माओवादी, सैनिक र प्रहरीका आमा, श्रीमती र सन्तानहरूको प्रतिनिधि कथा, धनबहादुर बुढामगर भीरबाट गोरु लडाएर माओवादीलाई खान दिएको आरोपमा मारिन्छन्। परीक्षा दिन हिंडेको उसको छोरो जीवनलाई प्रहरीले दुःख दिन थालेपछि बाबुको न्याय र प्रहरीसँग बदला लिन हतियार बोक्छ र भिडन्तमा मारिन्छ। त्यो खबर उसकी आमा मनमती र बहिनी ईश्वरीले पाउँछन्। तर शोकको घाउ नसेलाउँदै जीवनको चिठी आउँछ।

चिठीमा जीवनकै अक्षर छ। ईश्वरी उत्साहका साथ चिठी पढ्न थाल्छे। आशा, खुशी र कौतूहल बोकेर कान ठाडो पार्छिन् आमा।

‘मलाई सन्चै छ मेरो चिन्ता नगर्नु, म चाँडै घर आउनेछु’ भनेर लेखिएको छ। उनीहरूको एउटै विश्वास छ जीवन मरेको खबर झुटो रहेछ। अब ऊ आउनेछ। खुशीले पुलकित भएकी ईश्वरीका आँसुका धमिला आँखाले जब चिठी लेखेको मिति उसको मृत्यु अघिको हो भन्ने देख्छन् अनि के हुन्छ ? अनुमान गरौं त।

पाठकको आशा विपरीत

माओवादी ज्यादती खेप्न नसकेर रोल्पाबाट कपिलवस्तु सरेका हुन् कुमार ओलीको परिवार। बारम्बार ईश्वरीलाई पत्र पठाइरहने कुमारले युद्ध मैदानमा समेत स्कुले साथीको जीवन बक्सिस दिएर ऊप्रतिको गहिरो प्रेम प्रस्तुत गरेको छ। त्यही कुमार शान्ति प्रक्रिया सुरु भएपछि अचानक बैसाखीको सहारामा भेटिन्छ।

ईश्वरीले नमान्दा नमान्दै पनि आफ्नो घर लिएर जान्छ र मेरी साथी भनेर बाआमालाई चिनाउँछ। आमाले ईश्वरीसँग पीडा पोख्छिन्- नानी मेरो छोरो अपाङ्ग भयो, अब यसको बिहे पनि हुँदैन होला, बुहारी र नाति नातिना हेर्ने रहर पूरा नहुने भयो।

ईश्वरीले कुमारसँग बिहे गरेर बाल्यकालदेखिको प्रेम सार्थक बनाई कथामा संयोगान्त सौन्दर्य थपेको भए कति राम्रो हुन्थ्यो ?

निराशाको उकालो यात्रा

गोधूलि गीत माओवादी सशस्त्र संघर्षमा रोल्पाको जीवन, समर्थन, सहभागिता, अपेक्षा, भरोशा र त्यसबाट सिर्जित असरहरूको एउटा स्पष्ट चित्र हो।

माओवादी युद्धको उद्गम, जहाँ १९०० जनाले शहादत प्राप्त गरे। नन्दकिशोर पुन, ओनसरी घर्ती, कृष्णबहादुर महरा र वर्षमान पुन जस्ता नेता जन्माएको रोल्पाभूमि, त्यहीं र तिनैको कथामा लेखिएको राजनीतिक उपन्यास ‘गोधूलि गीत’।

यत्रो इतिहास र यत्रा नेता निर्माण गर्न सफल एक नायकमा निराशा संचार हुन थाल्छ जब ईश्वरी काठमाडौं आउँछे र देख्छे आफ्ना नेताहरूको सवारी। जतिसुकै विकटमा पनि पैदल हिंड्थे, जहाँ जे भेटे पनि खान्थे, बाध्य नभई घोडा चढ्दैनथे।

नेता कमरेडहरूको परिवर्तन सोच्दैगर्दा अचानक भेटिएको कमररेड असिमले झन् निराशा थप्छ ‘यिनीहरू पनि काङ्ग्रेस एमाले बन्नेछन् एकदिन।’

देशमै गर्छु, देशमै मर्छु भनेर युद्धमा होमिएका कसैका छोराछोरी अपाङ्ग, कसैका बाआमा, कसैको घर रित्तो कि बाबुआमा बेसहारा, कोही घाइते ज्यान बोकेर त कोही शरीरमा छर्रा बोकेर विदेश पलायन भइरहेका छन्। कमरेड असिम पनि दमकबाट बीए सकेर अष्ट्रेलियातिर लाग्छ।

उपन्यासको स्पष्ट सन्देश

दशवर्षे युद्ध व्यवस्थापन भइसकेपछिको १६ वर्षपछि गोधूलि गीत लेखिनु माओवादीलाई उनीहरूको विगत सम्झाएको त हो नै एउटा धारिलो व्यङ्ग्य र लोप्पा पनि हो। र रास्वपाहरूलाई खबरदारीको चोर औंलो समेत हो भनेर बुझ्न यिनको सन्दर्भ उल्लेख भइरहनुपर्दैन।

जसरी माओवादीले मान्छेको मनमा विद्रोहको बीउ रोपेर आँसु र रगतबाट माटो भिजायो ठिक यस्तै तर आँसु र रगतको क्षति नगरिकन नै रास्वपाले छरेको आशाको शीतलताले जनताको छाती भिजाएको छ।

जसरी कमरेड असिमले माओवादी पनि काङ्ग्रेस एमाले बन्नेछन् भनेर चिन्ता व्यक्त गर्छ, त्यसरी नै हरेक मान्छेको प्रार्थना छ ‘रास्वपा पुराना दल जस्तो नबनोस्।’ भोलिको रास्वपा आजको माओवादी बन्ने डरको घण्टी जनमनमा बजिरहेको छ।

दश वर्षको रगत र पसिनाबाट २०६४ मा माओवादीले जुन मत पायो र गुमायो पनि त्यसलाई फिर्ता ल्याउन सकेन वा फिर्ता पाउने चरित्र निर्माण गरेन। सायद सक्दैन पनि।

तत्कालीन तीन वटा राजनीतिक शक्तिहरूको भ्रूणबाट माओवादी संघर्षको जन्म भए जसरी नै माओवादीकै भ्रूणको सकारात्मक ऊर्जाबाट क्रमशः बालेन, हर्क र रविहरूको जन्म भएको हो। र नकारात्मक मोटिभेशनको त्यही भ्रूणबाट प्रेम आचार्यहरूको आत्मदाह जन्मियो र निरन्तर जन्मिरहेको छ।

६ महिनामै रास्वपाले २०६४ को माओवादी स्तरको जुन विश्वासको सौभाग्य पायो उसले पनि त्यो भरोशालाई बचाउन र बढाउन सकेन भने प्रेम आचार्यहरूको दुर्भाग्य शृङ्खला रोकिने छैन नै आशाको शीतलताले भिजेको जनताको छाती चर्चरी चिरिनेछ।

हिजो माओवादीबाट जो डराउँथे आज तिनैबाट डराएर हिंड्नुपरेको छ वा शिर ठाडो छैन लडाकुको। हेपिएका र अपमानित भएका छन्। बुर्जुवा शिक्षा ठानेर पढाइ छाडी युद्धमा होमिएका कमरेड असिमहरू विदेश हान्निएका छन्। अवसर दिने ठाउँमा पार्टीले पढेलेखेका कमरेडहरू छान्न थालेपछि ईश्वरी बुढा मगरहरू ३० वर्षको उमेरमा फेरि स्कुल धाउन र नर्स बनेर बाबुको सपना पूरा गर्ने सपना देख्न थालेका छन्।

दल खुम्चेर मरीचजत्रो भएको छ तर दोष टण्टलापुर घामलाई दिइरहेको छ र निरन्तर चाउरिंदो यात्रामा छ।

कहिल्यै राजनीति नगरेका युवा हुत्तिएर राजनीतिमा आएका छन्। २०७९ सम्म द्विविधामा रहेका अरु दलका निराश मान्छेहरू २०८० को वैशाखदेखि रास्वपा विद्रोहमा मिसिन थालेका छन्।

जसरी आजकाल जनयुद्ध दिवसका दिन रोल्पा सुनसान हुन्छ त्यसैगरी आगामी दिनका असार ७ गतेहरूमा घण्टीको रालो खुस्कियो भने के हुन्छ ?

त्यसैले उपन्यास गोधूलि गीत राजनीतिक दलको नाकैमा लगेर देखाएको ऐना हो र घण्टीधारीहरूलाई आफ्नै कानमा घण्टी बजाइरहन चेतावनी पनि।



source https://www.onlinekhabar.com/2023/07/1340667

Post a Comment

0 Comments